ब्राण्ड खोज्दै स्वदेशी जुत्ता


निरु अर्याल
एक दशक अघिसम्म नेपाली जुत्ता भन्नेबित्तिकै आम मानिसमा नाक खुम्च्याउने प्रवृत्ति थियो । अहिले भने स्वदेशी जुत्तामा आर्कषण निकै बढेर गएको छ । स्वदेशी उत्पादनले सुलभ मूल्यमा गुणस्तरीय जुत्ता लगाउने उपभोक्ताको चाहना मात्र पूरा भएको छैन, मुलुकको अर्थतन्त्रमा आयात प्रतिस्थापन गरेर योगदान गर्नसमेत यो क्षेत्र सफल भएको छ ।
 बि.सं. २०२२ मा बाँसबारी छालाजुत्ता कारखाना स्थापना भएसंगै सुरु भएको नेपाली छाला जुत्ता उद्योगको ब्यवसायीक क्षेत्र यतिबेला ब्यवसायमा मात्रै सिमित छैन स्वदेशी उत्पादनलाई बढावा दिन र आत्म निर्भरताको बाटो तर्फ मोडिएको छ ।  त्यति मात्रै होईन, लगानीमैत्री वातावररणको अभाव देखाउदै मुलुकका प्रतिष्ठीत उद्योग र व्यावसायिक प्रतिष्ठानहरू बन्द तथा धराशायी हुँदै गइरहेका बेला जुत्ताको व्यवसाय भने फस्टाउँदै गएको छ ।
केही वर्ष अघिसम्म विदेशी जुत्ताको वर्चस्व रहेको नेपाली जुत्ताले बजारको ६५ प्रतिशत हिस्सा ओगटको व्यवसायीको दाबी छ । स्वदेशी ब्रान्डका जुत्ता–चप्पलले नेपाली बजारमा आफ्नो हिस्सा बढाउँदे गइरहेका छन् । भने आयातीत बजार ओरालो लाग्दै छ  । बर्सेनि १५ देखि २० प्रतिशतले स्वदेशी उद्योेगको बजार बढिरहेको छ । सोही अनुपातमा निर्यातको संभावना पनि त्यतिकै छ रहेको सम्बद्ध ब्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार स्वदेशी उद्योगमै प्रतिस्पर्धा समेत शुरु भएको छ ।  “प्रत्येक वर्ष १५ देखि २० प्रतिशतले बजार हिस्सा बढेको छ,” नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका निबर्तमान अध्यक्ष होमनाथ उपाध्याय भन्छन्, “पछिल्लो समय विदेशी उद्योगसँग भन्दा स्वदेशी उद्योग उत्पादनसँगै प्रतिस्पर्धा सुरु भएको छ ।”
पछिल्लो दशकमा फस्टाउँदै गएको स्वदेशी छाला जुत्ता उद्योगमा करिब ३० अर्ब रुपैयाँबराबरको लगानी भइसकेको छ । स्वदेशी जुत्तामा उपभोक्ताको आर्कषण बढ्दै जान थालेपछि यस व्यवसायमा लाग्नेहरूको संख्या पनि बढ्दै गएको पाइन्छ । अहिले नेपालमा ठूला साना गरी ५ सयभन्दा बढी व्यवसायीले जुत्ता–चप्पल उत्पादन गर्दै आएका छन् ।  नेपालमा अहिले खासगरी स्पोट्र्स, क्याजुअल, स्यान्डल, स्कुल–कलेजका जुत्ता, पार्टी सुज, बुट उत्पादन हुँदै आएका छन् । नेपाल छालाजुत्ता तथा बस्तु उत्पादक संघका अनुसार यो क्षेत्रमा रोजगारी पाउनेमा महिलाको संख्या उल्लेख्य छ भने यस क्षेत्रमा काम गर्ने मजदुरले मासिक न्यूनतम १८ हजार आम्दानी गर्दछन् । वैदेशिक रोजगारीमा जानेहरुका लागि पनि यो क्षेत्रको सीप र अनुभव उपयोगी हुने ब्यवसायीको दाबी छ । यद्यपि यो ब्यवसायमा ठूला कर्पोरेट घरानाको लगानी नरहे पनि मुलुकको अर्थतन्त्रलाई पु¥याएको लगानी उल्लेख्य छ ।  स्पोटर््स, क्याजुअल, बच्चाहरूले लगाउने साना फेन्सी टाइपका जुत्ता–चप्पलहरू, लेडिज जुत्ता तथा स्यान्डलहरू अझै पनि ठूलो मात्रामा विदेशबाट आयात हुने गरेको छ । नेपाली व्यवसायीहरूले अझै पनि लेडिज आइटममा त्यति चासो दिएको पाइँदैन । एकाध व्यवसायी बाहेक अधिकांशले जेन्स आइटमका जुत्ता तथा चप्पलहरू उत्पादन गरिरहेको पाइन्छ, जसको कारण लेडिज आइटमका जुत्ता, चप्पल र स्यान्डल विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ ।
नेपालमा अहिले वार्षिक  ५ करोड जोर जुत्ता–चप्पलको माग रहेको छ, जसमध्ये ३ करोड जोर जुत्ता–चप्पल स्वदेशमै उत्पादन हुने गर्छन् । यी बाहेक स्कुल–कलेजका युनिफर्म जुत्तामा शतप्रतिशत पूरा गर्न भने सफल भएको स्वयं व्यवसायीहरू नै बताउँछन् । त्यस्तै, कर्मचारीले लगाउने काला युनिफर्मका जुत्ताको मागको ७० प्रतिशतभन्दा बढी हिस्सा स्वदेशी उत्पादनले थेगेको छ ।  नेपली जुत्ता–चप्पल राम्रा र गुणस्तरीय भए पनि अझै उपभोक्तामा बानी बसाल्न नसकिएको जुत्ता व्यवसायीहरू स्वीकार्छन् । “हामीले प्राइस, क्वालिटी र ब्रान्डलाई ध्यान दिने हो, अझै पनि उपभोक्ताको मन जित्न सकिएको छैन,” कोसेली जुत्ताका प्रबन्ध निर्देशक रबिनकुमार श्रेष्ठ भन्छन् । विदेशी जुत्ता कमजोर भए पनि नेपालीहरू तिनै जुत्ता खोजी–खोजी लगाउनु भनेको उनीहरूको नेपाली जुत्ताप्रतिको अविश्वास हो । विदेशमा गएर किनमेल गर्ने कतिपय उपभोक्ताहरू अहिलेसम्म स्वदेशी जुत्ता लगाएकै छैनन् । एक पटक स्वदेशमा बनेका जुत्ता लगाउने ग्राहकहरूले भने स्वदेशी जुत्ता खोजी खोजी लगाउने गरेको संघका पुर्ब अध्यक्ष विरमणि बज्राचार्यको बुझाइ छ । पछिल्लो समय व्यवसायीहरू जुत्ताको ब्रान्डिङमा समेत गइसकेका छन् । जसले व्यवसायीलाई प्रतिस्पर्धामा जान सहज हुने व्यवसायीको धारणा छ । व्यवसायीले आफ्ना जुत्ताको गुणस्तर कायम राख्नका लागि नेपाली जुत्ताको सामूहिक व्यापार चिन्न प्रयोगमा ल्याएका छन् । जसले नेपाली जुत्ताको लोकप्रियता बढ्दै गएको छ । त्यसो त नेपाली जुत्ता उद्योगमा चुनौती भने नभएको होइन । स्वदेशी जुत्ता भनिए पनि ८० प्रतिशत कच्चापदार्थ विदेशबाट आयात हुन्छ । त्यसमध्येको ८० प्रतिशत हिस्सा छिमेकी मुलुक चीनले लिएको छ ।  नेपाललाई जुत्तामा आत्मनिर्भर बनाउन कच्चापदार्थमा भन्सार दर घटाउन सकेमा नेपाल छाला जुत्तामा आत्मनिर्भर हुने निश्चित छ । त्यति मात्र होईन, स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर सरकारले प्रयोगशाला, जनशक्ति बिकास केन्द्र र कच्चा पदार्थको प्रयाप्तता उपलब्ध गराउन सकेमा नेपाल जुत्ताको निर्यात गर्न र बिदेशी मुद्रा आर्जन गर्न सहजै सकिन्छ । उद्योगको पूर्वाधार तथा गुणस्तरमा विकास गर्ने, उपभोक्ताको मन जित्नुपर्ने, परिवर्तित मागलाई ध्यान दिन सके नेपाल छिट्टै जुत्तामा आत्ननिर्भर बन्न सक्छ, साथै सरकारले जुत्ता व्यवसायलाई प्रोत्साहन गर्ने खालका सेवासुविधाहरू ल्याउनु सकेमा यो ब्यवसायले मुलुकको अर्थतन्त्रमा थप योगदान गर्न सक्ने निश्चित छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक