राहत प्याकेजका लागि पुरक बजेट

राहत प्याकेजका लागि पुरक बजेटकोरोना भाइरसले अर्थतन्त्र शिथिल भइरहेका बेला सरकारले अनौपचारिक क्षेत्रका मजदुर र साना मझौला व्यवसायीलाई लक्षित गर्दै राहत प्याकेज नल्याएको भन्दै सरोकारवालाहरूले चीनता व्यक्त गरेका छन् । छिमेकी मुलुक भारतले समेत कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनको दोस्रो दिन गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरूलाई राहत दिन आर्थिक प्याकेज ल्याइसके पनि नेपालले त्यसतर्फ कुनै चासो नदिएको भन्दै अर्थविद्हरूले चीनता व्यक्त गरेका हुन् ।
चीनबाट फैलिएको कोरना भाईरस (कोभिड–१९) ले विश्व अर्थतन्त्र नै कमजोर बनिरहेको अवस्थामा सरकारसँग स्रोत अपुग भए पुरक बजेटमार्फत भए पनि राहत प्याकेज ल्याउन उनीहरूले सुझाएका छन् । भारत सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनको दोस्रो दिन (बुधबार) नै गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरूलाई राहत दिन १ लाख ७० हजार करोड भारतीय रुपैयाँ बराबरको आर्थिक प्याकेजको घोषणा गरेको छ । जसअन्तर्गत गरिब र किसानलाई नगद हस्तान्तरणदेखि कोरोना नियन्त्रणमा खटिएका जनशक्तिको बिमालगायत रहेका छन् ।
कोरोनाको भयावह स्थितिसँग जुध्न विश्वका अधिकांश मुलुकले राहत प्याकेज घोषणा गरेपनि नेपाल सरकारले भने राहतका लागि लगत संकलन गरेको बताउँदै आएको छ । नेपालमा समेत कोरोनाको संक्रमण देखिएकोर योे अवस्था लामो समयसम्म रहे नेपालको अर्थतन्त्र थेग्नै नसक्नेगरी थिलथिलो पर्ने विश्लेषकहरूको दावी छ यस्तो अवस्थाको सामाना गर्न सरकारले र अर्थतन्त्र चलाउन सरकारले आर्थिक प्याकेज ल्याउनु ढिला गर्न नहुने अर्थविद् डा. विश्वम्भर प्याकु-यालको तर्क छ ।
“स्रोत अपुग भए अर्थात प्रक्रियागत समस्या भए सरकारले पुरक बजेट ल्याउन सक्छ,” डा.प्याकु-यालले कारोबारसँग भने, “राहत प्याकेज ल्याउन ढिला भइसक्यो अब ढिला गर्नु हुँदैन ।” जनतालाई आश्वस्त पार्न सरकारले आपूर्ति व्यवस्था सहज भएको बताए पनि विश्वभर सप्लाई चेनमै समस्या देखिएको उनले बताए । “यतिबेला विश्व नै महामारीको चपेटमा छ नेपाल अछुतो हुने कुरा हुँदैन, उनले भने, “यस्तो बेलामा तोकिएकै बेला बजेट ल्याउनु पर्छ भन्ने छैन, सरकारले राहत प्याकेजकालागि पुरक बजेट ल्याउन सक्छ । अध्यादेशमार्फत पुरक बजेट ल्याएरै भएपनि सरकारले राहत प्याकेज तत्काल ल्याओस् ।
कोरना भाइरस (कोभिड–१९) ले विश्व अर्थतन्त्र नै संकटमा पर्ने देखिएपछि विभिन्न मुलुकले करिब दुई खर्ब अमेरिकी डलरको राहत प्याकेज घोषणा गरिसकेका छन् । (कोभिड–१९) ले विकासोन्मुख विकाससिल देश मात्र नभएर उदयमान शक्तिशाली मुलुक चीनदेखि सर्वशक्तिमान देश मानिने अमेरिका र यूरोपियन मुलुकहरूको अर्थतन्त्रलाई समेत ठुलो धक्का लागेको छ भने युरोपियन मुलुक बढी प्रभावित भएका छन् । अर्थशास्त्री डा.चन्द्रमणि अधिकारी पनि राहत प्याकेज ल्याउन सरकारले ढिला गर्न नहुने बताउँछन् । “महामारीले आम मानिसको व्यवहार र विश्वको अर्थतन्त्रनै बदलिने अवस्था आएको छ,” उनी भन्छन्, “स्रोत अपुग भए यस्तो बेलामा पुरक बजेट ल्याउन संविधानले रोक्दैन, जसरी हुन्छ, अर्थतन्त्र चलाउन सरकारले कर्जाको मिनाहा छुट दिने र साना र श्रमिकहरूलाई राहत दिनेगरी कार्यक्रम तत्काल ल्याउनु पर्छ ।”
अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशतले खुम्चिने देखिएको छ । यो प्रक्षेपणभन्दा विश्वको अर्थतन्त्र अझै कमजोर बन्ने अर्का अर्थशास्त्री प्राध्यापक डा. गोविन्द नेपाल बताउँछन् । “कोभिड–१९ ले विश्वभर त्रास फैलिएको छ, विश्वको अर्थतन्त्र जर्जर बनेको छ यसलाई जोगाउन राहत प्याकेज ल्याउनु जरुरी छ ।” उनी पनि निजी क्षेत्रको मनोबल उकास्न र महामारीको भयाबहबाट जोगिन विशेष प्याकेज ल्याउन ढिला गर्न नहुने तर्क गर्छन् । एसियाली विकास बैंकको प्रारम्भिक तथ्यांक अनुसार आन्तरिक आपूर्तिमा कमी, पर्यटन प्रवद्र्धन, व्यावसायिक क्षेत्रमा संकुचन र व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा देखिएको प्रभावले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आँकलन गरिएको छ ।
अर्थशास्त्री केशव आचार्य भन्छन्, “पछिल्लो अवस्थालाई नियाल्दा अबका दिनमा कोरोनाको भयावह झनै बढेर जाने देखिएको छ यसको मारमा श्रमिक छन् राहत प्याकेज ल्याउदा गरिब किसान र वृद्ध र असक्तहरूलाई सम्बोधन गर्नुपर्छ ।” उनले सरकारसँग ढुकुटीमा प्रयाप्त रकम भएपनि राहत प्याकेज ल्याउन ढिलाई गरेको बताए ।
ढुकुटीमा प्रयाप्त रकम छ सरकारको पैसा अन्यत्र खर्च हुन सकिरहेको छैन त्यो पैसालाई यता लगाउन सकेमा अर्थतन्त्र चलायमान हुन्छ उनी भन्छन् स्रोतको कुनै विकल्प भएन भने पनि पुरक बजेट ल्याउन सक्ने बाटो खुलै छ जे जसरी हुन्छ सरकारले राहत प्यकेज ल्याउनु ढिलाई गर्न हुँदैन ।” यो समाचार तयार पार्दा सम्म कोरोनाका कारण २२ हजार ४८ जनाको ज्यान गएको छ भने ४ लाख ८७ हजार ६ सय ४८ जनामा संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्मको तथ्यांक हेर्दा कोरोनाबाट चीन इटली, फ्रान्स र अमेरिका बढी प्रभावित देखिएको छ भने नेपालमा समेत तीन जनामा कोरोना भएको पुष्टि भएको छ ।

https://www.karobardaily.com/news/economy/30478

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर