नेपाली सिमेन्टको गुणस्तर

सम्पादकीय नेपालमा पूर्वाधार विकासको अवस्था अहिले भर्खर बामे सर्ने क्रममा छ भन्दा पनि हुन्छ । बृहत् क्षमताका ठूल्ठूला सडक, पुल, ठूला जलविद्युत् आयोजनाजस्ता पूर्वाधारहरूले भर्खरै गति लिन थालेका छन् । नेपालमा सहरीकरणको गति तीव्र भएसँगै ठूल्ठूला आवासीय र व्यावसायिक भवनजस्ता भौतिक संरचनाहरूको निर्माण द्रुत गतिमा भइरहेको छ । यस्ता पूर्वाधार र भौतिक संरचनाहरूको निर्माणले नेपालमा सिमेन्ट, फलामे छडजस्ता औद्योगिक उत्पादनहरूको माग उच्च दरमा बढाउँदै लगेको छ । विगतमा सरकारी स्वामित्वका हिमाल, हेटौंडा र उदयपुर सिमेन्टले मात्र बजारको माग धानिरहेकोमा पछिल्लो समयमा वातावरणीय कारण जनाउँदै राजधानीको चोभारस्थित हिमाल सिमेन्ट पूरै बन्द भइसकेको छ भने बजारमा निजी क्षेत्रको उपस्थिति बाक्लिँदो छ । उद्योग विभागका अनुसार २०५२ सालदेखि निजी क्षेत्रले सिमेन्ट उद्योग स्थापनाका लागि अनुमति लिन थालेका हुन् । हालसम्म ७५ वटा सिमेन्ट उद्योगहरूले उद्योग विभागबाट अनुमति लिएकोमा हाल ४५ उद्योगहरूले नियमित उत्पादन गरिरहेका छन् । सिमेन्ट उद्योगमा लगानीका लागि नेपालका ठूला औद्योगिक÷व्यावसायिक समूहदेखि नाइजेरियाको डाङ्गोटे समूहले समेत अनुमति पाइसकेको छ । डाङगोटेले ६० अर्बको लगानीमा स्थापना गर्ने भनिएको सिमेन्ट उद्योग हालसम्मकै ठूलो क्षमताको हो । नेपालको महाभारत पर्वत श्रृङ्खलामा पाइने चुनढुंगा उत्कृष्ट गुणस्तरको भएको र दशकौंसम्म पुग्ने भण्डारण भएकाले पनि यहाँ सिमेन्ट उद्योगको सम्भावना फस्टाएको हो । निर्माणमा सिमेन्ट अपरिहार्य तŒव भएकाले यसको आन्तरिक बजारमात्र होइन, छिमेकी मुलुकमा समेत निर्यातको ठूलो सम्भावना छ । किनभने त्यहाँ पनि पूर्वाधारको निर्माण अत्यन्तै द्रुत गतिमा छ । भारतबाहेक दक्षिण एसियाका अन्य मुलुकमा पनि नेपाली सिमेन्टको निर्यातको सम्भावना औंल्याउने गरिएको छ । यही सम्भावनालाई देखेर नै खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन गरी सिमेन्ट उद्योग स्थापना गर्ने अनुमति लिने होड नै चल्यो । तीमध्ये थोरै उद्योगले मात्र अहिले नेपाली चुनढुंगा प्रयोग गरी क्लिंकर उत्पादन गरिरहेका छन्, अधिकांशले भारतबाट तयारी क्लिंकर आयात गरी सिमेन्ट उत्पादन गरिरहेका छन् । यद्यपि नेपालभित्रै क्लिंकरको उत्पादन बढ्दै जानु राम्रो संकेत हो । सरकारले हालसम्म १ अर्ब ७ करोड मेट्रिकटन चुनढुंगाको सम्भाव्यता अनुमान गरेर त्यसअनुसार विभिन्न कम्पनीलाई अन्वेषण र खोजतलासको अनुमति दिइसकेको छ । यो परिमाणका आधारमा नेपालमा ७२ करोड मेट्रिक टन सिमेन्ट उत्पादनको सम्भावना छ । उद्यमीहरूको पछिल्लो अनुमानअनुसार नेपालमा वार्षिक ३३ देखि ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ, हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म मागमा वृद्धि हुँदै गइरहेको छ । तर, माग वृद्धि गएसँगै आन्तरिक उत्पादनको खपत जुन रूपमा वृद्धि हुनुपर्ने थियो, त्यसो हुन सकिरहेको छैन । अहिले पनि कुल मागको ७५ प्रतिशतमात्र आन्तरिक उद्योगहरूले पूर्ति गरिरहेको अनुमान छ । यो सकारात्मक पक्ष होइन । नेपाली सिमेन्टको प्रयोग बढ्न नसक्नुको मुख्य कारण हो— ठूला निर्माण परियोजनाहरूमा नेपाली सिमेन्टको गुणस्तरप्रति विश्वास हुन नसक्नु । सिमेन्टमा ३३, ४३, ५३ र ६३ ग्रेड हुन्छ, जति बढी ग्रेड भयो उति राम्रो भन्ने बुझिन्छ । नेपालकै सिमेन्ट उद्योगहरूले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्न थालिसक्दा सरकारी प्रयोगशालाले भने ३३ ग्रेडसम्मको सिमेन्टको मात्र गुणस्तर माप गर्न सक्नु विडम्बनाकै कुरा हो । नेपाली सिमेन्ट गुणस्तरीय हुँदैन भन्ने आशंकाले नै अहिले ठूला आयोजनाहरूमा यसको प्रयोग बढ्न सकेको छैन । यो स्थितिलाई उल्ट्याउनका लागि नेपाली सिमेन्ट उत्पादकहरूले आफ्नो गुणस्तर विकास गर्नुका साथै गुणस्तरीयता प्रमाणित गर्न सक्नुपर्छ । सरकारी ल्याबको यदि क्षमता पुग्दैन भने निजी क्षेत्रको सहकार्यमा क्षमतायुक्त ल्याब स्थापना गरी नेपाली उत्पादनको सही गुणस्तर प्रमाणीकरण गरिनुपर्छ, ताकि आन्तरिक निर्माणहरूमा यहीँको उत्पादन खपत गर्ने वातावरण बन्न सकोस् । यदि स्वदेशी उत्पादनले नै आन्तरिक माग धान्न सक्छ भने सरकारले उपयुक्त ऐननियम र अन्य पूर्वाधारहरूको निर्माण गरी आन्तरिक उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्नुपर्छ । योसँगै औद्योगिक क्षेत्रलाई फस्टाउने वातावरणसमेत बनाउनुपर्छ, जसरी सिमेन्ट उद्योगसम्म पहुँचमार्ग बनाउने कुरा बजेट वक्तव्यहरूमा घोषणा भएका छन्, त्यहीअनुरूप विद्युत्सेवा उपलब्ध गराउने तथा खानी क्षेत्रमा हुने अनावश्यक हस्तक्षेप नियन्त्रण गर्न पनि उत्तिकै आवश्यक भइसकेको छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन