साना र मझौला उद्योग महिलाले धानेका छन्


सरोजनी शेरचन
 प्रबन्ध निर्देशक, थिम्स इन्टरनेसनल कलेज निर्देशक,
 नेपाल पेपर क्राफ्ट,

माही इन्टरप्राइजेज मुस्ताङको टुक्चे गाउँबाट अध्ययनका लागि राजधानी छिरेकी ६० वर्षीया सरोजनी शेरचन अहिले औंलामा गनिने सफल उद्यमीका रूपमा परिचित छिन् । २० वर्षे गृहिणी जीवनपछि उद्यमशिलतामा प्रवेश गरेकी शेरचनसँग करिब २० वर्षको व्यावसायिक अनुभव छ । राजधानीको सेन्ट मेरिजबाट स्कुले जीवन पार गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गरेकी छन् । थिम्स इन्टरनेसनल कलेजकी प्रबन्ध निर्देशक रहेकी शेरचन नेपाल पेपर क्राफ्ट र माही इन्टरप्राइजेजकी सञ्चालकसमेत हुन् । महिला उद्यमी संघ हँुदै महिला उद्यमी महासंघमा प्रवेश गरेकी शेरचन विन कोअपरेटिभलगायत दर्जनौं संघ–संस्थामा आबद्ध रहेको बताउँछिन् । सम्पत्तिको अधिकारमा महिलाको पहुँच नपुग्दा नेपालमा महिलाहरूले आफ्नो क्षमता देखाउन नसकेको बताउने शेरचन स्पष्ट वक्ता र सफल महिला उद्यमीका रूपमा चिनिन्छिन् । महिला उद्यमी महासंघले पहिलोपटक आयोजना गरेको अन्तर्राष्ट्रिय मेलाकी संयोजकसमेत हुन् शेरचन । प्रस्तुत छ, अन्तर्राष्ट्रिय महिला उद्यमी मेलाको अवसर पारेर संयोजक शेरचनसँग नेपालमा महिला उद्यमशिलताको समग्र अवस्थाबारे कारोबारकर्मी निरु अर्यालले गरेको कुराकानी 

पहिलेपटक महिला उद्यमी महासंघले अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरेको छ । यसको तयारी कहाँ पुगेको छ ?
महिलाद्वारा उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यसहित महिला उद्यमी महासंघले पहिलो पटक अन्तर्राष्ट्रिय मेलाको आयोजना गरेको हो, जहाँ महिलाद्वारा उत्पादित वस्तुको प्रदर्शनी हुनेछ । प्रदर्शनीको पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम राखेका छौं । प्रदर्शनी ३ दिनसम्म चल्नेछ । प्रदर्शनीमा ७५ वटा व्यापारिक स्टल रहनेछन् । २ सय उद्यमीको सहभागिता रहन्छ । हामीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरेका हौं । सबैजसो तयारी पूरा भएको छ ।
मेलाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
देशको अवस्था जर्जर छ । यसअघि नै हामीले महिला उद्यमी मेला गर्ने भनेका थियौं । तर, लागत खर्च उच्च भएकोले हामीले गत वर्ष मेलाको आयोजना गर्न सकेनौं । भृकुटीमण्डप हाम्रो लागि ज्यादै बृहत् भयो । लगानीका हिसाबले पनि हामी नसक्ने भएपछि आर्मी अफिसर्समा गर्न लागेका हौं । नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हुन लागेको मेला ३ दिनसम्म चल्नेछ । त्यसका लागि महासंघले भोलेन्टियर रूपमा सेवा दिनेछ । सामानहरूको सुरक्षाको प्रबन्ध नेपाल सरकारले नै गर्नेछ । मेलाका लागि महिलासँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हामीले मेलालाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न चाहेका छौं ।
मेला अवधिभर के कस्ता कार्यक्रम हुनेछन् ? मेलाबाट के अपेक्षा गर्न सकिन्छ ?
मेलाकै अवसरमा महिला उद्यमशिलता सशक्तीकरण विषयमा अन्तक्र्रिया हुनेछ । मेलामा महिला उद्यमीद्वारा उत्पादित सामानहरूमात्रै प्रदर्शनीमा राखिनेछन् । हस्तकला, पहिरनका सामान, कृषि उत्पादन, अग्र्यानिक उत्पादन सामग्री, शैक्षिक सामग्री, विभिन्न खानाका परिकार प्रदर्शनीमा राखिनेछ । महिलाहरूले पनि आयआर्जनमा योगदान गर्न सक्छन् भन्ने उद्देश्यले मेला गर्न लागेका हौं । यसले महिलालाई प्रतिस्पर्धी बनाउन सहजीकरण गर्ने हाम्रो आपेक्षा छ । मेलामा महिलाका लागि उद्यमशिलतामा अग्रसर गराउन सरकारी तथा गैरसरकारी निकायले गरेका प्रयासहरू र सुविधाबारे पनि मेलाबाट जानकारी लिन सकिनेछ । नेपालमा उत्पादित वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने सहजीकरण गर्ने भन्नेमा हामी विश्वस्त छौं । मेलामा सार्क राष्ट्रका अलावा इन्डोनेसिया, जापान, युरोपलगायत देशबाट आयातकर्ता आउने कार्यक्रम छ । महिलाद्वारा महिलाकै लागि महिलाको आयआर्जन वृद्धिका लागि गरिएको पहिलो एक्सपोले पनि होला, हामी निक्कै उत्साहित बनेका छौं ।
नेपालमा अहिले महिला उद्यमशिलताको अवस्था कस्तो छ ?
अझै हामी परिपक्क भएका छैनौं । हरेक महिलासँग सीप छ तर गुणस्तरीय सामान बनाउन सक्नु जरुरी छ । सामान गुणस्तरको हुनुपर्छ र प्याकेजिङ पनि राम्रो हुनुपर्छ । पहिले हेरिकन धेरै महिलाहरू उद्यमी भएर अगाडि आएका छन् । इच्छुक पनि देखिएका छन् । सानासाना उद्योगमा मात्रै होइन, ठूला र मझौला उद्योगमा पनि महिलाको सक्रियता बढ्दै गएको छ । सरकारले पनि महिलालाई उद्यमशिलताको विकास गर्न विभिन्न खाले सुविधाहरू दिन लागेको छ । बैंकहरूले पनि महिलालाई विशेष सुविधासहितको नयाँ नयाँ स्किमहरू ल्याउन लागेका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि महिलामुखी कार्यक्रम सञ्चालन गरेको पाइन्छ । सरसर्ती हेर्दा पछिल्लो समयमा उद्यमशिलतामा महिलाहरू अग्रसर देखिएका छन् । महिलाहरूमा विस्तारै चेतनाको विकास हँुदैछ । भर्खरै बामे सर्दै गरेको अवस्था छ । नयाँनयाँ पाइलाहरू चल्दैछन् ।
महिला उद्यमशिलता विकास र सशक्तीकरणका लागि महासंघले के गर्दैछ ?
हामीले धेरै खालका तालिमहरू दिँदै आएका छौं । सरकारी तथा गैरसरकारी संघ–संस्थाको पहलमा महिला उद्यमशिलताका प्रयासहरू भइरहेका छन् । बुझ्नैपर्ने कुरा के छ भने नेपालमा जति पनि साना र मझौला खाले उद्योगहरू छन्, ती महिलाकै कारणले धानिएका छन् । जो उद्यमी बन्न चाहन्छन्, त्यस्ता महिलाहरूलाई विभिन्न सीपमूलक तालिम दिने र उद्यमशिलतामा ‘अवेयर’ गराउने काम महासंघले गर्दै आएको छ ।
कतिपय महिलाहरू चाहेर पनि घरबाट बाहिर निस्केर केही गर्न चाहन्छन् । उनीहरूको आत्मविश्वास बढाउन के गर्न सकिएला ?
सबैभन्दा ठूलो कुरा चेतनाको विकास हो । महिलाहरू अर्थतन्त्रका संवाहक हुन् भन्ने कुरा घर, परिवार, समाजले बुझ्नु जरुरी छ । अनि राज्य तथा अन्य तह तप्काका नागरिकले महिलालाई विश्वासमा लिनुपर्छ । अरुले तानेर मात्रै हुँदैन, आफैंले पनि केही गर्न सक्छु भन्ने भावना हुनुपर्छ । निजी स्तरका संघ–संस्थाहरूले पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुन थालेका छन् । जसरी कुनै एउटा प्रडक्टको विषयमा पोस्टरहरू टाँसिन्छ, त्यसैगरी ठाउँ–ठाउँमा पोस्टरहरू राख्ने र प्रचारप्रसार गर्ने काम भयो भने धेरै भन्दा धेरै महिलाहरू उद्यमशिलतामा आउन सक्छन् । महिलालाई भित्रैदेखि आत्मविश्वास चाहिएको छ । त्यो विश्वास घरपरिवार र समाजले दिनुपर्छ ।
महिला उद्यमशिलता विकासका लागि हाम्रो सामाजिक संस्कार र संरचना नै बाधक देखिएको हो ?
बाधक छ । हाम्रो सामाजिक संस्कारअनुसार महिलासँग पारिवारिक दायित्व पनि जोडिएको हुन्छ । हामीकहाँ सम्पत्तिको अधिकार महिलासँग छैन । परिस्थितिले पनि अप्ठ्यारो पार्छ । महिलाहरूले घरपरिवार पनि हेर्नुपर्ने दायित्व रहन्छ । अर्को कुरा घरनजिकै बैंक हुँदैन । यावत् समस्याहरू महिलासँगै छन् । पछिल्ला दिनमा चेतनाको विकास विस्तारै हुँदैछ । महिलाहरू पनि केही गरौं भनेर लागेका छन् । सबैभन्दा पहिले हामी घरको सदस्य हौं । अनि बल्ल हाम्रो उद्योग हो, त्यो महिलाले बुझ्नैपर्छ । तर, महिलाले उद्योग गर्छु भनेर घरपरिवारलाई ‘नेग्लेट’ गर्नु हँुदैन । आफ्नो परिवारलाई कसरी मिलाउने तपाईंको आफ्नो कुरा हो ।
घरमै बसेर उद्यम गर्नका लागि महासंघको तर्फबाट केकस्तो पहल भइरहेको छ ?
हो, जो महिला घरमै बसेर पनि उद्यमी बन्न चाहन्छ र सामान उत्पादन गरेर बजारीकरण गर्न चाहन्छन् त्यस्ता महिलाका लागि महासंघकै पहलमा उहाँहरूका लागि हामीले माही इन्टरप्राइजेज स्थापना गरेका छौं । होम बेस्ड वुमनहरूलाई टार्गेट गरेर यो अवधारणा आएको हो, जसले महिलाले उत्पादन गरेका सामानहरूको बजारीकरण गर्ने काम गर्छ । अर्को कुरा ती महिलाले बजारीकरण आफैं गर्न चाहेमा पनि त्यसको वातावरण मिलाउँछौं । हाम्रो काम ‘अवेयर’ गराउने हो । आवश्यक सीप तालिमहरू दिएर धेरैभन्दा धेरै महिलालाई उद्यमी बनाउने हो । घरमा बसेर पनि काम गर्न सकिन्छ, पैसा कमाउन सकिन्छ, उत्पादन गर्न सकिन्छ भनेर विभिन्न खाले महिलालाई ‘अवेयर’ पनि गराउँदै आएका छौं । यसका साथै उहाँहरूलाई फाइनान्सको जरुरत पर्छ भनेर हमीले कनेअपरेटिभ पनि चलाइरहेका छौं ।
महिलाहरूलाई सबैभन्दा ठूलो कुरा भनेको एक्सेस टु फाइनान्स हो भनिन्छ, तपाईंलाई के लाग्छ ?
हो, महिलाको सबैभन्दा ठूलो र कठिन समस्या भनेको यही नै हो । अर्को कुरा, सम्पत्तिको अधिकार महिलासँग हुँदैन । सम्पत्ति पुरुषसँग हुन्छ । केही गरौं भन्नलाई ऊसँग सहकार्य नगरी हुँदैन । त्यसैले यो पनि महत्वपूर्ण हुन आउँछ । महिलाहरूलाई सरकारले सहुलियत दिने भनेपछि कतिपय पुरुषहरूले लोन लिनकै लागि महिलाका नाममा दर्ता गर्छन् । अनि त्यो लोन पुरुष आफैँले प्रयोग गर्छन् । बिनाधितो लोन पाइँदैन । लोन लिन आवश्यक पर्ने सम्पत्ति महिलाको नाममा हुँदैन ।
हामीकहाँ ठूलो घरानाका छोरी बुहारी छन्, जसलाई फाइनान्सको समस्या हँुदैन तर पनि उनीहरू उद्योग व्यवसायमा अगाडि देखिँदैनन नि ? तपार्इंलाई के लाग्छ ?
अझै पनि पुरानो विचारबाट निस्किन सकिएको छैन । शिक्षा भनेको योग्यतामात्रै होइन, अवेयरनेस पनि हो । कतिलाई घरबाटै बन्देज होला, कति आर्थिक रूपमा सक्षम छु भन्ने लागेको होला । कतिपयले पुरातनवादी सोचबाटै बाहिर आउन सक्नुभएको छैनन होला । त्यसैले उहाँहरू आउन नसकेको होला । यो सबै चेतनाको कारणले नै हो । महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने हाम्रो समाज छ । जतिसुकै पढेलेखेको र शिक्षित भए पनि महिला बाहिर आउन सहज छैन । आर्थिक रूपमा सम्पन्न भएपछि साना काम गर्न परिवारले दिँदैन । केही गर्छु भन्ने भावना भए पनि लगानी गर्ने क्षमता पनि ऊसँग हुँदैन । अर्को कुरा, उनीहरू विलासिताको जीवन बिताइरहेका हुन्छन् । त्यसैले पनि उनीहरू आउन नसकेको हुन सक्छन् ।
तपाईं शिक्षामा लगानी गरेर उदाहरणीय बन्नुभएको छ । सफल उद्यमी पनि हुनुहुन्छ । उद्यमशिलता विकासका लागि हाम्रो शिक्षा प्रणालीमा केही सुधार गर्नुपर्ने देख्नुभएको छ ?
शिक्षा आवश्यक छ । पहिलो त विद्यालयदेखि विश्वविद्यालय तहसम्म महिला उद्यमशिलता विकासको कोर्स तय गरिनुपर्छ । यो कुरा हामीले धेरै पहिलेदेखि भन्दै आएका छौं । उद्यमशिलतासम्बन्धी चेतनाको विकास गर्ने विभिन्न संघ–सस्थाहरू जन्मिसकेका छन् । महिलाका नाममा छुट्टै क्लस्टर व्यवस्था हुनुपर्छ । महिलाको लागि छुट्टै उद्योग ग्राम हुनुपर्छ । महिलालाई सहजै ऋणको व्यवस्था गरिनुपर्छ । जहाँ महिलाहरूले गरेको काम देखाउन सकियोस् । त्यसका अलावा सरकारले नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने भनेको छ । हरेक औद्योगिक क्षेत्रमा महिलाका लागि औद्योगिक ग्रामको व्यवस्था हुनुपर्छ । अहिले त्रिभुवन विश्वविद्यालयले उद्यमशिलता विकास गर्ने भनेर एउटा कोर्स राखेको छ । अब विस्तारै अरु पनि बढ्छन् ।
महिला उद्यमीहरू पुरुष उद्यमीसँग कत्तिको प्रतिस्पर्धी छन् ?
व्यवसाय भनेको प्रतिस्पर्धी नै हो । व्यवसाय गर्छु भन्ने महिलाले सक्दैनौं भन्ने हँुदैन तर महिलाले सक्दैनन् भनेर समाजले झट्ट विश्वास गर्दैन । महिलासँग अथाह सीप छ, त्यसलाई व्यावसायिक गर्न मात्र बाँकी छ । रियालिटीमा आउन नसकेको मात्रै हो । धेरै कठिनाइका बाबजुद पनि महिलाहरू प्रतिस्पर्धी छन् र कुनै कुरामा अगाडि पनि छन् । अर्को कुरा व्यवसाय गर्दा कति पटक पार्टीहरूसँग सहकार्य गर्नुपर्छ, सामय दिनुपर्छ, उनीहरूलाई रेस्टुरेन्टमा लगेर खुवाउनुपर्छ । तर, महिलाहरूसँग रेस्टुरेन्टमा डिनर खुवाउन सक्ने अवस्था छैन । यस्तो अवस्थाले बिजनेसमा पछाडि परिने रैछ । सामाजिक संस्कार र चेतनाले पनि बाहिर महिलाहरू झट्ट उठेर बाहिर जान सक्ने अवस्था छैन । त्यसैले पनि प्रतिस्धर्पी बन्न अलि गाह्रो देखिएको हो तर प्रतिस्पर्धामा नगइकन अगाडि बढ्न सकिँदैन भन्ने महिलाले बुझेका छन् ।
तपाईंको विचारमा महिलालाई अगाडि बढाउन कस्ता उद्योग उपयुक्त होला ?
रियल इस्टेट सर्भिस सेक्टरमा पनि महिलाहरू आएका छन् । अचार बनाउनेदेखि बेकरी बनाउने महिलाहरू पनि छन् । कति महिलाले डिर्पाटमेन्ट चलाएर बसेका छन् । आफ्नै इच्छामा सीप र दक्षतामा भर पर्छ । आफूसँग जस्तो सीप छ, त्यही अनुरुपको उद्यम व्यवसायमा आउँदा उचित हुन्छ । यो त्यो भन्ने नै छैन । हरेक क्षेत्रमा महिलाहरू धेरै अगाडि आइसकेका छन् । चेतनाको विकास हुँदै गएको छ । महिलाले पनि परिवारको सहयोग पाएमा जस्तासुकै उद्योग हाँक्न सक्ने प्रमाणहरू आइसकेका छन् ।
हामीकहाँ महिलाका नाममा धेरै एनजिओ÷आइएनजिओहरू खुलेका छन् । उनीहरूले उद्यमशिलताका लागि धेरै खाले स्किमहरू ल्याएका छन् । तिनीहरूले महिलालाई उद्यमी बनाउन के कस्तो भूमिका खेलेका छन् ?
हो, हामी जहाँ गयो त्यहाँ खुलेका एनजिओ÷आइएनजिओहरू महिला केन्द्रित देखिन्छन् । तर, महिलाको विषयमा जति भनिएको छ, त्यति काम गरेको पाइँदैन । उनीहरूको सहयोग भनेको तालिममा नै देखिन्छ । उनीहरू पनि व्यवसायीजस्तै भएकोले होला, प्रफिट मेकिङमा नै उनीहरूको संलग्नता छ । दुःखको कुरा, महिलाको नाममा यति खर्च गरयो, यस्तो काममा खर्च भयो, यति महिलाहरू आबद्ध भए भन्ने जस्ता कुराहरू आउँछन् । तर साँच्चै नै जाँदा त्यो नभेटेको अवस्था छ । कतिपय एनजिओ÷आइएनजिओहरूबाट निकै सहयोग प्राप्त भएको पनि छ । महिलालाई साँच्चै अगाडि बढाउनुपर्छ भनेर लागेको अवस्था छ ।
बैंकहरूले पनि महिलाका लागि भनेर विभिन्न खाले सुविधाहरू ल्याएका हुन्छन् । ती सुविधा प्राप्त गर्न महिलालाई कत्तिको सहज छ ?
महिलाका लागि जति सुविधा दिने भनिएको छ, त्यति सहजै रूपमा हामीले प्राप्त गर्न सकेको अवस्था छैन । त्यो सुविधा महिलाहरूलाई झन्झटिलो बनेको छ । सरल किसिमबाट छ्टयाइदिनु प¥यो भनेर हामीले निक्कै आग्रह पनि गरेका छौं । जति सस्तो दिन्छु भने पनि धितोको आवश्यकता पर्छ । हामीसँग लोन राख्ने हैसियत छैन । बैंकहरूको आफ्नै नियम होला, त्यसैले पनि हुनसक्छ । हामीले बारम्बार कुराहरू राख्ने भएका छौं । एउटा महिला उद्यमशिलता कोष आएको छ । त्यसमा बिनाधितो ऋण लिन पाउँछौं । यो सरकारी प्रयास हो, यसको लोकप्रियता भने बढेर गएको छ ।
महिला उद्यमशिलताका लागि अन्य चुनौती के देख्नुभएको छ ?
महिलाका लागि धेरै चुनौती छन् । घरबाट बाहिर निस्केर उद्यमी बन्छु भन्ने कुरा नै ठूलो चुनौती हो । त्योसँगै पँुजी पनि त्यतिकै टड्कारो बनेर आउँछ । छोरालाई जुन साहानुभूति प्रदान हुन्छ, प्रोत्साहान मिल्छ तर त्यही परिवार र त्यही समाज त्यो सहयोग छोरीलाई गर्न हिचकिचाउँछ । यीबाहेक थुप्रै व्यवहारिक चुनौती महिलाले खेप्नुपर्छ । घर गृहस्थी, समाज सबैलाई सँगसँगै लानुपर्छ । सबै समस्याको सामना गर्नुपर्छ । यसका बाबजुद पनि महिलाहरूसँग आँट छ, लोन लिएपछि तिर्नैपर्छ भन्ने फिलिङ छ । इमानदार छन्, जसले चुनौतीलाई फेस गर्न सक्छन् भन्ने कुरा प्रमाणित भइरहेको छ ।
महिला उद्यमशिलता विकास गर्ने भनेर तपार्इंहरूले २ वर्षअघि महिला उद्यमशिलता कोषको स्थापना गर्नुभएको थियो । अहिले के भइरहेको छ ?
धेरै संघर्ष गरेर ल्याएको हो । अहिले कार्यान्वयनमा आइसकेको छ । १० जिल्लाबाट सुरु गरेको उक्त कोष अहिले भूकम्प प्रभावित १४ जिल्ला र अन्य २ जिल्ला गरी २६ जिल्लामा सञ्चालित छ । अत्यन्त न्यून आय भएका तर पुँजीको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न नसकेका उद्यमीका लागि भनेर यो कोष खडा भएको हो । यसबाट बिनाधितो ५ लाख सम्मको लोनको व्यवस्था गरिएको छ । सरकारले प्रत्येक वर्ष ४ करोड जम्मा गर्ने भनेको छ । कोषले गर्दा महिलालाई हौसला मिलेको छ । ऋण पाउन महिलाको नाममा दर्ता गर्नुपर्छ भन्ने चेतना बढेको छ ।
कोषको रकम हुनेखाने र पहुँचवालाले पाए, लक्षित वर्गसम्म पुगेन भन्ने आरोप छ नि ?
कोषको विषयमा जे जति कुरा आएका छन्, त्यो डिमान्ड धेरै भयो, सप्लाइ थोरै भएकाले हुन सक्छ । यो सतप्रतिशत गलत हो । त्यो छानबिन प्रक्रिया एकदमै पारदर्शी छ । केन्द्रदेखि जिल्लासम्म कमिटी बनाइएका छन् । कसरी लिने भनेर मापदण्ड पनि तयार छ । त्यसैले यसमा त्यस्तो समस्या छैन । यदि त्यो समस्या भेटिए सरकारी अधिकारीदेखि बैंकहरूसम्म कारबाहीमा पर्छन् । अलि बढी रकम भएमा धेरै महिलाले सहजै लोन लिन पाउँथे भन्ने लागेको छ ।
- See more at: http://np.karobardaily.com/2016/04/80288/#sthash.45OVJvnc.QTuBYXed.dpuf

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक