पूर्व प्रशासकप्रति अर्थमन्त्रीको कटाक्ष आफू जिम्मेबारीमा हुँदा सिन्को नभाँच्ने, अनि सेवा बाहिर गएपछि भाषण गर्दै हिँड्ने ?

Karobar Daily

अर्थमन्त्री डा.युवराज खतिवडाले पूर्व प्रशासकले तथ्यहिन अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले राम्रो उपलब्धि हासिल गरे पनि त्यसअनुसारको बहस नभएको उल्लेख गरे । उनले भने, “पछिल्लो दुई वर्षमा सरकारले औषतभन्दा राम्रो उपलब्धि हासिल गरेको छ, तर केहि व्यक्तिहरुले अनावश्यक र तथ्यहीन प्रश्न सरकारमाथि गरिरहेको छन् ।” पूर्व पशासकहरुप्रति लक्षित गदै अर्थमन्त्रीले खतिवडाले आफू जिम्मेवारीमा हुँदा कहिल्यै अहिलेको जस्तो आर्थिक वृद्धिदर नेदेखेका र अनुभव नगरेका व्यक्तिहरु सेवा बाहिर हुँदा सरकारको राम्रो काममाथि पनि प्रश्न गरिरहेका टिप्पणी गरे । “हामीकहाँ एउटा वर्ग छ, जसले आफू सेवामा हुँदा सिन्को नभाँच्ने, तर सेवा बाहिर गएपछि मैले के–के न गरेँ अरुले गर्न सकेनन् भनेर भाषण गर्दै हिँड्ने” उनले भने ।

नीति निर्माणमा बसेर औषतभन्दा कम कार्य सम्पादन गर्ने, औषतभन्दा कम कार्य कुशलता देखाउने, तर अहिलेको सरकारले औसतभन्दा सबै कुरामा धेरै माथि काम गर्दा पनि कार्यकुशलता भएन भएन अन्तर्वाता दिँदै हिड्ने गरेको आरोप लगाए । उनले भने, “उहाँहरुलाई हामी सबैले चिनिरहनु जरुरी छ ।”
जिम्मेवारीमा रहँदा लक्षित कार्यसम्पादन गर्न नसक्नेहरु पनि अहिले बिना संकोच सरकारले काम गर्न सकेन भनेर सञ्चारमाध्यममा बोल्दै हिँडेको भन्दै अर्थमन्त्रीले कटाक्ष गरे । “सरकारको २ वर्षको कार्यकालको सन्दर्भमा म हिजोआज टेलिभिजनमा केही अनुहारहरु देख्छु, जुन अनुहारहरुले दसकौं नेपालको नीति निर्माणमा, प्रशासन चलाउनमा भूमिका निर्वाह गरेर बस्नु भएको छ,” मन्त्री खतिवडाले भने, “तर औषतभन्दा माथि कुनै पनि काम गरेनन ।” मन्त्री खतिवडाले औषतको तथ्यांक आफूले सार्वजनिक गरेको र पछिल्लो २ वर्षमा अधिकांश क्षेत्रमा औषतभन्दा माथि कार्यसम्पादन गरेका दाबी समेत गरे ।
आर्थिक वृद्धि, सुशासन, भष्ट्राचार निवारण र समाजको रुपान्तरणसँग जोडिएका अरु सूचकहरुमा उल्लेख्य प्रगति भएको अर्थमन्त्री खतिवडाको भनाइ छ । सरकारले आफ्नो काम कारबाही गर्दा जे भइरहेको हो त्यही देखाएको र अझ सुधार गर्ने लक्ष्यसाथ अघि बढीरहेको स्पष्ट पार्दै अर्थमन्त्रीले भने, “आर्थिक परिसूचकहरुमा राखेका सरकारका लक्ष्यमा झिनो तलमाथि हुनु स्वभाविक हो, अहिले त्यस्ता विषयमा हुने बहसको स्तर नै माथि पुगेको छ” उनले भने, “मूल्यवृद्धि नियन्त्रणमा राख्ने भनेर १६ प्रतिशतसम्म पुगेको अवस्थामा पनि चुप लागेर बस्नेहरुले नै छ प्रतिशत मुल्य वृद्धि राख्दा ६.४ प्रतिशत पुग्दा सरकारको काम र कार्यशैली कमजोर देखेका छन् ।” उनले अहिले दशमलवभन्दा पछिका अंकमाथि बहस चलेको बताउँदै सरकार लक्ष्यको नजिक पुगेको बताए ।
कोही व्यक्तिले कुनै कुरा भन्दैमा वास्तविकता नबदिलिने भन्दै अर्थमन्त्री खतिवडाले सरकारका हरेक क्रियाकलापलाई समाजले मूल्यांकन गरिरहेको पनि बताए । “समाजले यी कुराको मुल्यांकन गर्छ, सरकारले एकपक्षीय ढंगले यो कुरा राखिराखेको होइन” उनले भने, “अब अंक पनि बोल्छन्, अनभुति पनि बोल्छन् र त्यसको प्रभाव पनि बोल्छ ।”
मिडियाहरुप्रति लक्षित गर्दै अर्थमन्त्रीले भने, “कसै–कसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस नै चलाएका छन्, बहसको स्तर नै ६ र ७ प्रतिशतको आर्थिक वृद्धिदरमा पुगेर अड्कियो आजकाल ३ र ४ प्रतिशतको आर्थिक वृद्धिको कुरै हुँदैन ।”
सस्तो लोकप्रियताका लागि सरकारी मिडियाले समेत प्रतिपक्षीकै स्वर बोक्न थालेको अर्थमन्त्रीको भनाइ छ । २०६७-०६८ सालमा बैंक तथा वित्तीय संस्थाका सीइओको भाउ अहिलेको शेयर बजार जस्तै बढेको उदाहरण दिँदै अर्थमन्त्री खतिवडाले आफू राष्ट्र बैंकमा रहँदा सीइओको तलबमा हस्तक्षेप गरेको स्मरण समेत गरे ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर