व्यापारघाटा ७१ प्रतिशतले वृद्धि

काठमाडौंः चालु आर्थिक वर्ष २०७३-७४ को पहिलो ६ महिनाको अवधिमा निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७१.३ प्रतिशतले वृद्धि भएको छ । 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको समीक्षा अवधिमा व्यापार घाटा  चार खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत आव २०७२-७३ को पहिलो ६ महिनामा व्यापारघाटामा २६ प्रतिशतले कमी आएको थियो ।
केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार चालु आवको सो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई पाँच खर्ब दुई अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । 
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भई ३६ अर्ब ३२ करोड रुपैयाँ तथा कुल पैठारीमा ६४.३ प्रतिशतले वृद्धि भई रु चार खर्ब ६६ अर्ब पाँच करोड पुगेको छ । 
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपडा, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मन्जन, अलैँची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना पछ्यौरा, जडिबुटी आदि प्रमुख छन् । 
आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, यान्त्रिक तथा पुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, यान्त्रिक तथा पुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक