Wednesday, June 17, 2020

करका दरमा हेरफेर नहुने

करका दरमा हेरफेर नहुने
निरु अर्याल
आगामी आर्थिक वर्षको बजेट र त्यसमा समावेश गर्ने करका दरबारे अध्ययन गर्न गठित राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । राजस्व सचिव रामशरण पुडासैनीको संयोजकत्वमा गठित समितिले आइतबार अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा. युवराज खतिवडाले करको संरचनामा परिवर्तन नहुने बताएको स्रोतले जानकारी दियो । “थुप्रै खालका नीतिगत सुझाव समावेश भएका छन् र अधिकाँश अहिले कोभिडले आममानिसको जीवन र जीविकामा लक्षित छन्,” अर्थमन्त्रीलाई उद्धृत गर्दैै स्रोतले भन्यो, “कोभिडको महामारीमा भएकाले यो पटक राजस्वको संरचना परिवर्तन हुँदैन भन्नुभएको छ,” यो पटक करका दरमा पनि ठूलो फेरबदल नहुने र दायरामा पनि कसिलो हुने छनक हामीले पाएका छौं,” स्रोतले भन्यो ।
सुझावअनुसारको बजेट आएमा आयकरको सीमालाई बढाएर करका दर यथावत नै रहनेछन् । स्वदेशमै उत्पादन हुने वस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ त्यस्ता वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाउन सुझाव समेटिएको स्रोतले जानकारी दिएको छ । यस्तै कृषि, उत्पादन र रोजगारीलाई बढवा दिने स्वदेशमै उत्पादन हुने दैनिक उपभोग्य वस्तुको आयातमा पूर्णतया प्रतिबन्ध लगाउन सुझाव दिइएको छ । 
सरकारले केही समयअघि मात्रै महँगा गाडी, सुन, काजु, पेस्तालगायतका वस्तुको आयातमा पूर्णरूपमा रोक लगाएको थियो । निजी क्षेत्रले माग्दै आएको सहुलियतमा पनि सरकार लचिलो बन्ने देखिएको छ । उद्योगीले लामो समयदेखि स्वदेशमा उत्पादन सम्भव भएका वस्तुको आयातमा पूर्णरूपमा प्रतिबन्ध लगाउन माग गर्दै आएका थिए । जसका कारण सरकारले ७० देखि ८० प्रतिशत आत्मनिर्भर भएका वस्तुको उत्पादन पूर्णरूपमा रोक्ने तयारी गरेको बुझिएको छ । “स्वदेशी उद्योगले उत्पादन गरेको वस्तु बजारमा बिक्री नहुने तर, कम भन्सार मूल्याँकनमा ठूलो परिमाणमा त्यस्ता वस्तु भित्रिरहने भइरहेको त्यस्ता वस्तुको आयाता रोकिन सक्छ,” स्रोतले भन्यो । यसका लागि स्वदेशमै उत्पादन हुने अधिकांश वस्तु कम भन्सारमा नेपाल भित्रिरहेपछि सरकारले त्यस्ता वस्तुको पहिचान गरेर बहुदरको भन्सार लगाउन पनि सुझाव दिएको छ ।
निजी क्षेत्रले आत्मनिर्भर अर्थतन्त्रका लागि दुई तहको भन्सार दर कायम गर्न माग गरेको छ । छिमेकी मुलुक भारतमा आयकरको दरहरू धेरै घटाइएको भन्दै कर्पोरेट करको दर ५ प्रतिशत घटाउन माग गर्दै आएको छ । “ब्यक्तिको आयकरको सीमा ७ लाख र परिवारका लागि ८ लाख राख्न भनेको छ, यसमा केही पुनरावलोकन गरेर निजी क्षेत्रलाई आस्वस्त पार्ने मनस्थितिमा अर्थमन्त्री हुनुहुन्छ,” स्रोतले भन्यो । 
निजी क्षेत्रले ब्यक्तिगत तथा संस्थागततर्फको २० लाख बढीको आयमा लाग्दै आएको ३६ प्रतिशत कर घटाउन र भ्याटको दर १३ बाट १० मा झार्न सुझाव दिएको छ । अर्थमन्त्रीले प्रतिवेदन बुझ्दै योे सुझावमा पनि केही लचिलो बन्ने संकेत गरेको स्रोतले बतायो । कोभिड महामारीका कारण विश्वको अर्थतन्त्रमा परिवर्तन हुने छनक देखिएपछि समितिले दिएका अधिकाँश सुझाव आत्ननिर्भर अर्थतन्त्रमा केन्द्रित छन । जसअनुसार नेपाली कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आउने कृषिजन्य वस्तुलाई निरुत्साहित गर्ने नीति लिन सुझाव दिइएको छ ।
परामर्श समितिका एक अधिकारीका अनुसार सरकारले बक्यौता कर असुल गर्न छुटसहितको प्याकेज घोषणा गर्ने तयारी गरेको छ । कोभिड–१९ का कारण थला परेको साना मझौला उद्योगलाई पुनःस्थापित गर्नेगरी राहत र कर छुटलाई प्राथमिकतामा राख्ने गरी बजेट आउने स्रोतले बतायो । यसबाहेक केही मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा नआएका केही क्षेत्र सरकारले खोजेको छ । कर र करका दरबारेको अध्ययन गर्न गठित समितिले विभिन्न १० वटा उपसमिति समेत गठन गरेर सुझाव संकलन गरेको हो । 
समितिले दिएको निर्देशनका आधारमा सरकारले आगामी बजेट र करका दरबारे निक्योल गर्ने परम्परा छ । समितिलाई राजस्व प्रशासनको संगठनात्मक संरचना सुधारलगायतका विषयमा सुझाव पेस गर्नेगरी निजी क्षेत्रको समेत सहभागितामा सरकार र निजी क्षेत्रबीच नीति संवाद संयन्त्रको रूपमा लिने गरिन्छ । मुलुकको अर्थ ब्यवस्थाको समग्र पक्षको अध्ययन एवं विश्लेषण गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा समावेश गर्नुपर्ने कुरामा समितिले छलफल गरेर बजेट प्रस्तुत हुनुपूर्व नै सरकारलाई आफ्नो सुझाव पठाउने कानुनी व्यवस्था छ । समितिमा सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायका गरी १५ सदस्य सहभागी हुने व्यवस्था छ 

बजेटमा दाताकै भर


आन्तरिक स्रोत खुम्चिँदै,  बजेटमा दाताकै भर
निरु अर्याल
सरकारले आगामी वर्षका लागि बिहीबार सार्वजनिक गर्ने बजेटको स्रोत दातृ निकाय र विकास साझेदारमै निर्भर हुने देखिएको छ । कोरोना महामारीबीच बजेट ल्याउने वाध्यता र अर्थतन्त्रलाई लयमा फर्काउने चुनौतीमा रहेको सरकारको स्रोत भने खुम्चँदै गएपछि आगामी बजेटको स्रोत दातामै निर्भर हुने देखिएको हो ।
प्रतिनिधि सभाको अर्थ समितिले दिएको सुझावअनुसार बजेट आएमा बजेटको आकार अहिलेकै स्रोतले थेग्न नसक्ने र निकै महत्वाकांक्षी परियोजना बजेटमा समावेश गर्न खोजिएकोले आगामी बजेट दातामै निर्भर हुनुपर्ने अवस्था आएको अर्थ मन्त्रालयले जनाएको छ । बजेटको प्रमुख स्रोत मानिने राजस्व यो वर्ष संसारभर फैैलिएको कोरोना महामारीले अर्थतन्त्र शिथिल हुँदा सर्वाधिक कमजोर बनेको छ भने दातृ निकायबाट आउने प्रतिवद्धताअनुुसारको रकम पनि कोभिड–१९ को महामारीले काम रोकिँदा आउन सकेको छैन । यही अवस्था रहेमा राज्यलाई वित्तीय दायित्व झन बढ्ने अझै कठिन अवस्था झेल्नुपर्ने चुनौती थपिएको छ ।
आन्तरिक स्रोतका मुहानहरू सुक्दै गएपछि अर्थमन्त्री डा.युवराज खतिवडा आफैंले विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपियन युनियन, जर्मन सहयोग नियोगलगायतका दाताहरूसँग नियमितजसो छलफल गरेर स्रोत जोहो गर्नमा केन्द्रित हुन ेगरेका छन् । अर्थमन्त्री खतिवडाले यसअघि पनि सामूहिक बैठक गरेर ऋणको भाका सार्न आग्रह गरेका थिए ।
अर्थ मन्त्रालय स्रोत भन्छ, “राजस्वको लक्ष्य चालू वर्षकै हाराहारीमा राख्ने, आन्तरिक तथा वाह्य ऋण र अनुदान परिचालनलाई बढाउनेगरी अर्थमन्त्री आफँै लाग्नु भएको छ त्यसैले आगामी बजेटको स्रोत दाताकै भरमा छ ।” त्यसो त अर्थले स्रोतको जोहो गर्न यसअघि अनुत्पादक क्षेत्रमा दिइँदै बजेट रोक्ने मनस्थिति बनाएको छ भने साना र खुद्रे आयोजनालाई बजेट दिने सम्भावना न्यून रहेको बताएको छ । चालू आवमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले ११ खर्ब १२ अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो । लक्ष्यको करिब ८० प्रतिशत राजस्व उठने समयमा जम्मा ५० प्रतिशत राजस्व असुली भएपछि सरकालाई चालू खर्च धान्नसमेत हम्मे परेको छ । कोभिड–१९ को महामारीले आर्थिक क्रियाकलपाहरू ठप्प हुँदा सरकारलाई दायित्व झन बढ्ने र राजस्वको स्रोत खुम्चिँदा सरकार स्रोतको जोहो गर्न नसकेर अफ्ठयारोमा छ ।
स्रोतका अनुसार स्वास्थ्य, कृषि तथा मझौला उद्यम र रोजगारीलाई प्राथमिकतामा राखेर बजेटको तयारी भइरहेको छ । ती क्षेत्रमा बजेट बढाउँदासमेत पनि राज्यको दायित्व वढ्ने र स्रोतको अपुग हुने निश्चित छ । यसबाहेक चौतर्फी दबाब खेपिरहेको सांसदहरूको समन्वयमा खर्च हुनेगरी दिइँदै आएको स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको विषयमा भने अझै टुंगो लागेको छैन ।
कर्मचारीको तलब नबढाउने, वृद्धभत्ता र सामाजिक सुरक्षाको क्षेत्रमा दिइने भत्तालाई बजेटले निरन्तरता दिने र साधारण खर्चलाई घटाएर पुँजीगत खर्च बढाउने मनस्थितिमा सरकार छ । स्रोत भन्छ, “सबैभन्दा चुनौतीको विषय भनेको रोजगारी हो, भारतलगायत तेस्रो मुलुकबाट फर्किने युवालाई तत्काल रोजगारीको प्रवन्ध राज्यले गर्नु पर्छ तर हामीसँग पूर्वाधार छैन, पछिल्लो समय कोरोना महामारीले पनि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती थपिदिएको छ त्यतातिर पनि बजेट विनियोजन हुनसक्छ ।”
बजेटले उत्पादन बढाउन र रोजगारी सिर्जना गर्ने उद्देश्यले यसअघिको सरकारको महत्वकांक्षी परियोजना मानिने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझै सशक्त बनाउने गरि बजेट विनियोजन गर्ने जनाइएको छ । राजस्व परामर्श समितिको सुझाव नआइसके पनि सरकार आगामी वर्ष करका दरमा फेरबदल गर्ने मनस्थितिमा छैन । “यस्तो परिस्थितिमा करका दरहरू वढाउने अवस्था छैैन भन्ने कुरा पनि भएको छ,” स्रोतले भन्यो “ तर बिलासी वस्तुको आयात र यसअघि निरन्तर रूपमा बढ्दै आएको मध्यपान तथा धुम्रपानजन्य वस्तुमा भने कर बढ्न सक्छ ।” सरकारले स्वास्थ्य, ठूला पूर्वाधार र रोजगार सिर्जना गर्ने खालका परियोजनालाई विशेष प्राथमिकतामा राख्दै त्यसबाहेकका क्षेत्रमा भने बजेट कटौती गर्ने छ । यीबाहेक यसअघिनै घोषणा गरिएको ठूला र प्राथमिकताप्राप्त आयोजनाहरूलाई भने बजेटले निरन्तरता दिने बताइएको छ । दुई महिनादेखिको लकडाउनले अर्थतन्त्र ठप्प हुँदा निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहात प्याकेजको माग गरेका छन् । सोहीअनुसार राहत प्याकेज ल्याएमा पनि राज्यलाई २ खर्ब भार थपिने छ । छिमेकी मुलुकले समेत अर्थतन्त्रको पुनरुत्थानकालागि ठूलो मात्रामा राहतको प्याकेज घोषणा गरेको र करका सीमाहरू घटाएकोले निजी क्षेत्रलाई आश्वस्त पार्नेगरी राहत प्याकेज ल्याउने चुनौती पनि सरकारलाई छ । कोरोना महामारीबीच अर्थतन्त्र डामाडोल भइरहेको अवस्थामा आउन लागेको बजेटलाई निकै नै महत्वका साथ हेरिएको छ ।

बजेटको माग बढ्दै, स्रोत घट्दै

निरु अर्याल
संसारभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारणले मुलुकको अर्थतन्त्र ठप्पप्रायः भए पनि सरकार आगामी आर्थिक वर्षको बजेटको तर्जुमामा जुटेको छ । 
व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ मा संघीय बजेट सार्वजनिक गर्नुपर्ने बाध्यताका कारण बजेट सार्वजनिक गर्ने मिति नजिकिँदै गएपछि अर्थ मन्त्रालय बजेट बनाउन व्यस्त छ । तथापि सरकारले आगामी साता संसदमा सार्वजनिक गर्न लागेको बजेटमा नयाँ कार्यक्रम र योजना समावेश गर्न दबाब दिदै आहिले सांसद, नेताहरू अर्थ मन्त्रालय धाउने क्रम भने रोकिएको छैन ।
बजेटको माग बढ्दै, स्रोत घट्दैसरकारको नीति तथा कार्यक्रमले बजेट बनाउन र स्रोत जुटाउन झनै कठिन परेको अर्थ स्रोतको दाबी छ । “बजेटको माग र आवश्यकता निरन्तर बढिरहेको छ, अहिले कोरोनाको महामारीले राजस्व असुलीमा ठूलो खाडल छ, नीति तथा कार्यक्रम यति ठूलो भएर आयो कि यसले स्रोत जुटाउन झनै कठिन बनायो,” स्रोतले भन्यो । परम्परागत शैलीमै सरकारको नीति तथा कार्यक्रम आएको र सरकारको यस्तो महत्वकाँक्षी कार्यक्रमले स्रोत जुटाउन कठिन हुने भन्दै अर्थशास्त्रीहरूले समेत चिन्ता ब्यक्त गर्न थालेका छन् । उनीहरूका अनुसार रोग र भोकसंँग संघर्ष गरिरहेको अवस्थामा आएको सरकारको नीति तथा कार्यक्रम कुनै योजनामुखी छैन । नत परिणाममुखी कार्यक्रमनै समावेश भएका छन् । “अहिले सबैभन्दा ठूलो समस्या स्रोत ब्यवस्थापन नै हो,” अर्थशास्त्री डा. शंकर शर्मा भन्छन्, “अनावश्यक कार्यक्रम रोक्ने, आम मानिसको जीवन र जीविका चलाउने किसिमले कार्यान्वयनयोग्य बजेट ल्याउनुको विकल्प छैन ।”
गत साता आगामी बजेटका सिद्धान्त र प्राथिमकता सार्बजनिक गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड १९ ले थिलथिलो परेको अर्थतन्त्र उकास्ने कार्यक्रममा बजेट केन्द्रित हुने बताएका थिए । त्यसलगत्तै सरकारलेसंसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, सामाजिक सुरक्षा र पुर्बाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रम अनुसार बजेट आए राज्यले थेग्ननसक्ने अर्थशास्त्री शर्माको तर्क छ । उनी भन्छन्, “अहिले पटुका कस्ने बेलामा वितरणमुखी बजेट आयो भने राज्यले थेग्न सक्दैन यो महामारी कहिले सम्म जान्छ निश्चित छैन, अर्थतन्त्रका प्राय मुहान सुकिसकेका छन् बरु हजारौ अनुत्पादक आयोजनालाई रोकेर तत्काल रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई बजेटले सम्बोधन गर्नु पर्छ ।”
दातृ निकायको समन्वयमा पाइपलाइनमा रहेका सहयोगका कार्यक्रमलाई उत्पादनमुखी कार्यक्रममा लगाउन सकिने गरि बजेट तर्जुमा हुनु पर्ने उनले बताए । “स्वास्थ्यका आलवा, अर्थतन्त्रको पुर्न उत्थानलाई प्राथमिकतामा राखेर निजी क्षेत्रको मनोबल उकास्नेगरि सरकारले बजेट ल्याउनु पर्छ,” उनले भने ।
सरकारले चालू आबको बजेटमा ६ प्रतिशतसम्म बृद्धि गरि आगामी बजेटको तर्जुमा गरिरहेको छ । सोही सिलिङका आधारमा बजेट तर्जुमा भैरहेपनि कोभिड १९ का कारण अर्थतन्त्र ठप्प हुँदा स्रोत जुटाउनै कठिनाई भएपछि सहायता बढाएर स्रोत पु¥याउने मनस्थितिमा अर्थ मन्त्रालय पुगेको छ । आफ्नो पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको ल्याएका खतिवडा प्रशस्त स्रोत रहँदा रहँदै पनि सानो आकारको ल्याएको भन्दै सत्तापक्षबाटै आलोचित भएपछि दोस्रो बजेट २ खर्ब १७ अर्बले बढाएर १५ खर्ब ३२ अर्ब पु¥याएका थिए । जुन मध्यवाधि समीक्षामा फेरि घटाउन उनी बाध्य भए । नतिजाका हिसाबले चालू आपको यो बजेट अहिलेसम्मकै कमजोर देखिएपछि मन्त्री खतिवडा झनै आलोचित बनेका छन् ।
पूर्व अर्थसचिव रामेश्वर खनाल मुलुक अहिले असमान्य परिस्थितिमा रहेकोले वैकल्पिक उपाय अपनाएर भए पनि कार्यान्वयनमुखी बजेट ल्याउनुपर्ने तर्क गर्छन् । “अहिलेकै अवस्थालाई हेर्ने हो भने पनि करिब १० खर्बको हाराहारीमा राजस्व संकलन हुने छ,” उनी भन्छन्, “हामी असामान्य अवस्थामा रहेकोले राज्यले अपुग स्रोत जुटाउन सक्ने प्रसस्तै उपायहरू छन् ।” बजेटको आकार भन्दापनि परिणाम आवश्यक रहेको बताउदै उनले नतिजामुखी बजेट निर्माणमा लाग्नु पर्ने खनाल बताउँछन् ।
“बजेटले क्रमशः राहत, रोजगारी, स्वास्थ्य, कृषि र अर्थतन्त्रको पुनरुत्थानलाई प्राथमिकीकरण गर्नु पर्छ,” उनी भन्छन् । यद्यपि, प्राथमिकीकरण गरेर बजेट ल्याएपनि सरकारलाई स्रोत अपुग नै छ ।
अर्थ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष समाप्त हुन २ महिनामात्रै बाँकी हुँदा चालू आवको वैशाख मसान्तसम्ममा ६ खर्ब ३९ करोड रूपैयाँ मात्रै संकलन भएको छ । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर विश्वव्यापी रूपमा फैलिएको कोरोनाले अर्थतन्त्र ठप्प हुँदा वैशाख सम्म लक्ष्य र राजस्व संकलनको अन्तर दई खर्बभन्दा नाघेको छ । वैशाख मसान्तसम्ममा सरकारले ८ अर्ब ८० अर्ब संकलन गर्ने लक्ष्य राखे पनि ६ खर्ब ३९ अर्ब रुपैयाँमात्रै संकलन गरेको छ । आन्तरिक राजस्वलाई प्रमुख सरकारी स्रोतको रूपमा लिईन्छ । पहिलो पटक अर्थमन्त्री भएलगत्तै भन्सारका मुहान सफा गरेर राजस्व बढाउने उद्घोष गरेका अर्थमन्त्री डा. खतिवडालाई दोस्रोपटक अर्थमन्त्री बनेलगत्तै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबीच पार्टी रिझाउने या अर्थतन्त्र उकास्ने गरि तेस्रो बजेट ल्याउने चुनौती र अवसर दिएको छ ।

नेपालमा व्यवसाय गर्दा २९.३ प्रतिशत नाफा

नेपालमा व्यवसाय गर्दा २९.३ प्रतिशत नाफा
दोस्रो आर्थिक गणना
५० प्रतिशत व्यवसाय दर्ताबिनै, ४ लाख व्यवसाय कोठाबाटै

निरु अर्याल
नेपालमा सञ्चालित व्यवसायहरूले औषतमा वार्षिक २९.३ प्रतिशत नाफा कमाउने गरेको पाइएको छ । सरकारले गरेको ‘राष्ट्रिय आर्थिक गणना २०७५’ को दोस्रो सर्वेक्षण अध्ययनअनुसार नेपालमा सञ्चालित व्यवसायहरूले औषतमा २९.३ प्रतिशत नाफा कमाउने गरेका छन् ।
गणनामा आर्थिक क्रियाकलापसँग सम्बन्धित करिब १५ क्षेत्र र १७ समूहमा वर्गीकरण गरी ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठानलाई स्याम्पलका रूपमा लिइएको छ । जसअनुसार ४ लाख ६२ हजार ६०५ अर्थात ५०.१ प्रतिशत प्रतिष्ठान दर्ता भएर सञ्चालन भएको पाइएको छ भने ४ लाख ६० हजार ४ सय २२ अर्थात ४९.९ प्रतिशत प्रतिष्ठान दर्तानै नभइ सञ्चालित छन् ।
वर्गीकरण गरिएकामध्ये ६ प्रकारका व्यवसायहरूमा ४० प्रतिशतभन्दा बढी नाफा हुने गरेको पाइएको छ । सामाजिक उद्देश्यका संस्थाहरूका रूपमा व्याख्या गरिने शैक्षिक प्रतिष्ठानहरूले पनि वार्षिक ४६.१ प्रतिशत नाफा निकाल्ने गरेको सर्वेक्षणले देखाएको छ । यस्तै, थोक तथा खुद्रा व्यापार, सवारी साधन मर्मतसम्भार व्यवसायमा पनि ४३ प्रतिशत नाफा रहेको छ भने खानी उत्खनन् तथा खनिजजन्य व्यवसाय संचालकहरूलाई ४२.२ प्रतिशत नाफा हुने गरेको छ । सर्वेक्षणअनुसार घरजग्गा व्यवसाय पनि प्रतिफलका दृष्टिले नेपालमा आकर्षक अर्थात करीब ४१ प्रतिशत नाफा कमाउने गरेका छन् । वित्तीय तथा बिमासम्बन्धी व्यवसायहरूबाट वार्षिक औसतमा ४०.५ प्रतिशत नाफा हुने गरेको सर्वेक्षणमा उल्लेख छ ।
स्वास्थ्य तथा सामाजिक कार्यका व्यवसायले २९.२ प्रतिशत, यातायातले २७.९ प्रतिशत, खानेपानी आपूर्ति, ढल तथा फोहोरमैला व्यवस्थापनमा २४.२ प्रतिशत, विज्ञान तथा प्रविधिसँग सम्बन्धित व्यवसायिक सेवा (२४.१ प्रतिशत), निर्माण (२३.६ प्रतिशत, सूचना तथा प्रविधिमा २३.४ प्रतिशत नाफा कमाउने गरेका छन् । सर्वेक्षणले सबैभन्दा बढी कृषि व्यवसायमा संलग्नहरूले ५५.७ प्रतिशत नाफा आर्जन गर्ने गरेको देखाएको छ । यसका अतिरिक्त उत्पादनले उचित मूल्य नपाउँदा निर्वाहमुखी पेशाका रूपमा मात्र देखिएको कृषिप्रति किसानहरू बिरक्तिँदै जाँदा तिनै किसानले गरेको उत्पादन बेच्ने व्यापारी वर्गले भने लगानीको दोब्बर नाफा कमाएको देखिनुले उपभोक्ता र कृषक दुवै बिचौलियाको अधिक शोषणमा परेको तथ्यांकमा उल्लेख छ ।
सर्वेक्षणअनुसार ५२.४ प्रतिशत व्यवसायहरूले व्यवस्थित हिसाबकिताब राख्ने गरेका छैनन् । क्षेत्रगत रूपमा सर्वा्धिक कारोबार तथा नाफा आर्जन हुने व्यवसाय विद्युत ग्यास, वाष्प तथा एयर कण्डिसनसँग सम्बन्धित छ । यससम्बन्धी प्रत्येक व्यवसायले औसतमा वार्षिक ११ करोड ३२ लाख ४५ हजार रुपैयाँको वस्तु तथा सेवा बिक्री गरेर औसतमा दुई करोड २२ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गर्ने देखिएको छ । दोस्रोमा सूचना तथा प्रविधि व्यवसाय छ । प्रतिवेदनअनुसार, यससम्बन्धी एउटा व्यवसायले वार्षिक औसतमा करिब साढे आठ करोड रुपैयाँको कारोबार गर्दै झन्डै २ करोड नाफा आर्जन गर्ने गरेका छन् ।
तथ्यांक विभागले १४ अप्रिल २०१८ सम्मको लगत संकलन गरेर तयार पारेको आर्थिक गणनामा कुल ९ लाख ९२४ व्यावसायिक प्रतिष्ठानका ९ लाख २३ हजार तीन सय ५६ आउटलेटहरूलाई सर्वेक्षणमा समेटिएको छ । जसमा दर्ता भएका र दर्ता नगरी सञ्चालन गरिएका व्यवसायहरू करीब आधा–आधा छन् । सर्वेक्षण अबधिभर उल्लेख गर्न लायक ठूला उद्योग व्यवसाय कमै संचालनमा आएकाले नयाँ थपिएका व्यवसायहरूमा धेरैजसो युवाहरूले संचालनमा ल्याएका स्टार्टअप (नवउद्यम) रहेका देखिएको छ । सर्वेक्षणमा नयाँ दर्ता भएकामध्ये ४६.७ प्रतिशत व्यवसायिक प्रतिष्ठानहरू आफ्नै भवन वा कोठामा र ४९.७ प्रतिशत बहालको स्पेस लिएर संचालन गरिएको देखिएका छन् । यी मध्ये झन्डै ४२ प्रतिशत (तीन लाख ८६ हजार ३३२) व्यवसायहरू घरबाटै संचालित गरिएकाले पनि आफ्नै भवन वा कोठामा संचालित प्रतिष्ठानहरूको संख्या उल्लेख्य (करीब ४ लाख ८४८) देखिएको छ । यी व्यवसायिक प्रतिष्ठानहरूबाट प्रत्यक्षरूपमा ३२ लाख २८ हजार चार सय ५७ जना रोजगाररस्वरोजगार भएको देखिएको छ । औसतमा हरेक व्यवसायले ३.५ जनालाई रोजगारी दिएको छ ।
सर्वेक्षण अनुसार २९.६ प्रतिशत अर्थात २ लाख ७३ हजार ४ सय ३६ जना महिला म्यानेजर छन् भने सोही हाराहारीमै २ लाख ४७ हजार ८ सय ८० जना अर्थात २९.८ प्रतिशत महिला आफै सञ्चालक छन् । अध्ययनअनुसार ५४ प्रतिशत युवाहरू म्यानेजर रहेको पाईएको छ भने सोही हाराहारीमै ५४.५ प्रतिशत युवाहरू सञ्चालक रहेको पाइएको छ । अध्ययनमा संलग्न कुल सहभागितामध्ये १.२ आर्थत १० हजार सय २५ जना विदेशी सञ्चालकहरू रहेकाछन् । अध्ययनले करिब २ लाख ९४ हजार २ सय १९ प्रतिष्ठान नयाँ स्थापना भएको पनि उल्लेख गरिएको छ । विभागले नेपालमा पहिलोपटक गरेको आर्थिक गणनाको संक्षिप्त नतिजा करीब डेढ वर्षअघि नै सार्वजनिक गरेको थियो । जापानी सहयोग नियोग(जाईका) को प्राबिधिक सहयोगमा गरिएको सर्वेक्षणको अन्तिम नतिजा भने आगामी आर्थिक वर्षको मसान्तसम्म सार्वजनिक गर्ने बिभागको तयारी छ ।

Tuesday, June 16, 2020

कोरोनाले बजेट बनाउन सकस


निरु अर्याल
कोरोनाले बजेट बनाउन सकस
 सिलिङ र प्राथमिकतामा फेरिए, भर्चुअल कन्फ्रेन्सबाटै ब्रिफिङ
सरकारले बजेटका प्राथमिकता र स्रोत समितिले पहिले दिएको सिलिङमा हेरफेर गर्दैै बजेट निर्माणको कामलाई तिब्रता दिएको छ । कोरोना माहामारीको सन्त्रासले मुलुकले एक महिनादेखि लकडाउनको सामाना गरिरहे पनि बजेट सार्बजनिक गर्ने दिन नजिकिँदा सरकार अफ्ठयारोमा छ । त्यतिमात्र होइन, कोरोनाले अर्थतन्त्रमा पारेको असर र त्यसलाई पुनःउत्थान दिने कार्यक्रमहरू समेत आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नु पर्ने भएकोले पनि सरकारलाई बजेट निर्माणमा चुनौती थपिएको छ ।
मुलुकभर लकडाउन हुँदा सरोकारवाला निकायसँग छलफल गर्न समेत सरकारलाई अफ्ठेरो परेको छ भने आर्थिक गतिविधि ठप्प हुँदा आम्दानीको स्रोत खुम्चिने अवस्थाले पनि सरकारलाई झनै ठूलो समस्यामा परेको छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ मा बजेट सार्बजनिक गर्नुपर्ने ब्यवस्था छ । संघीय बजेटलाई आधार मानेर प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० मा बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ । कोरोनाका कारण उत्पन्न अवस्थालाई सम्बोधन गर्न यसअघि मध्यकालीन खर्च संरचनाले दिएको मार्गअनुसार बजेट विनियोजन गर्न नसकिने अवस्थामा भएकोले पनि सरकार बजेटको सिलिङ घटाउने मनस्थितिमा छ ।
अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार आगामी बजेटको आकार घट्ने निश्चित भएको छ भने यसअघिका प्राथमिकतामा पनि हेरफेर हुने छ । “बजेट निर्माणको काम तिब्र रूपमा अघि बढेको छ,” अर्थ मन्त्रालय स्रोतले भन्यो, “कोरोनाले पारेको क्षतिलाई हेर्नुपर्ने भएकोले पनि यसपटक बजेटका प्राथमिकता फेरिनेछन् ।” अर्थले कतिपय बिज्ञ, सरोकारवाला र मन्त्रालयसँग भिडियो कन्फ्रेन्स शुरु गरेको छ । “लकडाउनको समस्याले गर्दा कुनै कुनै मन्त्रालयसँग भिडियो कन्फ्रेन्सबाटै पनि छलफल हँुदै आएको छ,” स्रोतले भन्यो, “पहिले जस्तो अवस्था छैन, सीमित स्रोतका बाबजुत पनि अर्थ मन्त्रालय बजेट तर्जुमामा जुटेको छ ।” अर्थले दिएको जानकारी अनुसार कोरोनाका कारण आगामी बजेटमा स्वास्थ्य क्षेत्र सरकारको पहिलो प्राथमिकतामा पर्ने छ । यस्तै दोस्रोमा रोजगारी र पहिलो प्राथमिकतामा रहेको पूर्वाधार क्षेत्र सरकारको तेस्रो प्राथमिकतामा पर्ने छ ।
आयोगका अनुसार अब मध्यकालीन खर्च संरचनाअनुसार पूर्वाधार क्षेत्रले पहिलो प्राथमिकतामा पर्ने छैन भने आगामी वर्षका लागि छिटो उत्पादन हुने क्षेत्रमा बजेट बढेर आउने छ । आयोग स्रोतले भन्यो, “हामीले यसअघि तोकेको सिलङमा बजेट हेरफेर हुने जानकारी मन्त्रालयहरूलाई दिइसकेको छौं, अब तत्काल उत्पादन हुने क्षेत्रमा बजेट बढाउने र दीर्घकालीन रूपमा उत्पादन हुने क्षेत्रमा घटाउने नीतिअनुसार बजेट विनियोजन हुन्छ ।” आयोगका अनुसार विगतको बजेटको तुलनामा आगामी बजेट शिक्षा, स्वास्थ्य, कृषि, श्रम क्षेत्रमा बढाइने छ । यो निर्धारण गरिएको सिलिङभन्दा पनि माथि हुनेछ । यसबाहेक सहरी विकास, भौतिक योजना जस्ता मन्त्रालयको बजेट भने घटाउने विषयमा छलफल भइरहेको छ । आयातमा समस्या हुने भएकोले दैनिक उपभोग्य वस्तु (कृषि) उत्पादनमा जोड दिनका लागि कृषि मन्त्रालयलाई दिने बजेट बजेट बढ्नेछ भने प्राथमिकता प्राप्त राष्ट्रिय गौरवका आयोजनाहरूको समेत प्रगतिका आधारमा बजेट विनियोजन गर्ने सरकारको तयारी छ ।

अर्थतन्त्र जोगाउन लकडाउन खुकुलो पारिँदै

अर्थतन्त्र जोगाउन लकडाउन खुकुलो पारिँदैकोरोना महामारीका कारण लकडाउन लम्बिँदा मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने संकेत गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले केही मापदण्डका आधारमा लकडाउन खुकुलो बनाउने संकेत गरेका हुन् । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले भने, “आम मानिसको जीवनरक्षा पहिलो कुरा हो त्यसका बाबजुद पनि केही न्यूनतम आपुर्तिजन्य कुराहरू परिपूर्ति गर्ने कुराहरूमा सहजता अपनाउनुपर्ने हुन्छ त्यसतर्फ हामी अघि बढ्न खोजेका छौं ।”
अर्थमन्त्रीले रोकथामका कारणले परेको असरलाई न्यूनीकरण गर्न हामीले के गर्ने हो ? उत्पादनका श्रृंखलालाई कसरी जोड्ने हो आपूर्तिका श्रृंखलालाई कसरी जोड्ने हो ? र आम नागरिकको जीवनलाई उकुसमुकुस हुनबाट अलि सहज अवस्थाामा कसरी लाने भन्ने नै सरकारको पहिलो योजना रहेको सुनाए । उनले भने, “कोरोना रोकथामको कारणले जुुनजुन क्षेत्रमा आवागमन अवरुद्ध भएको कारणले असर गरेको छ, चाहे त्यो पर्यटन होस्, निर्माण या व्यापारको क्षेत्र होस् यी क्षेत्रको पुनः उत्थानका लागि अल्पकालीन र मध्यकालीन योजनाको तयारी भइरको छ । वर्षको नीति तथा कार्यक्रम र बजेटको माध्यमबाट र तत्कालै केही गर्न भए पनि आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्छौं,” उनले भने । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकोले बजेट निर्माणको प्रक्रिया कठिन भएको बताए । कोभिड–१९ को रोकथामको लागि सरकारले चालेका कदमहरू जो जीवनरक्षासँग सम्बन्धित भएकोले आर्थिक क्रियाकलापमा प्रतिकुल असर परेको उनको भनाई थियो ।
“यसकै कारणले राजस्वको संकलनको अवस्था लक्ष्यअनुरुप छैन भने खर्च गर्ने क्षमतामा पनि कहिँ न कहिँ अवरोध आएको छ, यो अवस्थामा स्रोत थपेर बजेट निर्माण गर्नु पर्नेछ र जोखिम नियन्त्रणले अर्थतन्त्रमा परेको प्रतिकुल असरलाई पुनर्ताजगी दिन पनि थप स्रोत चाहिएको छ,” उनले थपे, “त्यसका लागि पनि काम गर्ने हो प्रयाप्त बजेट हछलफल गर्ने बहस गर्ने सबै सरोकारवालासँग बसेर छलफल गर्न सकिरहेका छैनौँ ।” उनले सामाजिक दूरी कायम राख्नुपर्ने भएकोले पनि खुला छलफल गर्न नसकेको र विद्युतीय माध्यमलाई प्रयोग गरेर सिमित कर्मचारीसँग काम भैरहेको बताए ।
“यसका बाबजुत पनि बजेट मा कार्यरत सबै मन्त्रालयका कर्मचारीहरू जोखिम मोलेर भएपनि खटिरहेको अवस्था छ,” उनले भने । उनले बजेट निर्माणसँगै कोरोनाभाइरसका कारण सरकारले चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव बारे छलफल भैरहेको पनि जानकारी दिए ।
“कोरोनासम्बन्धी हामीले चालेको कदमबाट तत्कालै परेको असरलाई कसरी न्यून गर्न सक्छौ ? अर्को भनेको विश्वव्यापी रुपमा मन्दीको वातावरण बनेको छ, विश्वका धेरै मुलुकमा आर्थिक मन्दीको दर घट्ने अवस्थामा छ,” उनले भने, “धेरै कम मुलुकको आर्थिक वृद्धिदर कम हुने आकलन गरिँदैछ, त्यो अवस्थामा हामीले चाहेको नेपाललाई उच्च आर्थिक वृद्धिको बाटोमा लाने क्रममा हाम्रा आगामी मध्यकालीन र दीर्घकालीन काम कस्तो लानुपर्छ भनेर काम गरिरहेका छौं ।” लकडाउनको अवस्था लम्बिदै जाँदा अर्थतन्त्रमा प्रतिकुल प्रभाव बढ्दै गएकोले बजेट निर्माण सँगै यही आर्थिक वर्षमा सरकारले गर्न पर्ने काम हरूमा अर्थमन्त्रालय लागि रहेको जानकारी दिए । उनले भने, “यी कुराहरू आगामी आर्थिक बर्षको बजेटमा समावेश गरेर कार्यान्वयनमा लानुपर्ने हुन्छ त्यसको तयारीमा अर्थे काम गरिरहेको छ ।”
यद्यपि, अर्थतन्त्रलाई चलायमान बनाउने निहुँमा छिमेकी मुलुकमा नहेरीकन हामीले एकपक्षीय निर्णय गर्न नमिल्ने उनले स्पष्ट पारे । आपूmहरु खुला सिमानाका कारणले जोखिममा रहेको र लकडाउन खोल्न पूर्वतयारी नहेरी चेतना सामाजिक दूरीका कुराहरू नहेरी सबै निर्णय लिन सकिने अवस्था नरहेको उनले बताए । गत सोमबार बसेकोे मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग १० करोड अमेरिकी डलर ऋण सम्झौता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

विश्व बैंकले ऋण मिनाहा गर्ने संकेत

विश्वभर फैलिएको कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र शिथिल भइरहेको बेला विश्व बैंकले नेपाल लगायत केहि न्यून आयका मुलुकको ऋण मिनाहा गर्ने संकेत गरेको छ ।
विश्व बैंकले ऋण मिनाहा गर्ने संकेतनेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भाेसले बुधबार पत्रकारहरुसँग कुरा गर्दै हाल चालू विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकले केहि सुखद समाचार दिन सक्ने बताए । बैंकले तत्कालका लागि नेपाल सरकारलाई कोरोना महामारीको नियन्त्रण गर्न २९ मिलियन अमेरिकी डलर आपतकालिन राहात हस्तान्तरण गरिसकेको जानकारी दिँदै उनले निकट भविष्यमै थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । “नेपाल अहिले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमामा जुटेको छ, सरकारको तर्फबाट समेटनु पर्ने कुराहरु त आउँछन् नै, थप के कसरी नेपालको अर्थतन्त्र उकास्न सकिन्छ त्यसका लागि बैंकले सहयोग गर्ने नै छ ।” उनले भने ।
सरकारले हाल विभिन्न विकास साझेदारसँग पुराना ऋणको सावाँ व्याज बुझाउने समय सार्न तथा थप सहयोग गर्न पत्राचार गरिरहेको छ ।
फारिसले उक्त अवसरमा अर्थतन्त्रको पुर्नउत्थानका लागि विश्व बैकले पाँच सुझाव अघि सरेको पनि बताए । चुनौतीलाई अवसरका रुपमा लिएर अर्थतन्त्रलाई पुर्नजिवन दिन सकिने भन्दै फारिसले कोरोना भाइरस महामारीले विश्वव्यापी अर्थतन्त्र निक्कै शिथिल बनेकले यसको प्रभाव आउँदा केही वर्षसम्म दुर्भाग्यपूर्ण हुने देखिएको बताए । उनले विश्व बैंकले नेपालमा महामारीको सामना गर्न र अर्थ व्यवस्थालाई पुर्नबहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको जानकारी दिँदै आगामी वर्ष प्राथमिकताका आधारमा निकै काम गर्नुपर्छ भन्ने कुरामा बैंक विश्वस्त रहेको पनि जिकिर गरे । “पहिलो प्राथमिकता तत्काल स्वास्थ्यका लागि चाल्नु पर्ने कदम हुनुपर्छ र गरिरहेको पनि छ, उनले भने दोस्रो तत्काल सामाजिक सहयोग र रोजगारी हो ।” नेपालको अर्थतन्त्र उकास्न सकिने आधारहरु प्रस्तुत गर्दै फारिसले भने, “ठूलो संख्यामा विदेशिएका नेपालीहरू स्वदेश फर्किने संभावना बढेको छ, यसका लागि नेपालले ठूलो आकारमा रोजगारीको आवश्यकता रहेको र प्रधानमन्त्री रोजगार कार्यक्रमहरू र अन्य यस्तै खालका कार्यक्रमहरूमा ध्यान दिन सकेमा अर्थतन्त्रमा सुधार हुन सक्छ ।”
उनले यो महामारी आपूर्तिजन्य झट्काको संज्ञा दिँदै भने, “तेस्रो हामीले वस्तुको उत्पादन सुचारु रहने सुनिश्चित तुल्याउँदै साना तथा मझौला उद्योगलाई केन्द्रीत र बढावा दिँदै वास्तविक क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ र यसैगरी आपूर्ति श्रृंखला सही ढंगले कायम राख्नु पर्छ ।” उनले चौथो प्राथमिकता समष्टिगत आर्थिक स्थायित्व कायम हुनु पर्ने बताए । “खर्च अवस्था बढ्नेवाला छ यो त्यसैले खर्चको प्राथमिकीकरण निर्धारण हुनुपर्छ र साथसाथै डिजिटलाइजेशनलाई प्राथमिकता दिएर कृषिको रुपान्तरणमा ध्यान दिनु जरुरी छ ।”
उनका अनुसार नेपाल दुई ठूला छिमेकीका बीचमा रहेको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्नेछ ।
“आर्थिक मन्दीका बारेमा चाखलाग्दो कुरा के छ भने हामी यो कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं, यो अन्यभन्दा फरक छ” उनले भने, “यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो, सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ ।”
उनले सामान्यतयाः मन्दीहरू मागद्वारा हाँकिएका हुने भएपनि विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले आपूर्तिद्वारा हाँकिएको बताए । अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेको बताउँदै उनले यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वृद्धिलाई फरक ढंगले पुर्नर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्ने दाबी गरे ।
“यो संत्रासलाई अलग रूपमा बुझ्नाले देशहरूलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्नेछ ।” विश्व बैंकका प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको जीडीपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ । “यो नेपालका ठूलो चुनौती पनि हो उनले भने, “विप्रेषणमा हुने प्रहारले सिधै नेपालको विदेशी विनियमयमा प्रभाव पानेछ ।” उनले नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुने पनि बताए ।
उनले भने, “आपूर्ति प्रणाली पारेको झटका कारण कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने हामीले अपेक्षा गरेका छौं भने भने वित्तीय घाटा र चालू घाटा दुवै विस्तारित हुने अपेक्षा गरिएको छ ।” विश्व बैंकको प्रक्षेपणअनुसार विश्व, दक्षिण एसिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य अनुपातले कमी आउने छ । महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको थियो, तर कोरोनाको संक्रमणका कारणले यी क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहनेछ, यो विगत चालिस वर्षकै सर्वाधिक खराब वृद्धिदर हो । “आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा छ,” उनले भने । विश्व बैंकले विद्यमान आफ्नो कुल लगानी (पोर्टफोलियो) परियोजनाहरूबाट पोर्टफोलियाको १८ प्रतिशत कोरोना भाइरस संक्रमणको प्रतिक्रित्मक क्षेत्रमा केन्द्रीत गरेको छ ।

प्रदेश र स्थानीय सरकारमा जाने अनुदानमा हेरफेर

प्रदेश र स्थानीय सरकारमा जाने अनुदानमा हेरफेर
निरु अर्याल
विश्वभर फैलिएको कोरोना महामारीपछि अनुदानमा हेरफेर गर्दै सरकारले प्रदेश र स्थानीय सरकारमा जाने राजस्व बाँडफाँड र समानीकरण अनुदानको टुंगो लगाएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार आगामी आर्थिक वर्ष राजस्व बाँडफाँडको शप्र्षकमा दिइने अनुदानमा केही कटौती हुनेछ भने समानीकरण अनुदानमा केही वृद्धि हुने भएको छ ।
आयोगले केन्द्र सरकारले दिने अनुदान मध्येको महत्वपुर्ण मानिने राजस्व बाँडफाँडको सिलिङ चालू आर्थिक वर्षमा विनियोजन गरिएको रकमभन्दा करिब ८ अर्ब रुपैयाँ घटाएर १ खर्ब २२ अर्ब सिलिङ पठाउन अर्थमन्त्रालयलाई सिफारिस गरेको छ । जसअनुसार आगामी आर्थिक वर्षमा स्थानीय र प्रदेश सरकारको १५÷१५ प्रतिशत हिस्सा रहेको राजस्व बाँडफाड शिर्षकको अनुदान मध्येको रकम १ खर्ब २२ अर्ब रुपैयाँ हुने छ ।
चालू आर्थिक वर्षमा सरकारले राजस्व बाँडफाँटबाट प्रदेश तथा स्थानीय तहलाई १ खर्ब ३० अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको जानकारी अनुसार कोरोना महामारी र पछिल्लो पटक गरिएको बन्दाबन्दीले सरकारको स्रोतमा पार्ने प्रभावसहितलाई मध्यनजर गर्दै अनुदानमा समेत हेरफेर गरिएको हो । यससँगै प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षको बजेट बनाउन सहज भएको छ । संविधानतः केन्द्र सरकारले हरेक वर्षको जेठ १५ मा प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० मा बजेट सार्वजनिक गर्नु पर्ने बाध्यता छ । आयोगले अनुदानबारे पहिले नै सिफारिस गरे पनि विश्वभर फैलिएको कोरोना महामारीको प्रभाव र यसले अर्थ क्षेत्रमा पारेको प्रभावका कारण यसअघि पठाएको सिलिङ यथार्थपरक नबन्ने भन्दै अर्थले फिर्ता पठाएको थियो । त्यसपछि दोस्रो पटक राजस्व बाँडफाँट तथा समानीकरण अनुदान टुंग्याएर गत साता अर्थ मन्त्रालयमा सिफारिस गरेका आयोगले जनाएको छ ।
वित्त आयोगको सिफारिसका आधारमा अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहमा बजेट सिलिङ पठाउने व्यवस्था छ । आयोगका सचिव वेगेन्द्र शर्मा पौड्यालले कोरोना महामारीपछि देखिएको र अझै पनि देखिन सक्ने समस्यालाई मध्यनजर गरेर अनुदान र राजस्व बाँडफाँटको विषय टुगिएको जानकारी दिए । उनका अनुसार सोही सिलिङका आधारमा अर्थले तल्लो तहमा सिलिङ पठाउने छ । अर्थ मन्त्रालय स्रोतका अनुसार गत साता आयोगले गरेको सिफारिसमा वित्तीय समानीकरण अनुदान चालू आर्थिक वर्षको तुलनामा १० प्रतिशत वृद्धि गरिएको छ ।
वित्तीय समानीकरण अनुदान केन्द्र सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने निशर्त अनुदान हो । प्रदेश तथा स्थानीय तहको आवश्यकता र राजस्व क्षमतालाई मध्यनजर गरेर दिइने यो अनुदानको प्रयोग विशेषगरी प्रशासनिक खर्च तथा तलब भत्तामा हुने गर्छ । खर्चको आवश्यकता धेरै भएको तर राजस्वको स्रोत कम भएकालाई वित्तीय समानीकरण अनुदान बढी पठाउने व्यवस्था छ ।
अर्थले दिएको जानकारी अनुसार आगामी आर्थिक वर्षका लागि ७ सय ५३ स्थानीय तह र ७ प्रदेशका लागि १ खर्ब ६० अर्ब रुपैयाँको वित्तीय समानीकरण अनुदान टुंग्याइएको छ । गत वर्ष यस्तो अनुदान १ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो । तर, प्रदेश सरकारलाई दिइने अनुदान चालू वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ ।
चालू वर्ष ७ प्रदेश सरकारका लागि ५५ अर्ब रुपैयाँको वित्तीय समानीकरण अनुदान विनियोजन गरिएकामा आगामी आर्थिक वर्षका लागि करिब ६७ अर्ब रुपैयाँको सिलिङ सिफारिस गरिएको छ । यस हिसाबले प्रदेश सरकारलाई दिइने अनुदानमा उल्लेख्य वृद्धि गरेको देखिन्छ । प्रदेश सरकारले कर्मचारीहरू पनि बढाएको अवस्था र राजस्व बाँडफाँटबाट र एकल राजस्वबाट पनि प्रदेशको कम आय हुने भएपछि समानीकरण अनुदान उल्लेख्य वृद्धि गरिएको वित्त आयोगले जनाएको छ ।
स्थानीय तहको वित्तीय समानीकरण अनुदानमा भने सामान्य वृद्धि भएको छ । प्रदेशलाई दिइने अनुदान करिब २१ प्रतिशत वृद्धि हुँदा स्थानीय तहलाई दिइने अनुदान ३ प्रतिशत मात्र वृद्धि भएको आयोगले जनाएको छ ।चालू वर्षमा स्थानीय तहलाई ८९ अर्ब ९५ करोड रुपैयाँ अनुदान उपलव्ध गराइएकामा आगामी आर्थिक वर्षका लागि करिब ९३ अर्ब रुपैयाँ मात्र सिफारिस गरिएको छ ।
वित्तीय समानीकरण अनुदान बढाइए पनि आगामी आर्थिक वर्षमा राजस्वको आधार भने घट्ने अनुमान गरिएको छ । यसअघिको सूत्र अनुसार अन्तःशुल्क र मूल्य अभिवृद्धि करको बाँडफाँड स्थानीय र प्रदेश सरकारमा १५÷१५ प्रतिशत र ७० प्रतिशत केन्द्रमा राखिने व्यवस्था छ !

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...