सहज भुक्तानी गर्दै रेमिट्यान्स कम्पनी

मैतीदेवीकी सीता राईका श्रीमान् विगत १० बर्षदेखि बैदेशिक रोजगारीको लागि विदेशिएका छन् । आफुले आम्दानी गरेको रकम उनले प्रत्येक तीन–तीन महिनामा सीतालाई पठाउँछन् । साउदीबाट उनका श्रीमान्ले रेमिट्यान्स कम्पनी मार्फत रकम पठाउँछन् । उनले आफुलाई पायक पर्ने स्थानबाट रकम निकाल्छिन् । 
रेमिट्यान्स कम्पनीहरुले अनलाईन सेवा प्रदान गर्न थालेपछि रकम पाउन सहज भएको उनी बताउँछिन् । “पहिला पहिला रकम निकाल्न एक दुई दिन पर्खनु पथ्र्यो, बैंकमा पनि लामो लाईन बस्नु पथ्र्यो,” उनले भनिन् । तर, अहिले भने रकम पठाएको एक मिनेटमा नै हातमा पर्ने गरेको उनले बताईन् । 
त्यस्तै, पोखरा खाल्सेकी सरु खड्काका श्रीमान् पनि १८ बर्ष देखि विदेसिएका हुन् । कास्की र स्याङ्जा जिल्लाको सिमानामा बस्ने खड्कालाई पहिला–पहिला श्रीमान्ले पैसा पठाउँदा १५ किलोमिटरको पार गरी पोखरा बजारमा नै रकम लिन जानु पथ्र्यो । श्रीमान्ले रकम पठाएको एक दिनपछी मात्रै उनको हातमा रकम पथ्र्यो । 
अहिले भने उनको घर नजिकै खुलेको मुक्तिनाथ विकास बैंकले रेमिट्यान्स सेवा दिन थालेपछि उनलाई पोखरा पुग्नु पर्दैन । बैंकहरुले पनि तुरुन्तै रकम भुक्तानी गर्ने भएपछि उनलाई श्रीमा्नले पठाएको रकम पाउन सहज भएको छ । 
राई र खड्का त प्रतिनिधि मात्रै हुन् । रेमिट्यान्स क्षेत्रमा बढ्दै गएको प्रविधिको प्रयोगले यो सेवालाई सरल र सहज बनाएको छ । फलस्वरुप मानिसहरुले विदेशबाट आफन्तले पठाएको रकम तुरुन्तै प्राप्त गर्न सक्ने भएका छन् । उसो त अन्य क्षेत्रमा पनि प्रविधिको प्रयोग बढ्दै गएको छ । 
तर, यो क्षेत्रमा प्रयोग भएको प्रविधिको कारण मानिसहरुले आफुले दुख गरी कमाएको रकम सुरक्षित तरिकाबाट आफन्तकोमा पु¥याउन सक्ने भएका छन् । मेहनत गरी कमाएको आम्दानी परिवारले समयमा नै प्रयोग गर्न पाएका छन् । 
नेपालमा रेमिट्यान्स कम्पनीहरु स्थापना भएको धेरै समय भएको छैन । सुरुवातमा विदेशमा रहेका मानिसले नेपालमा रहेका आफन्तलाई पैसा पठाउँदा ड्राफ्ट बनाएर पठाउनु पथ्र्यो । ड्राफ्टलाई रकममा परिवर्तन गर्न लामो प्रक्रिया पुरा गर्नु पथ्र्यो । करिब एक महिनापछि मात्रै मानिसले नगद प्राप्त गर्दथे । 
२०४६ सालको परिवर्तन पछि नेपालमा आर्थिक गतिविधि शुरु भएको भयो । फलस्वरुप मानिसहरु पनि रोजगारीको लागि विदेश जान थाले । योसँगै रेमिट्यान्स कम्पनीको आवश्यक महसुस भयो । नेपालमा रेमिट्यान्स सेवाको शुरुवात वेस्टर्न युनियन मनी ट्रान्सफरले गरेको हो । तर, सन् २००१ पछि भने नेपालमा नै यस्ता कम्पनीहरु स्थापना हुन थाले । 
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा ५३ वटा रेमिट्यान्स कम्पनी सञ्चालित छन् । सबै कम्पनीहरुले अनलाईन सेवा सुरुवात गरेका छन् । जसले गर्दा विदेशमा दुख गरेर कमाएको रकम सहजै घरबाट पठाउन सक्ने भएको आईएमई प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेलले बताए । “पहिला मानिसहरुले दिनभरी कुरेपछि मात्रै भुक्तानी पाउँथे । 
प्रक्रिया झन्झटिलो थियो । ग्रामीण क्षेत्रमा रहेका मानिसहरुलाई अझै सास्ती थियो । तर, अहिले भने रेमिट्यान्स कम्पनीहरुले सुविधाजन्य आधुनिक प्रविधिको प्रयोग गर्न थालेको हुँदा तत्कालै भुक्तानी पाउन सक्ने भएका छन्,” उनले भने । त्यतिमात्रै नभएर शाखा कार्यालय नभएका कम्पनीहरुले पनि शाखा रहित बैंकिङ सेवा मार्फत भुक्तानी दिन थालेको उनले बताए । 
त्यस्तै अहिले कम्पनीहरुले विभिन्न खालका एप्लिकेसन, मोवाईल एटीएम, रेमिट कार्डको सञ्चालन गरेपछि सेवाग्राही थप लाभान्वित भएका छन्  । 
केही समयअघि केही कम्पनीहरुले रेमिट कार्ड प्रयोगमा ल्याएका थिए । कम्पनीहरुले सेवाग्राहीलाई भिजा कार्ड उपलब्ध गराएर रेमिट्यान्स रकम सहज भुक्तानी गर्ने प्रक्रिया पनि अगाडी बढाएका थिए । तर, प्राविधिक समस्या कारणले यसले निरन्रता पाउन सकेको छैन । तर, अहिले केही कम्पनीहरुले मोवाईल सेवा पनि उपलब्ध गराएका छन् । 
भारतमा रहेका मानिसले मोवाईलबाट नै नेपाल रहेका परिवारलाई रकम हस्तान्तरण गर्न सक्नेछन् । एभरेष्ट बैंक लगायतले यस्ता खालका सेवा सुचारु गरेका छन् भने अन्य कम्पनीले पनि यसको सुरुवात गरेका  गर्ने तयारी गरेका छन् । आईएमईले पनि यसको तयारी शुरु गरेको छ । 
आगामी केही समय नै मोवाईल रेमिट्यान्स सेवा सुचारु गर्ने योजना बनाएको कम्पनीले बताएको छ । यो सेवाले रेमिट्यान्स भुक्तानी प्रणाली अझै सहज र सरल बनाउने छ । यो सेवाबाट मानिसले आफुले बसेको स्थानबाट रकम पठाउन सक्नेछन् । त्यस्तै, प्राप्त गर्ने मानिसले पनि मोवाईलको माध्यमबाट नै रकम सेटलमेन्ट गर्न सक्नेछन् । 
रेमिट्यान्स कम्पनीहरुले सहज सुविधा प्रदान गरे पनि अझै पनि अनौपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स भित्रिएको जानकारहरु बताउँछन् । नेपाल भित्रने कुल रेमिट्यान्समध्ये ३० प्रतिशत रकम अझै पनि अनौपचारिक माध्यमबाट नेपाल भिœयाएको उनीहरुको भनाई छ । 
कोरिया लगायतका अन्य केही मुलुकमा नेपाल रेमिटया्न्स कम्पनीहरुले सेवा सञ्चालन गर्न नसक्दा अनौपचारिक माध्यमबाट नेपालमा रकम भित्रिंदै आएको छ । रेमिट्यान्स सेवा सञ्चालन भएका मुलुकबाट रकम पठाउँदा पनि अझै पनि हुण्डी लगायतका अनौपचारिक माध्यमको प्रयोग गरिएको पाईन्छ ।  
यसरी रकम पठाउँदा केही फाइदा भए पनि बास्तविक रुपमा अत्यन्तै जोखिम हुने जानकारहरु बताउँछन् । यस्ता अनौपचारिक माध्यम गैरकानुनी भएकाले मानिसहरुले ठग्न सक्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक