तयारी पोसाकलाई अमेरिकामा भन्सार छुटको बाटो खुल्यो

निरु अर्याल
काठमाडौंः अमेरिकाले १० वर्षका लागि नेपाली तयारी पोसाकका ६६ वस्तुमा दिने भन्सार छुटको सुविधा पूर्ण कार्यान्वयन गर्ने भएको छ । 
गत साता विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को बैठकले सुविधा दिने प्रावधानलाई पास गरेपछि घोषणा भएको १ वर्षपछि कार्यान्वयनमा आएको हो । 
योसँगै अमेरिकाले दिएको सुविधा उपभोग गर्न अब नेपाली उद्योगीलाई कुनै अवरोध हुने छैन । यसअघि अमेरिकी सिनेटले नेपाल डब्ल्यूटीओको सदस्य राष्ट्र भएकाले उसको स्वीकृति आवश्यक रहेको र प्रक्रिया पुर्‍याएर सुविधा उपभोग गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो । 

व्यापार रणनीतिअनुसार कुनै विकसित मुलुकले कम विकसित मुलुकलाई दिएको सुविधा उपभोग गर्न डब्ल्यूटीओमा सूचीकृत हुनुपर्ने प्रावधान छ । अमेरिका नेपाली तयारी पोसाकको प्रमुख गन्तव्य मानिन्छ । 
वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले भन्सार सुविधा पाएका वस्तुले निर्वाधरूपमा अमेरिकी बजारमा प्रवेश गर्न सक्ने बताए । 
उनका अनुसार गत बिहीबार (डिसेम्बर ८, २०१६) डब्ल्यूटीओले उक्त सुविधा अनुमोदन गरेर अमेरिकी राष्ट्रपति समक्ष पठाइएको छ । 
नेपाल डब्ल्यूटीओको सदस्य राष्ट्र भएकाले डब्ल्यूटीओको उपस्थिति अनिवार्य जस्तै मानिन्छ । ज्ञवालीले भने “डब्ल्यूटीओको बैठकले पास गरेको छ अब निर्वाध रूपमा नेपाली वस्तुले अमेरिका प्रवेश गर्न पाउने छन् ।”
गत वर्षको डिसेम्बरमा अमेरिकी राष्ट्रपति बाराक ओवामाले सिनेट र कंग्रेस दुवै सदनले पारित गरेको नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयकलाई सदर गर्दै हस्ताक्षर गरेका थिए । 
अमेरिकाले भन्सार छुटको सुविधा घोषणा गरेको सूचीमा गलैंचा, टोपी, च्यादर, गलबन्दी, पश्मिनालगायत छन् । यस्तै ह्याण्डब्याग, लगेज, सुटकेश, ट्राभल्स ब्लांकेटसहित पकेट गुड्स गरी ६६ वस्तुले भन्सार सुविधा पाउने छन् । यीमध्ये २७ वस्तुलाई अमेरिकाले नेपालसहित अन्य मुलुकलाई पनि जीएसपी सुविधा दिएको छ ।  
अमेरिकाले भन्सार छुटको सुविधा घोषणा गरेको सूचीमा गलैंचा, टोपी, च्यादर, गलबन्दी, पश्मिनालगायत वस्तु छन् ।
“अमेरिकाले नेपाली उद्योगीलाई दिएको सुबिधा नेपालीले उपभोग नगर्ने हुन् कि भन्ने उनीहरूलाई चिन्ता छ, जिएसपी सुबिधाले नेपाललाई खासै फरक पर्दैैन,” नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले भने । 
उनले नेपालले निर्यात बढाउन चाहने हो र आन्तरिक रूपमै अग्रसरता देखाउन सकेमा पुरानै अवस्थामा फर्किन सक्ने दाबी गरे । 
“सन् १९८० मा सुरु भएर २००५ मा ‘मल्टी फाइवर एग्रिमेन्ट टर्मिनेट’ पछि खस्किको नेपाली तयारी पोसाक व्यवसाय पुनः सन् २००२ भन्दा अगाडिको अवस्थामा फर्किने सक्छ,” उनले भने, “त्यसका लागि नेपाल सरकारले आवश्यक वातावरण तयार गर्नुपर्छ ।” 
नेपालमा उत्पादन हुने निकासीजन्य वस्तुको लागत खर्च उच्च हुँदा नेपाली वस्तुले अन्य मुलुकसँग प्रतिस्पर्धी बन्न सकेका छैनन् ।  यसका साथै कच्चा पदार्थको अभाव, अनुकूल वातावरण नहुदा समयमै डेलिभरी गर्न कठिन छ ।  
“अमेरिकी सरकारले दिएको यो सुबिधा हाम्रा लागि निकै राम्रो हो, सरकारले पनि निश्चित समयका लागि प्याकेजको सुबिधा दिन सके नेपाली तयारी पोसाक केही वर्षभित्रै पहिलेको अवस्थामा फर्किन सक्छ,” अर्यालले भने । 
अमेरिकी सरकारले यसअघि नै नेपाली हस्तकलाका सामान (पस्मिना, फेल्ट, चाँदीका गहना, ऊनीका उत्पादन, घरेलु उद्योगका सामान)लाई जीएसपी सुविधाअन्तर्गत कर छुट प्रदान गरिसकेको छ । 
नयाँ व्यवस्थाबाट अमेरिकामा मात्रै ठूलो मात्रामा तयारी पोसाकलगायत अन्य सामग्री निर्यात गर्न सक्ने बाटो खुलेको संघको भनाइ छ ।  
संघका अनुसार  अमेरिकाले प्रदान गर्दै आएको कोटा २००१ मा हटाएपछि नेपालका उद्योग थलिएका थिए । लाखौंको संख्यामा रहेका कामदार केही हजारमा सीमित भएका छन् ।
पूर्ववाणिज्य सचिव तथा व्यापारविज्ञ पुरुषोत्तम ओझाले यो सुविधालाई कार्यान्वयन गर्न तत्काल पहल गर्नुपर्ने बताए । उनका अनुसार तयारी पोसाकको व्यापार र विस्तार गर्न सरकारले विशेष योजना ल्याउनुपर्छ ।
“निश्चित समयसम्म मात्रै लागू हुने गरी सुविधा र सहजीकरणको बाटो आवश्यक हुन्छ,” उनले भने, “नेपाल सरकारले अन्तरराष्ट्रिय व्यापारको कूटनीति पनि अपनाउनुपर्ने देखिन्छ ।” संघको तथ्यांकअनुसार गत आवको अन्त्यसम्म नेपालबाट ५ अर्ब ८८ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक