१ वर्षमै ८३ प्रतिशत बढ्यो एफडीआई

निरु अर्याल काठमाडौं, १६ फागुन- दोस्रो संविधानसभा गठन भएयता नेपालमा लगानी गर्न विदेशीको चासो बढेको छ । राजनीतिक स्थिरताको अपेक्षामा विदेशीले १ वर्ष अवधिमै गरेको लगानी प्रतिबद्धता अघिल्लो वर्षभन्दा ८३ प्रतिशत बढी छ । उद्योग विभागका अनुसार सन् २०१४ मा मात्रै नेपालमा ४४ अर्ब ९७ करोड रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को प्रतिबद्धता आएको छ । यो साना र मध्यमस्तरका लगानीको प्रतिबद्धता हो । सन् २०१३ मा विभागमार्फत २४ अर्ब ५९ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । “२०१३ भन्दा ०१४ मा उत्साहजनक सुधार देखिन्छ,” विभाग महानिर्देशक महेश्वर न्यौपानेले भने, “मुलुकको शान्ति–सुरक्षामा सुधार आएकै कारण विदेशी लगानीमा समेत सुधार देखिन्छ तर पर्याप्त भने होइन ।” विभागका अनुसार परियोजनाहरूमा स्वीकृति लिनेको संख्यासमेत अघिल्लो वर्षभन्दा २२ प्रतिशतले बढेको छ । २०१३ मा २८२ परियोजनाले विभागमार्फत विदेशी लगानीको प्रतिबद्धता गरेका थिए । २०१४ मा करिब २२ प्रतिशतले बढेर ३६१ परियोजना पुगेका छन् । तथ्यांकअनुसार गत वर्ष जलविद्युत्मा मात्रै ६ परियोजनाले ३४ अर्ब ७३ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । २०१३ मा १० परियोजनामार्फत १० अर्ब रुपैयाँको प्रस्ताव आएको थियो । यसैगरी उत्पादनको क्षेत्रमा ५६ परियोजनाले १ अर्ब ७२ करोड रुपैयाँको प्रस्ताव गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९१ करोड रुपैयाँको प्रस्ताव आएको थियो । खनिज क्षेत्रमा १२ परियोजनामार्फत ३ अर्ब ९० करोडको प्रस्ताव आएको छ । विभागका अनुसार सेवा क्षेत्रमा १२० परियोजनामार्फत ४ अर्ब ३३ करोड, पर्यटनमा १२२ परियोजनामार्फत २ अर्ब ७९ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । गत वर्षमात्रै कृषिमा ४४ परियोजनामार्फत ८८ करोड र निर्माणको क्षेत्रमा एउटा परियोजनामार्फत १ करोड रुपैयाँको प्रस्ताव आएको विभागले जनाएको छ । २०१४ मा विभागमार्फत भारतीय लगानी बढी आएको छ । भारतबाट ३४ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको लगानी प्रस्ताव आएको तथ्यांक छ । दोस्रो स्थानमा रहेको चीनबाट ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँको प्रस्ताव आएको छ । चिनियाँभन्दा भारतीय लगानी ८ गुणा बढी २०१४ मा भारतबाट चीनको तुलनामा ८ गुणाभन्दा बढी विदेशी लगानी प्रस्ताव आएको छ । यसअघि संख्यात्मक रूपमा भारतलाई पछि धकेल्दै आएको चीन लगानीका हिसाबले भने भारतभन्दा निकै पछि छ । नेपालमा बाह्य लगानी गर्ने मुलुकमध्ये छिमेकी राष्ट्र भारत र चीन प्रतिस्पर्धी हुन् । भारतसँग गरिएको बिप्पा सम्झौता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र सन् २०१४ मै नेपालमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनका कारण नेपालमा भारतीय लगानीको वर्चस्व देखिएको अधिकारीहरू बताउँछन् । भारतबाट खासगरी ऊर्जा, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रस्ताव आएको विभागले जनाएको छ । ऊर्जामा ३३ अर्ब ६८ करोड ५२ लाख, उत्पादनमा ७१ करोड ९८ लाख, खनिजमा २ करोड, सेवा क्षेत्रमा ३८ करोड २८ लाख र पर्यटनमा १ करोड ७० लाख रुपैयाँ भारतीय लगानीको प्रस्ताव आएको छ । चीनबाट कृषि तथा वन, निर्माण, ऊर्जा, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रस्ताव आएको छ । पर्यटनमा ९३ करोड ७५ लाख, सेवा क्षेत्रमा ९२ करोड ८५ लाख, उत्पादनमूलक क्षेत्रमा ६८ करोड र कृषि तथा वनजन्य परियोजनामा ६२ करोड ९५ लाख रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । अन्य मुलुकबाट पनि उत्साहजनक भारत र चीनका अतिरिक्त २०१४ मा टर्कीबाट १ अर्ब ५ करोड रुपैयाँबराबरको लगानी प्रस्ताव आएको छ । आयरल्यान्डबाट ६६ करोड ६६ लाख, अमेरिकाबाट ५४ करोड ९७ लाखको प्रस्ताव छ । बंगलादेश, डेनमार्क, जर्मनी, जापान, मलेसिया, रुस, सिंगापुर, दक्षिण कोरिया, बेलायतलगायत ४२ मुलुकबाट पनि लगानी प्रस्ताव आएको विभागले जनाएको छ । रोजगारी घट्यो विभागका अनुसार यो वर्ष लगानी तथा परियोजनाको संख्या बढे पनि रोजगारी संख्या भने घटेको छ । अघिल्लो वर्ष २८२ परियोजनामार्फत १४ हजार २९३ जनालाई रोजगारी दिने प्रतिबद्धता आएकोमा २०१४ मा ३६१ परियोजनाले १२ हजार ८८८ जनालाई मात्रै रोजगारी दिने प्रतिबद्धता गरेका छन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक