प्रयोगशाला नहुँदा ठूला परियोजनामा विदेशी सिमेन्ट

प्रयोगशाला नहुँदा ठूला परियोजनामा विदेशी सिमेन्ट निरु अर्याल काठमाडौं, ५ फागुन सरकारी प्रयोगशालाको क्षमता विस्तार नहुँदा मुलुकमा सञ्चालित ठूला परियोजनामा विदेशी सिमेन्ट प्रयोग भइरहेको छ । सिमेन्ट उद्योगहरूले विदेशीसरह गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने बताइरहे पनि सरकारी प्रयोगशालाले प्रमाणित गर्न नसक्दा परियोजनाहरू विदेशी सिमेन्ट आयात गर्न बाध्य छन् । सरकारी प्रयोगशालाले हाल ३३ ग्रेडसम्मका सिमेन्टको मात्रै गुणस्तर परीक्षण गर्ने गरेको छ । तर, ठूला परियोजनालाई ४३ र ५३ ग्रेडका सिमेन्ट आवश्यक हुन्छन् । नेपाल गुणस्तर तथा नापतौल विभागमा रहेको एकमात्र आधिकारिक प्रयोगशालाको क्षमता विस्तार हुन नसक्दा अर्बौं लगानी भइसकेका सिमेन्ट उद्योग खुम्चिन बाध्य भएका हुन् । सरकारले नेपाल गुणस्तर चिह्न प्रदान गरेपछि मात्रै व्यवसायीले आफ्ना उत्पादन बजारमा पठाउन पाउँछन् । गुणस्तर चिह्न प्रदान गर्ने विभागले हाल नेपाली सिमेन्टलाई ३३ ग्रेडसम्मको मात्रै मान्यता दिएको छ । उद्योगका आफ्नै प्रयोगशालाले ४३ र ५३ ग्रेडका सिमेन्ट परीक्षण गरे पनि सरकार र विदेशी लगानीका परियोजनाले यसलाई मान्यता दिँदैनन् । यसको ठीक विपरीत विदेशबाट आयात हुने सिमेन्टको भने यहाँ गुणस्तर परीक्षणै नगरी बजारमा पठाउने गरिएको व्यवसायी बताउँछन् । “हामीसँग क्षमता छ तर सरकारसँग गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नै छैन,” शिवम् सिमेन्टका निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिशकुमार मोर भन्छन्, “यही कारणले हामी क्षमता हँुदाहँुदै पनि न्यून ग्रेडको सिमेन्ट उत्पादन गर्न बाध्य भएका छौं । प्रयोगशालाकै अभावका कारण हामी खुम्चिएका छौं ।” उनका अनुसार शिवम्ले अत्याधुनिक जर्मन प्रविधिको प्लान्टबाट स्वदेशी चुनढुंगा प्रयोग गरी क्लिंकर तथा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । हालै सञ्चालनमा आएको अर्घाखाँची सिमेन्टले ४३ ग्रेडभन्दा पनि गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको दाबी सञ्चालकको छ । “तर सरकारको कमजोरीका कारण मान्यता पाउन सकेको छैन,” कम्पनीका सञ्चालक राजेश अग्रवाल भन्छन्, “हाम्रो आफ्नै ल्याबले पनि गुणस्तर प्रमाणित गरेको छ तर मान्यता दिइएको छैन ।” उनका अनुसार निजी क्षेत्रले स्थानीय उद्योगकै गुणस्तर मापनलाई मान्यता दिएर प्रयोग गरिरहे पनि सार्वजनिक खरिद ऐनका कारण ठूला परियोजनाले प्रयोग गर्न सक्दैनन् । पछिल्लो समय स्थापना भएका अधिकांश उद्योगले ४३ र ५३ ग्रेडका सिमेन्ट उत्पादन गर्ने क्षमताका प्लान्ट राखेका छन् । सिमेन्ट उत्पादकहरूले सरकारको अनुत्तरदायी रवैयका कारण स्वदेशी उद्योगले प्रोत्साहन पाउन नसकेको गुनासो गर्छन् । “परियोजनाहरूले हाई ग्रेडका सिमेन्ट माग गर्छन् तर हामीकहाँ त्यस्ता प्रयोगशाला नै छैनन्,” नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भन्छन्, “यसले पनि परियोजनामा नेपाली सिमेन्टको खपत न्यून हुन्छ ।” राज्यको स्पष्ट नीति अभाव, खुला सिमाना र भन्सार सहुलियतले परियोजनामा विदेशी सिमेन्ट प्रयोग बढेको उनले बताए । यसका अतिरिक्त लोडसेडिङका कारण डिजल जेनेरेटर प्रयोग गर्दा सिमेन्टको लागत तुलनात्मक रूपमा विदेशीभन्दा महँगो हुन्छ । प्रयोगशालाका सम्बन्धमा व्यवसायीको गुनासो बढेपछि विभाग पनि केही अग्रसर देखिएको छ । परियोजनाहरूमा विदेशी सिमेन्ट प्रयोग बढी हुने गरेको पाइएपछि उसले स्वदेशी सिमेन्टको खपत बढाउन आवश्यक गृहकार्य सुरु गरिसकेको जनाएको छ । विभाग महानिर्देशक विश्वबाबु पुडासैनीले ४३ र ५३ ग्रेड क्षमताको प्रयोगशालाका विषयमा आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिए । “नेपाली सिमेन्ट कम गुणस्तरका छन् भन्न मिल्दैन,” उनले भने, “विभाग आफैंले ४३ र ५३ ग्रेडको प्रयोगशाला राख्ने विषयमा एक चरणको छलफल गरिसकेको छ र अब छिट्टै यसमा थप निर्णय हुनेछ ।” उनका अनुसार उच्च ग्रेडको सिमेन्ट उत्पादन गर्ने भन्दै व्यवसायीका तर्फबाट अहिलेसम्म कुनै औपचारिक निवेदन परेको छैन । व्यवसायीले भनेजस्तो सहजै उच्च ग्रेडको सिमेन्ट उत्पादन गर्न भने त्यति सहज नभएको तर्क उनले गरे । “जति हाई ग्रेडको सिमेन्ट उत्पादन हुन्छ, त्यति लागत खर्च उच्च हुन्छ,” उनले भने । स्वदेशी सिमेन्टलाई प्रोत्साहन गर्ने सरकारी प्रतिबद्धता देखिए पनि नेपालमा उत्पादिन सिमेन्ट लागतका हिसाबले महँगो पर्ने र कम गुणस्तरको हुने भएकाले विदेशी सिमेन्ट प्रयोग भएको हो । यद्यपि परियोजनाका लागि आउने विदेशी सिमेन्टको गुणस्तर मापन गर्ने यन्त्र पनि नेपालमा छैन । महानिर्देशक पुडासैनी भन्छन्, “नेपाली सिमेन्टको प्रयोग हँुदै नहुने भन्ने होइन, उच्च ग्रेडको सिमेन्ट भने बाहिरबाटै ल्याउनुपर्छ ।” नेपालमा प्रयोग हुने विदेशी सिमेन्टको मुख्य बजार भारत हो भने पछिल्ला दिनमा चीनबाट पनि आयात हुने गरेको छ । संघका अनुसार नेपाली सिमेन्टले कुल मागको ७५ प्रतिशतमात्र पूरा गरेको छ । संघ अध्यक्ष थापाले अधिकांश ठूला परियोजनामा अन्तर्राष्ट्रिय ठेकेदार नियुक्त हुने भएकाले पनि विदेशी सिमेन्ट प्रयोग धेरै भएको बताए । “अन्तर्राष्ट्रिय सिमेन्ट छड आयात गर्दा भन्सार र भ्याटमा छुट हुने भएकाले पनि ठूला परियोजनामा विदेशी सिमेन्ट प्रयोग हुने गरेको हो,” उनले भने, “राजधानीमा बन्ने २४–२५ तले घरमा स्वदेशी सिमेन्ट प्रयोग हुन्छ, त्यसैले गुणस्तरलाई दोष दिन मिल्दैन ।” सरकारले अघिल्लो वर्ष पुसमा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न र स्वदेशी कच्चा पदार्थको भरपूर उपयोग गर्न भन्दै ०७३ पछि विदेशी सिमेन्ट र क्लिंकर पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन