विद्युतीय उपकरण मार्फत भुक्तानी गरे १० % फिर्ता

विद्युतीय उपकरण मार्फत  भुक्तानी गरे १० %  फिर्ताउपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा फिर्ता गर्ने व्यवस्था कार्यान्वयन भएको छ ।
आन्तरिक राजस्व विभागले निर्माण गरेको प्रणालीको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका छन् । विभागले तयार पारेको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेण्ट बैंकको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केटको त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्यूरोड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरुमा सुरु गरिएको हो । 
विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको खाताबाट बिक्रेताको बैंक खातामा र बिक्रेताको खाताबाट पुनः उपभोक्ताको बैंक खातामा रकम जम्मा हुने गरी प्रणालीमा सुधार गर्नु पर्ने भएकाले यो प्रणालीका मुख्य सरोकारवाला पक्षहरु विद्युतीय बीजक जारी गर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएका बिक्रेता, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक संस्थाहरुको सक्रिय सहयोग प्राप्त हुने विभागले विश्वास लिएको छ सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थासँग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा पनि लागू गरिएको छ । 
यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा एक हजारदेखि एक लाख रुपैयाँसम्म मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन् । यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने विभागको दावी छ ।यस्तै करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत अर्थमन्त्री खतिवडाले सुरुवात गरेका छन् । 
व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिवृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने छ । कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिवृद्धि करमा दर्ता गर्दा सो निकायको व्यावसायिक सूचनाका अतिरिक्त सो निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको विकास गरिएको छ । यो प्रणाली हाल आन्तरिक राजस्व कार्यालय टंगाल र न्यूरोडबाट आरम्भ गरिएको छ । विभागले यो सेवा क्रमश बिस्तार गर्दै लैजने जनाएको छ ।यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण क्रमशः नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुने विभागले जनाएको छ । 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर