प्रधानमन्त्रीलाई व्यवसायीका गुनासै–गुनासा


निरु अर्याल
काठमाडौं, २९ चैत – निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा आइतबार आयोजित समारोहको रौनक बिहानैदेखि छुट्टै थियो । महासंघ आबद्ध व्यवसायी बिहानैदेखि भद्रकालीस्थित आर्मी क्लबमा भेला भएर स्वर्ण महोत्सवलाई ऐतिहासिक बनाउन जुटिरहे पनि प्रमुख अतिथिको रूपमा निम्त्याइएका प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी पुगेका थिए । धैर्यपूर्वक प्रतीक्षा गरिरहेका व्यवसायी प्रमुख अतिथिको रूपमा प्रधानमन्त्रीलाई पाउँदा जति खुसी देखिन्थे, त्यत्ति नै बेखुसी उनले समयपालन नगरेकोमा थिए ।
महासंघको स्वर्ण महोत्सव तथा उद्योग वाणिज्य दिवसको उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीलाई अध्यक्ष पशुपति मुरारकाले ५१ बुँदामा समेटिएको २० पृष्ठ लामो सम्बोधनमार्फत निजी क्षेत्रका पीडा सुनाए । मुरारकाको सम्बोधनमा व्यवसायीका पीडामात्र थिएनन्, सरकारले यो क्षेत्रलाई पुनरुत्थान गर्नका लागि सुझाव पनि समेटिएका थिए ।
निजी क्षेत्रको कार्यक्रममा प्रधानमन्त्रीको उत्साह धेरैबेर टिकेन । समस्या सुनेपछि उनी निराश भए, जसको संकेत उनको सम्बोधनमा प्रस्टै देखियो । सधैं ठट्यौली मुडमा सम्बोधन गर्ने प्रधानमन्त्रीले उद्योग वाणिज्य क्षेत्रको इतिहास व्यवसायीलाई नै सुनाए । आधा घन्टा लामो सम्बोधनमा न उनले कुनै आशालाग्दो घोषणा गरे न त कसैलाई गाली नै ।
प्रधानमन्त्रीको सम्बोधनअघि महासंघ अध्यक्ष मुरारकाले भने निजी क्षेत्र इतिहासकै संकटपूर्ण घडीमा रहेको दुखेसो गरे । “आयातको तुलनामा निर्यातको अवस्था गिर्दो छ, विनासकारी भूकम्पलगत्तै इतिहासकै लामो तराई आन्दोलन र नाकाबन्दीले उद्योग व्यवसाय र मुलुकको अर्थतन्त्रमा पारेको असर अर्थतन्त्रका सूचकहरूले देखाउनेभन्दा पनि कहालीलाग्दा छन्,” मुरारकाले भने ।
कठिन परिस्थितिमा पनि मुलुकलाई भरथेग गरिरहेका उद्योगी व्यवसायीका लागि यो वर्षको अवस्था अत्यन्त असहज र संवेदनशील अनि पीडादायक बनेको उनले सुनाए । “यस्तो कठिन अवस्थामा के गर्दा मुलुकमै काम गरी खाने वातावरण बनाउन सकिन्छ, कसरी जर्जर रहेका उद्योग व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ भन्नेमा निजी क्षेत्र चिन्तित छ,” मुरारकाले भने, “निजी क्षेत्र नै विकासको इन्जिन हो भन्ने मान्यता विश्वव्यापी भइसकेको छ, सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तनको आपेक्षा हामीले गरेका छौं ।”
मुलुकभित्र अर्बौं लगानी गरिरहेका एवं रोजगारी सिर्जना र राजस्वमा समेत योगदान दिएका उद्योगी व्यवसायीलाई सरकारले कसैको उक्साहट र स्वार्थका कारण ठूलो मुद्दा बनाउने गतिविधिबाट सिंगो निजी क्षेत्र नै मर्माहत भएको मुरारकाले दुखेसो गरे । “केही औद्योगिक घरानामाथि भएका धरकपड र थुनछेकले व्यवसायीको मानमर्दन भएको छ, व्यवसायीका गोदाममा सिल लागेका छन्, सामान कुहिएका छन्,” उनले प्रधानमन्त्रीसमक्ष गुनासो गरे, “अत्यन्त दुःखकष्ट खेपेर उद्योग व्यवसाय सञ्चालन गर्ने हामी उद्यमीले के त्यस्तो पाप गर्यौं, जसको फल आज भोग्न बाध्य छौं ?”
प्रत्युत्तरमा प्रधानमन्त्रीले निजी क्षेत्रको चासो र चिन्ता स्वाभाविक भएको भन्न चुकेनन् । “निजी क्षेत्रका कतिपय जायज माग छन्, नियम कानुन तथा प्रशासनिक जटिलताका बारेमा सरकारले सम्बोधन गर्नेछ,” उनले भने, “यो तपाईंहरूकै सरकार हो, तपाईंको लगानी सुरक्षित गर्नका लागि औद्योगिक वातावरण बनाउन सरकारले कदम चालिसकेको छ ।”
सरकार स्वदेशी लगानी प्रवद्र्धन गर्न र बाह्य लगानी अभिवृद्धि गर्न तत्पर रहेको प्रधानमन्त्रीको भनाइ थियो । “पुराना ऐन कानुनले आर्थिक उन्नति हुन सक्दैन, तसर्थ कतिपय ऐन कानुन परिमार्जन गर्न आवश्यक छ, त्यो सरकारले गर्ने नै छ,” उनले भने, “मुलुकको विकासका लागि औद्योगिकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्छ भन्ने सरकारले बुझेको छ तपाईंहरू ढुक्क हुुनूस्, सरकार तपाईंहरूकै साथमा छ ।”
प्रधानमन्त्रीको आश्वासन पाएपछि निजी क्षेत्रका प्रतिनिधिको मुहारमा अलि चमक त आयो तर यसअघिका प्रधानमन्त्री र मन्त्रीहरूले जस्तै निरन्तरता पाउने हो या कार्यान्वयन हुन्छ भन्नेमा भने निजी क्षेत्र अन्योल छ ।
- See more at: http://np.karobardaily.com/2016/04/81119/#sthash.Gem07jxv.dpuf

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर