१५ दिनमै फेरियो अर्थमन्त्रीको बोली

 १५ दिनमै फेरियो अर्थमन्त्रीको बोली

ढुकुटीको बचाउमा सरकार

आम्दानीको स्रोत कमजोर हुँदा चालू खर्च धान्न नै हम्मे परिरहँदा अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नै अभिव्यक्तिको बचाउमा लागेका छन् । करिब दुई साताअघि प्रतिनिधिसभामा उनले सरकारको दैनिक खर्च राजस्वले धान्ने स्थिति नभएकोे उल्लेख गर्दै कोरोनाका कारण समग्र अर्थतन्त्र कमजोर बन्दा सरकारको ढुकुटी नै रित्तो भएको बताएका थिए । उनले भनेका थिए, “राजस्वको स्थिति अप्ठ्यारोमा छ, हामीले नै सार्वजनिक गरेको तथ्यांक हो त्यसैले हामीले त्यसलाई स्वीकार गर्नुपर्छ, तथ्यांक तिनै हुन् वास्तविकता त्यही हो । अहिले हामीले दैनिक राजस्व जति उठाउँछौँ, त्यो राजस्वले दैनिक खर्च धान्ने स्थिति छैन ।”
आफ्नो अभिव्यक्तिको १५ दिनमा अर्थमन्त्री उत्साहित हुँदै असार १ गतेदेखि लकडाउन खुकुलो हुँदा पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख रहेको र ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दावीसमेत गरेका छन् । पछिल्लो ५ महिना अत्यन्तै काम बढी हुने समयमा कोरोनाले असर गरेको र अब बिस्तारै आर्थिक क्रियाकलाप लयमा आउने दाबी समेत अर्थमन्त्री खतिवडाले गरे । “सबैभन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय ब्यापार नै हो, लकडाउनको सुरुवाती दुई महिनासम्म जम्मा २० प्रतिशतमात्रै भएको थियो । त्यसपछिका महिनामा व्यापारमा सुधार भएको छ, भन्सार राजस्वसमेत ८० प्रतिशत पुगेको छ,” मन्त्री खतिवडाले भने । उनले सरकारको खर्च र राजस्व संकलनको अवस्थासमेत लक्ष्य नजिक पुगेको दाबी गरे ।
अर्थमन्त्रीले सोमबार यस्तो अभिव्यक्ति दिए पनि सरकारको खर्च र राजस्वको अवस्था भने कहालीलाग्दो छ । अर्थमन्त्रीले दुई साताअघि जेठ महिनाको मोटामोटी आकलन गर्र्दै सरकारको खर्च मासिक ४० अर्ब अनिवार्य दायित्वभित्र पर्ने र मासिक रूपमा भन्सारबाट औसत १५ अर्ब उठ्नेमध्ये केही अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट उठ्ने जनाउ दिँदै अनिवार्य दायित्व धान्नका लागि थप प्रयास गर्नुपर्ने बताएका थिए । सरकारी निकायको आयव्यय राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सोमबारसम्म ९ खर्ब ४५ अर्ब खर्च भएको छ । यो कुल खर्चको ७४ प्रतिशत हो । मन्त्री खतिवडाले लकडाउन खुकुलो पारेसँगै आन्तरिक बजार व्यवस्थित हँुदै गएको दाबी गरे पनि सार्वजनिक यातायात आवागमनमा कडाई गरिँदा बजारहरू अझै पनि व्यवस्थित रूपमा खुल्न सकेका छैनन् । उद्योग कलकारखानाहरूले भारी रूपमा मजदुर कटौती गरे पनि यसतर्फ सरकार बेखबरजस्तै छ ।
आम्दानीको मुख्य स्रोत रेमिट्यान्स आप्रवाहमा कमी आउँदा अर्थतन्त्रमा संकुचन आउने भयले सरकार श्रमिकलाई स्वदेश फर्काउने मनस्थितिमा छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै लाखौं श्रमिक बेरोजगार देखिए पनि अर्थतन्त्र खराब हुँदा वैदेशिक रोजगारीमा जान चाहानेहरूलाई सुरक्षित हुने गरी पठाउने मनस्थितिमा सरकार पुगेको छ । “चिन्ताको विषय भनेको अन्तर्राष्टिय श्रम बजार हो, अहिले त्यसमा पनि सुधार आएको छ । अहिले क्रमशः श्रमबजार आफैँ खुल्न थालेका छन्,” मन्त्री खतिवडाले भने, “विदेश जान चाहानेलाई सुरक्षित तरिकाले पठाउने योजनामा सरकार छ ।”
अर्थमन्त्रीले बजारमा मूल्य स्थायित्व, वित्तीय स्थायित्व र वाह्य क्षेत्र सन्तुलनका कुराहरू आइरहेको वाह्य क्षेत्र सन्तुलनमा सुधार आएको बताए । “मुद्रास्फीति ६ प्रतिशतभन्दा तल रहेको अवस्था छ, हामीले लगानी बोर्डको एउटै बैठकबाट २ खर्बको आयोजना स्वीकृत गरेका छौँ,” उनले भने, “उद्योग विभागबाट ३०÷४० अर्बको लागनी स्वीकृत भएको अवस्था छ । कोभिडको कारणले कार्यान्वयनमा जान अलिकति ढिलो होला, तर सरकारको नीतिगत बाटोको कारण विजनेस पर्फमेन्स बढेको छ ।” अर्थमन्त्रीले यस्तो अभिव्यक्ति दिँदासम्म सरकारको ढुकुटी ऋणात्मक छ । पुँजीगत खर्च अहिलेसम्मकै कमजोर देखिएको छ । चालू खर्च बढेको छ भने वित्तीय भार पनि बढेको छ ।
चालू आवको १५ असारसम्म सरकारको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले कमी आएको छ । गत वर्षको १५ असारसम्म राजस्व, आन्तरिक ऋण, बाह्य ऋण तथा अनुदान गरेर सरकारी खातामा ११ खर्ब १० अर्ब रुपैयाँ जम्मा भएको थियो । चालू आवको १४ असारसम्मको स्थितिमा ९ खर्ब ३८ अर्ब रुपैयाँ मात्रै आम्दानी जम्मा भएको छ । जसमा आन्तरिक ऋण गतवर्षको सोही अवधिको तुलनामा १ खर्ब रुपैयाँ बढी छ । राजस्व भने गतवर्षको भन्दा अत्यन्त न्यून छ । गत वर्ष असार १५ सम्म ७ खर्ब ८५ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवमा ६ खर्ब ८९ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ । चालू आवमा सरकारले १ खर्ब ९१ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । गतवर्ष ९६ अर्ब ३८ करोड रुपैयाँ मात्रै आन्तरिक ऋण उठाइएको थियो । सरकारले आन्तरिक ऋण मात्रै गतवर्षको भन्दा करिब १ खर्ब रुपैयाँ बढी देखिएको छ ।
महालेखाका अनुसार गतवर्षको तुलनामा चालू खर्च भने १५ प्रतिशत वृद्धि छ भने पुँजीगत खर्च न्यून भएको छ । गत वर्ष १५ असारसम्ममा सरकारले १० खर्बभन्दा बढी खर्च गरेको थियो । चालू वर्षमा भने ९ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । खर्च भएको रकममा पुँजीगत खर्चको हिस्सा निकै कम देखिएको छ । हालसम्म खर्च गरिएको ९ खर्ब ३५ अर्ब रुपैयाँमध्ये ७५ प्रतिशत खर्च भएको छ भने सरकारले लिएको ऋणको सावाँब्याज भुक्तानीमा ९ प्रतिशत रकम खर्च भएको महालेखाले जनाएको छ । सरकारले चालू आवका लागि चालू खर्च ९ खर्ब ५७ अर्ब रुपैयाँ अनुमान गरेकोमा ७ खर्ब ७ अर्ब रुपैयाँ अर्थात् विनियोजित बजेटको ७३ प्रतिशत रकम खर्च भएको छ । यस्तै, ४ खर्ब ८ अर्ब रुपैयाँको विकास खर्च हुने अनुमान गरिएकोमा १ खर्ब ३४ अर्ब अर्थात् विनियोजित बजेटको ३२ प्रतिशत रकम मात्रै खर्च भएको छ ।
वित्तीय व्यवस्थापनमा १ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा ९३ अर्ब रुपैयाँ अर्थात् ५६ प्रतिशत रकम खर्च भएको छ । वित्तीय व्यवस्थापनको अधिकांश रकम असारमा नै खर्च हुने भएकाले ९० प्रतिशतभन्दा बढी खर्च हुने महालेखाले जनाएको छ ।
विगतका वर्षहरूमा असारमा अन्य खर्चको तुलनामा पुँजीगत खर्च अधिक हुने गरेको थियो । चालू आवको असारको आधा महिना बित्दा औसत ८५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । तर पछिल्लो साता भने १ अर्बभन्दा बढी र चालू खर्च असारमा औषतमा प्रतिदिन ४ अर्बभन्दा बढी देखिएको महालेखाले जनाएको छ । मन्त्री खतिवडाले नेपालको इतिहासमा मुद्रा सञ्चित उच्च भएको र रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको बताए । “जेठमा मात्रै करिब १ खर्बको रेमिट्यान्स आयो,” उनले भने, “यसको राम्रो असर बैकिङ क्षेत्रमा परेको छ ।”

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर