विमानस्थलभित्रै तस्करीको छुट्टै बाटो

निरु अर्याल/केदार दाहाल
काठमाडौंः मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ ।
विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित वस्तुहरू सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।
ठूलो परिमाणमा सुन तस्करीको घटना सार्वजनिक भएपछि अर्थ मन्त्रालयले मातहतका निकायमार्फत गरेको अध्ययनमा यो तथ्य सार्वजनिक भएको स्रोतले जनाएको छ । 
“बिमानबाट यात्रु बाहिर निस्कँदा सबै एउटै बाटो भएर निस्कनुपर्ने हो, तर वैकल्पिक बाटो पनि प्रयोगमा आएको रहेछ,” भन्सार बिभागलाई उधृत गर्दै स्रोतले भन्यो ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन आन्तरिक टर्मिनल भवन हँुदै सहजै बाहिर आउने गरेको रिपोर्टमा उल्लेख छ । आन्तरिक विमानस्थलमा ब्यागेज चेकिङ नहुने भएकाले तस्करहरूका लागि सजिलो भएको देखिन्छ ।
यसरी गोप्य बाटो भेटिएपछि अर्थ मन्त्रालयले सुधारका लागि छलफल सुरु गरेको छ । अबैध सुन बाहिर आएपछि भन्सार बिभागले समेत अनुगमन तीव्र बनाएको छ ।
अनुगमनका क्रममा यात्रुहरूको आवागमन हुने ठाउँबाटै वैकल्पिक बाटो भेटिएपछि निगरानी बढाइएको बिभागको दाबी छ । त्रिभुवन विमानस्थलमा अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय मातहतका कार्यालयलगायत चार दर्जनभन्दा बढी एजेन्सीहरू छन् ।
जसका कारण पनि विमानस्थलभित्रको गतिविधी नियन्त्रणमा समस्या भएको विमानस्थल कार्यालयले जनाउँदै आएको छ । तस्करीका लागि विमानस्थलभित्रै अर्को बाटो रहेको बाह्य एजेन्सीलाई थाहा नभएको स्रोतले जनाएको छ ।
पुुस २२ मा बरमद भएको ३३ केजी सुन पनि त्यही बाटो भएर बाहिरिएको हुनसक्ने बताइएको छ । “यो घटनाले हाम्रो संरचना र सुरक्षालाई चुनौती दिएको छ,” स्रोतले भन्यो, “अहिलेसम्म भित्रै यस्तो बाटो छ भन्ने कसैले सुर्इंको समेत पाएको थिएन, अहिले थाहा पाएपछि उक्त वेमा निगरानी बढाइएको छ ।”
सामानहरू जाँचपास भएर आउने ठाउँमै वैकल्पिक बाटोको समेत ब्यवस्था भएको र त्यो बाटो आन्तरिक टर्मिनल हुँदै बाहिर आवागमनमा सहज भएको स्रोतको दाबी छ ।
भन्सार कार्यालयका अनुसार उक्त बाटोमा भन्सारका कर्मचारीलाई समेत प्रवेश गर्न दिइँदैन ।
सुरक्षाकर्मी मात्रै तैनाथ हुने भएकोले पनि सामानहरू ओसारपसारमा सहज हुने देखिएको छ । सुन तस्करीको विषयमा बिभिन्नखाले अध्ययन अनुसन्धान भए पनि निष्कर्ष भने बाहिर आउन सकेको छैन ।
गत साता बसेको संसदको अर्थ समितिले पनि विमानस्थल भन्सार कर्मचारीको लापरवाही र सुरक्षा चेकजाँचमा कमजोरी रहेको भन्दै सुधार्न निर्देशन दिएको छ ।
विमानस्थलबाटै ठूलो परिमाणमा अवैध सुन बाहिरिएपछि समितिले बिभिन्न सरोकार निकायसँग छलफल गरेर चेक जाँचमा कडाई गर्न निर्देशन दिएको हो । समितिका सभापति प्रकाश ज्वालाले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानविन तथा जाँचबुझ गर्न अधिकार सम्पन्न छानविन समिति गठन गर्न निर्देशन दिएको बताए ।
विमानस्थलसँग हाल प्रतिघन्टा १ हजार ३ सय ४० यात्रुको मात्र हेन्डल गर्नसक्ने क्षमता छ । विमानस्थलका महाप्रवन्धक देबानन्द उपाध्यायले भने, “यात्रुको चाप बढ्दा हाल प्रतिघन्टा २ हजार ४६ जना यात्रुको हेन्डल गर्नुपर्ने अवस्थामा पुगेको छ ।”
उनका अनुसार एक सिफ्टमा ३ हजारभन्दा बढी कर्मचारीहरू विमानस्थलमा खटिने गरेका छन् । जुन तीन सिफ्ट संचालन हुन्छ । दैनिक विमानस्थलमा १२ हजार कर्मचारीहरू खटिने गरेकोले व्यवस्थापनमा चुनौति रहेको उनको भनाइ छ ।
“विमानस्थलभित्र प्रविधिमैत्रीको विकास तथा विस्तार हुन सकेको छैन, जसका कारण पनि कारोबारीहरू सजिलै विमानस्थलबाट उम्कँदै आएका छन्,” उनले भने । १ हजार ३ सय ४० प्रतिघण्टा यात्रु ह्याण्डलिङ गर्नेगरी सन् २००२ सम्मका लागि विमानस्थल निर्माण गरिएको थियो ।
सन् २०१३ मा निमार्ण सम्पन्न हुने र २ हजार ४६ यात्रु प्रति पिकआवर ह्यान्डल गर्ने क्षमताको निमार्ण गर्ने भनिएको योजना २०१८ मा सम्पन्न हुने देखिएको छैन । जसका कारण पनि विमानस्थलमा सुविधा सम्पन्न गरी प्रविधीमैत्री हुन नसक्दा गिरोहरूले सजिलै गलत काम गर्ने गरेको विमानस्थल कार्यलयको भनाइ छ ।  
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक