एनटीआईएसमा सूचीकृत वस्तुकै निकासी घट्दै


निरु अर्याल  
काठमाडौंः  नेपालको मौलिक पहिचान बोकेका वस्तुको निकासी निरन्तर ओरालो लागेको छ । एकीकृत नेपाल व्यापार रणनीति २०१० (एनटीआईएस) कोे सूचीमा सूचीकृत वस्तुको निकासी निरन्तर खस्कँदै गएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
निर्यातको प्रचुर सम्भावना रहेका ऊनी कार्पेट, रेडिमेट गार्मेन्ट, अदुवा, कार्डमोन, मेडिसिनल हर्व, हस्तकलाका सामानको निर्यात घटेको हो । यसैगरी पश्मिना सल, लेदर गुड्स, चाँदीका गहनाको निकासी पनि खस्किएको तथ्यांकमा देखिएको छ ।
सरकारले निर्यातको सम्भावना देखेर उच्च प्राथमिकतामा राखेका वस्तुको निर्यात प्रवद्र्धनका लागि करोडौं रुपैयाँ लगानीसमेत गर्दै आएको छ ।  यद्यपि तिनै वस्तुको निकासी न्यून भएपछि निर्यात प्रवद्र्धनको नयाँ रणनीति तर्जुमा गर्न लागिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी औषधिजन्य वस्तुको निकासी ७८.७ प्रतिशतले घटेको छ भने रेडिमेड गार्मेन्ट १३.३, अदुवा १७ र पश्मिनाको निकासी १६.३ प्रतिशतले घटेको छ । 

मन्त्रालयले करिब ६ महिनाअघि मात्रै एनटीआईएसमा समावेश वस्तु परिमार्जन गरेको थियो । परिमार्जन भएका वस्तुको निकासीमा पनि उल्लेख्य प्रगति हुन नसकेको मन्त्रालयको भनाइ छ । 
सरकारले  तयारी चाउचाउ, हाते कागज, चाँदीका गहना, पश्मिना, अलैंची, अदुवा, चिया तथा कफी, मुसुरोदाल, ऊनीका सामान, जडीबुटीका उत्पादन तथा छाला जुत्तालाई निर्यातको सूचीमा राखेको छ ।
“सूचीकृत वस्तुको निकासी बढ्न नसकेपछि हामीले नयाँ गृहकार्य सुरु गरिसकेका छौं,” वाणिज्य मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले कारोबारसँग भने, “यसको नतिजा अब छिट्टै आउँछ ।”
उनले एनटीआईएसमा सूचीकृत वस्तुको निकासी बढ्न नसक्नुको कारणबारे खोजी भइरहेको बताए । “विगतको तुलनामा यसवर्ष निकासीमा सुधार आउँछ भन्ने आपेक्षा गरेका छौं,” उनले भने । 
निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत आवको अन्त्यसम्म एनटीआईएसको सूचीमा राखिएका वस्तुको समग्र निर्यात विगत ५ वर्षयताकै न्यून देखिएको थियो । गत आर्थिक वर्षमा एनटीआईएस २०१० सूचीमा परेका १२ वस्तुको निर्यात २० अर्ब १० करोड रुपैयाँ छ ।
निकासी घट्ने क्रम चालू आवको ६ महिनासम्म पनि उस्तै देखिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको भनाइ छ । केन्द्रले सार्वजनिक गरेको चालू आवको ४ महिनाको तथ्यांकअनुसार उलन कार्र्पेटको निकासी ४.१ प्रतिशतले घटेको छ ।
यसैगरी रेडिमेड गार्मेन्टको निकासी १३.३, अदुवा १७ र पश्मिनाको निकासी १६.३ प्रतिशतले घटेको छ । यो अवधिमा सबैभन्दा बढी औषधिजन्य वस्तुको निकासी ७८.७ प्रतिशतले घटेको केन्द्रले जनाएको छ । यीबाहेक अन्य वस्तुको निकासी पनि सन्तोषजनक देखिएको छैन ।
सरकारले निर्यातको सूचीमा सूचीकृत यी वस्तुको व्यापार प्रवद्र्धन र सहजीकरणका लागि प्रत्येक वर्ष २० करोड रुपैयाँ एनटीआईएस वस्तुको मूल्य शृंखला (उत्पादनदेखि वितरणसम्म)मा लगानी गरेको छ ।
एनटीआईएसमा परेका वस्तुको प्रवद्र्धन गर्न कृषि, वन, उद्योग र वाणिज्य मन्त्रालयलाई वार्षिक २० करोड रुपैयाँ बजेट विनियोजन हुने गरेको छ । “एनटीआईएसमा परेका वस्तुलाई नतिजाका आधारमा बजेट विनियोजन गर्नुपथ्र्याे,” केन्द्र्रका एक अधिकारीले भने, “प्रत्येक वर्ष एउटै तरीकाले बजेट विनियोजन गर्ने गरिएको छ, तर प्रभावकारी अनुगमन हुन सकेको छैन ।” 
अन्तरमन्त्रालय समन्वयको अभावले एनटीआईएसमा समावेश वस्तुको निकासीमा सुधार आउन नसकेको व्यापार विज्ञहरूको भनाइ छ । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपाली वस्तुले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा निकासी बढ्न नसकेको बताए ।
उनले भने, “सम्भावना प्रसस्त छ, तर गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा निकासी बढ्न सकेको छैन ।” नेपालका लागि युरोपियन युनियनका प्रतिनिधि कोल्म एम हलोरनले नेपाली वस्तुको निकासी बढाउन सरकारी तथा निजी क्षेत्रबाटै पहल गर्नुपर्ने बताए ।
उनले भने, “युरोपियन मुलुकमा नेपाली वस्तुको सम्भावना प्रसस्त छ, तर सम्बन्धित मुलुकको नियमबारे प्राविधिक रूपमा अभ्यस्त नहुँदा समस्या देखिएको छ ।” उनले सरकार र निजीक्षेत्र मिलेर सम्बन्धित मुलुकको ऐन कानुनबारेमा व्यवसायीलाई अभ्यस्त बनाउन सुझाव दिए ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक