अनलाइन सर्भेबाटै आर्थिक गणना हुँदै

८ हजार कर्मचारी परिचालन गर्ने सरकारको तयारी 

निरु अर्याल
काठमाडौंः सरकारले पहिलोपटक प्रविधिको माध्यमबाट राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले २०७५ वैशाख १ गतेदेखि असार १६ सम्म राष्ट्रिय आर्थिक गणना गर्ने भएको हो ।
गणनाको तयारीस्वरूप चालू आर्थिक वर्ष प्रश्नावली र निर्देशिका निर्माण, पूर्वपरीक्षण, नमूना आर्थिक गणना लगायतका काम गर्दैछ । मुलुकको एक सय वर्ष लामो तथ्यांकीय इतिहासमा विभागले पहिलोपटक अनलाइनमार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैं भर्नसक्ने तथा गणकमार्फत ट्याब प्रयोग गरी गणना गर्ने विधि प्रयोग गर्न लागेको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । 
गणनामा औद्योगिक उत्पादन, निर्माण, यातायात, घरजग्गा कारोबार, शिक्षा, सूचना तथा सञ्चार लगायतका १७ क्षेत्र समेटिने छन् । आर्थिक गणनाबाट प्रतिष्ठानको संख्या, तिनमा कार्यरत कर्मचारी, प्रमुख आर्थिक क्रियाकलाप, वैदेशिक पुँजीको अनुपातलगायतका महत्वपूर्ण सूचकहरू प्राप्त हुने विभागले जनाएको छ ।
“यसले हाम्रो अर्थतन्त्रमा जीडीपीको आकार कति छ भन्ने तथ्यांकसमेत प्रस्तुत गर्न सहज हुनेछ,” अर्यालले भने । जापान सरकारको प्राविधिक सहयोगमा गर्न लागिएको आर्थिक गणनामा ८ हजार कर्मचारी परिचालन गर्ने सरकारको तयारी छ ।
महानिर्देशक अर्यालले नेपालमा पहिलोपटक इन्टरनेटको माध्यमबाट गणना सुरु गर्न लागिएको जानकारी दिए । “प्रविधिको माध्यमबाट गणना गर्दा तथ्यांक अझै प्रभावकारी हुनेछ भन्ने हामीले विश्वास गरेका छौं,” उनले भने, “उत्तरदाताले आफ्नो व्यवसायको विवरण अनलाइनमार्फत आफैं भर्नसक्ने व्यवस्थाले हामीलाई ‘ग्लोबलाईज’ हुन सहजीकरण हुने छ ।”
विभागले अर्थतन्त्रको सबै परिसूचकहरूको तथ्यांक मितव्ययी तथा पारदर्शी बनाउने उद्देश्यसहित पहिलोपटक आर्थिक नेपालमा आर्थिक गणना सुरु गर्न लागेको हो ।
महानिर्देशक अर्यालले संविधानको कार्यान्वयनका लागि समेत महत्वपूर्ण भएको र अर्थतन्त्रसँग सम्बन्धित सबै परिसूचकहरूको तथ्यांक संकलन गरिने जानकारी दिए ।
विभागले राष्ट्रिय आर्थिक गणनाको तयारीका लागि सुझाव लिन सुरु गरिसकेको छ । तयारीका लगि सुझाव संकलन गर्न मंगलबार आयोजित एकदिने कार्यशाला गोष्ठीमा विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले नयाँ प्रविधिमार्फत गणना सुरु गरिने जानकारी दिए ।
“मंगलवारदेखि औपचारिक रूपमा हामीले कसरी गर्ने भनेर सुझाव संकलन सुरु गरेका छौं,” उनले भने । उनका अनुसार गणनाको पहिलो चरणमा प्रमुख सहरी क्षेत्र हुने छन् । त्यसैगरी इन्टरनेटको पहँुच रहेका मुख्य क्षेत्रहरूमा अध्ययन गरिने छ ।
त्यसपछि अन्तिम चरणमा बाँकी रहेका स्थानहरूमा गणना गरिने विभागले जनाएको छ । “अत्याधुनिक प्रविधिबाट गणना गर्न लागिएकोले लामो समय लाग्दैन, तीन महिनासम्म प्रारम्भिक प्रतिवेदन आउनेछ,” उनले भने । 
मुलुकको आर्थिक क्रियाकलाप मुल्यांकन गर्न तथा उपयुक्त आर्थिक नीति तर्जुमाका लागि आर्थिक गणना महत्वपूर्ण हुने राष्ट्रिय योजना आयोगका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए ।
“गणनामा प्रविधिको प्रयोग पहिलोपटक हुन लागेकोले यसले अर्थतन्त्रका सबै परिसूचकहरूलाई यथार्थ चित्रण गर्नेछ,” उनले भने । तयारीमा कमजोरी नहुन सुझाव आवश्यक भएको भन्दै उनले पन्ध्रांै योजनाको तयारी पूर्वगणनाको प्रारम्भिक विवरण तयार गर्न विभागलाई सुझाव दिए ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक