बढेको ब्याज तिर्न परे सडकमा उत्रने व्यवसायीको चेतावनी

फागुन ३, २०७३ काठमाडौं :
रात दिन बैंकबाट लिएको कर्जाको ब्याज बढेको फोन आउन थालेको भन्दै व्यवसायीले विरोध गरेका छन्। निरन्तर ब्याज बढाइए त्यस्ता बैंकको विरोधमा सडकमा उत्रने समेत व्यवसायीहरुले चेतावनी दिए।  मंगलबार नेपाल चेम्बर अफ कमर्सले गरेको अन्तर्कियामा व्यवसायी आक्रोशित भएका हुन्। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बढाइएको ब्याज संशोधन गरेर पत्र पठाउन बैंकरहरुलाई आग्रह गरे। 'बैंकहरुले निरन्तर ब्याज बढाएको भन्दै पत्र पठाइरहेका छन्, अस्ति भर्खर पनि अर्को पत्र आएको छ, छिट्टै संशोधन गरेर अर्को पत्र पठाउनु पर्‍यो' अध्यक्ष श्रेष्ठले भने। नेपाल निर्माण व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले पहिले गरिएको सम्झौता भन्दा बढी ब्याज नतिर्ने र तिर्न बाध्य भए सडकमा उत्रने चेतावनी दिए। 'एक कल फोनको भरमा रात दिन ब्याज बढेको छ भन्दै फोन आएको छ। कबुल गरेभन्दा एक रुपैयाँ बढी ब्याज तिरिँदैन, तिर्न परेमा त्यस्ता बैंकको विरोधमा सडकमा उत्रन्छौ' रिजालले भने। रिजालले बैंकहरुले मनपरी ढंगले कर्जाको ब्याज बढाइने गरेको भन्दै त्यस्तो कार्यले देशको अर्थतन्त्रमा नै समस्या पार्ने बताए। व्यवसायी निरज राईले सबै उद्योगी व्यवसायीलाई घाटामा पुर्‍याएर बैंकले नाफा कमाउन खोजेको आरोप लगाए। उनले व्यवसायीले २० प्रतिशत नाफा खाँदा त्यस्ता व्यवसायीलाई थुन्ने सरकारले एकै पटकमा ४० प्रतिशतसम्म नाफा बढ्ने गरी नाफा खाने बैंकलाई पनि निगरानी गर्न राष्ट्र बैंकलाई आग्रह गरे। उनले भने- 'भूकम्प, नाकाबन्दीको समयमा हामी सबै घाटामा गयौँ, बैंकहरुले भने ४० प्रतिशतसम्म डेभिडेन्ट (नाफा) बाँढेका छन्, एउटा व्यापारीले २० प्रतिशत नाफा खाँदा कालोबजारी गर्‍यो भन्दै थुन्ने तर बैंकले ४० प्रतिशत नाफा खाँदा कसले हेर्ने।' व्यवसायी महेश अग्रवालले मौकाको फाइदा नउठाउन बैंकरहरुलाई आग्रह गरे। 'पानी बढी हुँदा माछाले कमिला खाने र पानी सुके पछि कमिलाले माछा खाने जस्तै हाम्रो सम्बन्ध नहोस्' उनले बैंकहरहरुलाई सुनाए। उनले बैंकहरुले मनपरी ब्याज वृद्धि गरेको विषयमा राष्ट्र बैंकले विशेष पहल गर्नु पर्ने धारणा राखे।

 नेपालले दिए सान्त्वना
 गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी व्यवसायीलाई अहिलेको अवस्थाबाट नआत्तिन आग्रह गरेका छन्। उनले केही समयमै बैंकमा देखिएको तरलता समस्या समाधान हुने र ऋण पाइने बताए।गभर्नर नेपालले पुराना ऋणिलाई मनलाग्दी ब्याज वृद्धि गरेको विषयमा राष्ट्र बैंकको ध्यानकर्षण भएको बताए। 'पुरानो ऋणहरुले मनलाग्दी व्याज वृद्धि भयो भनेर गुनासो गर्नु भएको छ, यस विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। नयाँ कार्यविधि लिएर समधान गर्ने छौं' नेपालले भने। गभर्नर नेपालले केही समयमा बैंकमा देखिएको समस्या समधान हुने बताए। १७ दिनमा बैंकमा ७१ अर्ब राष्ट्र बैंकका गभर्नर नेपालले केही दिनमा बैंकमा देखिएको समस्या समधान हुने बताए। उनका अनुसार बैंकमा पछिल्लो १७ दिनमा ७१ अर्ब रुपैयाँ आएको छ। तर बैंकबाट १५ अर्ब रुपैयाँ मात्रै लगानी भएको छ। 'अहिलेको समस्या समाधान गर्न हामीले बैंकहरुलाई विभिन्न निर्देशनहरु दिएका छौं, उहाँहरुले सिरियस्ली पालना गर्दै हुनुहुन्छ, छोटो समयमा धेरै निक्षेप उठाएको र कर्जा नियन्त्रण गरेको कारण पनि छिटै समाधान हुने छ' नेपालले भने।

 बैंकरले भने- गल्ती भएकै हो
बैंकर संघका अध्यक्ष अनिल केशरी शाहले बैंकहरुबाट केही त्रुटी भएको स्वीकार गरे। उनले सरकारले छिटो पूँजीगत खर्च गर्ने आशामा कर्जा बढेको तर सरकाले खर्च नगर्दा बैंकहरु समस्यामा परेको बताए।

'छिटो बजेट आयो, सरकारले समयमै खर्च गर्ला नि भन्ने आशमा कर्जा बढायौँ। हम्रो च्यानलमा दिन मिल्ने पैसा सकियो, सरकारले खर्च गरेन' उनले भने। शाहले अबदेखि यस्तो प्रकारको त्रुटी नगर्ने बताए। 'अब हामी हाम्रो च्यानलमा पैसा आएपछि मात्रै कर्जा बिस्तार गर्ने छौं, अहिले हामीले सिक्यौँ। अब त्रुटी गर्दैनौँ शाहले भने।


ऋण दिन कतै रोकिएको छैन
बैंकरहरुले कुनै पनि क्षेत्रमा ऋण दिन बन्द नगरिएको दाबी गरेका छन्। राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा मात्रै लगानी गर्न आग्रह गरिरहेका बेला बैंकहरुले भने कतै पनि ऋण दिन नरोकेको बताएका हुन्।
'राष्ट्र बैंकले तोकेको उत्पादनमूलक क्षेत्रलाई हामीले प्राथमिकता दिएका छौं, केही समयममा रिजल्ट देखिने छ, तर अन्य क्षेत्रमा ऋण दिन पूर्ण रुपमा रोकेको भने होइन' बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले भने। उता विकास बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले अनुत्पादक क्षेत्रमा लगानी गरेको कारण बैंकमा तरलता नआएको बताए। उनले भने- 'सेयरमा गरेको लागनी पुनः बैंकमा नै आउँछ, घर जग्गामा गरेको लगानी पनि घुम्दै फिर्दै बैंकिङ च्यानलमा नै आउने हो, यस कारणले तरलता अभाव भयो भन्नु गलत हो।'

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक