दुईतिहाइ निक्षेप काठमाडौंकै


कर्जा भने ५२.६१ प्रतिशत

काठमाडौंः बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.०९ प्रतिशत र कर्जामा ५२.६१ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार अघिल्लो वर्षको तुलनामा निक्षेपको हिस्सा करिब एक प्रतिशतले घटेको छ भने कर्जा दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्ष कुल निक्षेपमा काठमाडौंको हिस्सा ६९.३ र कर्जामा ५४.७ प्रतिशत थियो । 
राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा शाखा खोल्नको लागि काठमाडौंबाहिर प्रोत्साहन गर्ने नीति लिइएको कारण निक्षेप र कर्जामा काठमाडौं बाहिरको हिस्सा केही बढ्दै गएको बताउँछन् । “सडक सञ्जालका कारण काठमाडौं बाहिर पनि आर्थिक गतिविधिहरू बढ्दै गएका छन्,” थापा भन्छन्, “जसका कारण केही मात्रामा भए पनि वित्तीय क्षेत्रमा काठमाडौंबाहिरको हिस्सा बढ्दै गएको छ ।”
राष्ट्र बैंकले गत आर्थिक वर्ष (०७२/७३) मा काठमाडौंसहित विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीलाई आधार बनाएर ४७ जिल्लाको समग्र आर्थिक स्थितिको अध्ययन गरेको थियो । जसअनुसार आर्थिक वर्ष ०७२/७३ असार मसान्तमा भएको १९ खर्ब ६२ अर्ब निक्षेपको आधारमा क्षेत्रगत हिस्सा निकालिएको हो । 
काठमाडौंपछि सबैभन्दा बढी निक्षेप हुने क्षेत्रमा पोखरा ७.६३ प्रतिशतको आधारले दोस्रो स्थानमा छ । तर, कर्जामा भने काठमाडौंपछि वीरगन्ज दोस्रोे स्थानमा छ । विरगन्ज क्षेत्रले कुल कर्जामा ११.२५ प्रतिशत लिएको देखिन्छ । विरगन्ज क्षेत्रमा उद्योगहरू बढी हुने भएकोले कर्र्जा बढी प्रयोग हुने गरेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह रेमिट्यान्सका कारण वित्तीय क्षेत्रमा काठमाडौं बाहिरको हिस्सा केही बढ्दै गएको बताउँछन् । “निक्षेप र कर्जामा अहिले पनि काठमाडौंको हिस्सा बढी छ,” शाह भन्छन्, “रेमिट्यान्स बढी जाने हुँदा आर्थिक गतिविधि बढेकाले निक्षेप र कर्जामा काठमाडौंबाहिरको हिस्सा केही बढ्दै गएको देखिन्छ ।”
वित्तीय क्षेत्रमा निक्षेप र कर्जाको आधारले सबैभन्दा कमजोर क्षेत्र भने धनगढी छ । धनगढीको निक्षेपमा हिस्सा १.६३ प्रतिशत छ भने कर्जामा २.७१ प्रतिशत छ । अध्ययनमा समेटिएका ४७ जिल्लामा वाणिज्य बैंकका १ हजार ७ सय ११ शाखा, विकास बैंकका ७ सय ९८ तथा वित्त कम्पनीका १ सय ७१ शाखा छन् । यस्तै लघुवित्तका १ हजार ४१ शाखा रहेको राष्ट्र बैंकले जनाएको छ । जसमा काठमाडौंमा क्षेत्रमा सबैभन्दा बढी १ हजार ५१ वटा शाखा तथा धनगढी क्षेत्रमा १ सय ९० शाखा सञ्चालनमा छन् । 
नाकाबन्दीले उद्योगको क्षमता उपयोग घट्यो 
अघिल्लो वर्ष भारतले लगाएको नाकाबन्दीका कारण उद्योगहरूको क्षमता उपयोग घटेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७२/७३ को आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनमा कुल उद्योगको जम्मा ४८.२ प्रतिशत मात्रै क्षमता उपयोग भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा उद्योगहरूले कुल क्षमताको ५२.७ प्रतिशत क्षमता प्रयोग गरेका थिए । 
नाकाबन्दीका कारण कच्चा पदार्थ आयातमा भएको समस्या तथा उद्योगहरू चल्न नसकेको कारण उद्योगहरूको क्षमता घटेको हो । “लामो अवधिसम्म जारी बन्द हड्ताल तथा सीमा अवरोधका कारण अत्यावश्यक इन्धन एवं कच्चा पदार्थको आपूर्ति प्रभावित भएका कारण उद्योगहरूको क्षमता उपयोगमा ह्रास आएको हो । 
त्यसैगरी, भूकम्पबाट केही उद्योग प्रतिष्ठानहरूमा समेत क्षति पुग्नुको साथै भूकम्पपश्चात्का दिनहरूमा आमसर्वसाधारणले अत्यावश्यक वस्तुहरूबाहेक अन्य उत्पादनहरू खरिद गर्नमा कम रुचि देखाएका कारण समेत समग्र मागमा कमी आई उद्योगहरूको क्षमता उपयोगमा प्रभाव परेका हो,” राष्ट्र बैंकले आफ्नो अध्ययनमा भनेको छ । 
गत वर्ष सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरूमा पश्मिना उद्योग (८८ प्रतिशत), चाउचाउ उद्योग (८३.३० प्रतिशत) र बिजुलीको तार उत्पादन गर्ने उद्योग (७२.५६ प्रतिशत) छन् । त्यसैगरी, सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगहरूमा चामल उद्योग (१३.६ प्रतिशत), फलामको रड उत्पादन गर्ने उद्योग (१९.८२ प्रतिशत) र हल्का पेय पदार्थ उत्पादन गर्ने उद्योग (२३.१६ प्रतिशत) छन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक