एनसेलको बिक्रीमा तीन महिनाभित्र पूँजीगत लाभकर उठाउन लेखा समितिको अर्थमन्त्रालयलाई निर्देशन

काठमाडौं । एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा  भएको लाभमा लाग्ने पूँजीगत लाभकर तीन महिनाभित्र उठाउन संसदको लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। एनसेलको कर प्रकरणका विषयमा आइतबार लामो समयपछि लेखा समितिले बैठक डाकेको थियो।
बैठकमा अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व कार्यालयका महानिर्देशक चुडामणि शर्माले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए। अर्थसचिव सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम भैरहेको जानकारी दिएका थिए। उनले आगामी केही महिनाभित्र कर निर्धारण गरेर उठाउने गरी काम गरिरहेको जानकारी पनि संसदलाई दिएका थिए। 
 
समितिको बैठकमा उपस्थित सांसदहरुले एनसेलले तिर्नुपर्ने कर पूर्ण रुपमा भुक्तान नगरी फोरजी सञ्चालन प्रक्रिया रोक्न पनि माग गरेका छन्। सांसदले फोरजी रोक्न माग गरेपछि त्यसै विषयमा छलफल गर्न लेखा समितिले अर्को बैठक बोलाउने भएको छ।
 
संसदको अर्थ समितिले पनि एनसेलको पूँजीवृद्धि लगायत नयाँ योजना रोक्न यस अघि नै निर्देशन दिएको छ। समितिको निर्देशनकै कारण एनसेलले फोरजी सेवा मागे पनि दूरसञ्चार प्राधिकरणले अहिलेसम्म अनुमति दिएको छैन। 
 
यस्तै, बैठकले एनसेलको शेयर खरिद-बिक्रीबापतको कर नउठाउने व्यक्तिमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुन: निर्देशन दिएको छ। गत चैत १६ सम्ममा कर उठाउनका लागि समितिले यसअघि पनि निर्देशन दिएको थियो।
 
एनसेलको कर तथा प्रक्रिया पूरा नगरी एनसेलबाट प्यारेन्ट कम्पनीले लाभांश भुक्तानी लिएको र भुक्तानी सिफारिश गर्ने नेपाल राष्ट्र बैंकका अधिकारीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ। आयोगले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयसँग एनसेल खरिद बिक्रीमा भएको प्रगतिको स्टाटस रिपोर्ट समेत मागेको छ। 
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक