हिमाल आइरनका ५५ वर्ष

काठमाडौं:
 आगलागीका कारण परिवार ऋणको बोझले थिचिएका थियो । व्यापार तहसनहस भएको थियो । कलिलै उमेर (१५ वर्ष) मा छोरा मणिहर्ष ज्योति बावु भाजुरत्नको ऋण चुक्ता गराउन तम्सिए, कोलकातातिर हान्निएका तिनै मणिहर्षले ५५ वर्षअघि नेपालमा पहिलोपटक फलामे डन्डीको उत्पादन थालेका थिए । डन्डीको प्रयोग नगरी घर बनाउने बेलामा उनले उत्पादन थालेका थिए । अहिले थुप्रै उद्योग सञ्चालनमा छन्, तिनको उत्पादन क्षमता घरेलु मागको दोब्बरजति छ । केलटोलका कंसाकार भाजुरत्न काठमाडौंमा नाम चलेकै साहू थिए ।
कपडाको व्यापार थियो । तर, पसलमा आगलागी भएपछि व्यवहार बिग्रियो, ऋण लाग्यो । तनावमा रहेको परिवारलाई ऋणमुक्त गर्न कोलकाता गएका मणिहर्षले त्यहाँ नेपाली साहूका घरमा भान्छे काम गरेर पढ्न थाले । त्यो बेला काठमाडौंका ठूला साहूको कोलकातामा कोठी थियो । ल्हासा-कोलकाता पनि व्यापार हुन्थ्यो, यो रुटको एउटा बेस कालिम्पोङ थियो । भाजुरत्नचाहिँ व्यापार गर्न ल्हासातिर लागे । काठमाडौंका नेवार परिवारको व्यापार गर्ने केन्द्र ल्हासा थियो । चीनले चढाइ गर्नु अघिसम्म ल्हासाको व्यापारमा काठमाडौंका नेवार साहूजीको दबदबा थियो ।
पढाइ सिध्याएपछि मणिहर्षले कोलकाता बन्दरगाहमा क्लियरिङको काम सुरु गरे । क्लियरिङको काममा यति सफल भए, उनी सयौंलाई रोजगारी दिन सक्ने भए । स्वतन्त्रतापछि भारत सरकारले भिलाइमा आइरन उत्पादनको ठूलो उद्योग स्थापना गर्‌यो । त्यो उद्योगलाई चाहिने आइरन इंगट (फलामे ढुंगा) आपूर्तिको ठेक्का मणिहर्षले पाए । सप्लायर भएको हुँदा भारतका तत्कालीन राष्ट्रपति डा. राजेन्द्रप्रसादले गरेको प्लान्टको उद्घाटनमा ज्योति परिवार आमन्त्रित थियो । आफूसमेत उद्घाटन कार्यक्रममा गएको बाल्यकालको धूमिल सम्झना मणिहर्षका छोरा पद्य ज्योतिलाई अझै छ । मणिहर्ष व्यापारमा चम्किए, काठमाडौंमा साहूजीको ऋण चुक्ता गरेर परिवारलाई ऋणमुक्त बनाए ।
व्यापारमा चम्किएपछि कोलकातामा मणिहर्षको कोलकाता निवासी नेपालीको जमघट हुने एउटा केन्द्र बनेको थियो । निर्वासित नेता, भिक्षु, कोलकाता पुग्ने नेपाली धेरै उनको सम्पर्कमा थिए । बीपी कोइरालालगायतले उनलाई स्वदेशमै उद्योग, व्यापार गर्न उक्साउँथे । इन्डियामा इंगोट सप्लाइ गर्ने भएकाले उनलाई आइरन उद्योगको आइडिया थियो । त्यो बेला घर बनाउँदा डन्डी प्रयोग गर्ने चलन थिएन । धनीमानीले इँटामा सुर्की/चुनाको जोडाइमा घर बनाउँथे । सरकारी भवन पनि यसरी नै बनाइन्थ्यो । सामान्यले काँचो इँटामा माटोको जोडाइ गर्थे ।
ज्योति परिवार बस्ने जमलको घर पनि डन्डी प्रयोग नगरी बनाइएको थियो । पद्य ज्योति बस्ने त्यो घर अहिले पनि पुरानै संरचनामा छ, सुर्की/चुनाको जोडाइमा बनेको । तैपनि डन्डी उत्पादन हुन थालेपछि क्रमशः डन्डीको प्रयोग हुनेमा उनी विश्वस्त थिए । किनकी भारतमै पनि घर निर्माणमा डन्डी प्रयोग हुन थालिसकेको थियो । मणिहर्ष कोलकाता छँदा भीमबहादुर पाँडे (सरदार) सँग दोस्ती भएको थियो, हिमाल आइरनमा उनले पनि थोरै लगानी गरे । ध्रुवभक्त माथेमा (केदारभक्त माथेमाका बुवा) को पनि थोरै सेयर रह्यो ।
हिमाल आइरन २०१८ सालमा दर्ता भयो । पद्य ज्योतिका अनुसार निर्माण कार्य त्यसअघि नै सुरु भइसकेको थियो । उद्योग स्थापना गर्न बाराको परवानीपुरमा जग्गा खरिद गरिएको थियो । परवानीपुर त्यतिबेला निर्जन ठाउँ थियो । परवानीपुरबाट दक्षिणमा एकैचोटी वीरगन्जमा वस्ती थियो, सिमरासम्म कुनै उद्योग थिएनन् । आयात निर्यातको नाका वीरगन्ज नजिक पर्नुका साथै रक्सोल- अमलेखगन्ज रेल चल्ने भएकाले उनले परवानीपुरलाई उद्योगका लागि सही ठाउँ ठहर्‌याएका थिए । तर, उद्योग चलाउन बिजुलीसम्म थिएन ।
उद्योग चलाउन पानी जहाज चलाउने पाँच सय हर्सपावरको जेनरेटर ल्याइएको थियो । जापानबाट मेसिनरी ल्याई उद्योग तयार बनाइयो । तर, ट्रायल उत्पादन गर्ने बेला बिपद आयो । हावाहुरीले उद्योगको संरचना नै भत्कायो । धन्न मुख्य मेसिनमा क्षति पुगेको थिएन । पद्य ज्योतिका अनुसार बैंकले थप ऋण दिए, साँवा ब्याज तिर्न पुनर्तालिकीकरण गर्दिए । मणिहर्ष ज्योतिले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरे ।
उत्पादन सुरु भएपछि पनि अवस्था सजिलो थिएन । भारुसँग नेरुको अवमूल्यन भयो, उत्पादन लागत बढ्यो । घर निर्माणमा डन्डी प्रयोग गर्नुपर्छ भन्ने चेतना नै उपभोक्तामा थिएन । हिमाल आइरनको प्लान्ट निर्माण गर्दा क्वाटर निर्माण गर्दा पनि छड प्रयोग भएको थिएन । उत्पादन सुरु भएको आठ वर्षसम्म हिमाल आइरन गाह्रो अवस्थाबाट गुज्रिएको पद्य ज्योति बताउँछन् । घर निर्माणमा गर्ने इन्जिनियर उत्पादन हुँदै थिए । तिनले डन्डी प्रयोग गरेर घर बनाउन पर्छ भनेर परामर्श दिन थाले क्रमशः डन्डीको माग बढ्न थाल्यो ।
स्थापनाकालदेखि नै हिमाल आइरन पद्य ज्योतिको घरजस्तै भयो । पढ्दै गर्दा बिदामा काठमाडौं आउँदा भारत फर्किंदा उनी परवानीपुरमै केही दिन बिताउँथे । इन्जिनियरिङको पढाइ सकेर २०२६ सालमा फर्किएपछि त बुवाले उनलाई फ्याक्ट्री चलाउन ढुक्कै परवानीपुरमा राख्दिए । परवानीपुरमा बिजुली, टेलिफोन थिएन । टेलिफोन गर्न रक्सोल पुग्न पथ्र्यो । कच्चा पदार्थ ढिलो भयो, मर्मत गर्न मिस्त्री बोलाउन पर्‌यो-टेलिफोन गर्न रक्सोल पुग्न पथ्र्यो,' पद्य ज्योति सम्झिन्छन्, 'रक्सोलमा घुमाउने फोन थियो ।' गर्मी महिनामा क्वाटरको छतमा झूल हालेर सुत्न पथ्र्यो ।
२०२८ सालमा बिवाह भएपछि भोजको पर्सिपल्टै पद्य ज्योतिलाई मणिहर्षले परवानीपुर पठाएका थिए । एक वर्षपछि व्यवस्थापनमा मास्टर्स गर्न उनी अमेरिकाको एमआईटी गए, एक वर्षमा पढाइ सक्काएर फ्याक्ट्री मै खटिए ।
डन्डी उत्पादनको प्रविधि अहिले जस्तो स्वचालित हुने कुरै भएन । हरेक चरणमा मजदुरको काम हुन्थ्यो । भट्टीमा बिलेट हाल्यो, डन्डी निक्लेपछि मजदुरले चिम्टाले अर्को मेसिनमा राख्यो । यसरी डन्डी उत्पादन हुन्थ्यो ।
२०४५/४६ सालतिर बल्ल उत्पादनको आधुनिकीकरण भयो । स्वचालित मेसिनबाट डन्डी उत्पादन हुन थाल्यो । यसअघि बुट्टा नभएको सपाट डन्डी उत्पादन हुन्थ्यो । अहिले मेसिनको बटन थिचेको भरमा डन्डी उत्पादन हुन्छ । आधुनिकीकरणपछि बुट्टेदार डन्डी उत्पादन हुन थाल्यो, यस्तो प्रविधिले डन्डीको 'स्ट्रेन्थ' ६० प्रतिशतले बढ्यो । टरस्टिलपछि टीएमटी प्रविधि भित्रिसकेको छ । तैपनि पद्य ज्योति टीएमटीभन्दा टरस्टिल ठीक ठहर्‌याउँछन् ।
टरस्टिलमा डन्डी निस्केपछि फेरि घुमाउन (ट्विस्ट गर्न) पर्छ । यदि डन्डी कच्चा छ भने ट्विस्ट गर्दा ठनक्क भाँचिन्छ । टीएमटीमा डन्डी निस्केपछि पानीको प्रेसर दिएर तापक्रम झारिन्छ, यसरी स्ट्रेन्थ बढाउने काम हुन्छ । तर, पानीको प्रेसर कस्तो थियो, स्ट्रेन्थ पुग्यो/पुगेन अन्योल हुन्छ । स्ट्रेन्थ नपुगेको डन्डी पनि उपभोक्तासम्म पुग्ने खतरा हुन्छ । यसैले कम्पनीको विश्वासमा डन्डी प्रयोग गर्नुपर्छ, टरस्टिलजस्तो कडा परीक्षणबाट गुज्रिएको हुन्न ।
तर, टरस्टिल लामो/महँगो प्रविधि भएकाले संसारभरि टीएमटी प्रचलित छ । बरु, परीक्षण ल्याब राखेर टीएमटी उत्पादन गरिन्छ । काठमाडौंमा बलियो घर बनाउन चाहनेका लागि इन्जिनियरले सिफारिस गर्ने भएकाले हिमाल आइरनले टीएमटीका साथै टरस्टिलको उत्पादन जारी राखेको छ तर उत्पादनको ३० प्रतिशतमात्र टरस्टिल उत्पादन हुन्छ ।
सरकारी र निजी क्षेत्रबाट ठूलाठूला पूर्वाधार निर्माण भइरहेका छन्, डन्डीलगायतका निर्माण सामग्रीको बजार फराकिलो भएको छ । पद्य ज्योतिले सम्झेसम्म हिमाल आइरन स्थापनाको दुई दशकसम्म दोस्रो रोलिङ मिल स्थापना भएको थिएन । विराटनगरमा एभरेस्ट रोलिङ मिल स्थापना भएपछि बल्ल हिमाल आइरनले प्रतिस्पर्धी पायो । त्यसपछि पञ्चकन्या, कमला स्टिल, अशोक स्टिल स्थापना भयो । त्यतिन्जेलसम्म पानी जहाजको जेनरेटरबाट डन्डी उत्पादन गर्नुपर्ने अवस्था थिएन, उद्योगले बिजुली पाउन थालिसकेका थिए ।
ठूलाठूला लगानीका रोलिङ मिल स्थापना भएका छन् । बिक्रीको आधारमा हिमाल आइरन पहिलो नम्बरमा छैन । तैपनि गुणस्तरका साथै स्वच्छ कारोबारमा हिमाल आइरनले सम्झौत नगरेको पद्य ज्योति सुनाउँछन् । डन्डी बनाउने कच्चा पदार्थ (एमएस बिलेट) मा हिमाल आइरनले सम्झौता गरेन, प्राइम बिलेटमात्र प्रयोग गर्‌यो । सुरुमा प्राइम बिलेटको स्रोत भिलाइको स्टिल प्लान्ट थियो, पछि टाटाले पनि उत्पादन थाल्यो ।
दक्षिण कोरियाबाट पनि बिलेट आयात गर्‌यो । पछिल्लो समय चीन पनि बिलेटको स्रोत भएको छ । वजनमा तलमाथि नहोस् भनेर प्राइस ट्याग लगाइएको छ । आधिकारिक बिक्रेताबाहेकले हिमाल आइरन बेच्न पाउँदैनन् । हिमाल आइरनको उत्पादन बेच्दा उत्पादक कम्पनीले दिएको बिल काट्नुपर्छ । यसरी कारोबार गर्दा हिसाब किताबमा पनि लागत बढ्छ । 'तैपनि ग्राहकको सन्तुष्टि र राजस्वमा तलमाथि नहोस भनेर गरिरहेका छौं', पद्य ज्योति सुनाउँछन् । हिमाल आइरन २०१८ सालमा दर्ता भयो । निर्माण कार्य त्यसअघि नै सुरु भइसकेको थियो ।
(अन्नपुर्ण पोष्टबाट साभार गरिएको)

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर