कस्तो रह्यो अर्थमन्त्रीको पहिलो इनिङ ?

निरु अर्याल
कस्तो रह्यो अर्थमन्त्रीको पहिलो इनिङ ?२०७४ फागुन २५ गते राष्ट्रियसभा सदस्यको शपथ लिएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल आज (मंगलबार) राति १२ बजे सकिँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाले सांसद पदको शपथ लिनुअघि नै अर्थमन्त्रीको शपथ ग्रहण गरेका गरेका थिए ।
पार्टी संरचनाको पर्याप्त सहयोगबिना खतिवडाले अर्थमन्त्रीको दुई वर्षे कार्यकाल सम्पन्न गरेका छन् । यसबीचमा उनले दुईवटा बजेट ल्याए । अलोकप्रिय बजेट ल्याएको भन्दै पार्टीबाट उनको चौतर्फी आलोचना पनि भयो । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिनामा देशको आर्थिक अवस्थाबारे निकालेको श्वेतपत्रबाट उनी एकदमै आलोचित बने । तर, श्वेतपत्र निकालेको २२ महिनापछि पनि त्यसमा उल्लिखित अर्थतन्त्रका आधारभूत नापनक्शामा कुनै फेरबदल आएको छैन । अर्थतन्त्र झन्झन् जर्जर बन्दै गयो ।

कारोबारसँग कुरा गर्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले भने, “त्यतिको मान्छे अर्थमन्त्री हुनु देशको लागि राम्रो कुरा थियो तर जसरी श्वेतपत्र निकालेर अर्थतन्त्रको खराब चित्रण गरियो, त्यो बिल्कुल गलत थियो । अहिले त अर्थतन्त्रको झन् विकराल अवस्था छ ।”
डा. खतिवडाले सार्वजनिक समारोहमा पनि डा. महतलाई आफ्ना गुरुको नामले सम्बोधन गर्छन् । अर्थमन्त्रीले श्वेतपत्रमा बजेट कार्यान्वयनमा सुस्तता, विकास आयोजनाको नाजुक अवस्था, रेमिट्यान्समा आधारित उपभोगको चक्र, व्यावसायिक वातावरणको अभाव, सार्वजनिक सेवा प्रवाहको कमजोर अवस्था तथा सुशासनको अभावलाई प्राथमिकता दिएर उल्लेख गरेका थिए । खतिवडाले प्रस्तुत गरेको पहिलो बजेट (आर्थिक वर्ष ०७५÷०७६) कार्यान्वयन प्रभावकारी नभएपछि उनले पहिलो आधार वर्ष भएकाले छुट दिनुपर्ने मत राख्दै दोस्रो बजेटको कार्यान्वयनमा सुधारको प्रतिबद्धता जनाएका थिए । तर, दोस्रो वर्षको बजेटले पनि सत्ताधारी पार्टीलाई रिझाउन सकेनन् । अर्थतन्त्रका संरचनागत समस्याको नाडी छामिसकेका र समाधान गर्न सक्ने भनी विश्वास गरेर रोजिएका व्यक्ति खतिवडा प्रधानमन्त्री ओलीद्वारा रुचाइएका र विश्वास पात्र हुन् । जसका कारण उनलाई पुनः अर्थमन्त्री बन्ने अवसर पैदा भएको छ ।
पहिलो वर्ष संघीय सरकार र प्रदेश तथा स्थानीय तहबीच विवाद बढेको भए पनि दोस्रो वर्षसम्म आइपुग्दा ती विषय समाधान भइसकेका छन् । आर्थिक क्षेत्रसँग सम्बन्धित कानुन निर्माणमा खतिवडाले मेहनत गरेका छन् । निजी लगानी, सरकारी बजेटको व्यवस्थापन र प्रभावकारी खर्च प्रणाली स्थापना गर्ने तथा वित्तीय संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा उनले तीव्र गतिमा काम गरेका छन् । तरपनि खतिवडा यो दुई वर्षमा अर्थतन्त्रको संरचनागत र बृहत् परिवर्तनका लागि योगदान दिनबाट भने चुके । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला पनि खतिवडाले अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्छन् । कोइराला अर्थमन्त्री हुँदा खतिवडा नेपाल राष्ट्र बैंकका गभर्नर थिए । “मलाई अर्थमन्त्री हुँदा निकै सहयोग गर्नुभएको हो, उहाँ काम गर्न सक्षम मान्छे हो तर यत्रो ठूलो अवसर हुँदाहुदै पनि उहाँले अपेक्षा अनुसारको काम गर्न नसकेकै हो,” कोइरालाले भने । उनले भनेजस्तै खतिवडाले जिम्मेवारी सम्हालेलगत्तै सरकारी खर्चको दर परम्परागतभन्दा कमजोर भयो । पछिल्लो ३ वर्षयता ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भए पनि बजेटको प्रभावकारी कार्यान्वयन भएन । केही वस्तुको आयातमा गरिएको नियन्त्रणका कारण व्यापार घाटा न्यून गर्न केही सहज भए पनि उच्च मूल्य अभिवृद्धि गरी वस्तु निर्यात वृद्धि गर्न सरकार सफल देखिएन । निजी क्षेत्र सरकारप्रति विश्वस्त हुन सकेनन ।
मौद्रिक अर्थशास्त्री खतिवडाको बजेट तर्जुमाको पाटोमा पनि केही कमजोरी देखिएको उनीसँगै काम गरेका सरकारी अधिकारीहरू बताउँछन् । अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यसमेतको मिहीन जानकारी राख्ने खतिवडाले वित्तीय क्षेत्र पूर्णरूपमा आफ्नो नियन्त्रणमा राखे, राजस्वमा केही कमजोरी देखियो भने बजेट खर्चमा सरकार असफल रह्यो । दुई वर्षमा खतिवडा सबैभन्दा सफल देखिएको वित्तीय संघीयताको कार्यान्वयन र व्यवस्थापनमा मात्रै हो तर पनि वित्तीय अराजकता र पार्टीभित्रै सन्तुलन मिलाउन भने खतिवडाले सकेनन् ।
अर्थमन्त्रीकै कारण सेयर बजार ओरालो लागेको भन्दै पुँजी बजारका केही लगानीकर्ता आन्दोलनमा उत्रिए, उनीविरूद्ध अनसन नै बसे । पुँजी बजारलाई अनुत्पादक भन्दै खतिवडाले गरेको टिप्पणीले लगानीकर्तामाझ उनी अलोकप्रिय बने । एकात्मक शासन प्रणाली र केन्द्रिकृत अर्थव्यवस्थाबाट गुज्रिएको मुलुकमा वित्तीय संघीयता कार्यान्वयनको चुनौतिपूर्ण जिम्मेवारीको नेतृत्व गरेका खतिवडाले यो गह्रौँ भारी दुई वर्षमा सजिलैसँग बिसाएका छन् । आलोचनाबीच प्रधामन्त्रीका विश्वासपात्र भएकै कारण खतिवडा पुनः अर्थमन्त्री हुने निश्चित देखिएको छ ।

 
राजीनामा स्वीकृत
अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्री खतिवडाले मंगबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।
खतिवडाको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने गरी तोकेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको जनाएका छन् ।
राजीनामा दिनुअघि मन्त्री खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । राष्ट्रियसभामा डा. खतिवडासहित १९ जना सांसदको पदावधि मंगलबार राति १२ बजेबाट सकिँदै छ । गोला प्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनामध्ये राष्ट्रपतिबाट मनोनित खतिवडा पनि एक हुन् । कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री खतिवडाले राजीनामा दिएका हुन् । तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्ति गर्ने बुझिएको छ । प्रधानमन्त्रीले खतिवडालाई पुनः नियुक्ति गरेमा बुधबार राष्ट्रपति समक्ष शपथ खानेछन् ।
गत बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले २१ गते शपथ ग्रहणको दिन तोकिएको र त्यो दिन भेट हुने प्रतिक्रिया दिएका थिए ।
https://www.karobardaily.com/news/economy/29674

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर