डब्ल्यूटिओको सदस्य पछि निर्यात निरन्तर ओरालो

काठमाडौं: १३ वर्षअघि विश्व व्यापार संगठन (डब्लूटीयो) मा प्रवेश गरेपछि नेपालले निर्यातमा फड्को मार्ने अपेक्षा गरिएको थियो, तर अवस्था त्यसको ठीक उल्टो भएको छ । नेपाल डब्लूटीओको सदस्य हुनुअघि र पछिको तथ्यांक हेर्ने हो भने आयात बढ्दो छ भने निर्यात तुलनात्मक रूपमा घट्दो छ ।
सन् २००४ अघि आयात निर्यातको अवस्था ७२ः२८ को अनुपात रहेकोमा अहिले  ९२ः८ को स्थितिमा पुगेको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अनुसार सन् १९७५ मा मुलुकमा आयात–निर्यातको अवस्था ६०ः४० को अनुपातमा रहेकोमा २०१५/१६ मा आएर ९२ः८ मा पुगेको छ ।
डब्लूटीओको सदस्य हुनुअघि नेपालको निर्यात बढ्दै गए पनि पछिल्लो समय आयातको तुलनामा निर्यात बढ्न नसकेको केन्द्रको तथ्यांक छ । डब्लूटीओका अल्पविकसित सदस्य मुलुकले विभिन्न सुविधा पाउँदै आए पनि नेपालले त्यसको उपयोग गर्न नसक्दा निर्यात बढाउन नसकेको सरोकारवालाको भनाइ छ ।
गुणस्तरीय उत्पादन नहुनु, स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु, व्यावसायिक विकास कम हुनु, स्थानीय उत्पादन क्रमशः घट्दै जानु, अविकसित मुलुकलाई दिएका सुविधा उपभोग गर्न नसक्नुले पछिल्लो समय नेपालको निर्यात घट्दै गएको हो । 
केन्द्रका अनुसार सन् २००१ मा ५५ अर्ब २५ करोडको सामान निर्यात भएकोमा २००४ मा आएर निर्यातमा सामान्य वृद्धि भई ५८ अर्ब ४४ करोड पुगेको थियो । सोही अवधिमा १ खर्ब १८ अर्बको आयात भएकोमा स्न २००४ मा बढेर १ खर्ब ४८ अर्ब पुगेको थियो ।
केन्द्रका अनुसार १३ वर्षको अवधिमा डेढ खर्ब रुपैयाँबाट आयात बढेर ७ खर्ब ८१ अर्ब पुगेको छ । तर सो अवधिमा निर्यात भने ५८ अर्बबाट बढेर ७१ अर्ब रुपैयाँ मात्र पुगेको छ ।
बाणिज्य मन्त्रालयका पूर्वसचिव एवं व्यापार विज्ञ पुरुषोतम ओझा विश्व व्यापार संगठनको सदस्य बनेसँगै भन्सार दर खुकुलो भई विश्वबजारमा सबै देशका सामान जाने हुँदा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा आयातको तुलनामा निर्यात बढाउन नसकिएको बताए ।
“डब्लूटीओको सदस्यपछि जुनुसुकै मुलुकमा भन्सार दर खुलुकलो हुँदा नेपालमा आयात दर बढ्दै गएको छ,” उनले भने, “स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढ्न नसकी मुलुकको व्यापार घाटा भयावह बन्दै गएको छ ।”
सन् २००४ अघि आयात निर्यातको अवस्था ७२ः२८ को अनुपात रहेकोमा अहिले  ९२ः८ को स्थितिमा पुगेको छ ।

अविकसित मुलुकलाई दिइने सुविधा प्रयोग गर्न नसक्दा निर्यात बढाउन नसकिएको भन्दै उनले व्यापार घाटा कम गर्न गुणस्तरीय उत्पादनसँगै निर्यातमा जोड दिनुपर्ने बताए ।
रेमिट्यान्सका कारणले विलासिता बढ्दै जानु, निर्यात प्रबद्र्धनका लागि तयार गरिएका नीति कार्यान्वयनमा नआउनु, आर्थिक कूटनीति कमजोर हुनु, स्थानीय उत्पादन कम हुनले पनि पछिल्लो समय निर्यात बढाउन सकिएको छैन ।
केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरे स्वदेशी उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, निर्यातका लागि विभिन्न देशले दिएका सुविधा प्रयोग गर्न नसक्नुले पनि निर्यात बढाउन नसकिएको बताउँछन् ।
“अमेरिकाले ६६ र चीनले ८ हजार ३१ वस्तु निर्यातमा दिएको सुविधा अहिलेसम्म प्रयोगमा आउन सकेको छैन,” उनले भने, “जसका कारण पनि निर्यात आयातको तुलनामा घट्दो क्रममा छ ।” डब्लूटीओको सदस्य भएपछि जुनसुकै मुलुकलाई विश्वबजारमा सामान आयात–निर्यात गर्न कुनै अवरोध हुँदैन ।
डब्लूटीओको सदस्य हुनुअघि १ सय ५ मुलुकसँग व्यापार गर्दै आएको नेपालले अहिले १ सय ९० मुलुकसँग कारोबार गर्दै आएको छ । १ सय ३६ मुलुकमा निर्यात गर्दै आएको नेपालले आयात भने १ सय ७६ मुलुकबाट गर्ने गर्छ ।
डब्लूटीओको सदस्य नहुँदा सामान आयात निर्यात गर्न भन्सार दर महंगो रहेकोमा पछिल्लो समय सो अवरोध हट्दै गए पनि गैरभन्सार अवरोधका कारणले निर्यात बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक