महिलाको नाममा ऋण लिएर पुरुषले दुरुपयोग गरिरहेका छन्

https://www.blogger.com/blogger.g?blogID=6539386794296202311#editor/target=post;postID=2626206432507124513 केशा परियार अध्यक्ष, राष्ट्रिय लघुउद्यमी महासंघ
पर्वत खानीगाउँमा सामान्य परिवारमा जन्मिएर प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल केशा परियार लघुउद्यमका क्षेत्रमा स्थापित नाम हो । बालिघरे प्रथाबाट सुरु भएको उनको कपडा सिलाइको यात्रा व्यवसायमा सफलतासँगै अन्तर्राष्ट्रिय अवार्ड प्राप्तिका साथै लघुउद्यमीको नेतृत्व गर्ने तहसम्म विस्तार भइसकेको छ । उनले गत वर्ष नर्वेको ओस्लोस्थित सिटीहल (नोबेल शान्ति पुरस्कार प्रदान गरिने हल)मा आयोजित कार्यक्रममा ‘बिजनेस फर पिस’ अवार्ड ग्रहण गरिन् । राष्ट्रिय लघुउद्यमी महासंघकी अध्यक्ष रहेकी केशा यो अवार्ड प्राप्त गर्ने एक मात्र नेपाली हुन् । उनलाई शान्ति र अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता सम्मिलित निर्णायकमण्डलले ‘बिजनेस फर पिस अवार्ड–२०१४’ बाट सम्मानित गर्ने निर्णय गरेको थियो । ओस्लोस्थित बिजनेस फर पिस फेडरेसनले व्यवसायमार्फत शान्ति र स्थायित्वका लागि योगदान गर्ने, नैतिकतामा आधारित व्यावसायिक अभ्यास गर्ने र समाजका लागि साझा मूल्य सिर्जना गर्नेलाई हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । ०५६ सालमा सुरु गरेको सिलाइ–कटाइ व्यवसायले उनलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारको विजेता बनाएको हो । एक दशकदेखि महासंघको नेतृत्व गर्दै आएकी उनी ५१ वर्षअघि बागलुङ बिनामारे–७ मा जन्मिएकी हुन् । औपचारिक शिक्षा नलिएकी उनी व्यवसाय सुरु गर्नुपूर्व आमा समूहको अध्यक्ष बनेर रक्सी विरोधी अभियान, दलित समुदायमा सिनो विरोधी अभियान तथा दलित समुदायमा महिलामाथि हुने हिंसाका बिरुद्ध समेत सहभागी थिइन् । खानीगाउँमा मनीषा सिलाइ केन्द्र सञ्चालन गर्दै आएकी उनी जिल्लामा मात्रै दर्जनभन्दा बढी संघसंस्थामा आबद्ध छन् । यीबाहेक उनको आबद्धता र संलग्नता केन्द्रीय स्तरमा पनि बाक्लिँदै गएको छ । लघुउद्यमको क्षेत्रमा पहिचान बनाउन सफल उद्यमी परियारसँग उनको सफलताका कथासँगै लघुउद्यमशीलताका विषयमा कारोबारकर्मी निरु अर्यालले गरेको कुराकानी : बिजनेस फर पिस अवार्ड पाएपछि अन्तर्राष्ट्रियस्तरको व्यक्तित्व बन्नुभएको छ । यो १ वर्षको अनुभव कस्तो रह्यो ? यो अवार्डले मलाई अझ सशक्त भएर काममा लाग्न प्रेरित गरेको छ । ठूलो जिम्मेबारी बोध भएको महसुस गरेकी छु । हिजोका दिनमा व्यक्तिगत सफलता मात्रै सोच्थें, अवार्ड पाएपछि संस्थागत सफलता कसरी पाउन सकिन्छ भनेर लागेकी छु । संस्थागत भिजन कसरी आउँछ संस्थालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने अलिकति गरुंगो भइराछ । अर्को कुरा– हिजोका दिनमा आफूलाई कसरी चिनाउजस्तै हुन्थ्यो । अहिले त्यो अवस्था रहेन । नेपाल र समग्र नेपाली लघुउद्यमीबारे सोच्ने र आफूजस्तै सशक्त बनाउने तथा कसरी नेपाललाई चिनाउन सकिन्छ भन्नेमा समय बढी केन्द्रित छ । सिंगो नेपाललाई कसरी चिनाउने भन्नेमा जिम्मेबारी थपिएको महसुस भएको छ । अवार्ड पाउनुअघि र पाइसकेपछि तपाईंप्रतिको सामाजिक दृष्टिकोण कत्तिको फरक पाउनुभएको छ ? धेरै फरक छ । त्यो स्वाभाविकजस्तो लाग्छ । किनभने हाम्रो समाजमा महिलालाई घरबाहिर निस्कन दिइँदैन । म पनि त्यही समाजको प्रतिनिधि हुँ त्यसमा पनि दलित महिला, जसलाई हाम्रो समाजले हेयको दृष्टि राख्छ । हिजोका दिनमा बाहिर निस्केर काम गर्न खोज्दा यस्ती मान्छेले पनि के गर्लि भन्थे । महिलाले केही गर्न सक्दैनन् भन्ने भावना थियो । जातीय विभेदका साथै अनपढ भएकाले मलाई अगाडि बढेर काम गर्न चुनौती थियो । अहिले समय फेरिएको छ । सबैले अन्तर्राष्ट्रिय व्यक्तित्व भन्छन् । उदाहरण दिनुप¥यो भने मेरै उदाहरण दिने गरेको पाएकी छु । मानसम्मान पाएकी छु धेरै अन्तर्राष्ट्रिय संघसंस्था खोजीखोजी आउँछन् । यसले केही गर्नुपर्छ भन्ने भावना अझै बढेर आएको छ । मजस्ता निम्नवर्गीय अनि पिछडिएका वर्गलाई आयआर्जनमा लगाउनु चानचुने कुरा होइन तर आँट, धैर्य र निरन्तरता भने आवश्यकता देख्छु । तपाईं लघुउद्यमी महासंघको अध्यक्ष हुनुहुन्छ । तपाईंजस्ता धेरै उद्यमी छन् । उनीहरूको उत्थानका लागि के–कस्ता कार्य गर्दै आउनुभएको छ ? हो, पछिल्लो तथ्यांकअनुसार नेपालमा ७० हजारको संख्यामा लघुउद्यमी छन् । कत्ति उद्यमी थपिँदै छन् भने कतिपय विभिन्न समस्याबाट ग्रसित छन् । मैले महासंघको अध्यक्ष भएदेखि नै आत्मविश्वास, सीप र क्षमता अभिवृद्धिको विषयमा आवाज उठाउँदै आएकी छु । चेतनाको विकासबिना अगाडि बढ्न कठिन हुन्छ । व्यवसाय सुरु गर्नु मात्रै ठूलो कुरा होइन रहेछ । सामाजिक संस्कार, परम्परा, कानुनी जटिलता पनि महिलाका लागि त्यतिकै चुनौतीपूर्ण छन् । धैर्य र आत्मविश्वासको खाँचो छ । समाज परम्परा काम गरेर उपलब्धि हासिल गरिसकेपछि आफैं परिवर्तन हुँदोरहेछ । तपाईंले धेरै समस्या देखाउनुभयो, समाधानका लागि केही पहल गर्नुभएको छैन ? एक्लो प्रयासले केही हुँदैन । सबै कुरा, निर्णय समूहमै हुने हो । यसलाई आत्मसात गर्दै हामीले समय–समयमा विभिन्न खाले समस्या राख्दै आएका छौं । हामीले बोलेर हुन्छ कि लेखेर हुन्छ कि भाषणमा हुन्छ कि हाम्रा समस्या सरकारसमक्ष पु¥याइरहेका नै छौं । त्यसकै प्रतिफल स्वरूप हालै सरकारले विपन्न महिला उद्यमीलाई सहज कर्जा दिन भन्दै महिला उद्यमशीलता कोषको स्थपना गरेको छ । यसलाई हालै कार्यान्वयनमा ल्याएको छ । समस्या समाधानका लागि पहल गर्दै नगरेको भने होइन । नीतिगत समस्या होलान् नि ! नीतिगत समस्या प्रशस्त छन् । हाम्रा समस्या सम्बोधन गर्न भनेर सरकारले ०६७ सालमा औद्योगिक नीति जारी गरेको थियो, तर कार्यान्वयनमा आउन सकेको छैन । ५/५ वर्षमा नीति पुनरावलोकन गर्ने भनिएको पनि कार्यान्वयनमा नै समस्या देखियो । महिला उद्यमशीलताको कुरा त मैले भनिसकें । यीबाहेक सरकारी नीति तथा कार्यक्रम पनि लक्षित वर्गसम्म पुग्दैन । हुनेखाने र बोलवालाले मात्र फाइदा लिने गरेका छन् । राज्यले के–कस्तो सुविधा उपलब्ध गरायो भने तपाईंहरूलाई अघि बढ्न सहज हुन्छ ? पहिलो कुरा, हामीसँग लगानी गर्ने पैसा हुँदैन । अर्को, सीपमूलक तालिमहरू पर्याप्त हुँदैन । दैनिक मजदुरीबाट जीबीका चलाउनेले सिपमूलक तालिम लिन पनि समस्या छ । निश्चित समयका लागि मात्रै भए पनि महिला, विपन्न तथा दलितका लागि विभिन्न खाले कार्यक्रम ल्याउनुपर्छ । अर्कोतर्फ नीतिगत सुविधाहरू यथाशक्य छिटो कार्यान्वयनमा ल्याउनुपर्छ । तीबाहेक बैंकहरूले विभिन्न खाले सुविधा ल्याएका हुन्छन्् तर लक्षित वर्गसम्म पुगेको पाइँदैन । लोनमा त्यतिकै समस्या छ । बैंकहरूले त महिलाकै लागि विभिन्न खाले योजना ल्याएको देखिन्छ त ? लघुवित्त, बैंकहरूले लोन दिन्छ भनेपछि पुरुषले बिभिन्न योजना देखाएर प्रयोग गर्ने अनि महिलाले नपाउने अवस्था छ । धेरैजसो पुरुषले महिलालाई फसाउने गरेका धेरै उदाहरण छन् । एक ठाउँबाट लिएर काम गर्ने अर्को ठाउँबाट लिएर किस्ता तिर्नेजस्तो समस्या छ । यस्तो समस्याको समाधान कसरी होला त ? महिलाका लागि विभिन्न योजना ल्याउनु नराम्रो होइन, जायज नै हो र आवश्यक पनि छ । उद्योगको प्रकृति नहेरी विश्वासका भरमा लगानी गर्दा बैंक डुब्ने खतरा हुन्छ । बैंक डुब्नु भनेको परिवार डुब्नु हो । व्यवसाय नभई लगानी नगरौं भन्ने सुझाव दिने गरेकी छु । महिलालाई सस्तो ब्याजमा निश्चित समयका लागि मात्रै लोनको व्यवस्था गरिनुपर्छ । त्यसो गर्दा बैंकको पनि विश्वसनीयता बढ्छ र उपयोग गर्नेले पनि सही ढंगले उपयोग गर्न पाउँछ । एनजीओ आईनजीओले पनि महिला, दलित तथा पिछडिएको समुदायमा धेरै लगानी गरेको पाइन्छ । यसबाट लक्षितवर्ग कत्तिको लाभान्वित भएको पाउनुभएको छ तपाईंले ? अहिलेको अवस्थामा एनजीओ/आईएनजीओले नराम्रो गरे भन्न मिल्दैन । महिलाको हितमा सचेतना ल्याउने काम उनीहरूले नै सुरु गरेका हुन् । तर, कतिपयले भने लक्षित वर्गभन्दा आफ्नो फाइदाका लागि काम गरेका छन् । योजनाअनुरुपका काम नगर्ने एनजीओ/आईएनजीओ प्रशस्तै छन् । कतिसम्म भने केही सफल उद्यमीलाई देखाएर कार्यक्रम सफल बनाउने गरेको पनि पाइन्छ । एनजीओ/आईएनजीओले उद्यमी बनाउन खोजेनन् भन्न खोज्नुभएको हो ? हो, पक्कै पनि । उनीहरूले नयाँ उद्यमी जन्माउन नसकेकै हो । किनभने उनीहरूले विपन्नलाई ल्याउन खोजेको पाइँदैन । उद्यमी बनिसकेकालाई देखाएर के फाइदा ? बनिसकेका उद्यमीलाई व्यवसायमा सहजीकरण गर्नु र नयाँ उद्यमी जन्माउनु ठूलो कुरा हो । उनीहरू त्यसो गर्दैनन् । साँच्चै उद्यमी बनाउन खोज्नेहरूले अति गरिबलाई खोज्नुपर्छ । त्यसो भए ‘एक घर एक उत्पादन’को अवधारणा लागू हुन सक्छ । यसका लागि सबै एनजीओ÷आईएनजीओ एकीकृत भएर हातेमालो गर्नु जरुरी छ । यसमा सरकारी सहयोग कत्तिको आवश्यक छ ? यो काम एनजीओ÷आईएनजीओको होइन, सरकारको हो । उद्यमशीलताको दिगो विकास गर्ने हो भने सरकार अनि राजनीतिक दलहरू एकबद्ध भएर लाग्नुपर्छ । हामीले खोजेको बाँसको होइन फलामको भ¥याङ हो जो टिकाउ हुन्छ । दलहरूले बाँसको भ¥याङ बनाउने गरेका छन्, जो आकाशबाट पानी पर्ना साथ कुहिन सक्छ । अर्को कुरा महिलाको बारेमा कत्ति पैसा गाउँमा जान्छ त्यो उनीहरूलाई हेक्का छैन । भोट माग्ने बेला सपना देखाउने अनि पछि बेवास्ता गर्ने परिपाटी छ । साँच्चैै महिला, दलित तथा पिछडिएको वर्गलाई समेट्ने हो भने सरकार र गैरसकारी निकायबीच समन्वय अनिवार्य छ, जसको ज्वलन्त उदाहरण मेडेपलाई लिन सकिन्छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (मेडेप) मात्रै पर्याप्त छ त ? उद्यमशीलता विकासका लागि मेडेप मात्रै पर्याप्त भने अवश्य होइन । तर, मेडेपले गरेको कार्यशैलीलाई धेरै संस्थाले फलो गरे भने उद्यमशीलता बढ्न सक्छ । तपाईंलाई सफल बनाउन पनि मेडेपको भूमिका अहम देखिन्छ । त्यसैले तपाईं मेडेपसँग प्रभावित हुनुभएको हो ? मेरो लागि जन्म दिने आमा भए पनि कर्म दिने मेडेप नै हो । मेरो जिन्दगीको सफलता मेडेप हो । निक्कै प्रभावित छु । मैले व्यक्तिगत रूपमा भन्दा पनि समग्र उद्यमशीलताको विषयमा मेडेपजस्ता गैरसरकारी संस्थाको उपस्थिति न्यून देखेको पक्कै हो । मेडेपले तपाईंलाई अन्तर्राष्ट्रिय पहिचान दिलायो । यसका राम्रा र नराम्रा पक्ष के के छन् भन्ने लाग्छ ? यो कार्यक्रम लघुउद्यमको क्षेत्रमा विकासको रोल मोडेलका रूपमा आएको छ । यसैलाई आत्मसाथ गर्दै नेपालले मेडेप नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रमका नराम्रा पक्ष खासै देखिँदैनन् । किनभने यो कार्यक्रम एकदमै गरिबसमक्ष पुग्छ । गरिबलाई नै सुबिधा प्रदान गर्छ, जसलाई गर्छ त्यसालई उद्यमी बनाएरै छोड्छ । मलाई उद्यमी बनाएको र अहिलेको पहिचान दिने मेडेप नै हो मैले भनिसके । हामीलाई तालिम दिदासम्म धेरै सुविधाका कार्यक्रम ल्याएको थिएन । पछिल्ला वर्षहरूमा यो कार्यक्रम परिमार्जित हुँदै गएको छ । अहिले मेसिन बाँड्न थालेको छ । तालिम लिएपछि ऋणको व्यवस्था गरेको हुन्छ । उनीहरूमा लगानी पनि गर्छ । यसलाई सकारात्मक मान्नुपर्छ । तर, मेडेपले दिने तालिमको समयसिमा थोरै हुन्छ । कम्तीमा ६ महिनासम्म तालिमको व्यवस्था ग¥यो भने पर्याप्त हुन्छ । सधैंभर सुविधा माग गर्दा विकृति आउने सम्भावना पनि त हुन्छ नि ! हाम्रो सुझाव पनि त्यही हो । लक्षित वर्गले सुविधा नपाउने अवस्था छ । तालिम अवधिभर खाने–बस्ने वातावरणमा सुधार गर्नुपर्छ । हामीले चेतना खोजेको हो, पैसा हामीमै पैसा । अहिले पनि जो बोल्न सक्छ उसैले पाउने हो । बोल्न नसक्नेले यस्तो सुविधा नपाउने अवस्था अझै छ । त्यसैले हामीले विकृतिको बारेमा पनि सुझाव दिँदै आएका छांै । काम गर्न महिलालाई चुनौतीपूर्ण छ, त्यसमा पनि दलित । तपाईंले आफ्नो सफलतालाई कसरी हेर्नुभएको छ ? आफ्नो कथा छुट्टै छ । महिलाहरू बाहिर निस्कन पहाडभन्दा ठूला चुनौती आउँछन् । घरमै बसिदिए हुन्थ्यो घरकै काम गरे हुन्थ्यो बाहिर नगए हुन्थ्यो भन्ने समाज छ । महिला–महिला बिचको द्वन्द्व छ । पढेका बुहारी नपढेका सासू । ती खालका समस्या सहजै तोड्न सकिँदैन । आफैं अग्रसर हुनुपर्छ भन्ने मेरो अडान सधैं रहिरह्यो । त्यसैको उपज नै मेरो सफलता हो । छरिएर रहेका उद्यमीलाई एउटै छातामा ल्याउन महासंघले के गरिरहेको छ ? महासघ लघु उद्यमीको छाता संगठन हो । ७० हजार लघुउद्यमी छन् । तीमाध्ये केही उत्कृष्ट पनि छन् । बजारीकरण, लगानी, सीपका समस्या छन् । उनीहरूको उत्थानका लागि गाविसबाट बजेट छुट्ट्याएर काम भइरहेका छन् । सबैलाई हामीले नीतिगत रूपमा समेट्ने प्रयास गरेका छौं । समस्याको उजागर गर्न सहज हुन्छ भन्ने ठानेर जिल्लास्तरीय बोर्ड गठन गरेका छौं । ती बोर्डले रिपोर्टिङ हुन्छ । साना र निम्न वर्गीय उद्यमीका लागि भनेर एउटा किताब बनेको छ । नपढेका उद्यमीले समेत प्रोढ शिक्षा पढ्न लागेका छन् । सबैको हात हातमा बिजनेस प्लान बनेको छ । गाविसमा महिला सञ्जाल बनेको छ । यसले लघुउद्यमीभन्दा बाहिरका महिलालाई समेट्न सहज हुनेछ । लघुउद्यम कार्यक्रममा रोजगारीको अवस्था कस्तो छ ? ७० हजार लघुउद्यमी छँदै छन् कम्तीमा एउटा उद्योगले धेरै उद्यमी जन्माएको छ । यति नै भन्ने अवस्था त छैन । तर, यस क्षेत्रमा लागेकाहरूले कम्तीमा पनि ५ जनालाई उद्यमी बन्न प्रेरित गरेका छन् । लघुउद्यम भनेको उद्योगभित्रको एउटा एकाइ मात्र हो । धेरै कुरा हामीले चाहेर पनि गर्न सकेका हुँदैनांै । तपाईं एउटा उद्यममा लागेको महिला हुनुहुन्छ, गरिब र पिछडिएको समुदायका लागि के गर्दै हुनुुहुन्छ ? पहिलो, दलित आफंै बनेको हो अरूले बनाएको होइन । विशेषगरी (दमै, कामी, सार्की) ३ जातलाई समाजले दलित बनाएको छ । दलितको सूचीमा रहेकाहरूमा पनि विभेद देखिन्छ । सामान्य बुझाइमा इमान्दारिता, सरसफाइ, शिक्षा नहुनु कसैको पैसा लिए तिर्न नखोज्ने परिपाटी दलितमा हुने गरेको पाइन्छ । त्यो यदाकदा उच्चवर्ग भनिएकामा पनि छ । कसैलाई ढाट्न र छल्न भन्ने भावना नभएपछि दलित भन्ने मानसिकताको अन्त्य हुनुपर्छ । जहाँसम्म मेरो कुरा छ हामीले कर्ममा विश्वास गर्नुपर्छ । काम गर्न उद्यमशील बन्नका लागि दलित र गैरदलितको ट्याग लगाउनु पर्दैन । म पनि समाजको प्रतिनिधिको हिसाबले गरिब र पिछाडिएको समुदायका लागि सिपमूलक कार्यक्रमको पहल गर्छु, जसले हरेक घरमा उद्यमी जन्माउनेछ । महिला उद्यमशीलतामा सम्पत्तिको अधिकार नहुँदा समस्या छ भन्ने सुनिन्छ । तपाईं के भन्नुहुन्छ ? यो मुख्य समस्या छ । महिलालाई हाम्रो समाजले सम्पत्तिको अधिकार दिन सकेको छैन । यसको मतलब महिलालाई अझै विश्वास गरिँदैन । पुरुषहरू महिलाका नाममा लालपुर्जा दिन चाहँदैनन् । पुरुषहरूले पाइला–पाइलामा ढाँट्ने गरेका छन् । तपाईं आफूलाई समाजले भोलिका दिनमा कसरी चिनुन भन्ने लाग्छ ? म एक दलित हो । त्यसमा पनि महिला । विशेषगरी सामाजिक काम गर्न रुचाउँछु । मेरो एउटै चाहना छ– सबै खालका महिला उद्यमशीलतामा आउनुपर्छ । महिला उद्यमशीलताको विकास गर्न सकियो भने मात्रै घर परिवार सम्पन्न हुनेछ । तब समाज रूपान्तरण हुनेछ । त्यसैले पनि मैले अन्तिम समयसम्म उद्यमशीलतालाई नै प्राथमिकता दिनेछु । सामाजिक चेतना, उद्यमशीलता र सधैं काम गर्न प्रेरित गर्ने महिलाका रूपमा भोलिका पुस्ताले मलाई चिनुन भन्ने लाग्छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक