लगानी भित्राउन दलीय ऐक्यवद्धता

काठमाडौंः प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले वैदेशिक लगानीका लागि एकै स्वरमा  आह्वान गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूले आफूहरूबीच राजनीतिक विषयमा मतभिन्नता रहे पनि लगानी भित्राउने र त्यसको संरक्षण गर्ने सम्बन्धमा एकै मञ्चबाट प्रतिवद्धता जनाएका हुन् ।
उद्योग मन्त्रालय र लगानी बोर्डको आयोजनामा बिहिबारदेखि सुरु भएको ‘नेपाल लगानी सम्मेलन २०७३’मा नेताहरूले नेपाललाई यतिबेला ठूलो वैदेशिक लगानीको जरुरी रहेको भन्दै लगानीकर्ता आश्वस्त पार्ने प्रयाश गरे । 
अढाई दशकपछि भएको लगानी सम्मेलनको उद्घाटनसत्रमा नेताहरूले सामूहिक प्रतिवद्धता जनाएपछि सम्मेलन अपेक्षाकृत उपलब्धिपूर्ण हुने आयोजक तथा सरोकारवालाले विश्वास गरेका छन् ।
एक खर्ब रुपैयाँ लगानी भित्राउने लक्ष्यसहित सुरु भएको दुईदिने लगानी सम्मेलनमा राजनीतिक नेताहरूको एउटै बोली हुनुले मुलुकमा आर्थिक एजेण्डा बलियो बन्दै गएको उनीहरूको विश्वास छ । 
सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिको लागि वैदेशिक लगानी भित्राउन आवश्यक रहेको र लगानीमैत्री वातावरण बनाउन सबै एकमत रहेको बताएका छन् ।
सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन प्रतिवद्ध रहेको उनले बताए । शान्ति र समृद्धि एकअर्काका परिपूरक भएकाले नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउन नै सम्मेलन अयोजना गरिएको बताए ।
राजनीतिक स्थायित्व भएमा मात्र निजी क्षेत्रका लागि उपयुक्त अवसर हुने भन्दै उनले नीति नियम एवं वातावरणलाई उपयुक्त बनाउने प्रतिवद्धता जनाए । 
कार्यक्रममा एसियाली पूर्वाधार लगानी बैंक (आईआईबी) अध्यक्ष जिन लिक्विनले विश्वव्यापीकरणलाई ध्यान दिँदै विकासलाई गति दिन र क्षेत्रीय संयोजन गर्नका लागि पूर्वाधार विकास बैंकको स्थापना भएको उल्लेख गर्दै नेपालमा पनि लगानी गर्न आतुर रहेको बताए ।
नेपालबाट आउने आयोजनाहरूमा लगानी गर्न बैंक सधै तयार रहेको जानकारी दिँदै उनले समयमै योजना सम्पन्न गर्नेतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाव दिए । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाह्य लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दै मुलुकको सम्भावित क्षेत्रलाई अगाडी बढाउन सकिने बताए ।
चीन र भारतजस्ता दुई ठूला मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै यसमा सरकारले पहल गर्नुपर्ने उनले बताए । यस्तै,  एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आपूmहरू प्रतिपक्षी दल भए पनि लगानीको वातावरण बनाउन प्रतिवद्ध रहेको बताए ।
उनले प्रमुख विपक्षी दलका नेताको रुपमा आफूले देशको आर्थिक समृद्धिका लागि उपयुक्त बातावरण बनाउन पहल गर्ने बताए ।  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक विकासका लागि लगानीको धेरै क्षेत्रमा सम्भावना रहेको बताए ।
ऊर्जाको व्यवस्था र नीतिगत सुधारमा ध्यान दिने भन्दै उनले सरकारले परियोजना बैंक बनाएर लगानी छनोट गर्ने अवसर सिर्जना गराएको बताएका छन् । उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षमा नेपाली युवा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउनका लागि सम्मेलनको महत्वपूर्ण भूमिका रहने बताए ।
उनले ऊर्जा, पूर्वाधार, पर्यटन, सूचनाप्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य उत्पादन लगायतका क्षेत्रका लगानीको संभावना रहेको जानकारी दिए । लगानीकर्तालाई लगानी गरेकै मुद्रामा मुनाफा लैजान दिने र उद्योग स्थापना सञ्चालन र खारेजीको प्रक्रिया सहज बनाएको मन्त्री जोशीले जानकारी दिए । 
पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रजातन्त्रको पुनस्र्थापनापछि उदार अर्थतन्त्र अबलम्वन गरिएको स्मरण गर्दै त्यसपछि भएका सुधार योजनाहरूको फेहरिस्त प्रस्तुत गरेका थिए ।
उनले नीतिगत सुधारका लागि अझै पहल जारी रहेका उल्लेख गर्दै भोलीका दिनमा नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हुनसक्ने जानकारी दिए ।
सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, क्यानडा, अमेरिका, लगायत दुई दर्जन मुलुकका २ सय ५० संस्थागत, व्यक्तिगत तथा स्वदेशी लगानीकर्ता गरी ९ सयको सहभागिता छ । पहिलो पटक १९९२ मा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा वैदेशिक लगानी  सम्मेलन भएको थियो । 

नेपाल उपयुक्त गन्तव्य : जेट्ली
भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा लगानीका लागि उपयुक्त संभावना भएको बताएका छन् । लगानी सम्मेलनलाई सम्बोधन गर्दै जेट्लीले धार्मिक, साँस्कृतिक, पर्यटन, ऊर्जा, कृषि, प्राकृतिक स्रोत लगायतका क्षेत्रमा लगानीको संभावना रहेको बताए ।
नेपाल आर्थिक रुपमा सवल भएको हेर्न चाहेको भन्दै जेट्लीले  विदेशीले लगानी गर्दा पर्याप्त सम्भावना भएको देश छनोट गर्नुपर्नेे बताए । उनले प्राकृतिक स्रोत पर्याप्त भएकोले यसको उच्चतम प्रयोग गरेर मुलुकको विकास गर्न सुझाव दिए ।
दुई देशबीचको सहकार्यमा शैक्षिक, मेडिकल, इञ्जिनियरिङ क्षेत्रमा लगानी गर्न सकिने उनले बताए । आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहजरुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्ने उनले बताए । लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्नै भन्दै लगानी विस्तार गर्न राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने उनको सुझाव छ ।
लगानी बढेपछि मात्रै राजस्व, रोजगारी जस्ता क्षेत्रको विकास भएर अर्थतन्त्रमा सुधार आउने उनको भनाइ थियो । 
 

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन