बजेटको सिलिङ १० प्रतिशत बढाउने तयारी

निरु अर्याल
काठमाडौंः सरकारले आउँदो आर्थिक वर्ष (२०७४/७५) का लागि बजेटको सीमा निर्धारण (सिलिङ तोक्ने) तयारी गरेको छ । चालू आवको बजेटको आकारभन्दा १० प्रतिशत मात्रै बढाएर आगामी वर्षका लागि बजेटको सिलिङ तोक्ने तयारी भइरहेको जनाइएको छ । 
सिलिङको प्रक्रिया अघि बढाउन भन्दै अर्थ मन्त्रालयले आन्तरिक र वाह्य स्रोतको  सबै विवरण राष्ट्रिय योजना आयोगमा पठाइसकेको छ । चालू आवको बजेट नै अर्थतन्त्रको आकारभन्दा ठूलो भएको टिप्पणीका कारण सरकार ठूलो बजेट नल्याउने तयारीमा जुटेको छ ।
मन्त्रालयका अनुसार आयोगको स्रोत समितिको बैठकले अध्ययन गरेर बजेटको सीमा निर्धारण गर्नेछ  “अर्थमन्त्रालयले समयमै बजेटको काम अघि बढोस् भनेर आवश्यक विवरणहरू योेजना आयोगसमक्ष पेश गरिसकेको छ, छिट्टै आयोगको स्रोत समितिको बैठकले निर्धारण गर्नेछ,” मन्त्रालय स्रोतले भन्यो । 
चालू आवको बजेटभन्दा १० प्रतिशतले मात्रै वृद्धि भएमा आगामी आवको बजेटको आकार ११ खर्ब ५२ अर्बको हुनेछ । सरकारले चालू आवका लागि भन्दै १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । तर, समयभन्दा डेढ महिना अगावै बजेट ल्याए पनि बजेट खर्च भने न्यून छ । 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बजेटको सीमा निर्धारणका लागि आयोगले प्रक्रिया अघि बढाएको जानकारी दिए । उनका अनुसार, आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको स्रोत समितिले आगामी आर्थिक वर्षमा प्राप्त हुनसक्ने साधन स्रोतको पर्याप्तता तथा वैदेशिक ऋण तथा सहायता र राजस्व संकलन लगायतका विषयमा अध्ययन गरिरहेको छ । 
“हामीले अध्ययन गरिरहेका छौं, अर्कोसाता समितिको बैठक बसेर आगामी वर्षको बजेटको सिलिङ निर्धारण गरिनेछ,” उपाध्यक्ष श्रेष्ठले भने । अर्थबाट प्राप्त भएको सीमाका सम्बन्धमा पनि पुनरावलोकन हुनसक्ने उनले जानकारी दिए । आयोगले आइतबार सार्वजनिक गरेको त्रिवर्षिय योजना अनुसारको कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने बताएको छ । 
१४ औं योजनाले ऊर्जा, सडक तथा हवाई यातायात, सूचना तथा सञ्चार र ग्रामीण सहरी विकासका लागि पूर्वाधार निर्माण गर्ने तथा सामाजिक विकास र सामाजिक सुरक्षा एवं संरक्षणमा जोड दिने लक्ष्य राखेको छ । यस्तै, मध्यम आय भएका मुलुकको स्तरमा पुग्ने लक्ष्यसहित स्वाधिन, समुन्नत र समाजबादउन्मुख राष्ट्रिय अर्थतन्त्र एवं समृद्ध नेपाल बनाउने दीर्घकालीन लक्ष्य चौधौं योजनाको छ  । 
आयोगले यसअघि नै आगामी बजेटको सीमा निर्धारणबारे राय सल्लाह माग गरेकोे र सोहीअनुसार गतसाता नै विवरण पेश गरेको अर्र्थले जनाएको छ । “हामीले आयोगमा सबै विवरण बुझाइसकेका छौं, आयोगले छलफल गरेर आर्थिक वर्षको बजेटको सीमा निर्धारण गर्ने होे, तर आयोगको बैठक बस्न सकेको छैन,” अर्थका एक अधिकारीले भने । उनका अनुसार माघको पहिलो सातासम्म आगामी बजेटको सीमा निर्धारण भइसक्ने छ ।
विभिन्न मन्त्रालयहरूले पेश गरेको प्रस्ताव र आयोगको त्रिवर्षीय योजनालाई आधार मानेर बजेटको सिलिङ तोकिने अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार स्रोतको सिलिङले मात्रै बजेट तर्जुमा गर्न नसकिने भन्दै सम्बद्ध अधिकारीहरूसँग छलफल गरेर मन्त्रालयगत सिलिङ पनि तोकिनेछ । 
आयोगले तोकेको सिलिङअनुसार अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरूलाई कार्यक्रम तयार गर्न केही समय दिनेछ । त्यसअनुसार नै मन्त्रालयहरूले कार्यक्रम तयार गरी अर्थमा पठाउँछन् । मन्त्रालयहरूको पठाएको अन्तिम कार्यक्रममा पनि अर्थ मन्त्रालयले सरकारको प्राथमिकता हेरेर छनौट गर्ने परम्परा छ ।
“न्यूनतम १० प्रतिशतले बजेट सिलिङ वृद्धि हुने पहिलेदेखिकै परम्परा होे, तर कार्यक्रमहरू बढ्न सकेमा बजेटको आकार पनि अझै बढ्न सक्नेछ,” उनले भने ।   
आयोगले आइतबार सार्वजनिक गरेको त्रिवर्षीय योजनाअनुसार चौधौं योजनाको अन्त्यसम्ममा १७ खर्ब ६३ अर्ब ५७ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएकोे छ । चालू आर्थिक वर्षमा ५ खर्र्ब ६५ अर्ब राजस्व संकलनको लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा करीव २१ प्रतिशतले वृद्धि हुने अर्थको अनुमान छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन