Tuesday, February 25, 2020

१२ शीर्षकको राजस्व लक्ष्य संशोधन


१२ शीर्षकको राजस्व लक्ष्य संशोधनचालू आर्थिक वर्षको छ महिनामा राजस्व असुली लक्ष्यभन्दा १ खर्ब कम रहेपछि सरकारले विभिन्न १२ शीर्षकमा असुली हुने राजस्वको लक्ष्य संशोधन गरेको छ । मध्यवधि समीक्ष मार्फत बजेटको आकार र राजस्वको लक्ष्य घटाएको सरकारले राजस्वका १२ वटा शीर्षकमा असुली हुने लक्ष्यसमेत संशोधन गरेको हो । अर्थ मन्त्रालयले सार्बजनिक गरेको तथ्यांकअनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आन्तरिक र आयात, अन्तःशुल्क, शीर्षकमा असुली हुने राजस्वको लक्ष्य संशोधन गरिएको छ ।
यस्तै शिक्षा सेवा शुल्क, आयकर अन्यकर, कर राजस्व र गैर कर राजस्व शीर्षकको लक्ष्यसमेत संशोधन गरिएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको छ महिनामा राजस्व असुली लक्ष्यभन्दा १ खर्ब कम रहेपछि सरकारले विभिन्न १२ शीर्षकमा असुली हुने राजस्वको लक्ष्य संशोधन गरेको छ । मध्यवधि समीक्ष मार्फत बजेटको आकार र राजस्वको लक्ष्य घटाएको सरकारले राजस्वका १२ वटा शीर्षकमा असुली हुने लक्ष्यसमेत संशोधन गरेको हो । अर्थ मन्त्रालयले सार्बजनिक गरेको तथ्यांकअनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आन्तरिक र आयात, अन्तःशुल्क, शीर्षकमा असुली हुने राजस्वको लक्ष्य संशोधन गरिएको छ । यस्तै शिक्षा सेवा शुल्क, आयकर अन्यकर, कर राजस्व र गैर कर राजस्व शीर्षकको लक्ष्यसमेत संशोधन गरिएको मन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले यसवर्ष ११ खर्ब १२ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । चालू आर्थिक वर्षका छ महिनासम्म लक्ष्यमा भेटाउन करिब १ खर्ब अपुग भएपछि सरकार राजस्वको लक्ष्य संशोधनको निष्कर्षमा पुगेको हो । बजेट मार्फत लिइएको राजस्वको लक्ष्य नभेटिने भएपछि सरकारले अर्धवार्षिक समीक्षाबाट यो लक्ष्यको ५ प्रतिशत लक्ष्य घटाएको छ । जसअनुसार चालू आर्थिक वर्षमा १० खर्ब ५६ अर्ब राजस्व असुली गर्ने सरकारको लक्ष्य छ । यद्यपि संशोधित लक्ष्यसमेत महत्वकांक्षी भएको चौतर्फी दबाब आइरहेका बेला लक्ष्य भेटाउन अर्थमन्त्री डा.युवराज खतिवडाले चुहावट नियन्त्रणमा अग्रसर हुन मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । 
उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिको बैठक समितिका संयोजकसमेत रहेका खतिवडाले बिभिन्न निकायका प्रमुखहरूलाई साक्षी राखेर राजस्व चुहावट नियन्त्रण गर्न भन्सार नाका बाहेक अन्यत्रबाट हुने अवैध पैठारीलाई नियन्त्रण गर्न निर्देशन दिइसकेका छन् । “चालू आर्थिक वर्षको पहिलो छ महिनामा आयातको परिमाणमा आएको गिरावट र भन्सार विन्दुमा संकलन हुने राजस्वमा कमी आएकोले लक्ष्य भेटिएन,” अर्थ मन्त्रालय स्रोत भन्छ, “संशोधित लक्ष्य हासिल हुने प्रशस्तै आधारहरु तयार भइसकेका छन् र संशोधित राजस्व भेटाउन अर्थमन्त्री आफैँ सक्रिय रूपमा लाग्नुभएकोले यस वर्ष बजेट मार्फत लिइएको लक्ष्यको ५ प्रतिशत कम राजस्व हासिल हुने नै छ ।”
गत साता मात्रै अर्थमन्त्रीले संवेदनशील भन्सार नाकालाई विशेष निगरानी बढाउन, जिल्लास्तरीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक यथाशीघ्र राखी नियमित रूपमा बैठक बसाउने ब्यवस्था मिलाउन र बिल विजकहरूको बारेमा सुरक्षा निकायबाट खटिने कर्मचारीहरूलाई जानकारी दिन तालिम उपलब्ध गराउन निर्देशन दिएका थिए ।
दुई वर्षअघि अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने बित्तिकै अर्थमन्त्रीले भन्सार चुहावट नियन्त्रण गर्ने भन्दै सबै मुहान सफा गर्ने उद्घोष गरेका थिए । मन्त्री भएको दुई वर्षसम्म आशालाग्ने काम गर्न नसकेको भन्दै मन्त्री खतिवडा आफ्नै पार्टीबाट आलोचित बनेका छन् ।“मन्त्रीज्यू आफैँ पनि दबाबमा हुनुहुन्छ,” मन्त्रीलाई उधृत गर्दै स्रोत भन्छ, “केही दिनअघि मात्रै पनि चुहावट समितिको बैठक डाकेर सबै निकायलाई निर्देशन दिइसक्नु भएको छ भने लक्ष्य भेटाउने आधारहरू मन्त्रालयले स्पष्ट पारिसकेकोले संशोधित लक्ष्य भेटिने नै छ ।”
उनका अनुसार मन्त्री खतिवडाले चुहावट समितिको बैठकमा राजस्व चुहावट नियन्त्रण ऐनमा हालै भएका संशोधनको विषयमा सरोकारवालाई जानकारी प्रदान गर्न साथै सीमा नाकामा रहने भन्सार प्रशासन¸ सुरक्षा निकाय लगायतले अन्तराट्रिय सीमा व्यवस्थापनमा सूचना आदान प्रदान गर्ने संयन्त्र विकास गरी अन्तर निकाय समन्वय बढाउनसमेत निर्देशन दिइसकेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारले चालू आर्थिक वर्षमा बजेट मार्फत भन्सार महसुल २ खर्ब १३ अर्ब २० करोड राजस्व संकलन गर्ने अनुमान गरेको थियो । यसलाई संशोधन गरी १ खर्ब ८२ अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य लिएको छ ।
यस्तै मूल्य अभिवृद्धि करतर्फ ३ खर्ब १५ अर्ब १ करोड संकलनको लक्ष्यलाई संशोधन गरी २ खर्ब ९५ अर्ब ८३ करोड असुल गर्ने लक्ष्य राखेको छ । आन्तरिक राजस्वतर्फ १ खर्ब १८ करोड ३८ लाख असुल गर्ने लक्ष्य लिइएकोमा १ खर्ब १६ अर्ब ४० करोडमा झारिएको छ । यस्तै आयाततर्फ १ खर्ब ९६ अर्ब ६२ करोड लक्ष्य लिइएकोमा १ खर्ब ७९ अर्ब ४३ करोड संकलन हुने अनुमान गरिएको छ भने अन्तःशुल्क असुलीको लक्ष्य पनि संशोधन गरिएको छ । 
१ खर्ब ६९ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा संशोधन गरी १ खर्ब ४८ अर्ब ४८ करोड मा झारेको छ । यसैगरी शिक्षा सेवा शुल्कतर्फ १ अर्ब १५ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा ९ करोड बढी राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ । मध्याबधी समिक्षा मार्फत सरकारले आयकरमा पनि राजस्व संकलनको लक्ष्य संशोधन गरेको छ । २ खर्ब ८० अर्ब ३५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको आयकर घटाएर २ खर्ब ५७ अर्ब ५७ करोड संकलन हुने अनुमान सरकारको अनुमान छ ।
अर्थले मध्यावधि समीक्षामार्फत आयातको परिमाणमा सुधार हुँदै गएकोले आगामी दिनमा भन्सार बिन्दुमा संकलन हुने राजस्व बृद्धि हुने आधार तयार गरेको छ । उत्पादन प्रक्रिया नै बन्द गरेका मदिरा उद्योगहरू सञ्चालनमा आइ बिक्री वितरणमा वृद्धि भएकाले पछिल्लो छ महिनामा मदिराबाट प्राप्त हुने अन्तःशुल्कमा समेत उल्लेख्य सुधार हुने अर्थको दाबी छ ।अर्थले चालू आर्थिक वर्षमा हासिल हुने उच्च आर्थिक बृद्धिदरको प्रभाव राजस्व संकलनमा पर्ने हुँदा आन्तरीक राजस्व तर्फको हाल हासिल भएको बृद्धिदर बाँकी महिनामहरूमा कायम हुने बताएको छ । साथै उसले राजनीतिक र नीतिगत स्थायित्व रहेको र समष्टिगत आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको आर्थिक क्रियाकलापमा बढोत्तरी भएको र करको दायारा बिस्तार हुँदै गएकोले राजस्व चुहावटमा नियन्त्रण हुने दाबी गरेको छ । 

Tuesday, February 18, 2020

पूर्व प्रशासकप्रति अर्थमन्त्रीको कटाक्ष आफू जिम्मेबारीमा हुँदा सिन्को नभाँच्ने, अनि सेवा बाहिर गएपछि भाषण गर्दै हिँड्ने ?

Karobar Daily

अर्थमन्त्री डा.युवराज खतिवडाले पूर्व प्रशासकले तथ्यहिन अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले राम्रो उपलब्धि हासिल गरे पनि त्यसअनुसारको बहस नभएको उल्लेख गरे । उनले भने, “पछिल्लो दुई वर्षमा सरकारले औषतभन्दा राम्रो उपलब्धि हासिल गरेको छ, तर केहि व्यक्तिहरुले अनावश्यक र तथ्यहीन प्रश्न सरकारमाथि गरिरहेको छन् ।” पूर्व पशासकहरुप्रति लक्षित गदै अर्थमन्त्रीले खतिवडाले आफू जिम्मेवारीमा हुँदा कहिल्यै अहिलेको जस्तो आर्थिक वृद्धिदर नेदेखेका र अनुभव नगरेका व्यक्तिहरु सेवा बाहिर हुँदा सरकारको राम्रो काममाथि पनि प्रश्न गरिरहेका टिप्पणी गरे । “हामीकहाँ एउटा वर्ग छ, जसले आफू सेवामा हुँदा सिन्को नभाँच्ने, तर सेवा बाहिर गएपछि मैले के–के न गरेँ अरुले गर्न सकेनन् भनेर भाषण गर्दै हिँड्ने” उनले भने ।

नीति निर्माणमा बसेर औषतभन्दा कम कार्य सम्पादन गर्ने, औषतभन्दा कम कार्य कुशलता देखाउने, तर अहिलेको सरकारले औसतभन्दा सबै कुरामा धेरै माथि काम गर्दा पनि कार्यकुशलता भएन भएन अन्तर्वाता दिँदै हिड्ने गरेको आरोप लगाए । उनले भने, “उहाँहरुलाई हामी सबैले चिनिरहनु जरुरी छ ।”
जिम्मेवारीमा रहँदा लक्षित कार्यसम्पादन गर्न नसक्नेहरु पनि अहिले बिना संकोच सरकारले काम गर्न सकेन भनेर सञ्चारमाध्यममा बोल्दै हिँडेको भन्दै अर्थमन्त्रीले कटाक्ष गरे । “सरकारको २ वर्षको कार्यकालको सन्दर्भमा म हिजोआज टेलिभिजनमा केही अनुहारहरु देख्छु, जुन अनुहारहरुले दसकौं नेपालको नीति निर्माणमा, प्रशासन चलाउनमा भूमिका निर्वाह गरेर बस्नु भएको छ,” मन्त्री खतिवडाले भने, “तर औषतभन्दा माथि कुनै पनि काम गरेनन ।” मन्त्री खतिवडाले औषतको तथ्यांक आफूले सार्वजनिक गरेको र पछिल्लो २ वर्षमा अधिकांश क्षेत्रमा औषतभन्दा माथि कार्यसम्पादन गरेका दाबी समेत गरे ।
आर्थिक वृद्धि, सुशासन, भष्ट्राचार निवारण र समाजको रुपान्तरणसँग जोडिएका अरु सूचकहरुमा उल्लेख्य प्रगति भएको अर्थमन्त्री खतिवडाको भनाइ छ । सरकारले आफ्नो काम कारबाही गर्दा जे भइरहेको हो त्यही देखाएको र अझ सुधार गर्ने लक्ष्यसाथ अघि बढीरहेको स्पष्ट पार्दै अर्थमन्त्रीले भने, “आर्थिक परिसूचकहरुमा राखेका सरकारका लक्ष्यमा झिनो तलमाथि हुनु स्वभाविक हो, अहिले त्यस्ता विषयमा हुने बहसको स्तर नै माथि पुगेको छ” उनले भने, “मूल्यवृद्धि नियन्त्रणमा राख्ने भनेर १६ प्रतिशतसम्म पुगेको अवस्थामा पनि चुप लागेर बस्नेहरुले नै छ प्रतिशत मुल्य वृद्धि राख्दा ६.४ प्रतिशत पुग्दा सरकारको काम र कार्यशैली कमजोर देखेका छन् ।” उनले अहिले दशमलवभन्दा पछिका अंकमाथि बहस चलेको बताउँदै सरकार लक्ष्यको नजिक पुगेको बताए ।
कोही व्यक्तिले कुनै कुरा भन्दैमा वास्तविकता नबदिलिने भन्दै अर्थमन्त्री खतिवडाले सरकारका हरेक क्रियाकलापलाई समाजले मूल्यांकन गरिरहेको पनि बताए । “समाजले यी कुराको मुल्यांकन गर्छ, सरकारले एकपक्षीय ढंगले यो कुरा राखिराखेको होइन” उनले भने, “अब अंक पनि बोल्छन्, अनभुति पनि बोल्छन् र त्यसको प्रभाव पनि बोल्छ ।”
मिडियाहरुप्रति लक्षित गर्दै अर्थमन्त्रीले भने, “कसै–कसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस नै चलाएका छन्, बहसको स्तर नै ६ र ७ प्रतिशतको आर्थिक वृद्धिदरमा पुगेर अड्कियो आजकाल ३ र ४ प्रतिशतको आर्थिक वृद्धिको कुरै हुँदैन ।”
सस्तो लोकप्रियताका लागि सरकारी मिडियाले समेत प्रतिपक्षीकै स्वर बोक्न थालेको अर्थमन्त्रीको भनाइ छ । २०६७-०६८ सालमा बैंक तथा वित्तीय संस्थाका सीइओको भाउ अहिलेको शेयर बजार जस्तै बढेको उदाहरण दिँदै अर्थमन्त्री खतिवडाले आफू राष्ट्र बैंकमा रहँदा सीइओको तलबमा हस्तक्षेप गरेको स्मरण समेत गरे ।

एमसीसी कार्यान्वयनमा प्रधानमन्त्रीको प्रतिवद्धता, उच्च अंकको आर्थिक वृद्धि आफ्नो महत्वपूर्ण उपलब्धी


एमसीसी कार्यान्वयनमा प्रधानमन्त्रीको प्रतिवद्धतासत्तारुढ दलभित्रबाटै विवादमा ल्याइएको अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना सञ्चालनमा ल्याइ पाँच वर्षभित्रैै पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारको दुई वर्ष पूरा भएको अवसरमा शनिबार संसद्मा सम्बोधन गर्दै एमसीसी अन्तर्गतका योजना महात्वाकांक्षीमात्र नभएर नेपालको विकासमा कोसेढुंगा सावित हुने दावीसमेत गरे । 
प्रधानमन्त्रीले संसद्मा भने, “एमसीसी कम्याक्टअन्तर्गत लप्सीफेदी रातामाटे, दमौली, हेटौंडा, पाल्पा, बुटवल गोरखपुरसम्म अन्तरदेशीय विद्युत्् प्रसारण लाइन र अन्तरदेशीय विद्युत् प्रसारणलाइन योजना दीर्घकालीन महात्वाकांक्षी योजना नभएर नेपालको उपयोगमा कोसेढुंगा हुनेछ ।” उनले अमेरिकाको करिब ५५ अर्ब अनुदान र नेपालको १४ अर्बको लगानीले राष्ट्रिय गौरवको योजना र महत्वको हैसियत प्रदान गरेको बताए ।
पाँच वर्षभित्र योजना पूरा भइसक्दा अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र उर्जा उपयोगको तस्वीर बदलिने उनको तर्क छ । उनले विद्युत् छिमेकी भारतलाई पनि बिक्री गर्न थालिएको समेत बताए । तेस्रो मुलुकमा पनि बेच्ने आधार खडा भएको उनको भनाइ छ । उनले व्यापार विविधीकरण बढेको उल्लेख गरे । ओलीले भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आएको बताए । 
उनले दुई वर्षमा ३ सय २५ सडक पुल निर्माण भएको दावी गरे । सो अवसरमा ओलीले नेपाल अहिले उच्च आर्थिक वृद्धिदर हासिल गरिरेहका विश्वका १० प्रमुख मुलुकहरूको पंक्तिमा समावेश भएको बताए । “गणतन्त्र स्थापना पछिको एक दशकसम्म आर्थिक वृद्धि दर ४ प्रतिशत मात्र थियो, कुनै वर्ष त हाम्रो आर्थिक वृद्धिदर ०.७४ प्रतिशत मात्रै पनि थियो,” ओलीले भने  अहिले तीन वर्षयता लगातार ६.५ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि रहेको छ ।” उनले गत वर्ष ७.१ प्रतिशतको आर्थिक वृद्धि भएको र  विगत ३ वर्षदेखि कुनै पनि प्रदेशमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा न्यून नभएको भन्दै यसलाई सरकारको मुख्य उपलब्धि ठानेका छन् ।
 उनले पछिल्लो २ वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी १८ प्रतिशतभन्दा माथि बढेको उल्लेख गर्दै आर्थिक वृद्धिदरमा आएको सुधारसँगै प्रत्येक वर्ष गरिबीको रेखामुनी रहने प्रतिशत, जनसंख्याको १.५ बिन्दुले घटेको दावी समेत गरे । उनले  प्रदेशहरूको आर्थिक वृद्धि समान स्तरको भएको र  जनता आवास तथा सुरक्षित बस्ती विकास कार्यक्रम, श्रमिक वर्गको न्यूनतम ज्यालामा भएको वृद्धि, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कार्यक्रमको विस्तारले न्यून आय भएका जनतालाई थप राहत पुगेको बताए ।  यसबाट गरिबी घटाउन सहयोग पुगेको छ, रोजगारीको अवसर बढेको छ । यसबाट उत्पादकत्व वृद्धिमा मात्रै मद्दत पुगेको होइन, समग्रमा आर्थिक असमानता नै घटेको उनको भनाइ छ ।
पुँजीगत खर्च नभएकोप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, “पुँजीगत खर्चमा सुधार भएन, सरकारको खर्च गर्ने क्षमता देखिएन भन्ने जस्ता टिप्पणीप्रति मेरो यथेष्ट ध्यान गएको छ, खर्च कम हुनुका थुप्रै कारणहरू छन् र तिनको समाधानको प्रयास पनि जारी छन् ।”  उनले ठूला ७० वटा आयोजनाको प्रगति समीक्षा हेर्दा भैसकेका कामको पनि समयमै भुक्तानी नहुँदा खर्च कम हुन गएको स्पष्टीकरण समेत दिए ।  “निर्माण व्यवसायीले समयमै बिल पेश नगर्नु, वैदेशिक सहयोग समयमै नआउनु र ठेक्काको म्याद थपका लागि समयमै अनुरोध नआउनु वा म्याद थप हुन नसक्नुजस्ता प्रमुख कारण देखिएका छन्,” प्रधानमन्त्री ओलीले भने, “सहरी विकास मन्त्रालय अन्तर्गतका ३६८ ठेक्कामध्ये २३९ ठेक्काको म्याद नाघेको छ, खानेपानी मन्त्रालयतर्फ ७२ अर्ब ८० करोड रकम बराबरको ११५ ठेक्कामध्ये ६८ ठेक्काको म्याद सकिएको छ ।” 
उनले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका सडक र पुल गरी करीब ६ अर्ब वैदेशिक श्रोत नमिलेकै कारण काम सम्पन्न भएर पनि भुक्तानी नभएको बताए । “क्षमता र कार्यबोझको वस्तुपरक आकलन नै नगरी सीमित निर्माण व्यवसायीहरूलाई धेरै ठेक्का दिइने परिपाटी पुँजीगत खर्च कम हुनमा कारण देखिन्छ,” उनले भने । सो अवसरमा ओलीले सहरी विकासतर्फ १८ कम्पनीले ४४.४ प्रतिशत रकम बराबरको ठेक्का ओगटेको, सडकतर्फ १८ कम्पनीले २ खर्व ३९ अर्ब ४७ करोड (२३,९४७ करोड) अर्थात् ४७.६ प्रतिशत रकम बराबरको ठेक्का ओगटेको बताए । उनले भने, “अझ खानेपानीतर्फ त १८ कम्पनीले ६६.७ प्रतिशत रकम बराबरको ठेक्का ओगटिरहेका छन्, मैले पहिले नै चर्चा गरिसकेको छु, सरकारले विरासतमा पाएको यस्ता कयौं वेथितिलाई अहिले सच्याउँदैछ र अधुरा अपूरा कामलाई सम्पन्न गर्दैछ ।”
उनले बेथिति हटाउन सरकारले सार्वजनिक खरीद नियमावलीमा सुधार गरी विभिन्न कारणले अधुरा तथा रुग्ण हुन गएका ठेक्कालाई अन्तिम पटक काम गर्ने अवसर दिइएको जानकारी समेत दिए । “यसले अधुरा आयोजना लाई सम्पन्न गराउन र समग्रमा पुँजीगत खर्च बृद्धि हुन सहयोग पु¥याउने छ,” ओलीले भने ।ओलीले सरकार निष्ठापूर्वक आफ्नो काममा कटिबद्ध, प्रतिवद्ध र दृढ छ रहेको जानकारी समेत दिए । “जनतासामु गरिएका कबुलहरू पूरा गर्न र यस सदनले मप्रति देखाएको विश्वास अक्षुण राख्न मेरो निरन्तरको प्रयास जारी छ,” ओलीले भने,  “खासमा यो जनताले सुम्पेको विश्वास र भरोसाको नासो हो, यसलाई सदैव शिरोपर गरेर सार्वभौम जनताको आकांक्षाअनुरूप निर्धारित राष्ट्रिय लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढौं ।”
सो अवसरमा ओलिले गत वर्ष २५ वटा नयाँ कानुन निर्माण गरेको बताउँदै  प्रमाणिकरण हुन बाँकी ५ वटासहित यस अवधिमा जम्मा ५५ वटा नयाँ कानुनहरू निर्माण गर्नुलाई आफ्नो उपलब्धि भएको जिकिर गरे । सदनमा उनले उनले संविधान अनुकूल बनाउन विद्यमान ऐनहरूमध्ये २०१ वटा ऐन संशोधन गरेको र १३ वटा ऐनहरू खारेज गरिएको जानकारी समेत दिए ।  उनले भने, “तोकिएको समय सीमाभित्र कानून निर्माणसँगै मौलिक हक कार्यान्वयनमा आएका छन्, हाम्रो लोकतन्त्र विस्तारित हुँदै छ ।” 
ओलीले  सरकारले करको दर नबढाएको र दायरा बढाउने सोंचमा रहेको समेत स्पष्ट पारे । उनले भने, “२ वर्षमा ३० प्रतिशतले व्यावसायिक कर–प्रमाणपत्र लिनेको संख्या बढेको छ ।” उनले राजस्व र करबाट राष्ट्रिय ढुकुटी बलियो हुँदा मात्रै सरकारले जनहित र सामाजिक सुरक्षा र लोक कल्याणकारी लोकप्रिय कामहरू गर्ने सामाथ्य बढाउनेगरी भइरहेको जानकारी दिए ।  वडा तहदेखि गाउँ र नगरपालिका, प्रदेश र केन्द्रभाग सिंहदरबारसम्म निर्बाचित जनप्रतिनिधिहरूले जवाफदेही र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गरिरहेको प्रत्यक्ष लोकतन्त्रको अभ्यासमा रहेको र  यसको हेक्काका साथ नै जनउत्तरदायी ढंगले काम गर्ने प्रयाश जारी रहेको ओलीका भनाइ थियो ।

डिजिटल भुक्तानी प्रणाली आवश्यक : अर्थमन्त्री

डिजिटल भुक्तानी प्रणाली आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको को ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रहेको बताएका हुन् ।
उनले डिजिटल नेपालको ढाँचाको विकासका लागि सरकारले त्यसअनुरुपमा नीतिहरु समेत ल्याएको बताए । उनले नयाँ प्रविधि भित्रदै गर्दा अर्थतन्त्रमा चुनौती पनि बढ्दै जाने भएकाले त्यसलाई व्यवस्थापन गर्न सरकार सक्षम रहेको समेत औल्याए ।
अहिलेको एजेण्डा डिजिटल करेन्सीको नभए पनि भविष्यमा यसको आवश्यकता पर्ने र त्यसका लागि डिजिटल भुक्तानीको व्यवस्था गर्दै रियलटाइम सेटलमेन्टमा जानुपर्ने उनको भनाई थियो । 
अर्थमन्त्री खतिवडाले सरकारले कर तथा राजस्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको र यसले अर्थतन्त्रमा मुद्राको प्रयोगबाट हुने जोखिमलाई कम गर्नेमा जोड दिए । साधारण सभाकै अवसर पारेर म्यानले मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई वुमन म्यानेजर रिकग्नाईजेशन अवार्ड–२०१९ तथा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठलाई ‘म्यानेजर अफ् दी इयर अवार्ड’ बाट सम्मानित गरेको छ । वाणिज्य बैंकको पहिलो महिला सीईओ खुञ्जेलीलाई सफल रुपमा मेगा बैंक हाक्न सफल भएको भन्दै उक्त अवार्ड दिईएको हो । बैंकिङ क्षेत्रमा २९ वर्षदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरुमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् । त्यसैगरी बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी बिताइसकेका श्रेष्ठले पछिल्लो समय सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई उत्कृष्ट बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
शुक्रबार सम्पन्न भएको म्यानको साधारणसभाबाट व्यक्तिगत तर्फ ११ जना निर्वाचित भएका छन् । जसमा किरणकुमार श्रेष्ठ, सुमन पोखरेल, धर्मानन्द अवस्थी, अनु जोशी, हेमा अधिकारी, इन्द्र श्रेष्ठ, मनिष झा, आशा राणा, सुजन आचार्य, मिलन गुरुङ, मोहन ओझा निवाचित भएका छन् । संस्थागततर्फ नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी सञ्चय कोषका तुलसीराम गौतम, कर्मचारी सञ्चय कोषका रमण नेपाल, राष्ट्रिय बिमा संस्थानका कवि पाठक र शिवम् सिमेन्ट निर्वाचित भएको म्यानले जनाएको छ ।

विद्युतीय उपकरण मार्फत भुक्तानी गरे १० % फिर्ता

विद्युतीय उपकरण मार्फत  भुक्तानी गरे १० %  फिर्ताउपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा फिर्ता गर्ने व्यवस्था कार्यान्वयन भएको छ ।
आन्तरिक राजस्व विभागले निर्माण गरेको प्रणालीको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका छन् । विभागले तयार पारेको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेण्ट बैंकको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केटको त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्यूरोड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरुमा सुरु गरिएको हो । 
विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको खाताबाट बिक्रेताको बैंक खातामा र बिक्रेताको खाताबाट पुनः उपभोक्ताको बैंक खातामा रकम जम्मा हुने गरी प्रणालीमा सुधार गर्नु पर्ने भएकाले यो प्रणालीका मुख्य सरोकारवाला पक्षहरु विद्युतीय बीजक जारी गर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएका बिक्रेता, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक संस्थाहरुको सक्रिय सहयोग प्राप्त हुने विभागले विश्वास लिएको छ सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थासँग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा पनि लागू गरिएको छ । 
यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा एक हजारदेखि एक लाख रुपैयाँसम्म मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन् । यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने विभागको दावी छ ।यस्तै करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत अर्थमन्त्री खतिवडाले सुरुवात गरेका छन् । 
व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिवृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने छ । कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिवृद्धि करमा दर्ता गर्दा सो निकायको व्यावसायिक सूचनाका अतिरिक्त सो निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको विकास गरिएको छ । यो प्रणाली हाल आन्तरिक राजस्व कार्यालय टंगाल र न्यूरोडबाट आरम्भ गरिएको छ । विभागले यो सेवा क्रमश बिस्तार गर्दै लैजने जनाएको छ ।यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण क्रमशः नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुने विभागले जनाएको छ । 

आर्थिक वृद्धिको लक्ष्य यथावत्,बजेटको आकार र राजस्वलक्ष्य घटाइयो

बजेटको आकार र राजस्वलक्ष्य घटाइयोसरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् लिएको आर्थिक वृद्धिको लक्ष्यलाई यथावत् राख्दै बजेटको आकार र राजस्व असुलीको लक्ष्य घटाएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत् सरकारले बजेटको आकार करिब १० प्रतिशत अर्थात् डेढखर्ब घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा झारेको जानकारी दिएको हो ।
गत जेठमा संसदमा प्रस्तुत गरेको बजेटको कुल आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको रहेको छ । अर्थमन्त्रालयले बुधबार आयोजना गरेको चालू आर्थिक वर्षको अर्धवार्षिकसमीक्षा बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्षको अन्त्यसम्ममा कुल बजेटको ९०.४ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको जानकारी दिए ।
उनले भने,“चालू आर्थिक वर्षमा जम्मा १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ खर्च हुने अनुमान छ,” उनले भने,“जुन विनियोजनको तुलनामा ९०.४ प्रतिशत हो ” उनले चालू तर्फ ९ खर्ब ४६ करोड ८ लाख अर्थात् विनियोजित बजेटको ९४.५ प्रतिशत पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ अर्थात् ८९.१ प्रतिशत खर्च हुने अनुमान गरिएको जानकारी दिए । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख अर्थात् ९२.२ प्रतिशत खर्च हुने अनुमान गरिएको मन्त्री खतिवडा बताए । “राष्ट्रसेवकहरुको तलब वृद्धि भएको, सामाजिक सुरक्षा भत्तामा मासिक १ हजार रुपैयाँ वृद्धि भएको, समपूरक र विशेष अनुदानको रकम हस्तान्तरण गरिएको छ,”मन्त्री खतिवडाले भने,“रसायनिक मलको अनुदान थप गरिएको, उखु किसानलाई थप अनुदान, पशुपंक्षी विमा कार्यक्रम र एक गाउँ कृषि तथा पशु सेवा प्राविधिक कार्यक्रममा खर्च हुने भएकोले चालू खर्च संशोधित अनुमान अनुसार हुने छ ।”
सरकारको स्रोत व्यवस्थापत तर्फ राजस्व र आन्तरिक ऋणबाट कुल ११ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ, वैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको समेत अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
संस्थागत सुधार र आयात घट्दा बजेटले लिएको लक्ष्य भन्दा कम राजस्व उठ्ने जोखिम देखिएको बताउँदै उनले भने,“राजस्व संकलनको संशोधित अनुमान शुरु अनुमानको ९५.६ प्रतिशत रहने हाम्रो अनुमान छ।”उनले पछिल्लो समय आयातको परिमाणमा सुधार हुँदै गएको, समष्टिगत आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको दाबी समेत गरे । “आर्थिक क्रियाकलापमा बढोत्तरी भएको, करको दायरा विस्तार हुँदै गएको, भिसिटिएस कार्यान्वयन एवं राजस्व चुहावटमा नियन्त्रण हुँदै गएकोले आगामी छ महिनामा समेत कर राजस्वको संशोधित अनुमान हासिल हुने छ,” उनले भने ।
मध्यावधिसम्म ४ खर्ब ५६ अर्व १८ करोड राजस्व संकलन भएको जानकारी दिँदै मन्त्री खतिवडाले गत वर्षको सोही अवधिको तुलनामा १३.४ प्रतिशत वृद्धि रहेको जानकारी दिए । “कर राजस्वको वृद्धि ९.०प्रतिशत र गैरकर राजस्वको वृद्धि ५०.० प्रतिशत छ,” उनले भने,“आयातमा कमी आएकोले त्यसको प्रभाव राजस्व परिचालनमा देखिएको छ । समीक्षा अवधिमा आन्तरिक राजस्व परिचालनमा २६ प्रतिशतको उत्साहजनक वृद्धि भएको छ ।”
उनले यस अवधिसम्म विकास आयोजना कार्यान्वयनकालागि ७२ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त भएको बताए । उनले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ प्रतिशतले खर्च बढेको र माघ २८ गते सम्ममा यस्तो बजेट खर्च ४ खर्ब ८२ अर्ब पुगेको समेत जानकारी दिए ।अर्थमन्त्री खतिवडाले ६ महिनामा कुल व्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको बताए । मन्त्री खतिवडाले भने, “यो अवधिमा कुल वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।” उनलेरेमिट्यान्स आप्रवाह ०.९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको जानकारी समेत दिए ।
अर्थमन्त्री खतिवडाले राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजना, संघीय संसद भवन, काठमाडौं उपत्यकाभित्र सडक विस्तार तथा स्तरोन्नति, अधुरा आयोजनालाई पूरा गर्न लागेकोले खर्च हुनेमा सरकार विश्वस्त रहेको बताए ।
उनले भने,“थप दायित्व भुक्तानी र भौतिक एवं वित्तीय प्रगति राम्रो देखिएका विभिन्न सडक, सिँचाइ, खानेपानीका आयोजनाहरूमा प्रगतिको आधारमा थप रकम व्यवस्थापन गरिने हुनाले पुँजीगत खर्च संशोधित अनुमान अनुसार हुने छ ।”बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा गर्नुपर्ने सुधारका बारेमा पनि खतिवडाले उल्लेख गरे ।

एमसीसी रोकिँदा १० अर्ब खर्च हुन सकेन
समीक्षा बैठकमा पुँजीगत खर्च हुन नसकेको स्पष्टीकरण दिँदै अर्थमन्त्री खतिवडाले नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौता संघीय संसदबाट अनुमोदन हुन ढिलाइ भएकोले विनियोजित १० अर्ब रुपैयाँ खर्च हुन नसकेको बताए । उनले कतिपय प्रदेश तथा स्थानीय तहले सञ्चित रकमबाट खर्च व्यवस्थापन गरेकाले गत वर्षको तुलनामा यो वर्ष करिब १८ अर्ब कम वित्तीय समानिकरण र सशर्त अनुदानको रकम हस्तान्तरण भएको भन्दै खर्च कम भएको दाबी गरे । “केही ठूला आयोजना कार्यक्रमहरुको कार्यान्वयन विधिको निर्णय कार्यविधि तर्जुमा र रकम बाँडफाँड नभएकोले अपेक्षित खर्च हुन सकेन,” मन्त्री खतिवडाले भने,“सार्वजनिक खरिद प्रणाली र निर्माण व्यवसायीका सन्दर्भमा देखिएका समस्या हल हुन समय लागेकोले पनि आयोजना कार्यान्यवनमा ढिलाई हुँदा खर्च भएन ।”

खर्च बढाउने आधार
आयोजना र कार्यक्रमको हाल सम्पन्न कार्यको सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिई वजेट व्यवस्थापन गर्ने उनले बताए । उनले बाँकी रहेको बजेट बाँडफाँड २०७६ फागुन मसान्तभित्र निर्णय गरी सक्ने पनि बताए ।फागुन मसान्तभित्र बाँकी रहेका ठेक्का सम्झौता सम्पन्न गर्ने उनको भनाइ छ । उनले वैदेशिक स्रोतमा विनियोजित रकम उपलब्ध स्रोतको आधारमा दोस्रो चौमासिकसम्मको बजेट फुकुवा गरी बजेट व्यवस्थापनलाई सहजीकरण गर्नेसमेत बताए ।
खतिवडाले राष्ट्रिय गौरवका आयोजना र उच्च प्राथमिकता प्राप्त आयोजनाहरूमा थप माग भएमा तत्काल सम्बोधन गर्ने बताउँदै शोधभर्ना लिन बाँकी रकम यथाशीघ्र शोधभर्ना लिन महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित मन्त्रालयले पहल गर्ने पनि उल्लेख गरे ।
सोझै भुक्तानी हुने र वस्तुगत सहायताको खर्चको विवरण नियमित रूपमा प्रतिवेदन हुने व्यवस्था मिलाउँदै वैदेशिक सहायतालाई आवश्यकता र प्राथमिकताको आधारमा मात्र परिचालन गर्ने उनले बताए । बजेटरी सहायता एवं नगद भुक्तानी विधिमा सहायता परिचालन गर्ने पनि मन्त्रीले उल्लेख गरे ।
उनले समीक्षा अवधिमा देखिएका कमी कमजोरी हटाई बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाई बजेटका लक्ष्यहरू हासिल गर्न यस प्रतिवेदनमा उल्लेखित अर्थ मन्त्रालयले गर्नुपर्ने कार्यहरू समयमै दक्षतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
शोधानान्तर स्थिति २६ अर्ब बचतमा
अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको पहिलो छ महिनासम्म शोधानान्तर स्थिति २६ अर्ब बचतमा रहेको जानकारी दिए । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ६३ अर्ब ६८ करोड घाटामा रहेको जानकारी दिँदै अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको छ महिनासम्म २६ अर्ब बचतमा रहेको जानकारी दिएका हुन् । उनले यस अवधिसम्म विदेशी विनिमय सञ्चिति५७ अर्बले वृद्धि भई १० खर्ब ९६ अर्ब पुगेको जानकारी दिए । उनले भने, “विदेशी विनिमय सञ्चितिको विद्यमान स्तर ९.६ महिनाको आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।” उनले बैंकिङ क्षेत्रको निक्षेप परिचालन र निजी क्षेत्रमा जाने कर्जा प्रवाह दुवै अघिल्लो वर्षको तुलनामा पनि पहिलो ६ महिनाको दुवै वृद्धिदर रकम रहेको बताए । ब्याजदरमा स्थिरता आएसँगै लगानीको लागि अनुकूलता थपिएको र नेप्से सूचकांक गत वर्षको सोही अवधिभन्दा ८५ बिन्दुले वृद्धि भएको दाबी गरे ।https://www.karobardaily.com/news/economy/28994

छाया अर्थतन्त्रले वैध अर्थतन्त्रलाई निल्नै लागेको छ

छाया अर्थतन्त्रले वैध अर्थतन्त्रलाई निल्नै लागेको छ
दुईतिहाइ नजिकको बलियो सरकार यतिबेला संघीयता लागू भएपछिको दोस्रो बजेटको कार्यान्वयनको चरणमा छ । साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको सरकारको चालू आर्थिक वर्ष सुरु भएको पहिलो ६ महिनाको खर्च र राजस्व संकलनको नतिजा निकै निराशाजनक छ ।
बजेट कार्यान्वयनमा सरकार उदासीन हुँदा वित्तीय संघीयता व्यवस्थापन झन् चुनौतीपूर्ण बन्दै गएको प्रा. डा. अच्यूत वाग्ले बताउँछन् । लामो संक्रमणकालीन अवस्थाको अन्त्यपछि बनेको बलियो सरकारले समेत उत्पादन वृद्धि, लगानी प्रवद्र्धनसहित दिगो विकासको लक्ष्यलाई प्राथमिकता नदिँदा मुलुकको अर्थतन्त्र झन् पछि झन् विकराल अवस्थामा पुगेको उनको तर्क छ । लामो समयदेखि प्राध्यापन पेसामा सक्रिय वाग्ले नेपालको अर्थतन्त्रलाई सही र सूक्ष्म रूपमा अध्ययन गर्न सक्ने खुबी भएका खरो निर्डर अर्थशास्त्रीका रूपमा चिनिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर वाग्लेले बेलायतबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको इन्डियन इन्स्टिच्युट अप्m टेक्नोलोजीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।काठमाडांै विश्वविद्यायलयमा अर्थशास्त्र प्राध्यापन गरिरहेका वाग्लेसँग प्रधानमन्त्रीको प्रमुख सल्लाहकार, नेपाल राष्ट्र बैंकको सल्लाहकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको सल्लाहकार भई काम गरेको अनुभव पनि छ । अर्थ राजनीतिक विषयमा कलम चलाउँदै आएका वाग्ले अर्थतन्त्रमा रुचि राख्ने नयाँ र पुराना पुस्ताबीच त्यत्तिकै लोकप्रिय छन् । उनै वाग्लेसँग सरकारको कार्यशैली, अर्थतन्त्रमा देखिएका समस्या, वित्तीय संघीयता कार्यान्वयन, विकास र समृद्धिबारे निरु अर्यालले गरेको कुराकानीको सार :
एउटा अर्थशास्त्रीको आँखाबाट यतिबेला मुलुकको अर्थतन्त्रलाई यहाँले कसरी हेरिरहनुभएको छ ? 
पहिलो कुरा, अर्थतन्त्र राजनीतिक प्रणालीअनुरूपको हुन्छ । अहिले हामी संघीय प्रणालीमा छौँ । अर्थतन्त्रको सञ्चालन पनि संघीय राज्य प्रणालीका सिद्धान्त आवश्यकता र प्रक्रियाअनुसार भएको छ कि छैन भनेर हेर्नु पहिलो दृष्टिकोण हो । यसरी हेर्दा अहिले नयाँ सरकार बनेर स्थानीय तहको चुनाव भएपछिकै कुरा गर्ने हो भने पनि स्थानीय सरकारको चुनाव भएको तीन वर्ष भएको छ । नयाँ निर्वाचित सरकारले जिम्मेवारी लिएको पनि दुई वर्ष भएको छ । यो बीचमा संघीय सिद्धान्त खासगरी वित्तीय संघीयताअनुरूप अर्थतन्त्र सञ्चालन हुन सकेको छैन । 
यसका पछाडिका कारणहरू के देख्नुहुन्छ ?
यसका तीनवटा कारण छन् । एउटा भनेको वित्तीय संघीयता सञ्चालन गर्ने कानुन संस्थागत रूपमा बनाउने कुरामा संघीय सरकारले इच्छा देखाएन । उदाहरणका लागि हेर्ने हो भने एउटा संवैधानिक आयोग राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग हो । यसको धेरै समयसम्म कुनै पदाधिकारी नियुक्त गरिएन, अहिले अध्यक्ष नियुक्त गरेको पनि धेरै भइसक्यो, त्यसका अरू सदस्य नियुक्त भएका छैनन् । अर्को भनेको कानुनी रूपमा मुख्यगरी तीनबाट ऐन बने— यही प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, स्थानीय शासन सञ्चालन ऐन र वित्तीय हस्तान्तरण ऐन । यी तीनवटा ऐनको विनियमावली समयमा बन्नुपथ्र्यो र एक अर्कालाई परिपूरक हुने ढंगले संघीय प्रणालीलाई सबल बनाउने ढंगले नियमावली बन्नुपथ्र्यो, बनेनन् ।
दोस्रो कुरा, आर्थिक गतिविधिका लागि दिइएका जिम्मेवारी थिए । जस्तो कि माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले सञ्चालन गर्ने भनियो, प्राकृतिक स्रोतका रूपमा वन प्रशासनको जिम्मेवारी प्रदेश सरकारलाई दिने भनियो । प्राकृतिक स्रोतहरूको अधिकार स्थानीय तहलाई दिने भनियो, त्यसका लागि प्रक्रियाहरू पनि भए । यस्ता काम कृषिक्षेत्रमा पनि भए । अधिकारहरू दिइयो । पछि दिइएका अधिकारहरू काम गर्न सकेनन् भनेर फेरि फिर्ता गरियो । कमै स्थानीय तहहरूले आफ्नो शिक्षा प्रणालीलाई आफ्नो ढंगले व्यवस्थापन गरिरहेका छन् । वन ऐन संशोधन नै गरेर डिएफओ मातहतमा ल्याइयो । कृषिको पनि ज्ञान केन्द्र राखिएको छ, तर तथ्यांक संकलनसमेत हुन सकेको छैन । ३-४ वर्षदेखि कृषिको व्यवस्थापन अस्तव्यस्त अवस्थामा छ । 
अहिले दुईतिहाइको बलियो सरकार बनेको छ । पाँच वर्षका लागि बनेको यो सरकारले अहिले करिब आधा समय बिताइसक्यो, अझै पनि विकासले गति लिन सकेन, सरकार कहाँनेर चुक्यो ? 
मुख्य कुरा त संघीयतालाई परिचालन गर्ने सवालमा तदारुकता देखाएनौं । खासगरी स्थानीय तहको क्षमताजस्तो योजना छनोट गर्ने बजेट निर्माण गर्ने भएको बजेटलाई प्रभावकारी ढंगले परिचालन गर्ने नहुँदा स्रोतको व्यवस्थापन गर्ने पारदर्शी ढंगले भ्रष्टाचाररहित ढंगले परिचालन भयो कि भएन भनेर हेर्ने कुरा स्थानीय सरकारहरूको बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रिया हो, त्यो क्षमता गाउँपालिकाको त कुरौं छोडौं, महानगरको समेत सिद्धान्त ढंगले परिचालन हुन सकेको छैन । त्यसका लागि संघीय सरकारले कानुनी संरचना र क्षमताको कुरामा पनि आदर्श प्रकृतिको बजेट निर्र्माण गरुन् भनेर त्यसका लागि प्रयास गर्नुपथ्र्यो । यसमा सरकारको केन्द्रीकृत र संघीय मानसिकता हावी भो । 
नेपालले यतिबेला संघीयतको अभ्यास गर्दै छ, यहाँले भनेजस्तै एकतिर खर्च नै नहुने र खर्च भए डोजर किन्ने र विलासी बस्तुको खरिदमा खर्च हुने गरेको छ, यसलाई यहाँले कसरी हेर्नुभएको छ ? 
जति अधिकार विकेन्द्रित गरिएको छ, त्यो विकेन्द्रित गरिएको अधिकार दुरुपयोग हुने बाटोमा गयो । मेयरहरूको डोजर र त्यही मेयरहरूले बाटो खन्ने एकातर्फ भयो भने अर्कातिर पैसा नभएकाले विकास भएन भन्ने अवधारणाका आधारमा काम गर्न थालियो जब कि अहिले आजका मितिमा पनि ६० अर्ब स्थानीय सरकारको नाममा खातामा पैसा संकलन भएर बसेको छ ।
प्राथमिकता हुनुपर्ने के थियो ?
आर्थिक स्रोतहरूको प्रशासनिक क्षमता विकसित हुनुपर्ने थियो । त्यो विकसित नहुँदाको अवस्थामा निर्वाचित भएको कम्तीमा दुई वर्षसम्म क्षमता विस्तारका लागि संघले प्रदेशले काम गरेर त्यसको कम्तीमा पनि भएको स्रोतको परिचालनमा ध्यान दिनुपथ्र्यो । यो व्यवस्था भएको भए अहिले करको विवाद पनि आउने थिएन । उनीहरूको क्षमताको पनि प्रश्न उठ्ने थिएन । यतातिर कसैको पनि ध्यान गएन । यसले गर्दा मुलुकको आर्थिक विकास हुन सकेन ।
भर्खरै चालू आर्थिक वर्षको आधा वर्ष सकिएको छ । यो अवधिमा सरकारको विकास खर्चको अवस्था एकदमै नाजुक देखियो सरकार खर्च गर्न असक्षम भएकै हो ?
हो, ६ माहिनामा आउँदा जम्मा जम्मी पुँजीगत खर्च १४ प्रतिशत छ । हिजोको योजना आयोगको बैठकमा प्रधानमन्त्री स्वयंले पनि असन्तुष्टि देखाउनुभएको छ । यो नहुनु पर्ने हो । किन भन्दा नियम–कानुन परिवर्तनका लागि एउटै दलको दुईतिहाइको बहुमत छ । सबै प्रदेशमा सरकारकै बहुमत छ । नियम–कानुन परिवर्तन गर्न संस्थागत व्यवस्था गर्न केही असजिलो छैन र स्रोतको अभाव पनि छैन । पुँजीगत खर्च गर्न नसक्नु भनेको व्यवस्थापनको कमजोरी हो, स्रोतको कमजोरी होइन । अहिलेको जस्तो शक्तिशाली र बहुमतीय सरकार भएका बेला यो नहुनुपथ्र्यो । संघीय राजनीतिक–आर्थिक परिचालनमा हामी पछाडि परेका छौं ।
यहाँले भनेजस्तै अहिले हामीकहाँ हाम्रो उत्पादन पनि घट्ने र रेमिट्यान्स पनि घट्ने अवस्था छ । व्यापारघाटा कहालीलाग्दो अवस्थामा छ । यस्तो अवस्थामा सरकारले कस्तो नीति लिनु उपयुक्त होला ?
चालू आर्थिक वर्षको ६ महिनाकै तथ्यांक हेर्दा पनि अहिले सवा ६ खर्बको व्यापारघाटा छ । ६ महिनामा जम्मा जम्मी ५७ अर्बको मात्रै निर्यात हुन सकेको छ । यो सवा ६ खर्बको व्यापारघाटमा अलिकति निर्यात बढेको कुरा केही होइन । खास गरी निर्यात बढेका वस्तुहरूको कुरा हेर्ने हो भने त्यसमा नेपालले हेर्न सक्ने मूल्य अभिवृद्धिको कुरा असाध्यै कम छ । बाहिरबाट कच्चा पदार्थ ल्याएर यहाँ प्रशोधन गरेर व्यापर गर्दा नेपालको औद्योगीकरण व्यापार नाफाको कुनै ठूलो योगदान छैन । व्यापारघाटा अहिले अलि कम भएको होला, तर हामीले मेसिनरी पार्टपुर्जाहरू आयात गरि नै राखेका छौं । निर्माण सामग्रीहरू आयात भई नै राखेको थियो, अहिले भूकम्पको पुनर्निर्माण एक हिसाबले किनारा लाग्दै गएको पनि छ । निर्माण सामग्रीको आयात घटेको छ, उपभोग पनि घटेको छ । उपभोग्य सामानहरूको पनि जीडीपीको ४ प्रतिशत मात्रै औद्योगिक उत्पादन भई नै रहेको छ, औद्योगिक उत्पादन पनि बढेको छैन । आयात घटेको छ भन्नुको अर्थ उपभोग घटेको छ, उपभोग घट्नु भनेको अर्थतन्त्र चलायमान नहुनु हो । यसलाई दीर्घकालीन ढंगले हेर्दा सन २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्नुपर्नेछ ।
अर्थतन्त्रको यही अवस्था कायम भए सरकारले राखेको दिगो विकासको लक्ष्य हासिल होला ? 
त्यसका लागि अहिलेको मूल्यमा सामान्यतया वार्षिक २० अर्ब डलरजति लगानी हुँदा मात्रै हामीले दिगो विकासको लक्ष्य हासिल गर्न सक्ने देखिन्छ । यसलाई सतही रूपमा हासिल गर्नका लागि पनि त्यो खर्च हुन सक्ने अवस्था छैन । जस्तो कि पहिले हामीले सहश्राब्दी गोल हासिल भयो भन्यौं । हासिल भयो भन्ने दाबी गरिरहँदा शिक्षाको गुणस्तर कति माथि पुग्यो, कति रोकिएर बाहिर अध्ययन गर्ने विद्यार्थी बढे ? कति रोजगारीका अवसर सिर्जना भए ? खाडी, मलेसिया गएर रोजगारी गर्ने मान्छेहरू कमी भयो । काम गर्ने उमेर भएर विदेश पलायन भएका मान्छे कति स्वदेशमै रोकिए ? औद्योगिक उत्पादनमा नेपालको हिस्सा कति बढ्यो ? आयात प्रतिस्थापनमा के कसरी भयो ? कृषिको व्यवसायीकरण कुन हदसम्म भयो, यावत् कुराहरूको अध्ययन गर्नु जरुरी छ । अहिले देखिएका सूचकांकका आधारमा हेर्दा गहिरो रूपमा खास उपलब्धि भएको छैन, तर हामीले साक्षरता यति भयो भन्ने अवस्था छ । अर्थतन्त्रका जुन तथ्यांकहरू छन् । अमेरिकी डलरमा २८.४ अर्बको अर्थतन्त्र भयो भनिरहँदा सबै हिसाबले सबै भन्दा सानो अर्थतन्त्र हो । नेपालमा भइरहेको खर्च जीवनशैली सेवा र अरू पक्षहरू हेर्दा प्रस्ट रूपमा के देखिन्छ भने जीडीपीको ५० प्रतिशतभन्दा ठूलो व्यापारघाटा छ । त्यो अस्वाभाविक हो, हामी आयात गरेर कुल गार्हस्थ्य आधा गर्न सक्न सक्ने भएछौं भन्नेबाहेक अरू केही देखिँदैन ।
अहिले हामीकहाँ ठूलो अर्थतन्त्र अनौपचारिक छ, औपचारिक अर्थतन्त्र किन कमजोर भयो ?हो, औपचारिक तथ्यांक असाध्यै सानो हो । त्यो भनेको हाम्रो अनौपचारिक अर्थतन्त्र यति ठूलो भयो कि यो वास्तविक बिलमा व्यापारघाटा देखाउने हो भने कुल गार्हस्थ्य उत्पादनको हाराहारीमा व्यापारघाटा छ । यो मेरो दाबी हो । यो असम्भव कुरा हो । यो सम्भव कसरी देखियो हाम्रो तथ्यांकमा भन्दा अनौपचारिक अर्थतन्त्र असाध्यै ठूलो भयो । यो घरजग्गाकै मूल्यमा देख्न सकिन्छ । नेपालको सहरी क्षेत्रको प्राइम जग्गाको मूल्य न्युयोर्क र लन्डनको डाउन टाउनको बराबार भइसकेको छ । नेपालीहरूले एउटा गाडीका लागि तिर्ने मूल्यले भारतमा कम्तीमा त्यही गाडी ६ वटा आउँछ । हाम्रो जीवनस्तर स्वाभाविक रूपमा भारत र चीनभन्दा महँगो छ । किनकि हामीले उपभोग गर्ने सबै खालका वस्तुहरू आयातित हुन् । खानेकुरा लत्ता कपडा, मेसिन औजार, कम्प्युटर, मोबाइललगायतका वस्तु आयातमा निर्भर छन् । यो खर्च गर्ने क्षमता नेपालीहरूको जुन तरिकाले विकसित भएको छ । औपचारिक रूपमा रेमिट्यान्सले मात्रै आएको छैन, अनौपचारिक अर्थतन्त्र भयावह ढंगले ठूलो भएर आएको छ ।
यति ठूलो अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन के गर्नुपर्ला ?
छाया अर्थतन्त्र नै अवैध अर्थतन्त्र हो । यसले वैध अर्थतन्त्रलाई निल्नै लागेको छ । अहिले झन्डै झन्डै ७० देखि ७५ प्रतिशत आर्थिक गतिविधि अनौपचारिक अर्थतन्त्रमार्फत भइरहेको छ । अरू देशमा हुँदैन भन्ने हुँदैन । अमेरिकालगायतका अन्य मुलुकमा पनि चेक र क्यास दिने भन्ने हुन्छ, तर त्यहाँ व्यवस्थित हुन्छ । हाम्रो सरकारको राजस्व पनि नआउने कहीं कति उत्पादन, खर्च र लेखांकनमा पनि नदेखिने । तर, अर्थतन्त्र प्रभावित गरिराख्ने भइरहेको छ । त्यो अर्थतन्त्रको ठूलो प्रभाव जस्तो कि चुनावको बेला हुने खर्च, भ्रष्टाचार ठूलो मात्राको पँुजी पलायन आयको वैदेशिक विनिमयको अपचलनजस्ता कुरादेखि यहाँको घरजग्गा बेचेर अवैध च्यानलमा डलर सटही गरेर विदेशमा घर किन्नेसम्मको गतिविधि छ । त्यो पनि विशेषगरी राजनीतिक नेतृत्वको संरक्षण र सहभागिता छ यो अर्थतन्त्रको चिन्ताजनक विषय हो ।
संघीयता कार्यान्वयनको दुई वर्षसम्म आउँदा हाम्रो अर्थतन्त्रलाई चलायमान गराउने खालका आशालाग्दा ठाउँहरू केही देख्नुहुन्छ ?
यसमा सकारात्मक पाटो पनि केही छन् । त्यो भनेको विदेशमा अध्ययन गरेर राम्रा योग्यता भएर नेपालमा केही गर्न सकिन्छ भनेर लागेका छन् । एनआरएनजस्तो संस्थाले सामूहिक कोष स्थापना गरेर लगानी गर्न खोजेको छ । राज्यले ध्यान दिने हो भने प्रदेश तहमा सक्षमता उजागर भएर आउने सम्भावना छ । यस मानेमा प्रदेश र स्थानीयका धेरै सरकार उत्सुक पनि छन् । तर, त्यो उत्सुकतालाई सीप र व्यवस्थापनमा परिणत गरेर पारदर्शी अर्थतन्त्रलाई सघाउ पु-याउने संयन्त्र छ । तिनको निर्माण गर्ने कुरामा संघीय सरकारले योगदान दिनुपर्छ । किनकि विश्वसनीय आर्थिक अनुसन्धानका संस्थाहरू खुल्नु जरुरी छ । जिल्लाको तहमा केही तथ्यांक छैन । धानकै कुरा गर्ने हो भने पनि धान के–कति उत्पादन भयो भन्ने थाहा नै छैन ।
पछिल्लो समय सरकारले विलासी वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको छ । बढी राजस्व आउने वस्तुको आयात घट्दा निर्यात बढी भएको जस्तो देखिन्छ । चालू आर्थिक वर्षका छ महिनासम्म आउँदा राजस्व असुलीमा करिब १ खर्बको ग्याप देखियो, यसलाई कसरी हेर्नुभएको छ ?
बजेटमार्फत सवा ९ अर्बको राजस्वको लक्ष्य राखेका छौं । त्यो लक्ष्य भेटिने अवस्था छैन । किनभने हामीकहाँ प्रतिगामी राजस्व पद्धति छ । रिग्रेसिभ रेभिन्यू । राजस्वको लक्ष्य भेट्टाउन धेरै आयात गर्नुपर्छ । भन्सार भ्याट अन्त:शुल्क गरेर करिब ९० प्रतिशतजति बजार सेवा शुल्क आयातमा निर्भार छ । त्यसले अर्थतन्त्रलाई बडो असजिलो अवस्थामा छ । जसले साधारण खर्च बल्ल–बल्ल धान्छ, लक्ष्यहरू जसरी निर्धारण गरिएका छन् ती बढी महत्वाकांक्षी नै हुन् भन्ने अहिलेसम्मको अनुभवले देखाएको छ ।
जहाँसम्म राजस्व प्रशासनको कुरा छ त्यसलाई चुस्त बनाएर सम्भावनालाई पर्याप्त रुपले उजागर गर्न सकिरहेका छैनौं । अर्को भनेको प्रत्यक्ष करको कुरा छ । त्यसको दायरालाई प्रभावकारी ढंगले विस्तार गर्न नसकेका कारणले राजस्व कम उठेको छ र यसले छाया अर्थतन्त्र फस्टाउन पनि मद्दत गरेको छ । यसमा ठूलो समस्या भनेको निर्णायक तहमा बस्ने कर्मचारी र राजनीतिक नेतृत्वले विलासीतापूर्ण जीवनयापन गर्नका लागि जुन स्रोत जुटाइराखेको छ । त्यसलाई करको दायरमा ल्याउने संयन्त्र नबनीकन यो प्रत्यक्ष करको दायरालाई विस्तार गर्न सकिँदैन । अर्को अप्रत्यक्ष करको दायरा छ, त्यो अहिले नै बढी फैलिएको छ । जति अप्रत्यक्ष करको दायरा बढ्छ त्यसले जन साधारणलाई मर्का पर्छ ।
केही दिनअघि मात्रै बजेटमार्फत भारतले आफ्नो अर्थतन्त्रमा मन्दी आएपछि आय कर र कर्पोरेट करको दरमा भारी कटौती गरेको छ, त्यसले नेपालको अर्थतन्त्रलाई असर पार्ला कि नपार्ला ?
असर त पर्छ नै । भारतमा पनि वैध रूपमै काम गर्ने नेपालीहरूको संख्या धेरै छ । यहाँ भएको बचत पनि उता जान सक्छ । भारत नेपाल दुवैतिर भएको भएको परिवार पनि लाखौंमा छ । व्यवसाय पनि दुवैतिर छ । यसले कहीं न कहीं नेपालको पुँजी पलायनलाई सहयोग गर्छ जस्तो लाग्छ ।
पछिल्लो सयम सरकारले सामाजिक सुरक्षा कोष कार्यान्यवनमा ल्याएपछि निजी क्षेत्र आतंकित जस्तै बनेको छ, तपाईंको एक विज्ञतामा यो कत्तिको व्यावहारिक छ ?
सामाजिक सुरक्षा कोष ल्याउनु जरुरी थियो, तर तयारी सचेतना र सञ्चालनको तीनवटै पाटोमा हेल चेक्याराइँ भयो । यसको संस्थागत संरचना कस्तो हुन्छ र यसले कसरी काम गर्छ भनेर पहिले हेर्नुपथ्र्याे । दोस्रो भनेको यो ल्याउँदा अनौपचारिक क्षेत्रलाई कसरी समेटिन्छ र कालान्तरमा सर्वव्यापी निवृत्तिभरण (युनिभर्सल पेन्सन) सबै नागरकिका लागि कसरी लागू गर्न सकिएला भन्ने ढंगले यसको तयारी गरिनुपथ्र्यो । यो कोष एउटा सरकारी कोष हो । त्यही काम गर्ने अरू सरकारी संस्थाहरू छन् । कर्मचारी सञ्चय कोष छ । अहिले सरकारले यसलाई सफल बनाउन राष्ट्र बैंकले अरू बैंकहरूलाई, अरू नियामक निकायले आफूमातहतका निकायलाई निर्देशन गरेर सहभागी हुन भनेको छ, त्यसले एकदमै ठूलो अन्योल सिर्जना गरेको छ । ठूला–ठूला नीतिगत अन्योलता अझै बाँकी छन् । दोस्रो पाटो भनको सञ्चालनको हो । यसको अहिलेसम्म कुनै खाका तयार छैन । अहिले जे जसरी समस्याहरू आए त्यसमा विज्ञहरूलाई सहभागी गराएर निष्कर्ष निकाल्नुपर्छ । व्यवस्थापकीय चुनौती देखिन्छ नै । जहाँसम्म अवधारणागत कुरा हो । यो आवश्यक अवधारणा हो । यसले कालान्तरमा सर्वव्यापी निवृत्तिभरण (युनिभर्सल पेन्सन) लाई मूर्तरूप दिन सक्नुपर्छ ।
बलियो सरकार आएपछि देशमा निजी लगानी झनै कमजोर भएको छ । कतिपय लगानीकर्ताले बाह्य देशमा लगानी विस्तार गर्न सुरु गरिसकेका छन् । यस्तो अवस्थामा पुँजी पलायन हुनबाट रोक्न र निजी क्षेत्रलाई आश्वस्त पार्न सरकारले के गर्नुपर्ला ?
पहिलो कुरा सत्तारुढ पाटीले पार्टीको नाम फेर्नुपर्छ । त्यसै पनि उहाँहरूलाई फेर्न जरुरी छ । संसारमा जहाँबाट लगानी आउनुपर्ने हो, नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ भन्नेबित्तिकै अरु प्रमाण खोजिरहनु परेन ।
एकातिर स्वदेशी लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा हुने अर्कातिर सरकारले देशमा पर्याप्त लगानी भएन भनेर पटक–पटक लगानी सम्मेलन पनि आयोजना गर्ने तर प्रतिबद्धताअनुसारको लगानी नआउने देखिएको छ, के नेपालले आफ्नो विश्वसनीयता गुमाएको हो ?
सरकारले विकास साझेदारहरूको विश्वास जित्न नसकेकै हो । संघीय राज्य प्रणाली अवलम्बन गरिसकेपछि संघीय प्रणालीलाई नै सुचारु सञ्चालन गरेर विकास र समृद्धि खोजिनुपर्ने त्यसमा संघीय सरकार नै कतै न कतै संघीय प्रणालीलाई असफल बनाएर पनि जान सकिन्छ कि, केन्द्रिकृत शासन नै निरन्तर गर्न सकिन्छ कि भन्ने अभ्यासमा लागेको देखियो, यसमा मुख्यमन्त्रीहरूको गुनासो सुनिन्छ । स्थानीय तहमा अराजकता छ । अधिकार पुग्यो, नियमन र अनुगमन दुवै संयन्त्र पुगेन । गएको पैसा खर्च गर्ने कि नगर्ने दुविधा छ । प्रत्यक्ष लगानीकर्ता त घट्दै छ । सरकारले हाम्रो काम विश्वले विकास साझेदारले निजी लगानीकर्ताले प्रशंसा गर्न सकेका छैनन् र हामी अघि बढ्न सकेका छैनौं भन्ने कुरा महसुस गर्नुपर्छ । यही गतिमा जाने हो भने पाँच वर्षसम्म अर्थतन्त्रले उल्टो गति लिने सम्भावना छ ।
त्यसो भए के नेपाल अब संघीयताबाट ब्याक सक्छ ?
छैन । यदि समृद्धि सुशासन र लोकतन्त्र संस्थागत गर्ने हो भने संघीय शासनको परिचालनलाई सुचारु बनाउने सबल बनाउनुको विकल्प छैन । चल्छ-चल्दैन भनेर दोहोरो तेहेरो मानसिकता राख्नु जरुरी छैन । यो प्रणालीलाई सफल बनाउनको विकल्प छैन । उल्टाएर अन्त जाने अवस्था छैन ।
देशभित्रै लगानीको विषयमा यति ठूलो विवाद छ र देशबाहिरबाट आउने ठूलो लगानी (एमसीसी) मा पनि सरकारले विवाद खडा गरेको छ । एउटा अर्थशास्त्रीको हैसियतमा के भन्नुहुन्छ ?
यसमा विवाद गर्नुपर्ने केही कुरा प्रस्ट छ । एमसीसी इन्डो प्यासिफिकको अंग हो । अंग हुँदैमा उसले विकास निर्माणका लागि दिएको सहयोग लिनु हुँदैन भन्ने केही छैन । जुन पैसा छ त्यो लिन नहुने केही कारण नै छैन । अमेरिकाले चिनियाँ प्रभाव कम गर्न यो ल्याएको हो भन्ने विवाद छ । यसमा पनि के प्रस्ट भए हुन्छ भने हरेक आर्थिक कूटनीतिको प्रत्यक्ष र अप्रत्यक्ष एजेन्डा हुन्छ । अमेरिकाको घोषित नीति नै हो चीनको प्रभाव कम गर्ने भन्ने त । यसमा बुद्धिमानी कुरा के हो भने यो विकासका लागि आएको हो । लिनुको विकल्प छैन, नलिनुको कारण छैन । यति ठूलो रकम अनुदानका लागि आएको हो । अर्को सैन्य कुरा छ । अमेरिकाले एमसीसीबाहेक नेपाली सेनालाई सहयोग गरिरहेको छ, त्यसमा कुनै विवाद भएको छैन । विशुद्ध विकासको कुरा हो, पहिलेको सर्तको कुरा गर्ने हो भने संसदबाट अनुमोदन गर्नुपर्ने जरुरी पनि छैन । अमेरिकाले अन्य मुलुकलाई हेरेर संसद्बाट पारित गर्ने सर्त राखेको हो । यो स्वाभाविक पनि हो

कार्यालय प्रमुखको गाडी र कार्यकक्षमा पनि मापदण्ड

कार्यालय प्रमुखको गाडी र कार्यकक्षमा पनि मापदण्ड
तीन तहका सरकारले सवारीसाधान खरिदमै अर्बौ रुपैयाँ बजेट सकेको र त्यसमा पनि करोडौं आर्थिक अनियमितता भएको गुनासो आएपछि सरकारले अब कार्यालय प्रमुख बस्ने कोठा, उनीहरूले प्रयोग गर्ने सवारीसाधनको मापदण्ड तोक्ने भएको छ । सवारीसाधन खरिदमा व्यापक अनियमितता भएको र वित्तीय अराजकता बढेको भन्दै सरकारले वित्तीय अनुशासन कायम गर्न यस्तो मापदण्ड तोक्न लागेको हो ।

नयाँ व्यवस्था लागू भएपछि एउटै ओहोदाका कर्मचारीलाई समान सुबिधा र मापदण्ड लागू हुनेछ । यसबाट वित्तीय सुशासन कायम गर्न र आर्थिक अनियमितता रोक्न सहज पुग्ने सरकारको विश्वास छ । यो व्यवस्था कार्यान्वयनका लागि अर्थमन्त्रीकै सक्रियतामा अर्थ मन्त्रालय आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमार्फत मापदण्डको तयारीमा जुटेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमार्फत मन्त्रालयले सवारी सधानको खरिदमा कडाइ गर्न लागेको जानकारी दिए । “अहिले कुन तहको कर्मचारीका लागि गाडी चाहिने हो, कर्मचारी बस्न कति मिटरको कोठा आवश्यक पर्छ, त्यसको केही मापदण्ड छैन,” उनले भने, “अब सरकारले त्यसको मापदण्ड बनाएर सोहीअनुसार मात्रै सुविधा दिने तयारी गरेको छ ।” उनका अनुसरा कुन तहको कर्मचारी कति स्क्वायरफिटको कोठामा बस्ने हो ? कस्तो फर्निचर प्रयोग गर्ने हो ? कस्तो सवारीसाधन प्रयोग गर्ने हो ? भन्नेजस्ता विषयमा सरकारसँग अहिलेसम्म कुनै मापदण्ड छैन ।
उनले यस्तो मापदण्ड नहुँदा वित्तीय व्यवस्था अपारदर्शी ढंगले अघि बढेको बताए । उनका अनुसार अर्थले सवारी साधनको मापदण्ड, कार्यालयको मापदण्ड, भवनहरूको मापदण्ड तयार गर्ने गरी काम गरिरहेको छ । संघीयता कार्यान्वयनमा आएपछि पनि केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले महँगा गाडी किन्ने र राज्यकोष दोहन गर्ने प्रवृत्ति व्यापक बढेको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो सयम गत छ महिनामा ५ खर्बभन्दा बढी बजेटबाहिरै माग भएको छ । त्यसमा अधिकांश बजेट सवारी साधनको खरिदमा खर्चका लागि माग भएको छ । “एउटा मापदण्ड बनाएर सेवा सुविधा उपलब्ध गराइयो भने खर्चमा पनि व्यवस्थित हुने र अनियमिता पनि रोकिन सक्छ,” मन्त्री खतिवडाले भने । अर्थ मन्त्रालयका अनुसा यो मापदण्ड आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने छ ।


Monday, February 10, 2020

जलवायु परिवर्तनबारे विज्ञको चासो, धनी नहुँदै बुढो हुने जोखिम

धनी नहुँदै बुढो हुने जोखिमजलवायु परिवर्तनले विश्वव्यापी रूपमै जोखिम बढेको भन्दै विज्ञहरूले त्यसतर्फ सचेत रहन सुभाएका छन् । विश्वव्यपी रूपमा जलवायु परिवर्तनको असर न्यूनीकरणबारे बहस पैरवी भइरहेको बेला नेपालमा पनि विज्ञहरूले हरित अर्थतन्त्रको माध्यमबाट जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सकिने भन्दै जोखिम न्यूनीकरणमा अहिलेदेखि नै सावधानी अपनाउनुपर्ने बताएका हुन् ।
पछिल्लो समयमा जलवायु परिवर्तनको मुद्धा विश्वव्यापी रूपमै पेचिलो बन्दै गएको छ । राजधानीमा अयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनको विषय नेपालमा खतराको घण्टी बजाउन आएको टिप्पणी गरे । उनले भने, “विकासको ढाँचामा हामीले पहिलेदेखि नै खेलवाड ग-यौं, एसी र हिटर नचाहिने ठाउँलाई फोहोर बनायौ, जलवायु परिवर्तनको विषय नेपालमा खतराको घण्टी बजाउन आएको हो यसबाट हामी सवै सतर्क हुनुपर्छ ।”
उनले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपाय खोज्नका लागि सरकारले सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको दिए । “जलवायु परिवर्तनको मुद्धाले हाम्रो अर्थतन्त्रलाई असर गर्न थालेको छ हाम्रा पानीका मुहान सुक्न थालेका छन् हाम्रा वृद्ध आमहरूले दुःख पाएका छन् उत्पादन र रोजगारीमा समेत असर देखिन थालेको छ यसतर्फ सतर्क रहन, हाम्रो अर्थतन्त्रलाई उकास्न र दिगो विकासको लक्ष्य भेटाउन हामीले सोच्नै पर्ने बेला आएको छ,” उनले भने ।
सरकारले गर्न लागेको सगरमाथा संवादले हिमाल र समुद्रबीचको सम्बन्ध बढाउन सहज पुग्ने बताए । परराष्ट्र मन्त्रालयले राजधानीमा आयोजना गरेको सगरमाथा संवाद को उदघाटन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताए । “यस्तो प्रकृतिले हाम्रो जलवायु परिवर्तनमा सहयोग गर्छ र दिगो विकास हुँदैन यसतर्फ सचेत रहनु आवश्यक छ,” उनले भने । यस्तै, मुलुक जलवायु परिवर्तनको चपेटामा मुलुक परेको भन्दै उनले डोजरको बारेमा पनि कार्यक्रममा छलफल आवश्यक रहेको उनले बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लले मुलुकको आर्थिक समृद्धिका लागि हरित अर्थतन्त्र जोडनु आवश्यक रहेको बताए । उनले भने, “हामीले दिगो विकासको लक्ष्य भेटिनेगरि काम गरेका छैनौ, कृषिमा आश्रित ग्रामीण अर्थतन्त्र उद्योगतर्फ नलागी सिधै सेवा क्षेत्रमा प्रवेश गरेको छ, यसले दिगो विकास सम्भव छैन ।” उनले अहिलेकै अवस्था अनुसारकै आर्थिक वृद्धिदर हासिल गरेपनि सन २०३० मा हालको श्रीलंकाको दर कायम गर्ने दावी गरे । उनले भने, “प्रशस्त सम्भावना भए पनि धनी नहुँदै हाम्रो युवा पुस्ता बुढो हुने जोखिम बढेर गएको छ, मुलुकको दिगो विकास र सम्बृद्धिकोलागि हाम्रो अर्थतन्त्रलाई हरित अर्थतन्त्रसँग जोडनु आवश्यक छ ।”
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पछिल्लो समयमा कृषि, जलविद्युत् पर्यटन र पुर्वाधार लगायतमा क्षेत्रमा जलवायु परिवर्तनका कारण अफ्ठयारो भएको बताइन् । “जलवायु परिवर्तनको असर अन्य क्षेत्रमा मात्रै नभएर बैकिङ र बिमा क्षेत्रमा पनि देखिएको छ,” उनले भनिन् “सेवाग्राहीले समयमा सुविधा नपाउने र बिमा कम्पनीहरूले प्रिमियम बढाउन थालेका छन् यसले पनि उपभोक्ता मारमा पर्न सक्छन् ।” उनले हरित अर्थतन्त्रलाई प्राथमिकता दिएर दिगो विकासका लागि काम गनु पर्ने बताइन् । “पछिल्लो समयमा वातावरणको मुद्धाले निजी क्षेत्रलाई आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ” उनले भनिन् “अन्य मुलुकलेजस्तै जलवायु परिवर्तनको जोखिमबाट बच्न र अर्थतन्त्रलाई बचाउन नेपालले पनि हरित अर्थतन्त्रलाई प्राथमिकता दिनु जरुरी छ ।”
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेश देवकोटाले जलवायु परिवर्तनको मुद्धालाई राजनीतिक कुटनीतिको माध्यबाट समाधानको पहल गरिनुपर्ने बताए । उनले भने “छिमेकी मुलुक चीन र भारत समेत जलवायु परिवर्तनबाट प्रभावित छन् उनीहरूले आफ्नो अर्थतन्त्रलाई बढाउन हरित अर्थतन्त्रलाई प्राथमिकता दिएका छन्, उनीहरूसँग सहकार्य नगरी हामीले हाम्रो समस्या न्यूनीकरण गर्न सक्दैनौ त्यसलै कुटनीतिक पहल आवश्यक छ ।”
आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरिएको हो ।
https://www.karobardaily.com/news/economy/28884
प्रदीपकुमार ज्ञवाली
मन्त्री, परराष्ट्र
विकासको ढाँचामा हामीले पहिलेदेखि नै खेलवाड ग-यौं, एसी र हिटर नचाहिने ठाउँलाई फोहोर बनायौं, अहिले जलवायु परिवर्तनको विषय नेपालमा खतराको घण्टी बजाउन आएको हो यसबाट हामी सबै शर्तक हुनु पर्छ ।

ईश्वर पोख्रेल
मन्त्री, उपप्रधान तथा रक्षा
मुलुक संघियतामा गएपछि जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको विकास भयो यसमा ध्यान जानु जरुरी छ ।

डा. स्वणिम वाग्ले
पुर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग
हाम्रो प्रशस्त संभावना हुदाहुँदैपनि धनी नहुदै बुढो हुने जोखिम बढेर गएको छ मुलुकको दिगो विकास र सम्बृद्धिको लागि हाम्रो अर्थतन्त्रलाई हरित अर्थतन्त्रसँग जोडनु आवश्यक छ ।

भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
जलवायु परिवर्तनको असर अन्य क्षेत्रमा मात्रै नभएर बैकिङ र बिमा क्षेत्रमा पनि देखिन थालेको छ । सेवा ग्राहीले समयमा सुविधा नपाउने र बिमा कम्पनीहरूले प्रिमियम बढाउन थालेका छन् यसतर्फ पनि ध्यान दिनु जरुरी छ ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...