Wednesday, January 29, 2020

संस्थान निजीकरणको विपक्षमा सरकार,सेयर बजारमा लगानी गर्न बाटो खुला


संस्थान निजीकरणको विपक्षमा सरकारवर्षेनी राज्यलाई अर्बौको दायित्व बढाउँदै आएको भन्दै सरकारी स्वामित्वका सस्थानहरु निजीकरण गर्नुपर्ने माग बढीरहेका बेला सरकार भने सरकारी संस्थान निजीकरणको विपक्षमा देखिएको छ । नागरिक लगानी कोष ऐन २०४७ को दोश्रो संसोधन २०७५’ माथि दफावार छलफलका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार निजीकरणको विपक्षमा रहेको स्पष्ट पारेका हुन् ।
संस्थान सञ्चालनको मोडालिटी सहित बनेको कानुन मन्त्रालयबाट पास भएर कानुन आयोगमा परामर्शका लागि पठाइएको जानकारी मन्त्री खतिवडाले दिए । “अब कुनै सरकारी संस्थान वा कम्पनी निजीकरण हुन्छन् वा सरकार निजीकरणको पक्षमा छ भन्ने भ्रममा नर्पनुस” मन्त्री खतिवडाले सांसादहरुलाई भने “निजीकरणको विषयमा सरकार प्रष्ट छ ।” उनले अन्य सस्थानसँग नागरिक लगानी कोषलाई तुलना नगर्न पनि आग्रह गरे । “अहिले जे जति समस्याहरु देखिएका छन् तीनको समाधानका लागि हामीले यो कानुनलाई संसोधन र एकीकृत गर्न खोजेका हौं” मन्त्री खतिवडाले भने, “कोषमा जम्मा भएको ठाउँमा जोखिमयुक्त तरिकाले लगानीको सुरक्षण गर्नु राज्यको दायित्व पनि हो ।” प्रस्तावित विधेयक अनुसार कोषमा नेपाल सरकारको २३.३४ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ३१.५५ प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत, अन्य बैंक तथा वित्तीय संस्थाको १५.११ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर रहने उल्लेख छ । 
प्रस्तावीत विधेयक अनुसार कोषको जारी पूँजी आठ अर्ब र चुक्ता पुँजी तीन अर्ब रुपैयाँको हुनेछ भने सो रकमलाई एक सय रुपैयाँको दरले आठ करोड कित्ता सेयरमा विभाजन गरी बाँडफाड गर्ने प्रस्ताव गरिएको छ ।
यसअघि कोषमा सरकारको १० प्रतिशत र विभिन्न बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत सेयर रहेको थियो । यस्तै, नेपाल राष्ट्र बैंकको ४० प्रतिशत सेयर रहेकोमा त्यो ठाउँमा बिमा संस्थानलाई थप गरिएको छ । बैठकमा अर्थमन्त्री खतिवडाले सार्वसाधरणलाई दिने भनिएको २० प्रतिशत सेयर पनि ठूला सहभागीता हुने भन्नै यसलाई थप गरी ३० प्रतिशत पु-याउन सकिने पनि जानकारी दिए । उनले भने “अहिलेका लागि २० प्रतिशत वितरण गर्ने र विस्तारै थप गर्न सकिन्छ भन्ने हाम्रो योजना हो यसो गर्दा राज्यलाई भार पनि पर्दैन र यसले जोखिम न्यूनिकरणमा सहयोग पनि गर्छ ।”
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखेर विधेयकमाथि थप छलफल गर्नुपर्ने धारणा राखे । “नागरिकबाट जम्मा भएको पैसा सुरक्षण गर्नु राज्यको दायित्व पनि हो यो विषयमा गहन अध्ययन र छलफल आवश्यक छ ।” उनले भने । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले कोषलाई वाणिज्य बैंक बनाउन नहुने, नागरिकलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । “नागरीक कोषमा नागरिकको अधिकार सुनिश्चित गर्नु पर्छ” पूर्व अर्थमन्त्री समेत रहेका भट्टराईले भने “नागरिक कोषलाई कर्मशियल बैंकसँग तुलना गर्न मिल्दैन ।“ उनले विधेयकबारे गम्भिर परामर्श गर्नुपर्ने बताए ।
प्रस्तावित विधेयकमा नागरिक लगानी कोषलाई सेयर बजारमा पनि लगानी गर्न बाटो खुलेको छ । यस्तै, कोषलाई अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्ने अधिकार पनि दिइएको छ । सांसदहरुले नागरिक लगानी कोषमा राजनीतिज्ञको तलब राख्न मिल्ने कि नमिल्ने भन्दै अर्थमन्त्रीसँग सवाल जवाफसमेत गरेका थिए ।
मन्त्री खतिवडाले कोषको विधेयकमा राजनीति गर्नेहरूका लागि समेत व्यवस्था गरिएको जानकारी गराउँदै उनले भने, “सामाजिक सुरक्षा कोषमा श्रमिकसहित निजी संस्थामा तलब खानेहरू जान्छन् बाँकी नागरिक लगानी कोषमा रहन्छन् ।” बैंठकमा संसोधनकर्ताको तर्फबाट बोल्दै दिव्यमणि राजभण्डारीले सर्वसाधारणको जति सक्दो धेरै सहभागिता हुनु पर्ने बताए ।
 उनले कोषलाई बाणिज्य बैंकसरह सञ्चालन गर्नुपर्ने र चुक्तापुँजी पनि बाणिज्य बैंकहरूको सरह ८ अर्ब पु-याउनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । जवाफमा मन्त्री खतिवडाले कोषलाई गतिलो बनाउने भन्ने सुझाव सही भएपनि पुँजी बढाउनुपर्ने तर्क ठीक नहुने बताए । उनले भने, “कोषल नाफा गर्ने भए पनि नाफामूलक संस्था होइन, कोष गैरबैंक वित्तीय संस्था हो ।”
मन्त्री खतिवडाले कोषमा धेरै सेयर सरकारकै रहने स्पष्ट पार्दै निजी क्षेत्रलाई धेरै सेयर दिन नसकिने स्पष्ट पारे । उनले भने, “निजी क्षेत्रलाई धेरै सेयर दिँदा निजीकरणको कुरा आउँछ, सरकार निजीकरणको पक्षमा छैन,” उनले भने, “निजीकरणमा गएका संस्थाको अवस्था देखेका छौं,लगानी कोषलाई सरकारकै मातहत राखिन्छ । ”
मन्त्री खतिवडाले लगानी कोषको दायरा फराकिलो बनाउने भन्दै कोषको सुशासनलाई अझ बलियो बनाउन विधेयक ल्याएको बताएका थिए ।

सबै भन्सार नाकामा भेइकल स्क्यानर मेसिन

भोटेकोशी गाउँपालिकास्थित लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षभित्र सबै भन्सार नाकामा भेइकल स्क्यानर मेसिन जडान गर्न भन्सार विभागलाई निर्देशन दिएको छ । ६८ औं भन्सार दिवसको अवसरमा अर्थमन्त्री डा. खतिवडाले चालू आर्थिक वर्षभित्र भेइकल स्क्यानर मेसिनको उद्घाटन गर्ने गरी कार्य अगाडि बढाउन विभागलाई निर्देशन दिएका हुन् । 
यो प्रणाली जडान भएपछि आयातकताले मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्र ओसार–पसार गनुपर्ने हुन्छ । जसले गर्दा अभिलेख व्यवस्थापन, व्यापार सहजीकरण, ढुवानीमा लागत घटाउने, अनुगमन लगायतका कार्यमा सहजता आउनेछ । यस्तै, अर्थमन्त्री खतिवडाले भन्सार विन्दुसँगै बैंक तथा वित्तय संस्थाको अनिवार्य व्यवस्था गर्न पनि निर्देशन दिए ।
 उनले भन्सार विन्दुमा क्वारेन्टाइन, खाद्य गुणस्तर लगायतका जाचपाँस गर्ने मेशिन लगायतका उपकरण जडान गर्न निर्देशन दिएका छन् । राजस्व सचिव शिशिरकुमार ढुंगानाले पनि चालू आर्थिक वर्षभित्र कुनैपनि हालतमा भेइकल स्क्यानर मेसिन जडान हुने बताए ।

राजस्व बढाउन सरकारले अतिरिक्त कर नलिने


राजस्व बढाउन सरकारले अतिरिक्त कर नलिने



बजेटमार्फत लिइएको राजस्व लक्ष्यमा एक खर्ब अपुग देखिएपछि लक्ष्य भेटाउने दबाबमा रहेको सरकारले राजस्व बढाउन अतिरिक्त कर नलिने स्पष्ट पारेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले लिएको राजस्वको लक्ष्यमा छ महिनासम्म आउँदा एक खर्ब ग्याप छ । अन्तशुल्क र आयकर, गैरकरतर्फको राजस्व असुली केही राम्रो देखिए पनि भन्सार राजस्वको ग्याप उच्च छ ।
आर्थिक वर्षमा बजेटमार्फत लिएको राजस्व असुली गर्ने दबाबमा रहेको सरकारले स्रोत व्यवस्थापनमा अतिरिक्त कर नलिने स्पष्ट पारेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वको लक्ष्य प्राप्तीको नाममा सरकारले अतिरिक्त कर नउठाउने भन्दै ढुक्क हुन व्यवसायीहरूलाई आग्रह गरेका हुन् । सो अवसरमा उनले स्रोत व्यवस्थापन गर्ने पर्याप्त बाटो भएको भन्दै राजस्व घटदा चिन्ता नलिन सुझाए ।
६८औं भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, “राजस्वको लक्ष्य पूरा गर्न सरकारले अतिरिक्त करको डण्डा लगाउदैन, तपाइँहरू ढुक्क हुनुस्, राजस्व कम उठ्यो अब सरकारले डण्डा लगाउँछ भन्ने त्रासमा नबस्नुस् ।” उनले आयमा मात्रै कर लगाउने सरकारको नीति रहेको स्पष्ट पार्दै भने, “स्रोत व्यवस्थापनका अन्य उपायहरू छन् राजस्व घट्दा पनि चिन्ता नलिनुस बरु यस्तो मन्त्री पाउँदा खुसी हुनुस् ।” उनले भन्सार राजस्व मात्रै केन्द्रित भएर अबको अर्थतन्त्र चल्न नसक्ने स्पष्ट समेत पारे ।
अब क्रमशः आयातित राजस्व प्रणालीबाट आन्तरिक आयमा आधारित राजस्व प्रणालीमा उन्मुख हुने बताउँदै उनले वदमासी गर्ने उद्योगी व्यवसायीलाई मात्रै सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग आकर्षण हुने पनि स्पष्टोक्ति दिए । “विधि बसाउनका लागि मात्रै विभाग गठन भएको हो गलत नगर्ने कसैले डराउन पर्दैन,” उनले भने । अर्थमन्त्री खतिवडाले दीर्घकालीन लगानीको व्याज दरमा बैंक तथा वित्तिय संस्थाहरूले छुट दिनुपर्ने पनि धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सार प्रणाली विश्वस्तरको हुनुपर्नेमा जोड दिइन् । उनले केही वर्षयता सकारात्मक सुधार भएपनि भन्सार सरकार राजस्वमुखी नभएर व्यवसायीमुखी हुनुपर्ने धारणा राखिन् । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले ब्लक कार्गोमार्फत भारतबाट सामान आयात गर्ने दुई देशबीचको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले तीन तहको कर नीति परिवर्तन गर्नुपर्ने बताए । उनले स्थानीय तहले जथाभावी रूपमा कर लिँदा समस्या भएको भन्दै मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने पनि धारणा राखे । राजस्वसचिव शिशिरकुमार ढुंगानाले भन्सार प्रशासनमा देखिएका समस्याहरूको उचित ढंगले सम्वोधनगर्न सरकार सदा तत्पर रहेको र त्यसको लागि निजी क्षेत्रबाट समेत व्यापार सहजीकरणमा आवश्यक सहयोग, सुझाव, सल्लाह र कानुनको परिपालना हुनुपर्ने बताएका छन् ।
यसअघि शुक्रबार नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अवसरमा आयोजना गरेको कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनलाई पारदर्शी वनाउन सरकार कटिबद्ध रहेको बताए । भन्सार प्रशासन पूर्णतः डिजिटल हुने क्रममा अगाडि बढिसकेको र निजी क्षेत्र एवम सरकार बीचमा कुनै खाडल भए सो पूरा गर्नुपर्ने बताउँदै भन्सार प्रशासनमा वैध व्यापारको विकल्प नभएको बताए । समस्या रहेको तथा अन्यथा प्रमाणित नभएसम्म वा राजस्व चुहावट भएको कुनै पूर्वसूचना नभएसम्म आयातकर्ताले घोषणा गरेको मूल्यलाई मान्यता दिनुपर्ने विश्वव्यापी मान्यताविपरीत मूल्य निर्धारण हुँदा व्यापारी अनेकौ समस्यामा परेको बताए । कारोबार मूल्यलाई अनिवार्य रूपमा मान्यता दिनु पर्ने भन्दै श्रेष्ठले भन्सार दरबन्दी घटाउनुपर्ने र इ–पेमेन्टवाट भक्तानी गर्ने व्यवस्था लागू गर्न जरुरी रहेको तथा भन्सारले सहजीकरणमा जोड दिनुपर्ने पनि बताए । एकीकृत जाँच चौकी तथा सुक्खा वन्दरगाह स्थापना भएबाट व्यापार सहजीकरणमा योगदान पुगेको पनि उनको भनाइ थियो ।

Thursday, January 23, 2020

नीतिगत अस्थिरताले पुँजी पलायनको संकेत



बुधवार, माघ ८, २०७६
सरकारको नीतिगत अस्थिरता तथा झन्झटिलो व्यवस्थाका कारण मुलुकबाट पुँजी पलायन हुने संकेत देखिएको छ । संविधान निर्माणपछि भएको आम निर्वाचनसँगै बलियो सरकार बने पनि नीतिगत अस्थिरता, लगानीमैत्री वातावरणको अभाव लगानीको सुरक्षण गर्न नसक्दा नेपालबाट पुँजी पलायनको समस्या भयाभह बन्दै गएको हो । यतिमात्रै होइन, सरकारले अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन गरेका प्रयास, वातावरण सुधार गर्ने निहुँमा गरिएको अपरिपक्व निर्णय र डलर सटहीको सुविधामा गरिएको कटौतीले लगानीमैत्री वातावरणमा असर पुगेको अर्थविद्हरुको धारणा छ ।नीतिगत अस्थिरताले पुँजी पलायनको संकेत
सरकारी कदमले अवैध मानिएको हुण्डीको कारोबारलाई बढावा दिएसँगै रेमिट्यान्सको आप्रवाहमा समेत कमी आएको छ । पूर्वअर्थमन्त्री डा। रामशरण महत सरकारले लगानीकर्तालाई विश्वस्त बनाउन नसकेको टिप्पणी गर्छन् । “यो सरकार बलियो हुँदाहुँदै पनि खालि समृद्धिको नारा र प्रोपोगाण्डामा मात्रै गयो,” उनी भन्छन्, “के गर्ने के नगर्ने भन्नेतिर सरकार केन्द्रित हुन सकेन सरकारको यो रबैयाबाट लगानीकर्ता झनै हतोत्साहित बनेका छन् ।



यही अवस्था कायम भएमा भएको लगानीसमेत गुम्ने र वाह्य लगानी पनि अन्तै जानसक्ने भन्दै उनले यथाशक्य छिटो लगानीकर्ताको मनोबल उकास्नेतिर ध्यान दिन सुझाए । दुईतिहाइको स्थिर सरकार बने पनि सरकारले आफैंले गरेको बाचा पूरा गर्न नसक्दा जनतामा नैरास्यता बैमनस्यता फैलिएको छ । पछिल्ला केही दिनमा मात्रै एनसेलका टावरहरूमा आक्रमण भएको छ । अरुण तेस्रो, अपर कर्णालीलगायत कतिपय ठूला आयोजनालाई केन्द्रित गरेर टावरहरूमा आक्रमण गर्ने, तोडफोड गर्ने बम पड्काउने काम भइरहेको छ । महत भन्छन्, “शान्ति सुरक्षा इत्यादीले पनि लगानीकर्ता निरुत्साहित भएका छन् अहिले सेक्युरिटीको समस्या पेचिलो बनेको छ, देशमा लगानीको संभावना नभएपछि लगानी पलायन हुनु स्वाभाविक पनि हो ।” उदारीकरणका सूत्राधारसमेत रहेका महत सरकार लगानीयोग्य वातावरण निर्माणमा अनुदार रहेको बताउँछन् ।
पछिल्लो समयमा कतिपय लगानीकर्ता स्वदेशमा लगानीको वातावरण नभएको भन्दै अन्य देशमा समेत लगानी विस्तारमा लागेका छन् भने वाह्य लगानीकर्तासमेत नेपाल छोडेर अन्य मुलुकतिर लगानी सार्दैै छन् । शान्ति स्थायित्व र स्थिरतासँगै लगानीयोग्य वातावरणको खोजीमा रहेको निजी क्षेत्र अझै पनि ‘पर्ख र हेर’को अवस्थामा छ ।
सरकारले पटकपटक लगानी सम्मेलन गरेपनि प्रतिबद्धता गरिएको लगानी अझै आउन सकेको छैन भने सरकार आफैले घोषणा गरेको प्याकेज सुविधा पनि कार्यान्वयन गर्न सकेको छैन । तीनवटै सरकारबीच समन्वयको अभाव, एकद्वार प्रणालीको समस्या र विश्वासको वातावरणमा खडेरी बढेर गएको छ । लगानीको वातावरण सुधारमा सरकारलाई सघाउने र सँगसँगै हिँड्ने बाचा गरेको निजी क्षेत्र पनि सरकारको अपरिपक्व कदमप्रति त्रसित छ । जसका कारण निजी क्षेत्र र सरकारबीचको दूरी पछिल्लो समयमा बढ्दै गएको छ निजी क्षेत्रलाई मनोबल उकास्नभन्दा निमोठ्नतिर लागेको भन्दै निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले पछिल्लो समय सरकारलाई लगानीको वातावरणमा सुधार गर्न आग्रह गर्दै आएका छन् ।
अहिलेको विद्यमान प्रवृत्ति हेर्ने हो भने नेपालबाट दुवै विधिबाट पुँजी पलायन भइरहेको छ भन्न सकिने प्रशस्त आधार भएको अर्थशास्त्री चन्द्रमणि अधिकारीको बुझाइ छ । “नगदै रूपमा पुँजी पलायन हुन थालेपछि राष्ट्र बैंकले अंकुश नै लगाइसकेको छ, अर्कातिर विदेशबाट आउनुपर्ने रकम ९नेट ट्रान्सफर० का रकम पनि संकुचित हुँदै गएको छ,” अर्थविद् अधिकारी भन्छन्, “अहिले पछिल्लो समयमा बैंकिङ च्यानलबाट आउने रेमिट्यान्स पनि घटेको छ हुण्डीको कारोबार बढेको छ यसलाई बढावा सरकारले नै दिएको छ ।” उनले पुँजी पलायनको एउटा मुख्य कारण त विदेश जानकालागि विदेशी मुद्राको उपलब्धताता कटौती भएको बताउँछन् । सरकारले यसअघि एक पासपोर्ट बराबर २५ सय डलरसम्म दिँदै आएको सटही सुविधा १५ सयमा झारेको थियो । यसले हुण्डी कारोबारलाई प्राथमिकता दिएको अधिकारीको तर्क छ ।
आयातमा भएको वृद्धिले चालू खाताको घाटा बढेपछि राष्ट्र बैंकले डलरको सुविधा कटौती गरेको बताएको थियो ।
जसको असर चालू खातामा घाटा बढ्दा विदेशी मुद्राको सञ्चितीमा दबाब परेको छ । अधिकारी भन्छन्, “अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउने निहँुमा सरकारले अनेक उपाय अपनाएको छ, जसको एउटा बेन्चमार्कसमेत तयार भएको छैन, त्यसको असर लगानीकर्तामा परेको छ ।” नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार नेपालको कुल अर्थतन्त्रको ४० प्रतिशत हिस्सा अनौपचारिक अर्थतन्त्रको छ । जसलाई औपचारिकतामा ल्याउने निहुमा सरकारले करका दायरा बिस्तार गर्ने निहुमा नियम कानुनमा ब्यापाक हेरफेर गरिरहेको छ । तथापि तिनै तहको सरकारबीच समन्वयको अभाव हुँदा त्यसको वित्तीय भार केन्द्रीय सरकारमै निहित रहेको अधिकारीको तर्क छ । उनले वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्यामा उल्लेख्य वृद्धि नदेखिए पनि रेमिट्यान्सको आप्रवाहमा कमी आएको र सरकार आफैँले पुँजी पलायनलाई प्रश्रय दिएको बताए ।
लगानीको वातावरणमा स्वदेशी लगानीकर्ता नै पनि आफ्नो लगानीको सुरक्षाकै चिन्ताले पुँजी पलायन गर्न बाध्य छन् । अर्थशास्त्री अधिकारीको भनाइलाई आधार मान्ने हो भने बैंकिङ च्यानलबाट रेमिट्यान्स घट्नु भनेको हुण्डी च्यानल फस्टाउनु हो यो भनेको आउने पैसा घटेको होईन पारदर्शिता नभएको हो । “अहिले देखिएको पुँजी पलायनको संकेतले अर्थतन्त्रलाई अझ बढी समस्यामा धकेल्ने प्रस्ट छ,” उनी भन्छन् ।
जुनसुकै लगानीकर्ता पनि आफ्नो लगानी सुरक्षित होस् भन्ने चाहाना हुने भन्दै एक प्रतिष्ठित औद्योगिक प्लान्ट भएका एक उद्यमीले आफूले त्यस क्षेत्रबाट उद्योग स्थानान्तर गर्ने निर्णय गरिसकेको र यसका लागि ‘उपयुक्त ठाउँ’ हेरिरहेको बताए । पुँजी पलायन दुई तरिकाले हुने बताउने ती उद्यमीले नेपालबाट दुवै विधिबाट पुँजी पलायन भइरहेको बताए ।

सरकार वित्तीय अधिनायकवाद लाद्दैछ

सरकार वित्तीय अधिनायकवाद लाद्दैछ२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाललाई उदार अर्थतन्त्रतर्फ लैजान नेतृत्वदायी भूमिका खेलेका डा. रामशरण महत नेपालको नीतिगत परिवर्तनका एक बलियो खम्बा मानिन्छन् । राजनीतिक पृष्ठभूमिबाट हुर्किएका महत २०४८ सालको आम निर्वाचनपछि प्रायःजसो सत्ताकै पेरिफेरिमा बसेका उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदै ६ पटकसम्म अर्थमन्त्री बन्ने सौभाग्य पाएका भाग्यमानी नेता हुन् । महत पार्टी राजनीतिमा मात्रै होइन पार्टी बाहिर र अन्तर्राष्ट्रियरूपमै उच्चछवि बनाउने अर्थमन्त्री र प्रभावशाली नेतामा पर्छन् । उनैले सुरु गरेको उदारीकरणको नीतिलाई संविधानसभापछि बनेको सरकारले समेत आत्मसाथ गरको छ भने आर्थिक रूपान्तरणका पछिल्ला प्रयासलाई दोस्रो चरणको आर्थिक सुधार भनेर नामाकरण गरेको छ ।
दुई तिहाई बहुमत हुँदाहुँदै पनि सरकारले आन्तरिक राजनीतिकै कारण पर्याप्त अवसरलाई गुमाउँदै गएको र देशलाई अधिनायकवादतिर धकेल्न सुरु गरेको उनको तर्क छ । संविधान जारी भएर तीनवटै तहको निर्वाचन सम्पन्न भई मुलुक राजनीतिक स्थिरतातर्फ गए पनि सरकार लगानीको वातावरणमा अनुदार रहेको र तथ्यांक तोडमोडमा लागेर बाटो बिराउँदै गएको उनको आरोप छ । अर्थतन्त्र बुझेको ब्यक्ति अर्थमन्त्री भए पनि श्वेतपत्र निकालेर गलत काम गरेको र श्वेतपत्रमा देखाइएभन्दा पछिल्लो अवस्था झनै कमजोर बनेकोमा मन्त्री महत आफ्नै विद्यार्थी अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यशैलीप्रति सन्तुष्ट छैैनन् । उनै महतसँग बजेट कार्यान्वयनमा देखिएका समस्या, सरकारको कार्यशैली, प्रतिपक्षको भूमिका र मुलुकको समग्र अर्थतन्त्रबारे सम्पादक कुबेर चालिसे र निरु अर्यालले गरेको कुराकानीको सार :
भर्खरै चालू आर्थिक वर्षको आधा वर्ष सकियो । यस अवधिमा सरकारको विकास खर्च १३ प्रतिशत र राजस्व असुली पनि लक्ष्यभन्दा १ खर्ब कम संकलन भयो । यो अवस्थालाई यहाँले कसरी हेरिरहनुभएको छ ?
मैले पहिलेदेखि भन्दै आएको छु कि यो सरकार प्रोपोगाण्डा गर्नमै केन्द्रित छ । ठूला–ठूला उडन्ते लक्ष्य राख्ने अनि महत्वाकांक्षी टार्गेट सेटिङ गर्न अत्यन्तै सिपालु छ । बुझ्नुपर्ने यो थियो कि कुनै कुरो प्रचार गर्दैमा र लक्ष्य राख्दैमा कार्यान्वयन हुने कुरा त होइन । यसका लागि क्षमता कसरी अभिवृद्धि गर्न सकिन्छ ? सुशासन कसरी कायम गर्ने ? घोषणा गरिएका लक्ष्यहरू कसरी हासिल गर्ने, त्यसका लागि क्षमताको अभिवृद्धि कसरी गर्ने ? प्रशासकीय क्षमताको अभिवृद्धि र सार्वजनिक संस्थानहरूको क्षमता अभिवृृद्धि कसरी गर्न सकिन्छ भन्ने हो । तर, यसतर्फ सरकारको ध्यान नै भएन । बजेटमा अनेक–अनेक घोषणा गरिएका छन् । दोहोरो अंकको आर्थिक वृद्धिका कुरा आएका छन् । यो वा त्यो भन्या छ । ठूला–ठूला योजनाहरू घोषणा गरिएको छ । तर, त्यसका लागि जुन प्रकारको तयारी गर्नुपर्छ, त्यो छैन । अव्यावहारिक तरिकाले घोषणा गरिएको छ । मैले पहिले पनि भनेको हो कि बजेट बढी महत्वाकांक्षी भयो खर्च पनि बढाउन नसक्ने, लक्ष्य महत्वाकांक्षी राख्ने कार्यान्वयनमा ध्यान नदिँदा अहिले यो अवस्था आएको हो ।
तर पनि सरकारले आर्थिक वृद्धि बढिरहेको दाबी गरिरहेको छ, यो कसरी सम्भव छ ?
आर्थिक वृद्धि देखाउन कतिपय दबाब पनि सिर्जना भएका छन् । तथ्यांकलाई बढी देखाउन, तोडमोड गर्न यो सरकार माहिर छ । दबाब सिर्जिना भइरहेको म सुन्छु । यतिसम्म कि गत वर्ष डुइङ बिजनेस इन्डेक्समा आपत्ति पनि जनाइयो । जतिबेला नेपाल १ सय १०आंै स्थानमा थियो । एउटा कारण त यो हुन सक्छ कि जे–जति आर्र्थिक वृद्धि हुन सहयोग गरेको छ त्यो भनेको भूकम्पपछिको पुनर्निर्माण र मौसममा आएको सुधारले कृषिजन्य वस्तुको उत्पादन बढ्नु नै हो । अर्को कुरा, उपभोग बढेर पनि जीडीपीमा सुधार आएको छ, जस्तो रेमिट्यान्सका कारणले सरकारको सालबसाली खर्च बढेको छ । सामाजिक क्षेत्रमा बाँडफाँड भएको छ, त्यसले गर्दा उपभोग बढ्यो, रिटेल टे«ड पनि बढ्यो । होलसेल ट्रेड पनि बढ्यो । अर्को सेवा क्षेत्रको योगदान हो । जीडीपीमा पनि सेवा क्षेत्रको योगदान बढी छ । यो उपभोग र रेमिट्यान्सका कारण भएको आम्दानीको खर्चका कारणले भएको हो । अहिले हेर्दा करिब ६० प्रतिशत योगदान सेवा क्षेत्रबाट छ । तर, उद्योगको योगदान घटेर ६ मा झरेको छ । १९९० को दशकमा उत्पादन क्षेत्रको योगदान १० प्रतिशत थियो । यो कुल राजस्व वृद्धि गर्नलाई आगामी वर्षमा उत्पादनमुखी क्षेत्रमार्फत हुनुपर्छ । सेवा क्षेत्रले मात्रै सरकार बलियो हुँदैन । आर्थिक वृद्धि बढी देखिनुका पछाडि यस्ता यावत् कुरा छन् ।
दुईतिहाइको सरकारले दुईवटा बजेट ल्यायो । यो अवधिमा सरकारले उत्पादन बढाउने रोजगारी सिर्जना गर्ने खालको काम गर्न सकिरहेको छैन भन्ने गरिन्छ । रेमिट्यान्स र उपभोगले चलाइरहेको हाम्रो अर्थतन्त्रले कसरी दिगो विकास र दिगो आर्थिक वृद्धि गर्न सक्छ त ?
दिगो आर्थिक विकासका लागि यो मात्रै पर्याप्त छैन, उत्पादन बढाउनुपर्छ । कृषिमा उत्पादनका सम्भावना छन् । उद्योगमा पनि वृद्धिदर बढाउनुपर्ने देखिन्छ । त्यसका लागि लगानी वृद्धि गर्ने वातावरण हुनुप-यो । भाषणले मात्रै लगानी आउँदैन । मूल कुरो सुशासन चाहिन्छ । नेपालमा लगानीमैत्री वातावरण छ भनेर देखिनुप-यो । भ्रष्टाचार अहिले व्यापक छ । जुन मुलुकमा विधिको शासन कमजोर छ, त्यही मुलुकमा बढी विकासको हल्ला भो । विधिको शासन भन्नेबित्तिकै सुशासन भन्ने बुझ्नुप-यो । यसको कार्यान्वयनका लागि नियम–कानुनहरू राम्रो हुनुप-यो । त्यसलाई कार्यान्वयन गर्ने प्रशासकीय क्षमता बलियो हुनुप-यो । जवाफदेही प्रशासन हुनुप-यो । न्यायपालिकामा पनि विश्वसनीयता हुनुप-यो । यी सबै नभइकन लगानीको वातावरण बन्दैन र निजी क्षेत्रको लगानी अभिवृद्धि हुँदैन ।
दुईतिहाइको बलियो सरकार बनेको छ । पाँच वर्षका लागि बनेको यो सरकारले अहिले करिब आधा समय बिताइसक्यो, तर अझै पनि यहाँले भनेजस्तो निजी क्षेत्र पर्ख र हेरको अवस्थामा छ, राजनीतिक स्थिरताले मात्रै लगानीको वातावरण बन्दो रहेनछ भनेर बुझ्नुप-यो त्यसो भए ?
पाँच वर्षका लागि सरकार बनेपछि सरकार आफैं प्रशासनिक संयन्त्र मन्त्रिपरिषद्को हेरफेरमै अल्झिएको छ । सही ठाउँमा सही मान्छे छैनन् । दक्षताको अभाव छ । भ्रष्टाचार अत्यन्त बढेको छ । उद्योग–व्यवसायीहरू पनि आतंकित भएको देखिन्छ । अहिले नेपालको सम्भावना भनेको जलस्रोतको क्षेत्र हो । तर, यसमा साना व्यवसायीको यति धेरै समस्या छ, गुनासो गर्नुहुन्छ कि साध्य छैन । उनीहरूले कानुन, नियमले गरेको प्रतिबद्धता र सरकारले गरेको प्रतिबद्धताअनुरूप सुविधा पाएका छैनन् । जस्तो, म स्वयं अर्थमन्त्री हुँदा प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट छुट दिने घोेषणा सरकारले गरेको थियो । त्यो कतिपयले पाएका छैनन् । कतिपय ठाउँमा बिजुलीको उत्पादन सुरु भयो, तर ट्रान्समिसन लाइन छैन । समयमा ट्रान्समिसन लाइन बनेको छैन । कहिलेकाहीं पानी कम भयो भने, जियोलोजिकल कारणले पीपीए गरेबमोजिम बिजुली भएन भने उल्टो फाइन तिर्नुपर्ने अवस्था छ । यस्ता कतिपय गुनासा निजी क्षेत्रका छन् । धेरै घाटामा छन् । बैंकको ऋण तिर्न नसकेर बसिरहेका छन् । यसले गर्दा लगानीकर्ता आउने अवस्था छैन ।
यसबाट पुँजी पलायन हुने सम्भावना कत्तिको छ ?
पुँजी पलायन त हुन सक्छ नै । अहिले सेक्युरिटीको समस्या छ । एनसेलका टावरहरूमा आक्रमण भएको छ । अरुण तेस्रो अपर कर्णालीलगायत कतिपय ठाउँमा घटनाहरू घटिरहेका छन् । तोडफोड, बम पड्काउने काम भइरहेको छ । शान्ति–सुरक्षा इत्यादिले पनि लगानीकर्ता निरुत्साहित भएका छन् । पलायनका प्रशस्त सम्भावना पनि छन् । यस्तै, पुँजी पलायनको एउटा मुख्य कारण त विदेश जानका लागि विदेशी मुद्राको उपलब्धता कम गरेको छ । त्यसले हुुन्डी बढेको छ । अर्को भनेको स्वदेशमा लगानीको वातावरण नभएपछि लगानी बाहिर जानु त स्वाभाविक नै हो ।
हाल नेपालको अर्थतन्त्र चलाउने ठाउँमा तपाईंकै विद्यार्थी हुनुुहुन्छ र उहाँ ठाउँ–ठाउँमा मेरो गुरुले भनेको काट्दिनँ पनि भन्नुहुन्छ । उहाँले लिएको नीति कहिले तपाईंले लिएको उदारीकरणको नीति देखिन्छ, कहिले उल्टो जस्तो देखिन्छ, समस्या के भएको हो ?
मुख्य कुरा कतिपय राजनीतिक दबाबले पनि होला, कतिपय उहाँका आफ्नै कमजोरीले पनि होला । सरकारमा बसेको व्यक्तिले ल्याउने नीति सरकारकै नीति हो । सरकारकै गतिविधि हो । उहाँ राजनीतिक ब्याकग्राउन्डको व्यक्ति होइन । राजनीतिक रूपमा खुसी बनाउन नसक्दा त्यसले असहज भएको हुन सक्छ, त्यसले पनि केही देखिएको होला ।
तर उहाँ मन्त्री भएर आउनेबित्तिकै श्वेतपत्र निकालेर अर्थतन्त्रको एकदमै नकारात्मक तथ्यांक प्रस्तुत गर्नुभयो, त्यो विल्कुलै गलत थियो । अहिलेको तथ्यांक हेर्दा झनै कमजोर देखिएको छ । प्रशासनिक संयन्त्र झनै कमजोर भएको छ । समग्रमा सुशासनको समस्या छ ।
उहाँको कार्यकाल सकिँदै छ, फेरि मनोनीत भएर आउनुहोला-नहोला, तर उहाँले दुई वर्ष काम गर्नुभयो र दुईवटा बजेट पनि ल्याउनुभयो । तपाईं उहाँको शिक्षक पनि भएकाले उहाँको पर्फमेन्सका आधारमा कति नम्बर दिनुहुन्छ ?
म कसैको आलोचना वा व्यक्तिगत रूपमा जाँदिनँ । तर, अनुभवका आधारमा भन्दैछु कि बजेट पेस गर्ने भन्ने कुरामा अर्थमन्त्रीकै बढी हात हुन्छ । पहिलो बजेटमा धेरै कमी–कमजोरी थिए । मैले त्यतिबेला पनि आफ्नो धारणा राखेको थिएँ । अहिलेकै बजेटमा पनि झन्डै जीडीपीको १४ प्रतिशत राष्ट्रिय ऋण बढाउने तरिकाले ल्याइएको छ । आन्तरिक र बाह्य ऋण जसरी उठाउने भनिएको छ त्यो गलत छ । जथाभावी खर्च, सालबसाली खर्च जथाभावी बाँड्ने, सुविधाहरू बढाउने कुरा छ, त्यसमा कन्ट्रोल गर्नु पर्ने हो, त्यो देखिएन । महत्वाकांक्षी लक्ष्य राखिएको छ । त्यसमा सुधार गर्नुपर्ने देखिन्छ । यति नै प्रतिशत आर्थिक वृद्धि गर्छौं भनेर सरकारले भन्ने कुरा हुँदै होइन । यस कारणले प्रक्षेपण गर्ने हो, यसमा पनि सरकारको अपरिपक्वता देखिन्छ ।
साथै, सरकारले आर्थिक ऐन–नियम जसरी ल्याइरहेको छ, त्यो पनि गलत छ । भएका संस्थाहरूलाई समाप्त गर्ने, निजी क्षेत्रको मनोबल गिराउने गरी हाल सरकारले ल्याउन लागेको वाफिया वा अन्य आर्थिक ऐन–नियम हेर्दा सरकार वित्तीय अधिनायकवाद लागू गर्न खोज्दै छ भन्ने स्पष्ट देखिन्छ ।
तर, त्यसको विरोध त प्रतिपक्षको नाताले नेपाली कांग्रेसले गर्नुपर्ने हो नि ?
त्यसमा हाम्रो कमजोरी भयो । विरोध नै नगरेको पनि होइन, तर सशक्त विरोध भने हुन नसकेको हो ।
हाल देशभित्रै लगानीको विषयमा यति ठूलो विवाद छ र देशबाहिरबाट आउने एमसीसीजस्तो ठूलो सहयोगमा पनि सरकारले विवाद खडा गरेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?
यसमा सरकार आफैंले विवाद खडा गरेको त होइन, तर सत्ताधारी दलभित्रै विवाद छ । हास्यास्पद ढंगले यी कामहरू भैरहेको छ । एमसीसीको खिलाफमा सत्ताधारी पक्षबाटै विवाद आएको छ । यो घोर आपत्तिजनक छ, किनभने जुन आरोप उनीहरूले लगाइरहेका छन् त्यसमा कुनै आधार छैन । जस्तो एससीसीमा लागेको खण्डमा अमेरिकाको आर्मी नेपालमा आउँछ रे । हाम्रो असंलग्न नीतिको खिलापमा भएको हुन्छ रे । यी सबै झूटका आरोप हुन् ।
तर, एमसीसी भनेको अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको एउटा अंग हो भन्ने कुरामा अमेरिकी राजदूतावासले स्पष्ट पारिसकेको छ । इन्डो प्यासिफिक भनेको मिलिटरी एलाइन्सको रणनीति हो, त्यसैले यो नेपालको हितविपरीत छ भन्ने तर्क गरिरहेको सुनिन्छ नि ?
एमसीसीको ओरिजिन इन्डो प्यासिफिक रणनीतिभन्दा धेरै वर्षअघि भएको हो । सन् २००४ मा अमेरिकाको कंग्रेसले मिलिनियम च्यालेन्ज कर्पोरेर्सनको सिर्जना गरेको हो । यो अमेरिकाको विदेश मन्त्रालयअन्तर्गत पनि पर्दैन । संयुक्त राष्ट्रसंघको मिलिनियम डेभलपमेन्ट गोललाई ृसहयोग गर्न अगाडि सारिएको हो र यसका लागि अमेरिकाले यसरी सहयोग गर्छ भन्ने हो । म आफैंले पनि सन् २००२ मा मेक्सिको मोनिटरीको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गरेको थिएँ । अमेरिकाको राष्ट्रपतिले त्यति नै बेला मिलिनियम च्यालेन्ज एकाउन्ट सुरु गर्ने र कम आय भएका मुलुकलाई वर्षमा ५ बिलियन डलर एडिसनल अनुदान दिन्छौं भनेर घोषणा गरिएको कार्यक्रम हो । निश्चित मुुलुकले निश्चित सर्त पूरा गरेर मापदण्ड पूरा गर्छन्, त्यसले यो पाउँछ । यसका लागि जुन देशमा लोकतान्तिक पद्धति छ, संस्थाहरू छन्, जहाँ उदार आर्थिक नीति छ, लगानीको वातावरण छ र गरिब जनताको पक्षमा धेरै खर्च भएको छ, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा बढी खर्च भएको छ, जहाँ भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ, यी सबै मापदण्ड पूरा गर्ने मुलुकलाई दिने हो एमसीसीको सहायता । यो सारा संसारका कम आय भएका मुलुकहरूलाई दिन अमेरिकाले घोषणा गरेको हो । त्यहीअन्तर्गत अफ्रिका, ल्याटिन अमेरिकालगायत एसियाका विभिन्न मुलुकले पाएका छन् । नेपालले विभिन्न स्टेज पार गर्दै, थ्रेस होल्डको स्टेजलाई पार गर्दै कम्प्याक्ट नेगोसेसन गरेको हो । यसका लागि सन् २०१४ मा म स्वयं अर्थमन्त्री भएका बेला नेपालले सबै मापदण्ड पूरा ग-यो र यसका लागि योग्य भयो भनेर क्वालिफाई भयो भनेर हामीले जानकारी गरायौं । एमसीसीको कार्यालय नेपालमा खुल्यो । कुन–कुन क्षेत्रमा अमेरिकाले एमसीसीअन्तर्गत काम गर्ने भनेर परियोजना छनोटका लागि नेपाली एक्सपर्टहरूले काम गर्न थाले । उनीहरूले अध्ययन गरेर छनौट गरेका परियोजनामा काम गर्ने भनेर सन २०१७ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा त्यसमा हस्ताक्षर गरेका हुन् । नेपालको आवश्यकताअनुसार नेपालको चाहनाअनुसार र छनोट गरेका आयोजनामा यसले सहयोग गर्ने हो ।
यो नेपालको हितमै छ भनेर कसरी विश्वस्त पार्नुहुन्छ ?
जुन सम्झौता गरिएको थियो, त्यो बिल्कुलै आर्थिक विषयसँग सम्बन्धित छ । नेपालको आवश्यकता त्यसमा घोषित नीतिअनुसार नै सम्झौता भएको छ । हाल जुन तरिकाले व्याख्या–अपव्याख्या गरिएको छ ती सबै झूटमुटका कुरा हुन् । संसद्मा हिन्दुस्थानको सहमति चाहिन्छ भन्ने कुरा उठेको रै’छ । त्यहाँ एउटा क्लज छ त्यो भनेको बुटवलदेखि गोरखपुरसम्म हाई भोल्टेजको ट्रान्समिसन लाइनका लागि हो । किनभने हिन्दुस्थानको भूमि प्रयोग गर्नका लागि उसको स्वीकृति पनि चाहियो । त्यसकै लागि मात्रै हो । यो स्वाभाविक हो । यसमा हिन्दुस्थानले सहमति दिइसक्या छ र अब विवाद गर्नुपर्ने कुरा केही छैन ।
त्यस्तै, अमेरिका १९५१ देखि नै नेपालका लागि आर्थिक सहयोग गर्ने मुलुक हो । विश्वका जति पनि संयुक्त राष्ट्रसंघलगायत विश्व बैंक एडीबी सबैमा उसको हिस्सा धेरै छ, यो अनुदान हो । यो ग्लोबल प्रोग्रामको अंग हो । यसलाई इन्डो प्यासिफिक नीतिअन्तर्गतको हो भनेर आपत्ति गर्नुपर्ने छैन । हामीले जहाँ–जहाँ हस्ताक्षर गरेका छौं, त्यसका कहींकतै मिलिटरी एलाइन्सको भनिएको छैन र होइन पनि ।
तर अमेरिका आफैंले इन्डो प्यसिफिककै अंग भनेपछि र सम्झौतामा केही त्यस्तै खालका बुँदा छन् भनेर विवाद चर्काइएको छ नि ?
मैले जानेबुझेसम्म त्यस्तो कुनै व्यवस्था छैन । हाम्रो वैदेशिक सहायता नीतिअनुसार जुन नियम–कानुनहरू बनेका छन् त्यहीअनुसार बस्ने हो । दुई देशको बीचमा जुन सम्झौता भएको छ त्यही हो । त्यसमा अमेरिकाको नीतिअनुसार भन्ने छँदै छैन । उनीहरूले आफूले दिएको सहयोगमा उनीहरूले पनि गर्छन् । नेपालमा सञ्चालित अरू वैदेशिक सहायताका आयोजनामा पनि नेपालले पनि गर्छ र त्यसबाहेक आफूले दिएको सहयोगको दुरुपयोग नहोस्, भ्रष्टाचार नहोस्, चुहावट नहोस् भनेर विकास साझेदारले पनि अडिट गर्छन् । यसमा आपत्ति गर्नुपर्ने हुँदै होइन । यो सारा संसारले स्वीकार गरेको व्यवस्था हो । करिब ५० मुलुकले एमसीसीअन्तर्गत सहयोग लिइसकेका छन् । एसियाकै इन्डोनेसियाले सहयोग लिएको छ, श्रीलंका तथा मंगोलियाजस्ता मुलुकले पनि लिएका छ्न् । त्यसैले यो मिलिटरी एलाइन्स खाली विरोध गर्ने बहाना हो । यी सबै झूट र प्रोपोगान्डा हुन् ।
त्यसो हो भने नेपाल अमेरिका र चीनको तानातानमा परेको हो त ? बीआरआईसँग सम्झौता हुने कार्यान्वयन गर्न हुने अमेरिका र भारतसँग गरिएका सम्झौताहरू कार्यान्वयनमा समस्या किन ?
त्यस्तै देखिन्छ । बीआरआईसँग सम्झौता गर्न हामीलाई आपत्ति नहुने, एमसीसीको सहयोग लिन आपत्ति हुने ? जबकि यो अनुदान हो र ग्लोबल फेनोमेनन हो । एउटा आशंका के देखिन्छ भने बीआरआई भनेको चीनले आफ्नो इन्फ्लुएन्स बढाउने र इन्डो प्यासिफिक भनेको अमेरिकाले आफ्नो इन्फुलेन्स बढाउने भन्ने छ । त्यसमा उनीहरूका आफ्ना कुरा होलान् । तर, हामीले हाम्रो इन्ट्रेस्ट के भन्ने कुरा बुझ्नुपर्छ । नेपालको आफ्नो हितमा हेर्ने हो, हामीले कुनै पनि राष्ट्रको खिलापमा ल्याइएका सम्झौतामा हस्ताक्षर गर्दैनौं । बीआरआईमा हस्ताक्षर गर्दा पनि हिन्दुस्तानको खिलापमा थियो भनेर प्रचार गरिएको थियो । हामीले हस्ताक्षर ग-यौं । तर, इन्डो प्यासिफिकमा त हामीले हस्ताक्षर गरेका छैनौं । त्यस्तोमा हामी कदापि सहभागी हुनै सक्दैनौ । अर्को म के भन्छु भने हिजो कोल्ड वारको समयमा अमेरिकाको सारा नीति रूसको खिलाफमा र रूसको सारा नीति अमेरिकाको खिलाफमा हुन्थ्यो । तर पनि हामीले अमेरिकाबाट पनि सहयोग लिइराखेका थियौं । साथै, रूसबाट पनि सहयोग लिइराख्या थियौं र न नेपाल रूसको खिलाफमा गयो, न त अमेरिकाको खिलाफमा । हामीले हाम्रो राष्ट्रिय स्वार्थ हेर्ने हो । हाम्रा लागि सबै छिमेकी तथा विकास साझेदार बराबर हुन् । उनीहरूका भित्री मनसाय हुन सक्छन् । ती के छन् मान्छेले आआफ्नो ढंगबाट हेर्ने हुन् । जो कतिपयले बीआरआई र इन्डो प्यासिफिकलाई आआफ्नो तरिकाले व्याख्या गरिरहेका छन् । त्यही अर्थमा हामी पक्ष विपक्षमा जाने भन्ने हुँदैन । एमसीसीबाट सहयोग लिने भनेको सम्पूर्ण नेपालको हितमा हो । हाम्रो चाहनाअनुसार हामीले छानेका आयोजनाहरूमा हो । यति ठूलो रकम हामीले अनुदान विरलै पाएका छांै । यसले नेपालको ऊर्जा विकासका लागि, यातायात विकासका लागि ठूलो सहयोग दिन्छ । यसमा आपत्ति गर्नुपर्ने कुराचैं विल्कुलै निराधार हो ।
सरकारले दुईतिहाइको भरमा एससीसीलाई संसद्बाट रोक्यो भने के हुन्छ ?
मलाई लाग्छ, यो जानकारीको अभावमा विरोध हो । सत्ताधारी माउ पार्टीको आन्तरिक खिचातानी यहाँ प्रतिविम्बित भएको हो । यो एमसीसीका बारेमा धेरै जानकारी लिएर या ज्ञान लिएर भएको होइन, उनीहरू केही हदसम्म भ्रममा हुन सक्छन्, केही आन्तरिक राजनीतिक द्वन्द्वले हो । यो अस्वीकार गर्ने हो भने नेपाललाई सबैभन्दा ठूलो नोक्सान हुन्छ । यति ठूलो सहयोग बिनासर्त नेपालको पूर्वाधार विकासका लागि प्राप्त भइरहेको छ, यो अवसर हामीले गुमाउँछौं । दोस्रो, यसले अन्तर्राष्ट्रिय छवि बिगार्छ । हाम्रो विश्वसनीयता यसले समाप्त पार्छ, जुन कुरा हामी आफैंले एप्लाई गरेर मापदण्ड पूरा गरेर स्वीकार गरेका छौं । हामीजस्ता ५० मुलुकले प्राप्त गरेका छन् । त्यो मुलुकमा बिल्कुलै आन्तरिक राजनीतिक कारणले अस्वीकार गर्ने हो भने यसले हाम्रो विश्वसनीयता समाप्त पार्छ । नेपालको अन्तर्राष्ट्रिय विश्वसनियता नै सकिन्छ ।
यदि यो विश्वसनीयता नेपालले गुमायो भने चीनले पनि नेपाल लगानीयोग्य मुलुक रहेनछ भन्ने कुरा बुझ्छ । नेपाललाई चीनले आफ्नोअन्तर्गत राख्ने हो भने खुसी होला, तर मलाई त्यो लाग्दैन । किनकि चिनियाँ राजदूतले पत्रकार सम्मेलन गरेरै नेपालले आफ्नो निर्णय आफैं लिन सक्छ भन्ने स्पष्ट पारिसकेको छ । भारत अमेरिकासँग राम्रो सम्बन्ध हो भन्ने नै छ ।
त्यसो भए अहिले एउटा पक्षले एमसीसीको विवाद अर्को पक्षले बीआरआईको विवाद गर्ने विवाद बढाउँदै जाने र नेपालको विकासमा अवरोध गर्न एक तत्व हावी भएको हो ?
नेपालको राजनीति अत्यधिक रूपमा बिग्रेको देखिन्छ । अरू मुलुकमा हेर्र्दा सरकारै पक्ष उनीहरूको परराष्ट्र नीति फेरिएको हुँदैन, राष्ट्रिय नीति भनेको राष्ट्रिय नीति नै हो । नेपालमा दलीयकरण र दलभित्र पनि गुटगत दलीयकरण बढी देखियो । यसले नेपालसँग भएको कुनै पनि सहमति सम्झौतालाई नकारात्मक ढंगले प्रभाव पारेको छ ।
भनेपछि यसले नेपालमा आउने वैदेशिक सहायता र लगानीलाई असर पार्छ भन्ने यहाँको बुझाइ हो ?
त्यसले नकारात्मक असर पार्छ नै । पूर्वाधारमा यति ठूलो लगानी विश्वको शक्तिशाली र शक्तिसम्पन्न राष्ट्रले जसले सारा संसारभरि ग्लोबल कार्यक्रमअन्तर्गत सहयोग गरेको छ । नेपालले स्वीकार गरेको र हस्ताक्षर गरेको कार्यक्रमलाई रद्द ग-यो भने त्यसले निजी क्षेत्रले अझ बढी दुःख पाउँछ । सरकारको विश्वसनीयता घट्छ र पूर्वाधार अझै कमजोर हुन्छ ।
एमसीसीअन्तर्गत नेपालमा भएको सम्झौता छ । यी सबै नेपालको नीतिविपरीत छैनन् । पहिले हाम्रा नीतिहरू सबै संसद्मा आउँदैनथे । अहिले यसलाई ल्याइएछ । त्यसमा कतिपय कडा सर्त राखिएको छ । तोकिएको समयमै काम सम्पन्न गर्नुपर्छ । यो अत्यन्त पारदर्शी ढंगबाट हुनुपर्छ, एकाउन्टिबिलिटी, भ्रष्टाचार, चुहावट नियुक्तिमा समावेशिता हुनुपर्ने जस्ता कुरा छन् । व्यवस्थापकीय हिसाबले कतिपय सकारात्मक कुरा समयमा काम सम्पन्न गर्ने भएकाले यसले अरूलाई पनि प्रोत्साहित गर्छ । यो आयोजना नमुना मोडलका रूपमा हुन्छ । नेपालमा समयमा आयोजना सम्पन्न नहुने लागत खर्च बढ्ने जस्ता समस्या छन् । यसले त त्यस्ता कामलाई निरुत्साहित गरेर नेपालको विकासमा सघाउ पु-याउँछ नै ।
https://www.karobardaily.com/news/interview/28182

प्रधानमन्त्रीले अनुगमन गरेका आयोजनाको प्रगति कमजोर

छ महिनामा जम्मा १८ प्रतिशत खर्च
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै अनुगमन गर्ने निर्णय गरे पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति चालू आर्थिक वर्षमा झनै कमजोर देखिएको छ । गत आर्थिक वर्षको छ महिनामा २८ प्रतिशत प्रगित गरेका आयोजनाको प्रगति चालू आर्थिक वर्षमा गत वर्षभन्दा १० प्रतिशत कम अर्थात जम्मा १८ प्रतिशतमा सीमित छ ।
प्रधानमन्त्री ओलीले गत वर्षको बजेट कार्यान्वयनको मध्यावधि समीक्षापछि गौरवका आयोजनाको काममा असन्तुष्टि राख्दै यस्ता आयोजनाको प्रधानमन्त्री कार्यालयबाटै अनुगमन गर्ने घोषणा गरेका थिए । जसअनुसार प्रविधिको प्रयोग गरी केही आयोजनाको अनुगमन गरिएको प्रचारसमेत गरिएको थियो । प्रधानमन्त्रीको घोषणा कार्यान्वयनमा आएको एक वर्षमै यस्ता आयोजनाको अवस्था झनै कहालीलाग्दो देखिएको छ ।प्रधानमन्त्रीले अनुगमन गरेका आयोजनाको प्रगति कमजोर
हालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको छ महिनामा २१ मध्ये १८ आयोजनाको खर्च जम्मा १८ प्रतिशत देखिएको छ । यो खर्च गत वर्षको सोही अवधिको तुलनमा १० प्रतिशतले कमी हो । महालेखाका अनुसार ६ महिना अवधिमा यस्ता आयोजनाको पुँजीगत खर्च १२ अर्ब ६१ करोड भएको छ भने चालू खर्च ५४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा पाँच आयोजनाको खर्च १० प्रतिशत पनि पुगेको छैन भने दुई आयोजनाको प्रगति शून्य देखिएको महालेखाले जनाएको छ ।
सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन वहुउेश्यीय आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । यस्तै, मेलम्ची खानेपानी आयोजना, पशुपति विकास कोष, लुम्बिनी विकास कोष, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र काठमाडौं तराई मधेश द्रुतमार्ग पनि सरकारको उच्च प्राथमिकताप्राप्त आयोजना हु्न् । मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण राजमार्ग, हुलाकी राजमार्ग, रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना, माथिल्लो तामाकोसी आयोजना, दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना पनि सरकारको उच्च प्राथमिकतामा छन् । यस्तै, पोखरा क्षेत्रीय विमानस्थल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सरकारले प्राथमिकताप्राप्त आयोजनाको सूचीमा राखेको छ ।
महालेखाका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४÷७५ मा राष्ट्रिय गौरवका आयोजनाले विनियोजित रकमको ४९ प्रतिशतमात्रै खर्च गरेकोमा गत आर्थिक वर्षमा त्यो अवस्थामा सुधार हुँदै विनियोजित बजेटको ८९ प्रतिशत खर्च गरेका थिए । यसलाई आधार मान्दै सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले उच्च प्राथामिकताको सूचीमा सूचीकृत २१ मध्ये १८ आयोजनलाई १ खर्बभन्दा बढी रकम विनियोजन गरेको छ । जसमध्ये आर्थिक वर्षको आधा अवधि सकिँदा राष्ट्रिय गौरवका आयोजनका खर्च १८ प्रतिशत अर्थात ६ महिनामा १८ अर्ब ३२ करोड रूपैयाँ मात्रै खर्च भएको महालेखाले जनाएको छ ।
महालेखाको तथ्यांकअनुसार यो अवधिमा १३ अर्ब ५७ करोड बजेट विनियोजन गरिएको बूढीगण्डकी जलविद्युत आयोजनाको खर्च ६ महिनाको अवधिमा १ अर्ब २ करोड छ । बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको खर्चको गति थप कमजोर देखिएको छ । यस्तै, नेपाली सेनाले निर्माण जिम्मा लिएको द्रुर्तमार्गको खर्च पनि निकासको हिसाबले अत्यन्त न्यून छ । ६ महिनामा ५० प्रतिशत माथि खर्च गर्ने आयोजनाको संख्या दुईमात्र छ । अहिलेसम्म बूढीगण्डकी जलविद्युत् आयोजना, निजगढ विमानस्थल र पश्चिमसेती जलविद्युत् आयोजनको भौतिक प्रगति शून्य प्रतिशत छ ।
प्रधानमन्त्री कार्यालयको विवरण अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लामो समयदेखि ९९ प्रतिशत काम सकिएर पनि एक प्रतिशत काम नसकिँदा पूर्ण हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजना ९४ प्रतिशत काम सम्पन्न भएर पनि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष ०६२-६३ बाट निर्माणसुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको काम अझै ४० प्रतिशत बाँकी रहेको छ ।
गत वर्ष उल्लेख्य काम भएको हुलाकी सडक आयोजनाको काम ४२ प्रतिशत र मध्यपहाडी लोकमार्गको काम ४३ प्रतिशत सकिएको उल्लेख छ । हालसम्म दुई आयोजनाको काम ९० प्रतिशतमाथि दुई आयोजनाको काम ८० प्रतिशतदेखि ९० प्रतिशतसम्मको प्रगति भएको छ .https://www.karobardaily.com/news/economy/28235

Thursday, January 16, 2020

१५३ स्थानीय तहको बजेटमा आन्तरिक स्रोत शून्य

नेपाल संविधान, कानुन र संघीय सरकारका विभिन्न नीति, नियम र कार्यविधिहरूमा स्थानीय तहको बजेटको एक स्रोतको रूपमा आन्तरिक स्रोतको राजस्व रहने उल्लेख भएपनि १ सय ५३ स्थानीय तहको आर्थिक वर्ष २०७६-०७७ को राजस्व र व्ययको अुनमान(बजेट)मा आन्तरिक स्रोतको रकम समावेश गरिएको देखिँदैन ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहको राजस्व र व्ययको अनुमान(बजेट)लाई गुगल सिटमा उपलब्ध गराएअनुसार ती १ सय ५३ स्थानीय तहले चालू आर्थिक वर्षको बजेटमा आन्तरिक स्रोतको हिस्सालाई समावेश नगरेको पाइएको हो । मन्त्रालय स्थानीय तहसँग पटकपटक ती विवरणहरू माग गरेर सार्वजनिक गरेको हो ।
तर, उक्त गुगल सिटको विवरणअनुसार अझै कतिपय स्थानीय तहले बजेट नै पेश नगरेको भन्ने उल्लेख भएपनि सम्बन्धित स्थानीय तहको वेबसाइटमा भने चालू आर्थिक वर्षको बजेट उपलब्ध भएको पाइन्छ । यसैगरी कतिपय बजेट पेश गरेका भनि इंगित गरिएका स्थानीय तहले मन्त्रालयलाई बजेटको कुनै पनि फेहरिस्त उपलब्ध नगराएकाले ती समेतलाई जोड्दा आन्तरिक स्रोतको व्यवस्था नगरी बजेट बनाउनेको स्थानीय तहको संख्या १ सय ५३ पुगेको हो । तर मन्त्रालयले बजेट सम्बन्धी विवरण अद्यावधिक गराउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गरेको छ ।
स्थानीय तहले संघ र प्रदेश सरकारबाट संविधान बमोजिम वित्तीय हस्तान्तरणको रूपमा वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष र समपुरक अनुदान पाउँछन् भने संघ र प्रदेशबाट पनि राजस्व बाँडफाँटसमेत रकम पाउँछन् । नेपालको संविधानको धारा ५९ को उपधारा(३) मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउने छन् र प्रदेश र स्थानीय तहले बजेट पेश गर्ने समय संघीय कानून हुनेछ भन्ने व्यवस्था रहेको छ ।
यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) तथा अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा (३) ले गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आवको लागि असार महिनाको १० गते भित्र राजस्व र व्ययको अनुमान सम्बन्धत गाउँ नगरसभामा पेश गरी स्वीकृत भएपश्चता मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।
१८३ तहमा आन्तरिक ऋणको अनुमान
यसैगरी, १ सय ८३ स्थानीय तहले चालू आवको बजेटमा आन्तरिक ऋण उठाउने भएका छन् । संविधान र अन्य कानुनमा उल्लेख भएअनुसार ती स्थानीय तहले चालू आवको बजेटमा आन्तरिक ऋण उठाउने गरी बजेट ल्याएका हुन् ।

नेपालमा स्थानीय तहले पहिलोपटक आन्तरिक ऋण उठाउने अभ्यास कार्यान्वयनमा आएको छ । यसअघि नगर विकास कोषबाट आन्तरिक ऋण सापटी लिएर पूर्वाधार विकासका कार्य गर्दै आएपनि त्यो ऋणलाई संविधानले आन्तरिक ऋणको परिभाषामा राखेको थिएन । संघ, प्रदेश र स्थानीय तहले उठाउने आन्तरिक ऋणको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयागले तोकेर सरकारलाई सिफरिश गरेअनुसार नै प्रदेश र स्थानीय तहले आन्तरिक ऋणसमेत उठाउनेगरी चालू आवको बजेट ल्याएका हुन् । तर, अहिलेसम्म आन्तरिक ऋण उठाउनका लागि अन्य मोडालिटी के हुने भन्नेप्रष्ट भइसकेको छैन ।
संघीय सरकारले राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयकअनुसार आन्तरिक ऋण उठाउने गर्छ । तर प्रदेश र स्थानीय तहका लागि पनि यही व्यवस्थाअनुसार हुन सक्ने वा नसक्ने भन्ने अहिले पनि छलफलमा नै रहेको आयोगका एक कर्मचारीले बताए । यसैगरी प्रदेश र स्थानीय तहले आन्तरिक ऋण उठाउने सक्ने गरी कानुन नल्याएकाले चालू आवको बजेटमा आन्तरिक ऋणको अनुमान पेश गरेपनि उठाउन सक्ने सम्भावना नरहेको ती कर्मचारी बताउँछन् ।
संविधानले घाटा बजेट बनाउने अधिकार दिएको छ । घाटा बजेट पूर्तिका विभिन्न स्रोतमध्ये आन्तरिक ऋण हो । तर यसको व्यवस्थापन कसरी गर्ने भन्ने चाँही स्पष्ट हुनुपर्छ । नेपालमा नेपाल राष्ट्र बैंकले सार्वजनिक ऋणको व्यवस्थापन गर्दै आएको छ । बैंकले विल्स र वण्ड बिक्री गरी खुला बजारमा पैसा उठाउँछ । विगतमा(एकात्मक शासन व्यवस्था)मा पनि नेपाल सरकारले आन्तरिक ऋण उठाउँदै आएको हो । सरकारहरूले ऋण उठाउनका लागि कानुन, ऋण परिचालनका औजार र संस्थागत क्षमता चाहिने ती अधिकारी बताउँछन् ।

राजस्व लक्ष्य र पुसको भरथेग

सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्मको अवस्था हेर्दा राजस्व लक्ष्य पूरा हुने निकै कठिन छ, अर्थात् यो अवधिमा राजस्व लक्ष्य ५ सय ३७ अर्ब रहे पनि संकलन भने ४ सय ३३ अर्बमात्र भएको छ । यसरी पहिलो ६ महिनामै लक्ष्यभन्दा १ सय ४ अर्ब कम राजस्व संकलन भए पनि यो अवधिमा सबैभन्दा बढी राजस्व लक्ष्य राखिएको महिना पुसको भने लक्ष्य पूरा हुनु सुखद् पक्ष हो । यद्यपि, यस हिसाबले वार्षिक लक्ष्य चुम्न कठिन छ र यसका लागि एकातर्फ आगामी दिनमा निकै परिश्रमको खाँचो देखिएको छ भने अर्कातर्फ अवास्तविक र अव्यावहारिक प्रक्षेपणको पद्धतिको पनि अन्त्य गरिनुपर्छ ।
राजस्व लक्ष्य अव्यावहारिक छ भन्नेमा सन्देह छैन । सरकारले चालू आर्थिक वर्षमा राजस्व असुलीको बृद्धिदर ३० प्रतिशत राखेको छ । तर, अपवादलाई छाडेर विगत १५ वर्षको तथ्यांक हेर्दा औसतमा २० देखि २२ प्रतिशतमात्रै राजस्व वृद्धि भएको पाइएको छ । राजस्व लक्ष्य पूरा नहुनुमा सरकारको नै कमजोरी बढी देखिन्छ किनकी सरकारले खर्च प्रणालीमा सुधार गर्न सकेको छैन । तथ्यांक हेर्दा संघीय सरकारको ६ महिनाको पुँजीगत खर्च निकै कम अर्थात १३.७५ प्रतिशतमात्र देखियो । जबकि अघिल्लो वर्षसमेत यस अवधिमा १७.७५ प्रतिशत खर्च भएको थियो । यसरी सरकारी खर्चकै सुस्तताका कारण राजस्वमा समेत समस्या देखिएकाले यसतर्फ सरकारले बेलैमा सोच्नुपर्ने अवस्था छ ।

त्यसो त अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ महिनामा बजेट सार्वजनिक गर्दा नै धेरै आलोचकहरूले सरकारले राखेको राजस्वको लक्ष्य महत्वाकांक्षी भएको टिप्पणी गरेका थिए ।तर, अर्थमन्त्रीले यसलाई पूरा गर्न सकिने भन्दै अडान राख्दै आएका थिए । राजस्व संकलनको अर्धवार्षिक लक्ष्य पूरा नभए पनि पुस महिनाको मात्रै भए पनि लक्ष्य पूरा गरेर प्रतिष्ठा जोगाउने प्रयास गरेको देखियो । लक्ष्य पु-याउन पनि कर राजस्वबाट सम्भव नभए पनि गैरकर राजस्वमा जोड दिनु दिएको पाइयो । सरकारले आफ्नो ठूलो शक्ति लाभांश उठाउन नै खर्चिएर पुसको लक्ष्य जेनतेन पु-याए पनि भोलिका दिनमा खर्चको रफ्तारसमेत नबढाउने हो भने अर्थतन्त्र झनै खुम्चिन सक्ने देखिन्छ । अर्थमन्त्रीले राजस्वको छिद्रहरू टालेर र राजस्व प्रशासनमा सुधार गरेर राजस्व लक्ष्य पूरा हुने आशा गरेको देखिए पनि राजस्व असुलीको हालसम्मको अवस्था हेर्दा यी दुवै फाँटमा कमजोर उपलब्धि देखिएका छन् ।उच्च राजस्व संकलनको लक्ष्य राख्दैमा त्यसले समग्र नागरिकको कर तिर्न सक्ने क्षमता बढ्दैन । आमनागरिकको कर तिर्ने क्षमता बढ्नका लागि अर्थतन्त्रमा व्यापक रूपमा क्रियाशीलता सिर्जना भएको हुनुपर्छ । तर, विद्यमान प्रवृत्ति हेर्दा अर्थतन्त्र न पूर्ण क्रियाशील भएको देखिन्छ, न निष्क्रिय नै जस्तो छ । खासगरी निर्माण र पुनर्निर्माण सम्बन्धी गतिविधिहरूमा लगानी प्रवाह भएकै छैन ।
बजेटमा जुन ढंगले राजस्व प्रशासनमा सुधार गरिनेछ भनिएको थियो, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा त्यसतर्फ खासै महत्वपूर्ण प्रगति भने भएको देखिएन ।वर्तमान सरकार गठन हुनेबित्तिकै अर्थमन्त्री डा. खतिवडाले भन्सार बिन्दुहरूमा कडाइ गरेर आधारभूत भन्सार मूल्यांकनमा हेरफेर गराउँदा गत आर्थिक वर्षको अन्तिम चौमासिकमा राजस्व लक्ष्य पूरा भए पनि त्यसको असर अहिलेसम्म आयातमा देखिएको हो । अर्कोतर्फ राजस्व असुलीको लक्ष्य धेरै नै महत्वाकांक्षी राखिएको हो भने त्यसलाई बेलैमा घटाउनु उपयुक्त हुन्छ । सरकारले यसलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन ।

६ महिनामा कति भयो खर्च ?

 कुल बजेट २६ र पुँजीगत खर्च १४ प्रतिशत मात्र
काठमाडौं । यस वर्ष पनि विनियोजित बजेट खर्च गर्न सरकार असफल देखिएको छ । चालु आवको ६ महिनासम्म कुल बजेटको २५.८१ प्रतिशत मात्रै सरकारले खर्च गर्न सकेको छ ।
यस्तै पुँजीगत खर्चको अवस्था पनि सुस्त छ । पुस मसान्तसम्म पुँजीगततर्फ विनियोजित बजेटमध्ये १३.७२ प्रतिशत मात्र खर्च भएको छ । यद्यपि यो गत वर्षको सोही अवधिको तुलनामा भने केही बढी हो । गत वर्ष सोही अवधिमा १७ दशमलव ७ प्रतिशत पुँजीगत खर्च भएको थियो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्म कुल बजेटको ३ खर्ब ९५ अर्ब ६७ करोड अर्थात २५.८१ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेको छ । गत वर्ष सोही अवधिमा कुल विनियोजित बजेटमध्ये २८.६ प्रतिशत खर्च गरेको थियो । 
समीक्षा अवधिसम्म पुँजीगततर्फ छुट्टयाइएको ४ खर्ब ८ अर्ब बजेटमध्ये हालसम्म ५८ अर्ब ३९ करोड अर्थात १३.७२ प्रतिशत खर्च भएको छ । चालु तर्फ ३२.३५ प्रतिशत र वित्तिय व्यवस्थातर्फ कुल लक्ष्यको १६.५० प्रतिशत खर्च भएको कार्यालयको तथ्यांक छ । 
समीक्षा अवधिसम्म कुल लक्ष्यको ३८.९५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकारले यसअवधिसम्म ४ खर्ब ३३ अर्ब १५ करोड राजस्व संकलन गरेको छ । जसमध्ये कर राजस्व ३८.८४ प्रतिशत अर्थात ३ खर्ब ९१ अर्ब ९७ करोड र गैरकर राजस्व ४१ अर्ब १७ करोड अर्थात ४० दशमलब ०३ प्रतिशत छ । अनुदानतर्फ हाल सम्म सरकारले कत्ति पनि रकम लिएको छैन भने २६ अर्ब ४८ करोड अन्य आय शीर्षकमा सरकारलाई रकम आएको कार्यालयको तथ्यांक छ ।
किन भएन खर्च ?
अर्थविद्हरूका अनुसार परियोजनाको अवस्था मूल्यांकनै नगरी बजेट विनियोजन गर्नु, डीपीआर तयार भएका राष्ट्रिय गौरवका आयोजना अघि बढाउन नसक्नु, समयमै भुक्तानी नदिनु बजेट खर्च हुन नसक्नुको कारण रहेको बताउँछन् । आधा वर्षमा १४ प्रतिशत मात्रै पुँजीगत खर्च गर्नु भनेको सरकारले काम गर्न नसकेको भनेर स्वीकार गरेको अर्थविद् केशव आचार्य बताउँछन् । डाइरेक्ट पेमेन्टलाई जोेड्दा पनि पुँजीगत खर्च १५ प्रतिशत हाराहारिमा हुनु, विकासको काम नभएको तथ्यांकले पनि देखाएको उनले बताए । उनले यो वर्ष पनि असारे खर्च हुने देखिएको भन्दै डीपीआर तयार भएका राष्ट्रिय गौरवका आयोजनामा पनि अगाडि बढाउन नसकेको बताए । यो कमजोरीलाई सुधार्न आवश्यछ, उनले भने । 
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री पनि गत वर्ष जस्तै असारे खर्च हुने स्थिति देखिएको बताउँछन् । उनले काम सम्पन्न भएका आयोजनामा भुक्तानी नदिदा पनि पुँजीगत खर्च कम देखिएको बताए । केही क्षेत्रमा काम सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएको गुनासो निर्माण व्यवसायीले गरेको उनले बताए । उनले भने, “म अहिले पोखरामा छु, यहाँ काम सकिसकेको एक व्यवसायीले भुक्तानी नपाएको र अब काम अगाडि बढाउने कि नबढाउने दोधारमा रहेको बताए ।” अर्थविद् क्षेत्रीले परियोजनामा बजेट निकासा नगर्नु र सचिवहरूको छिटो–छिटो सरुवा गर्दा पनि असर परेको बताए । 

Wednesday, January 15, 2020

भाटभटेनी सुपरमार्केटले राजश्व छलेको ठहर

सर्वोच्च अदालतले मूल्य अभिवृद्धि र आयकरसम्बन्धी एक दशक पुराना मुद्दामा मुलुकका ठूला कम्पनीको विपक्षमा फैसला गरेको छ । सोमबार फैसला भएका राजस्वसम्बन्धी पाँचवटै मुद्दामा सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागको निर्णय सदर गरेको छ ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीस प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले केही कम्पनीलाई हराएको छ भने एक कम्पनीको फैसला उल्टाइदिएको छ । इजलासले शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि र भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई हराइदिएको छ भने अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सको पक्षमा भएको पुरानो फैसला उल्टाइदिएको छ । यस्तै, महेश बानियाँले पनि मुद्दा हारेका छन् ।सुनुवाई एक साता अघिदेखि भइरहे पनि यी मुद्दाहरू हेर्दाहेर्दैमा थिए ।
 आन्तरिक राजस्व कार्यालय, आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयविरुद्ध व्यवसायीहरू सर्वोच्च पुगेका थिए । तर, सोमबार भने संयुक्त इजलासले व्यवसायीहरूको विपक्षमा फैसला दिएको हो । फैसलाअनुसार भाटभटेनी र शंकर अक्सिजनले अब नक्कली भ्याट बिल र आयकरअन्तर्गत लाग्ने राजस्व, जरिवाना र ब्याज तिर्नु पर्नेछ भने अरुण इन्टरकन्टिनेन्टलले पनि सबै राजस्व बुझाउनु पर्ने हुन्छ ।आन्तरिक राजस्व विभागले नक्कली भ्याट बिलबाट ३ अर्ब २५ करोड रुपैयाँ कर छली भएको निष्कर्ष निकालेको थियो । भाटभटेनी डिपार्टमेन्टल स्टोरले २०६७ सालसम्म भ्याट, जरिवाना र ब्याज गरेर २३ करोड रूपैयाँ बुझाउनु पर्ने तथा एआईटीले २५ लाख रुपैयाँ भ्याट छलेको आरोप थियो । साथै शंकर अक्सिजनले २३ लाख रुपैयाँ छलेको आन्तरिक राजस्व विभागको दावी थियो ।
 २०६७ साल फागुन ४ गते आन्तरिक राजस्व विभागको टोलीले भाटभटेनी सुपरमार्केट्सको बिलिङ प्रणालीमाथि छापा मार्दा भाटभटेनीले जारी गरेका बिलमा नयाँ तथ्य भेट्टाएको दावी गरेका थियो । विस्तृत अनुसन्धान अघि बढाउँदै विभागले करिब ९ महिनापछि कम्पनीमाथि मूल्य अभिवृद्धि कर र आयकर छली गरेको दावी गर्दै कर निर्धारण गरिदिएको थियो ।तत्कालीन अवस्थामा विभागले भाटभटेनीसहित अन्य ५१८ वटा फर्ममाथि पनि अनुसन्धान गरेको थियो । तर केही फर्मको कारोबार यथार्थ रहेको भेटियो भने केहिले कारोबारको फर्जी बिजक जारी गरी कर छलेको विभागले निष्कर्स निकालेको थियो । कर अधिकृतले निर्धारण गरेको कर धेरैजसो व्यावसायिक फर्मले तिरे । तर केही कम्पनी तथा फर्महरू विभागको महानिर्देशकसँग पुनरावोलकन हुँदै राजस्व न्यायधीकरणमा पुगे । 
न्यायाधीकरणले व्यवसायीको पक्षमा फैसला सुनायो ।त्यसपछि त्यो मुद्दा सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्चले २०७२ सालदेखि २०७४ सालसम्म विभिन्न मुद्दामा पुगेको मुद्दामा फैसला गर्दै आन्तरिक राजस्व विभागको निर्णयलाई सदर गरेको छ । यससँगै २०६७ सालको बहुचर्चित नक्कली भ्याटबिलको विषयमा टुंगो लागेको छ ।तत्कालिन अवस्थामा मूल्य अभिवृद्धि करको नक्कली बिजक जारी गरी राजस्व छलेको विषयमा अनुसन्धान गरिरहेका आन्तरिक राजस्व विभागको महानिर्देशक राजन खनाल (हाल अर्थसचिव) थिए भने अर्थसचिव रामेश्वरप्रसाद खनाल थिए ।त्योबेला विभागको उपमहानिर्देशक अहिलेका योजना आयोगका सचिव लक्ष्मण अर्याल थिए । 
तत्कालीन अर्थसचिव खनालका अनुसार २०६७ सालमा आन्तरिक राजस्व विभागमा एउटा नक्कली भ्याटबिल प्रयोग भएको विषयमा गोप्यपत्र आइपुग्यो । पत्रमा चर्चित व्यवसायिक फर्महरूले नक्कली भ्याटबिल बनाएर राजस्व छलेको दावी गरीएको थियो । व्यवसायीहरूले नक्कली भ्याटबिल प्रयोग गरेर भ्याट क्रेडिट लिएर राजस्व छलेको दावी पत्रमा गरिएको थियो ।विभागमा आएको पत्रपछि विभागका उच्च अधिकारीले ती फर्महरूको बारेमा अनुसन्धान सुरु गरे । जसमा ती कम्पनीले भ्याट क्रेडिट लिएको देखियो । तर उनीहरूले जुन कम्पनीबाट वस्तु तथा सेवा खरिद गरेको भन्दै भ्याट क्रेडिट लिएका थिए ती कम्पनी नै थिएनन् । 
व्यवसायीले जुनसुकै नाममा भ्याटबिल छापेर क्रेडिट लिने काम गरेका थिए । नक्कली भ्याटबिलको अनुसन्धानको काम अहिलेका राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले गरेका थिए । नेपालका चर्चित व्यवसायिक फर्महरू संलग्न भएको नक्कली भ्याटबिलको प्रारम्भिक अनुसन्धान विभागको टोलीको सक्यो ।तर, खनाल भने तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई यसको जस दिन्छन् । “यदि तत्कालीन अर्थमन्त्री पाण्डेले खुट्टा छाडिदिएको भए यो छानबिन नै हुँदैनथ्यो,” उनी भन्छन्, “अर्थमन्त्रालयको नेतृत्व र आन्तरिक राजस्व विभागले त्यो बेला छानबिन गर्दा नामहरूको गोपनियतालाई निकै नै ध्यान दिएको थियो ।”

राजस्व लक्ष्य भेट्न कठिन

बढी राजस्व असुली हुने बस्तुकै आयात घट्दा सरकारको राजस्व लक्ष्य नराम्ररी प्रभावित भएको छ । लक्ष्य अनुरूप राजस्व उठ्न नसकेपछि अर्थमन्त्री स्वयंले सरकार आयातमुखी र राजस्वमुखी नभएको भन्दै निजी क्षेत्रको मनोबल बढाउने काममा प्रयत्नशील भएको अभिव्यक्ति दिन थालेका छन् । मन्त्रीकै निर्देशनमा अर्थ मन्त्रालय भने वैकल्पिक उपायको आवलम्बन गरेरै भए पनि राजस्व लक्ष्य भेटाउने कसरतमा जुटेको छ । मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनीराम शर्माले लक्ष्य भेटिने गरी काम भइरहेको दाबी गरे । “आज (मंगलबार) सबैभन्दा धेरै राजस्व असुली हुने भएकोले सबै तथ्याँक आइपुगेको छैन,” उनले भने, “लक्ष्य भेटिनेमा हामी विश्वस्त छौं ।”राजस्व लक्ष्य भेट्न अझै कठिन
सरकारले यो अवधिमा ५ खर्ब ३७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा  ६ महिना सकिन १ दिन बाकी रहदा सम्म जम्मा ३ खर्ब  ९० अर्ब रुपैयाँमात्र राजस्व संकलन गरेको छ । पुस मसान्तसम्मको राजस्व तथ्यांकले वर्षभरिको संकलनको तस्बिरसमेत देखाउने भएकाले समेत अर्थ मन्त्रालय राजस्व संकलनको लक्ष्य भेटाउने दबाबमा छ । राजस्वसचिव शिशीरकुमार ढुंगानाले पुस महिनाको लक्ष्य १ खर्ब ३५ अर्ब रहेकोमा भन्सार राजस्वको लक्ष्य नपुग्दा पनि कुल लक्ष्य भने पूरा हुने दावी गरे । “अघिल्लो महिनाको ग्याप यथावत रहे पनि पुसको लक्ष्य भने पूरा हुने देखिन्छ,” उनल भने ।
व्यवसायीहरूका अनुसार पछिल्लो समयमा सवारीसाधनको बिक्रीमा ४० प्रतिशत गिरावट आएको छ । यस्ता बस्तुको बिक्रीमा भारी गिरावट आएपछि व्यवसायीले आयात गरिएका सवारीसाधानहरू भन्सार नाकामै रोकिएका छन् । भन्सार विभागका अनुसार सवारीसाधन आयात रोकिँदा पार्टपुर्जाको आयात पनि ठप्प छ, जसले राजस्वमा गम्भीर धक्का लागेको छ । यसवाहेक औद्योगिक उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थको आयातमा समेत कमी आउँदा त्यसको सोझो असर राजस्वमा परेको छ । नेपाल आयल निगमले लाभांशवापत २ अर्ब २० करोड सरकारी खातामा जम्मा गरिसकेको छ भने नेपाल टेलिकमको साधारणसभा पनि मंगलबार सम्पन्न भइसकेकाले ४५ प्रतिशत लाभांश पारित गरिसकेकाले यसबाट समेत राजस्वमा ६ अर्बभन्दा बढी योगदान हुनेछ ।
भन्सार विभागले पुुस महिनामा ३६ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ भने यो अवधिसम्म भन्सार विभाग मातहतका कार्यालयहरूबाट सोमबारसम्म २६ अर्बमात्र राजस्व असुल भएको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार लक्ष्य भेटाउनकै लागि सबै कार्यालयहरूलाई भन्सारबाट सवारी लगायत भन्सार बढी उठ्ने सामग्री छिटो छाड्न निर्देशन दिइएको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भन्सार विभागले २ खर्ब ४४ अर्ब राजस्व असुली गर्ने लक्ष्य राखेको छ । तर, हालसम्म १ खर्ब ७९ अर्ब राजस्व संकलन गरेको छ । पुस मसान्तमा अग्रिम आयकरसमेतले गर्दा केही राजस्व बढ्ने देखिए पनि लक्ष्य भने पूरा नहुने निश्चित छ । यता अग्रिम कर (एडभान्स ट्याक्स) उठाउन करका हाकिमले व्यवसायीलाई निरन्तर ताकेता गरेपनि आयकरको लक्ष्य भेटिन पनि कठिन देखिएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कँुवरले गत वर्षको तुलनामा ३० प्रतिशत राजस्व वृद्धि हुने दाबी गरे । विभागले गत वर्ष पुस महिनामा मात्रै ५७ अर्ब राजस्व संकलन गरेको थियो । कुँवरले भने, “यस वर्षको पुसमा ८० अर्ब राजस्व संकलन गर्ने हाम्रो लक्ष्य हो, हामी लक्ष्यको नजिक छौं ।” गत वर्षभन्दा यो वर्ष ३० प्रतिशतले राजस्व बृद्धि हुने अनुमान गरिएको उनको भनाइ छ । उनले मंगलबार बिहानसम्म करिब ७५ अर्ब संकलन भइसककेको र सबै बिवरण आउन अझै केही दिन लाग्ने बताए । उनका अनुसार विभाग अन्तर्गतका ५९ करदाता सेवा कार्यालयहरू आयकर संकलन गरिरहेका छन् । कुँवरले दाबी गरेपनि विभागले सोमबार साँझ (पुस २८) सम्ममा ५२ अर्बमात्र राजस्व संकलन गरेको छ भने मंगलबारसम्मको तथ्यांक अद्यावधिक गरिएको छैन ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सरकारले यो अवधिसम्म तीन वर्षयताकै न्यून अर्थात छ महिनामा जम्मा १३ प्रतिशतमात्र खर्च गरेको छ । विकास खर्चको कहालीलाग्दो अवस्था र भन्सार राजस्व न्यून हुँदा राजस्व असुली न्यून देखिएको विश्लेषकहरू बताउँछन् । लक्ष्यअनुसार राजस्व असुली नभएपछि सरकारले बजेट मार्फत लिएको लक्ष्य र राजस्व संकलनको ग्याप आधा वर्षमा करिब १ खर्ब नाघ्ने निश्चित छ । गत महिनामा सम्म यस्तो ग्याप ८५ अर्ब पुगेको थियो । यद्यपि सरकारको आधिकारिक तथ्यांक भने अझै सार्वजनिक भएको छैन । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालू आवको पहिलो ६ महिना पुग्न एक दिन बाँकी रहदासम्म जम्मा ३५.१३ प्रतिशतमात्रै राजस्व असुली भएको छ । पुस सकिन एक दिनमात्र बाँकी रहँदासम्म सरकारले ३५.३६ प्रतिशत खर्च गरेको छ जसमध्ये चालू तर्फ ३२.०६ प्रतिशत, पुँजीगततर्फ १३.१४ प्रतिशत र बित्तिय तर्फ १५.०६ प्रतिशत बजेट खर्च गरेको छ ।
महत्वकाँक्षी लक्ष्य र परम्पारगत ब्यवस्थाले राजस्व असुलीमा गम्भीर धक्का लागेको अर्थशास्त्री केशव खड्काको बुझाइ छ । “हामी अझै पनि संरचनागत समस्यामै हामी अल्झिरहेका छौं,” उनले भने, “राजस्व असुलीमा देखिएको ग्याप र पुँजीगत खर्चको निराशाजनक अवस्थाले गर्दा आर्थिक वृद्धिमा समेत धक्का पुग्ने देखिन्छ ।”
चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रूपैयाँको राजस्व संकलन गर्ने लक्ष्य छ । अर्थशास्त्री केशव आचार्यपनि सरकारले विकास खर्च बढाउन नसक्दा त्यसले सम्रग राजस्व प्रणालीमै असर परेको बताउँछन् । सरकारले चालु आर्थिक राजस्व असुलीको बृद्धिदर ३० प्रतिशत राखेको छ । अपवादलाई छाडेर विगत १५ वर्षको तथ्यांक हेर्दा औषतमा २० देखि २२ प्रतिशत मात्रै राजस्व वृद्धि हने गरेको छ । “खर्च प्रणालीमा सुधार नगर्दासम्म राजस्वमा समेत धक्का पुग्ने देखिन्छ यसतर्फ सरकारले बेलैमा सोचोस्” आचार्य भन्छन् ।
https://www.karobardaily.com/news/economy/27934

Saturday, January 11, 2020

५२० आयोजनालाई अनुदान


आगामी आर्थिक बर्षकालागि प्रस्ताव आवहान
निरु अर्याल
काठमांडौ, २० पुस
चालु आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा बिशेष अनुदान पाउने भएका छन् । चालु आर्थिक बर्षकालागि प्रस्तावित १ हजार बढि आयोजनामध्येबाट छनौटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् । छनौटमा परेका आयोजना तथा कार्यक्रमलाई बजेट दिन राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई सिफारिस गरेको स्रोत बताउँछ । सिफारिसमा परेका आयोजना तथा कार्यक्रमको कुल लागत २३ अर्व १८ करोड ३३ लाख रहेको छ ।
अर्थमन्त्रालयका अनुसार कुल लागत मध्ये संघीय सरकारले १० अर्ब ८३ करोड ७७ लाख रुपैयाँ र स्थानीय सरकारले ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ बजेट खर्च गर्नेछन् । चालु आर्थिक बर्षकालागि सरकारले बजेट मार्फत स्थानीय तहमा समपूरक आयोजना सञ्चालन गर्न ५ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । छनौटमा परेका ५ सय २० वटा आयोजनाका लागि कूल ४ अर्ब ७५ करोड ४० लाख रुपैयाँ बजेट स्थानीय तहले नै ब्यहोर्नु पर्ने ब्यवस्था गरिएको छ । अर्थ मन्त्रालयका अनुसार बहुवर्षीय योजनामा रहेका कतिपय आयोजनालाई बजेट अपुग भएमा अपुग रकमका लागि स्थानीय तहले अर्को वर्ष समेत बजेट माग गर्न सक्ने ब्यवस्था मिलाईएको छ । समपुरक शिर्षकमा प्राप्त भएको अनुदान स्थानीय तथा प्रदेश सरकारले पूर्वाधार विकास सम्बन्धी आयोजनामा मात्रै खर्च गर्न पाउनेछन् ।
प्रकृतिक स्रोत तथा बित्त आयोगले तयार पारेको कार्यबिधीका आधारमा योजना आयोगले १ हजार बढि आयोेजना तथा कार्यक्रममध्येबाट ५ सय २० आयोजना छनौट परेको र अनुदानकालागि सिफारिस आएको अर्थका एक अधिकारीले जानकारी दिए । छनौटमा परेका आयोजनाले स्थानीय तथा प्रदेश सरकारले समपुरक अनुदानका लागि पर्यटन पूर्वाधार आयोजना÷कार्यक्रम, कृषि, भूमिसुधार तथा वन क्षेत्रसँग सम्बन्धित कार्यक्रमले अनुदान पाउनेछन् । पूर्वाधार निर्माणतर्फ नमुना आवास निर्माण, मझौला तथा ठूला पुल, सौर्य, वायु वा जैविकजस्ता वैकल्पिक उर्जा कार्यक्रम, स्थानीय, ग्रामिण सडक तथा कृषि सडक, शहरी वा प्रदेश लोकमार्गजस्ता आयोजनाहरु सिफारिमा परेका छन् ।
संबिधान तह चारवटै अनुदानको बिषयमा कार्यक्रम बनाउने जिम्मा प्राकृतिक सोत तथा बित्त आयोगलाई तोकिएको भएतापनि चालु आर्थिक बर्षको बजेटले यो अधिकार योजना आयोगलाई दिएसँगै योजना आयोगले आफ्नो काम अघि बढाएको हो । योजना आयोगमा पछिल्लो एक महिनाको अन्तरालमा १ हजार ८ सय १६ ओटा आयोजनाले अनुदानकालागि प्रस्ताव पेश गरेका थिए । ती आयोजनाबाट ५ सय २० आयोजना छनौटमा परेको आयोगले जनाएको छ । आयोगले आगामी आर्थिक बर्षकालागि समेत प्रस्ताव आवहान गरिसकेको छ । प्रस्तावकालागि योग्यता पुगेका आयोजनाले अनुदानकालागि प्रदेश सरकारको हकमा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहहरुले गाउँपालिका नगरपालीका तथा महानगरपालिका मार्फत अनुदानको माग सहितको विवरण पेश गर्न सक्ने छन् । आयोजनाका प्रस्तावकालागि करीव १२ वटा शर्त राखिएको छ । चालु आर्थिक बर्षदेखि प्रोजेक्ट बैंक बनाएर आयोजनाको छनौट गरेको आयोगले आयोजना कार्यान्वयनका लागि भौतिक तथा जनशक्तिको उपलब्धता भए–नभएको तथा साथै प्रदेश वा स्थानीय तहको आधारभूत निर्माणसँग सम्बन्धित रहे– नरहेकोबारे चेकलिस्ट बनाउने छ ।
जनताको आयस्तर वा गरिबी निवारणमा योगदान पु¥याउने खालको बिशेष कार्यक्रमलाई छनौट गर्ने कार्यबिधीमा उल्लेख छ । कार्यबिधी अनुसार स्थानीय सीप, स्रोत र साधनको उपयोग हुने, कम्तिमा ५० प्रतिशत बजेट स्थानीय तहले आफ्नो बजेटबाट विनियोजन गरेको हुनुपर्ने, नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने पनि बाध्यकारी प्रावधान राखिएको छ । यस्तै आयोजनाको विस्तृत प्रतिवेदन, डिजाइन र संभावना भएको, आयोजनाको सम्भाब्यता अध्ययन भइसकेको, वातावरणीय प्रभाव मूल्यांकन भएको, वार्षिक लागत सहित आयोजनाको कार्यान्वयन सञ्चालन तथा मर्मत सम्भारको योजना भए–नभएको चेकलिस्टका आधारमा आयोजना छनोट गर्ने आयोगको तयारी छ । मुलुक संघिय संरचनामा गएसँगै आयोजना संचालनको प्रष्ट मोडालिटी नहुँदा स्वामित्व विवादले प्रदेश स्थानीय सरकारका हजारौ आयोजना अलपत्र जस्तै बनेका छन् ।

अमेरिका–इरान द्वन्द्वको सन्त्रासमा नेपाल

अमेरिका–इरान द्वन्द्वको चेपुवामा नेपाल
इरानका शक्तिशाली सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्या भएपछि पश्चिम एसियामा फेरि तनाव चुलिएको छ । पश्चिम एसियामा चुलिएको द्वन्द्वको त्रासमा संसरभर त्राहिमाम मात्रै पैदा भएको छैन कतिपयले यो घटनालाई खाडी युद्ध र सन् २००३ मा अमेरिकाले इराकमाथि गरेको आक्रमणसँग तुलना गरेका छन् । विश्व अर्थतन्त्रमा नै यसबाट त्रासको महशुस भएको छ ।
यो घटनालगत्तै विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । दुई देशबीचको द्वन्द्वले अमेरिकी डलर झन बलियो भएको र सुनमा समेत भारी वृद्धि भएको छ । यसबाट सबैभन्दा बढी एसियाली मुलुक प्रभावित हुने र नेपालजस्तै तेलका लागि पूरै आयातमा निर्भर अर्थतन्त्रलाई सबैभन्दा बढी मर्का पर्ने विश्लेषहरू बताउँछन् ।
अमेरिकाका लागि पूर्वराजदुत समेत रहेका अर्थशास्त्री डा. शंकर शर्मा अमेरिका र इरानबीचको द्वन्द्वले नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्नसक्ने बताउँछन् । “विप्रेषण आप्रवाह हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामीले प्रयोग गर्ने पेट्रोलियम पदार्थ पनि खाडी मुलुक हुँदै भारत भएर आउँछ, यो द्वन्द्व चर्किंदा नेपालजस्ता मुलुकहरूको अर्थतन्त्र झनै शिथिलतातर्फ उन्मुख हुन्छ,” उनले भने । अर्थतन्त्र मात्रै नभएर खाडी मुलुकमा कार्यारत नेपालीको उद्धारमा सरकार सजग रहनु पर्ने शर्मा बताउँछन् । “मध्यपूर्वी मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षा र उद्धार पहिलो खुड्किलो हो,” उनी भन्छन्, “यी मुलुकमा नेपालको उपस्थिति छैन, सरकारले छिमेकी मुलुकसँग परामर्श गरेर उनीहरूको उद्धारका लागि सजग रहनुपर्ने देखिन्छ ।”
नेपालबाट कानुनी रूपमा वैदेशिक रोजगारीका लागि इराक जान प्रतिबन्ध लगाइएको छ । यद्यपि गैरकानुनी बाटो हुँदै इराक जाने नेपालीको संख्या २५ हजारभन्दा बढी रहेको छ । ती बाहेक वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने युवाहरूको संख्या २० लाख युवा बढी छ । तीनले पठाउने रेमिटयान्सले मुलुकको जीडीपीको ३० प्रतिशत हिस्सा ओगटेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका शर्मा भन्छन्, “यो घटनाबाट उत्पन्न समस्याबारे नेपाल सरकारले तत्कालिन मध्यकालिन र दिर्घकालिन कार्यायोजना बनाएर अघि बढ्न ढिला गर्नु हुँदैन ।”
पूर्व अर्थसचिव रामेश्वर खनाल पनि यो मुद्दा तत्कालका लागि नचर्के पनि दुई देशबीच एक किसिमको द्वन्द्व रहिरहने दावी गर्छन् । “शक्ति राष्ट्रहरूको द्वन्द्वले विश्व अर्थतन्त्रलाई नै असर पर्छ नै,” उनी भन्छन्, “यसबाट सिधा असर नेपालको विप्रेषण आप्रवाहमा कमी आउन सक्छ, पेट्रोलियम पर्दाथको मुल्यमा अस्थिरता हुँदा त्यसको सोझो असर प्रत्येक नेपालीको भान्सामा पर्न जान्छ र नेपालले पाउँदै आएको वैदेशिक सहायतामा समेत कमी आउन सक्छ ।” उनले छिमेकी मुलुकको अर्थतन्त्र समेत कमजोर भइरहँदा लगानीतकर्ताहरू अन्य मुलुकतिर विस्तार हुने र नेपालमा लगानी घट्न सक्ने बताउँछन् ।
सन् २०२० लाई नेपालले भ्रमण वर्ष मनाउन लागिरहेको छ । पश्चिमा मुलुकबाट मध्यपूर्व हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरू संख्यामा समेत कमी आउनसक्ने भएकोेले छिमेकी मुलुक भारत चीनजस्ता मुलुकमा पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने खनालको तर्क छ ।
इरानले ७५ प्रतिशत पेट्रोलियम पदार्थ संसारभर पठाउँछ । नेपालको कुल आयातको करिब १३ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगट्दै आएको छ । प्रत्येक वर्ष ७५ अर्बदेखि १ खर्ब २५ अर्बसम्मको पेट्रोलियम पदार्थ नेपालले आयात गर्ने गरेको छ । नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गरेपनि भारतले ८२-८३ प्रतिशत तेल साउदी अरबबाट किन्छ । पेट्रोलियम पदार्थमा अस्थिरता हुँदा त्यसको सिधा असर नेपालमा पर्ने खनाल बताउँछन् । पेट्रोलियम पदार्थको उपभोग कम गर्ने, वैकल्पिक मार्गका खोजी गर्ने, सुरक्षाकोलागि सम्बन्धित कुटनीतिक नियोगहरूसँग सम्पर्कमा रहने ती कुनै असहज परिस्थिति उत्पन्न भएमा तत्काल उद्धारकालागि पलह कदमी गर्नेतिर सरकारले ध्यान दिनु बुद्धिमानी हुने उनको बुझाइ छ ।
नेपालीको प्रमुख रोजगार गन्तव्य साउदी अरब, बहराइन, कतार, कुवेत, ओमानजस्ता देश इरान नजिक छन् । ती देशमा रोजगारीमा गएका नेपालीको संख्या अधिक छ । तीनलाई फर्काएर स्वेदशमा रोजगारीको सिर्जना गर्न सक्ने प्रयाप्त पूर्बाधार सरकारसँग छैन भने बिप्रेषण आप्रबाहमा गिरावट आउँदा उत्पन्न समस्याले झन ठुलो परिस्थिति निम्तिन सक्छ । खनाल भन्छन्, “खाडीमा काम गरिरहेका एक तिहाइ मानिस मात्रै फर्के पनि हामीले रोजगारी दिनसक्ने अवस्था छैन, उनीहरूलाई नेपाल ल्याएर रोजगारीको प्रबन्ध मिलाउने काम अव सरकारले थाल्नु पर्छ ।”
खाडीको वैदेशिक रोजगारी नेपालीहरूका लागि स्वेच्छिक नभएर बाध्यकारी भएकाले यो क्षेत्रमा लामो समयसम्म तनाव जारी रहे त्यसले समस्या निम्त्याउने अर्का अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीको बुझाई छ । “विश्वव्यापीकरणको चपेटमा सबै मुलुक छन् अमेरिका शक्तिराष्ट्र हो, उसले करको दर बढाउने बित्तिकै हामीले उपभोग गर्ने सामानहरू महँगिए,” अधिकारी भन्छन्, “अहिले पेट्रोलियम पदार्थको मूल्यमा अस्थिरता छ भने अमेरिकी डलर झन बलियो भएर आएको छ यसको असर नेपाल जस्ता मुलुकलाई पर्छ नै ।” उनले द्वन्द्वले तनाव लामो समय रहँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताए ।
अर्का अर्थशास्त्री केशव आचार्य पनि इरान र अमेरिकाबीचको तनाव जारी रहे नेपाली अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने तर्क गर्छन् । “खासगरी यसको सिधा असर नेपालको पेट्रोलियम पदार्थ आयात र श्रमबजारमा पर्ने देखिन्छ ।” खाडी क्षेत्र नेपालकोलागि रोजगारीका राम्रो गन्तव्य भएकोले दुई देशबीचको तनाव लम्बिँदा पुरै क्षेत्र प्रभावित हुन सक्ने र खाडीमा कार्यरत नेपालीको रोजगारी गुम्न खतरा देखिएको उनको तर्क छ ।
नेपाली समयअनुसार विहिबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनयता दुई देशबीच तनाव चुलिएको भए पनि अमेरिकाले इरानसँग ’बिनासर्त गम्भीर वार्ता’ गर्न तयार बताएका छन् । तर संयुक्त राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ ।
अमेरिका र इरानबीच चार दशकदेखि तनाव जारी छ । सन् १९७९ मा अमेरिका समर्थित इरानी शाहलाई अपदस्थ गरी इस्लामिक क्रान्ति भएपछि यी दुई मुलुकको सम्बन्ध स्थिर बन्न सकेको छैन । बाराक ओबामाको कार्यकालमा अमेरिका, राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य तथा जर्मनीले इरानसँग गरेको आणविक सम्झौता डोनाल्ड ट्रम्पले गतवर्ष भंग गरे । त्यसपछि सुरु भएको तनाव सुलेमानीको हत्यासँगै चरमोत्कर्षमा पुगेको हो । सैन्य शक्तिको हिसाबले इजरायलपछि इरान शक्तिशाली मानिन्छ ।
https://www.karobardaily.com/news/economy/27759

Monday, January 6, 2020

साइबर क्राइमबाट बच्न सबै सचेत हुने बेला भएको छ


साइबर क्राइमबाट बच्न सबै सचेत हुने बेला भएको छदेशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर ‘सूत्र’ बिग्रिएपछि २३ दिनमा ७ सय ५३ वटै स्थानीय तहले अद्यावधिक गरेका ४० हजारवटा भौचरका तथ्यांक हराए । भौचर हराएपछि उत्पन्न समस्याले सरकारी तथ्यांकको आय–व्यय राख्ने महालेखा मात्रै होइन, समग्र सरकारकै सूचना प्रणालीमा त्राहिमाम पैदा भयो । देशकै सबैभन्दा ठूलो डाटा बैंकको अत्याधुनिक सफ्टवेयर नै ह्याक भएपछि यतिबेला महालेखा नियन्त्रकको कार्यालय सफ्टवेयर प्रतिस्थापनको तयारीमा जुटेको छ । यो पछिल्लो घटनाले ‘डिजिटल नेपाल’ को परिकल्पना गरिरहेको सरकारलाई चुनौती मात्रै थपेको छैन, वित्तीय अपराधबारे सचेत गराउन सरकारलाई थप झकझकाएको छ ।
५ महिनाअघि महालेखा नियन्त्रकको जिम्मेवारी सम्हालेका महालेखा नियन्त्रक गोपीनाथ मैनाली सूत्र ह्याक गर्ने अपराधीको खोजी भइरहेको बताउँछन् । उनका अनुसार सूत्र ह्याक गर्ने ह्याकरको खोजी गर्न महालेखाले प्रहरी अनुसन्धान ब्युरोमा निवेदन दिइसकेको र ब्युरोले अनुसन्धान सुरु गरिसकेको छ । निर्वाचन आयोग, राष्ट्रिय योजना आयोग, भूमि व्यवस्था तथा सरकारी मन्त्रालय लगायतका मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका मैनाली इमानदार र प्रस्ट सचिवका रूपमा चिनिन्छन् । सार्वजनिक वित्त व्यवस्थापन र योजना तर्जुमामा विशेष दख्खल राख्ने मैनाली आफूले सिकेको ज्ञान र सीपलाई अधिकतम प्रयोग गर्ने सोचमा छन् । उनै मैनालीसँग उनैले नेतृत्व गरेको महालेखाको काम, सूत्रमा आएको समस्या र महालेखाको भावी योजनाबारे कारोबारका लागि निरु अर्यालले गरेको कुराकानीको सार :

यतिबेला महालेखाले के गर्दैछ ?
महालेखा यतिबेला मूलतः नियमित गर्नुपर्ने काममै व्यस्त छ । महालेखा नियन्त्रकको कार्यालयले नियमित गर्नुपर्ने काम भनेको संविधानअनुसार संघीय सञ्चित कोषको सञ्चालन गर्ने, हिसाब राख्ने, यससम्बन्धी जनशक्तिको हिसाब राख्ने र जनशक्तिको क्षमता विस्तार गर्ने हो । हाम्रो संघीय सञ्चित कोषलाई बदलिँदो परिवेशअनुसार कार्यान्वयन गर्नुपर्ने हुन्छ । यीबाहेक अहिले हामी संघीयतामा कार्यान्वयनको चरणमा छौं । तीन तहका सरकार बनेका छन्, तीन तहकै सरकारका छुट्टा–छुट्टै हिसाब हुन्छ, जनशक्ति हुन्छ र छुट्टाछुट्टै बजेट प्रणाली हुन्छ । संविधानको धारा १२५ र भाग १० अनुसार उल्लिखित व्यवस्था कार्यान्वयन गर्ने अभिभारा महालेखा नियन्त्रकको कार्यालयलाई छ । भाग १६ अनुसार आर्थिक कार्यविधि कार्यान्वयन गर्ने प्रदेश सरकारले हो भने भाग १९ अनुसार स्थानीय सरकार आउँछ । त्यसमा उनीहरूले आफ्नो बजेटदेखि लिएर नीति तथा कार्यक्रमहरूको तर्जुमा छन् ।
यी तीनै प्रणालीको सूचना अभिलेख राख्ने प्रतिवेदन बनाउने र आर्थिक अनुशासन कायम गर्नका लागि गरिने क्रियाकलापका लागि हामीले प्रणाली निर्माण, जनशक्ति व्यवस्थापन, क्षमता निर्माणलगायतका कुरा गरिरहेका छौं । सूत्र प्रणालीमा केही समस्या आएको हुनाले हामी व्यस्त छौं ।
तपाईं महालेखा नियन्त्रक भएर आइसकेपछि के–के उल्लेखनीय काम भए ?
म यहाँ आएको भर्खर पाँच महिना हुँदैछ । संविधानले दिएको अधिकार र अहिलेको वर्ष कार्यान्वयनमा आएको आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन–२०७६ ले दिएको अधिकारलाई आत्मसात् गर्दै हामीले कार्यान्वयन गर्न खोजिरहेका छौं । त्यो ऐनले पनि प्रत्येक आर्थिक वर्षको भुक्तान भइसकेपछि आन्तरिक लेखा परीक्षण गरेर त्यसको प्रतिवेदन नेपाल सरकार र अर्थमन्त्रीलाई बुझाउनुपर्ने भनेको छ । सोही अनुसार हामीले कात्तिक मसान्तभित्र बुझायौं । त्यो पहिलो प्रतिवेदन थियो । यसअघि पनि हामी आलेप गथ्र्यौं, तर आलेप गर्नका लागि कानुनी शक्ति थोरै थियो र अहिलेको साल त्यो वित्तीय उत्तरदायित्व ऐनले कार्यशक्ति अलि बढी दिएको छ । मितव्ययिता, नियमितता, जवाफदेहितालगायतका अधिकार दिएको छ । त्यसअनुसार नेपाल सरकारको आर्थिक कारोबारको स्थिति के छ भनेर गत वर्षको सबै कारोबारको ११ खर्बको प्रतिवेदन बुझायौं । प्रतिवेदन कार्यान्वयनको सिलसिलामा दुई–तीनवटा काम गर्नुपर्नेछ । आन्तरिक लेखा परीक्षण (आलेप) को कार्यविधि बनाउने, जनशक्ति व्यवस्थापन गर्ने आलेपबाट आंैल्याइएका कुरालाई विभिन्न मन्त्रालयका सचिवहरूलाई कामको अवस्था यो छ र यो–यो गर्न बाँकी छ भनेर भन्ने कुरा छन् । यही कुरालाई माननीय अर्थमन्त्रीज्यूले सबै मन्त्रालयका सचिवहरूलाई राखेर निर्देशन दिनुभएको छ ।
हामीले भन्यौं पनि, ताकि नेपाल सरकारको आर्थिक कारोबारमा शुद्धता आओस्, पवित्र होस्, अनियमितता नहोस् र अंकगणितीय शुद्धता छैन भने त्यसलाई अन्तिम लेखा परीक्षण गर्नुभन्दा अघि गर्न सक्ने व्यवस्था ग-यौं । योबाहेक अर्को भनेको अन्तिम लेखा परीक्षण गर्नुभन्दा अघि संवैधानिक शक्ति प्रयोग गर्ने महालेखा परीक्षकलाई सम्पूर्ण आर्थिक कारोबारको १४ भोलुम तयार पारेर लेखा परीक्षकलाई प्रतिवेदन बुझाएका छौं । यसकै आधारमा महालेखा परीक्षकको कार्यालयले अन्तिम प्रतिवेदनको तयारी गरिरहेको छ । अहिलेको वर्षबाट विभाज्य कोषको पनि हिसाब बुझाउन सफल भएका छौं ।
केही समयअघि महालेखाले आर्थिक संकेत वर्गीकरणको कुरा पनि ल्याएको थियो, त्यो कुरा कहाँ पुग्यो ?
यो विषयमा हामी गृहकार्यमै छौं । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालय मिलेर प्रारम्भिक काम भएको चाहिँ छ । यहाँ पुग्यो भन्न सकिने अवस्था छैन ।
संघीयता लागू भएसँगै महालेखाले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) को सहयोगमा सूत्र कार्यान्वयनमा ल्याएको छ । अहिले यसमा ठूलो समस्या आयो, सबै अद्यावधिक भएका तथ्यांक हराए भन्ने कुरा छ, यो भएको चाहिँ के हो ? प्रस्ट पारिदिनुस् न ।
समस्या आएको हो । सबै डाटा हराएको होइन, सूत्र भनेको स्थानीय तहको आर्थिक क्रियाकलापहरूलाई क्याप्चर गर्ने ती डाटाहरू लिने प्रणाली हो । यो प्रणाली सबै स्थानीय तहमा लागू गरिसकेका थियौं । तर, केही दिन अघि २३ दिनेका मंसिर १२ देखि पुस ४ सम्मको डाटा ह्याक भएछ । यो अन्यत्र मुलुकमा पनि हुने गरेको छ । सफ्टवेयरको असावधानी भएको हो । कहिलेकाहीं व्यक्तिगत इमेल खाता पनि ह्याक हुन्छ । पहिले पनि हाम्रो आरएमएसको सूचना ह्याक भएको रहेछ । यो घटना हामीले ४ गते नै थाहा पायौं, थाहा पाउनेबित्तिकै हामीले प्राविधिकहरूसँग छलफल ग-यौं । के कारणले यस्तो भयो भनेर प्राविधिक साथीहरूले केही रिपोर्ट दिनुभयो, त्यो रिपोर्ट आएपछि माननीय अर्थमन्त्रीलाई जानकारी गराए भेरिफाई गर्न सीआईबीमा रिपोर्ट गरे । सीआईबीले अनुसन्धान सुरु गरिसकेको छ । त्यो २३ दिनका अवधिमा लगभग ४० हजार भौचरको तथ्यांक हराएको थियो त्यसलाई हामीले म्यानुल इन्ट्री गरेर रिकभर गरिसक्यौं । त्योभन्दा पछिको हुने कुरा भएन । रिकभर भयो भनेर हामीले सूचना पनि जारी गरिसकेका छौं ।
अहिलेको समस्या त समाधान भयो, तर भोलिका दिनमा यस्तो अवस्था आउन नदिन सावधानी पनि त चाहिन्छ होला नि ? के छ योजना ?
हो, यहाँले ठीक भन्नुभयो । अहिलेको समस्या त समाधान भयो नै । तर, यो समस्या भोलिका दिनमा पनि नदोहोरिएला भन्न सकिन्न । त्यसका लागि हामी सावधानी खोजिरहेका छौं । एउटा त सफ्टवेयर अलिकति पुरानो भएको हुनाले नयाँ सिस्टममा राख्ने भन्ने छ । सिस्टम डेभलपर, हाम्रो प्राविधिक टिम र सूचना–प्रविधि विभागसँग हामीले छलफल गरिरहेका छौं । यसमा हामीले अर्थमन्त्रीसँग पनि छलफल गरेका छौं र हाम्रो ठाउँ–ठाउँमा ब्याकअप राख्ने कुरा पनि छ । म्यानुल व्यापक त हामीसँग छ सफ्ट ब्याकअप कहाँ राख्ने भन्ने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । यसकारण सिस्टम अपडेट गर्ने ब्याकअप राख्ने र कसले बदमासी ग-यो भनेर उसलाई साइबर क्राइमअनुसार कारबाही गर्ने कुराका लागि सीआईबी परिचालन गर्ने काम साथसाथै भएको छ । लस भएको डाटाहरू सबै पुनस्र्थापना गरिसकेका छौं ।
सूत्रमा ह्याक भएसँगै हाम्रो प्राविधिक कर्मचारीको दक्षता र क्षमतामाथि पनि आशंका फैलिएको छ, तपाईं प्रस्ट पारिदिनुस् कि हामीसँग प्रविधिमा खेल्न सक्ने दक्ष जनशक्ति छ कि छैन ?
जहाँसम्म हाम्र्रो दक्षताको कुरा छ, अपराधी हामीभन्दा एक कदम अगाडि पनि हुन सक्छ । अपराध गर्ने व्यक्ति को हो त्यसलाई दण्डित गरेर यस्तो गर्न नसक्ने प्रावधान अपनाउनुपर्ने देखिन्छ । विकसित प्रणालीको केही जोखिम त हुन्छ नै । त्यो जोखिमलाई न्यून गर्ने कुरामा हामी सचेत छौं । पेफा प्रणाली सचेत छ । हामीसँग अफिसभित्रै विज्ञता पनि छ । नभएको विज्ञता पूरा गर्न हामी सूचना–प्रविधि विभाग, उच्चस्तरीय प्रविधि केन्द्रसँगको संयन्त्र हामीसँग पनि छ । यो महालेखाको मात्रै होइन, तीनवटै सरकारको संयन्त्र पनि हो । यो सिस्टम बचाउन हामी गइरहेका छौं । डिजिटल नेपालको कुरा छ । साइबर क्राइमको जोखिम नबढोस् भनेर एकीकृत रूपमै सोच्नुपर्छ होला, हामी त्यतातिर पनि सचेत भएका छौं ।
ह्याकको कुरा सिस्टमको कुरा हो । त्यसैले एउटा सिस्टमबाट ह्याक भएको डाटा अर्को सिस्टमबाट अद्यावधिक गर्नुपर्छ नै । सावधानी कसरी अपनाउन सकिन्छ भन्नेमा मेरो प्राविधिक टिम लागेको छ । त्यसको ब्याकअप पनि कहाँ–कहाँ राख्ने भन्ने टुंगोमा हामी पुगिसकेका छौं । भौगोेलिक जोखिम हटाउन म्यानुअल डाटा त हामीसँग छँदैछ ।
प्रविधिमा हामी कमजोर हुँदा हामीकहाँ वित्तीय अपराधको जोखिम बढ्यो भन्ने कुरा पनि छ नि यो मान्न तयार हुनुहुन्छ ?
हामी कमजोर होइनौं, जोखिम बढ्छ, त्यो हाम्रो दक्षता कम भएर होइन कि अपराध गर्ने मानिसहरूको संख्या बढेर हो । सीआईबीले छानबिन गर्ने छँदैछ । यो कुरालाई अझै केही राम्रो गर्नलाई सिस्टमको समयावधि मापन गर्ने सिस्टमको अडिट गर्ने कुरा पनि गर्न सकिन्छ कि भनेर हामीले छलफल अघि बढाइरहेका छौं । यसले आउने दिनमा यस्ता जोखिमहरूको न्यूनीकरण हुन्छ कि भन्नेमा हामी विश्वस्त छौं ।
महालेखाले डाटा म्यानुपुलेट गर्न खोज्दा सफ्टवेयरमा समस्या आउन थाल्यो भन्ने महालेखालाई अहिले एउटा आरोप लाग्ने गरेको छ, यसमा कत्तिको सत्यता छ ?
महालेखाले डाटा म्यानुप्युलेट गर्दैन, हामीलाई त्यस्तो दबाब छैन । जानकारी छैन । महालेखा सरकारको लेखापाल हो । सरकारको आर्थिक कारोबारको सूचना अद्यावधिक गर्ने, सूचनाको प्रशोधन गर्ने, विश्लेषण गर्ने सूचनाको प्रतिवेदन गर्ने काम महालेखाको हो । अहिलेको वर्षबाट अलि बढी जिम्मेवारी थपिएको छ । आलेप भनौं या आन्तरिक लेखा परीक्षणको काम पनि महालेखालाई नै तोकिएको छ । यो सूचनासँग खेल्ने कुरा हो । यसमा बरु सरकारले हामीलाई छिटो र कंक्रिट तथा रियलटाइम डाटाहरू उत्पादन गरोस् भन्ने दबाब छ । डाटा म्यानुपुलेट गर्ने भन्ने त हामी कल्पना पनि गर्न सक्दैनौं । सरकार भनेको सबैभन्दा नैतिक संस्था हो, सरकारले ढाँट्ने कुरै हुँदैन, हामी प्रमाणका आधारमा बोल्छौं । प्रमाण भनेको डाटा हो ।
उसो भए भनिदिनुस् कि स्थानीय प्रादेशिक सरकारहरूसँग महालेखाले कसरी समन्वय गरिरहेको छ ?
हामीले तीनै तहको छुट्टाछुट्टै सरकार छन् । आलेपको प्रणालीले जोड्ने हो । अहिले वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनले विभिन्न प्रावधान राखेको छ । त्यसले सरकारको सबैजसो डाटा लिने–दिने काम सिस्टमको आधारमा जोडिन्छ । सुरुवाती दिनमा संघीय सरकारको भूमिका जुन स्थानीय प्रादेशिक तहमा प्रणाली निर्माण गर्नेछ । त्यसलाई क्षमता बढाउने काम प्रत्यक्ष–अप्रत्यक्ष रूपमा भूमिका रहन्छ सम्बन्ध कायम गर्ने, भेला गोष्ठी गर्ने र सचेतना दिने काम पनि हामीले गरिरहेका छौं । प्रणालीको माध्यमबाट स्थानीय प्रादेशिक सरकारसँग समन्यव गरिरहेका छौं ।
संघीयता कार्यान्वयनमा आएसँगै महालेखालाई काम गर्न कठिन भएको हो ? कि महालेखा निष्क्रिय भएको हो ?
तीन तहको सरकार छ । तीन तहको सरकारलाई एकीकृत गर्ने कुरा हो । वित्तीय अनुशासन कायम गर्न झनै सहज भएको छ । तीनै तहलाई जोड्ने प्रणालीहरूको विकासमा छौं । कहिलेकाहीं एक तहको प्रणालीबाट अर्को तहको प्रणालीमा जाँदाखेरि केही समय लाग्छ, अबको भनेको क्षमता विकास हो । एकै प्रणाली भएको थियो भने पनि चुनौती त हुन्थ्यो नै । चुनौतीका रूपमा लिँदैनौं, संविधानले व्यवस्था गरेर आएको हुनाले त्यसलाई कार्यान्वयन गर्न खोजिरहेको छ ।
संघीयतासँगै अझै पनि कतिपय स्थानीय तहले आफ्नो जिम्मेवारी बहन गर्न सकिरहेका छैनन्, यसो हुनुको पछाडि यहाँ के कारण देख्नुहुन्छ ?
हो, अत्यन्तै गम्भीर कुरा हो, तर पनि महालेखाले आफ्नो तर्फबाट गर्ने कार्यहरू सम्पादन गर्दै आएको छ । जस्तो कर्मचारीको दक्षता अभिवृद्धि गर्ने कुरा छ । त्यो अहिले लोकसेवा आयोगले पदपूर्ति गरिरहेको छ । पहिले समायोजन भएका कर्मचारीहरू पनि सहभागी थिए । एक चरणको तालिम त हामीले दिइ पनि सकेका छौं । कतिपय सिस्टम सपोर्टका कुरा पनि दिइरहेका छौं । अब फेरि हामी करिब १ हजार नयाँ कर्मचारीलाई तालिम दिने तयारीमा छौं । भर्खरै भर्ना भएका लेखाका कर्मचारीलाई तालिम दिनका लागि हामीले डोनर पनि खोजिसकेका छौं । विज्ञ पनि तयार गरिसकेका छौं र तालिमको पनि व्यवस्था गरिसकेका छौं । त्यसपछि डाटाहरू सूत्रमा अद्यावधिक हुन्छ भन्नेमा महालेखा विश्वस्त छ ।
यहाँले सूत्रको कुरा गर्नुभयो, अझै पनि कतिपय स्थानीय निकायमा बैंकको शाखा पुगेको छैन, कतिपय निकायमा इन्टनेटको समस्या छ । यस्तो अवस्थामा सूत्रले कसरी काम गर्न सक्छ ?
१२-१५ वटा स्थानीय तहमा बाहेक लगभग सबै ठाउँमा छ । इन्टरनेटको कारणबाट यो कुरा रोकिँदैन । नेट पु-याउने काम नेपाल टेलिकमले गरिरहेको छ । सरकारी कारोबार गर्ने बैंकको कुनै न कुनै शाखा त्यहाँ पुग्छ । अहिलेसम्म ७ सय १२ स्थानीय तहको डाटा सूत्रमा आइसकेको छ । यो आर्थिक वर्षमा सबै स्थानीय तहमा सूत्रको पूर्ण तया कार्यान्वयनमा आउँछ ।https://www.karobardaily.com/news/interview/27346

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...