पर्यटनमा चिनियाँको आक्रामक लगानी

निरु अर्याल\केदार दाहाल काठमाडौं, २७ पुस । पर्यटन क्षेत्रमा चिनियाँ लगानी उत्साहजनक रूपमा बढेको छ । समग्र पर्यटक आगमनमा दक्षिणी छिमेकी भारत अघि रहे पनि लगानीमा भने चीन धेरै अगाडि छ । साना तथा मझौलासँगै ठूला पर्यटन पूर्वाधारमा चिनियाँ लगानी बढिरहेको उद्योग विभागले जनाएको छ । चीनले हालसम्म नेपालमा २१९ वटा पर्यटनसम्बन्धी परियोजना स्थापना गरेको छ । यिनमा लगानी प्रतिबद्धता ३ अर्बभन्दा बढी छ । लगानीका लागि सम्भाव्य क्षेत्र मानिएको पर्यटनमा चीनको यो लगानी भारतीयको तुलनामा झन्डै दोब्बर हो । भारतबाट नेपालको पर्यटनमा ५९ वटा परियोजना आएका छन् । यीमार्फत मंसिर अन्तिमसम्म १ अर्ब ९४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । सन् २०१४ सम्म पर्यटनमा विभिन्न मुलुकका ८५१ परियोजनामा १६ अर्ब १७ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागका वैदैशिक लगानी निर्देशक विपीन राजभण्डारीले भने । विभागको पछिल्ला २ महिनाको तथ्यांक हेर्ने हो भने चीनबाट पर्यटनका साना परियोजनामा मात्रै ५१ करोड १० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी आउनुलाई सकारात्मक रूपमा लिँदै अझ प्रोत्साहन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाको तर्क छ । “चीन र भारतका लागि सम्भावना बोकेको क्षेत्र भएकाले पनि नेपालमा लगानीमा प्रतिस्पर्धा गरेजस्तो देखिएको छ, जुन नेपालकै लागि सकारात्मक हो,” उनले भने । अरु उद्योगको लगानीमा समेत चिनियाँ लगानी अगाडि रहेको राजभण्डारीले बताए । उनका अनुसार चिनियाँले साना होटलदेखि ठूला परियोजनामा समेत लगानी विस्तार गर्दै लगेका छन् । चीनबाट अहिले एयरलाइन्स, होटलका साथै पूर्वाधार निर्माणमा समेत लगानी आइरहेको छ । चिनियाँ पर्यटकको आगमनसँगै नेपालले पर्यटनमा लगानीलाई विशेष प्राथमिकता दिँदै आएको छ । विश्वकै ठूलो अर्थतन्त्र चीनले नेपालमा लगानीको दायरा बढाउँदै लैजानुलाई पर्यटन व्यवसायीले पनि सकारात्मक रूपमा लिएका छन् । अहिलेको पर्यटक आगमनदर हेर्दा सन् २०१६ सम्ममा २ लाख चिनियाँ आउन सक्ने देखिएको छ । यसका लागि सरकारले पनि पहल गरिरहेको छ । चीनबाट सन् २०१२ मा ७१ हजार ८६१ चिनियाँ नेपाल आएकामा २०१३ मा बढेर १ लाख १३ हजार १७३ पुगेका थिए । “नेपालमा चिनियाँ पर्यटक वृद्धिसँगै यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्नु नेपाली अर्थतन्त्रकै लागि सकारात्मक हो,” एसिया प्यासिफिक (पाटा)को नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे भन्छन्, “चीनबाट एयरलाइन्स क्षेत्रमा झनै ठूलो लगानी आउँदै छ, यसले नेपालको आर्थिक विकासमा ठूलो सहयोग गर्नेछ ।” होटल एसोसिएसन नेपाल (हान) महासचिव विनायक शाह पनि होटल, एयरलाइन्सदेखि पूर्वाधार निर्माणमा चिनियाँको लगानी बढ्नुलाई उत्साहजनक मान्छन् । चीनबाट २०१५ को सुरुवातदेखि नेपाल उडान भर्ने एयरलाइन्स संख्या ५ पुग्दैछ । जनवरीदेखि सिचुवान एयरलाइन्सले नेपाल उडान भर्दैछ भने फेब्रुअरीदेखि हिमालयन एयरलाइन्सले ल्हासा–काठमाडौं उडान तयारी गरिरहेको छ । हिमालयनले तिब्बत एयरलाइन्ससँग सहकार्य गर्दैछ । चीनबाट यसअघि नै एयर चाइना, चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सले नेपाल उडान भर्दै आएका छन् । चीनले राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि समेत एक्जिम बैंकमार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउँदैछ । विमानस्थल निर्माणको जिम्मा चाइना सीएएमसी इन्जिनियरिङले पाइसकेको छ । त्यस्तै, गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसनले बनाउँदैछ । यो परियोजना एसियाली विकास बैंक (एडीबी)को ऋणमा निर्माण हुन लागेको हो । चीनले नेपाल वायुसेवा निगमलाई अनुदान र सरल ऋणमा गरी ६ वटा जहाज पनि दिँदैछ । अनुदानका २ जहाज एमए–६० र वाई–१२ बाट निगमले व्यावसायिक उडान गरिरहेको छ । बाँकी ४ वटा पनि सरल ऋणमा ल्याउने तयारी गरिरहेको छ । ६ वटा चिनियाँ जहाज किन्न ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलब्ध गराइएको हो । ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋणमा एउटा एमए ६० र ३ वटा वाई १२ ई जहाज खरिद गर्ने गरी सम्झौता भएको थियो । – मझौला पर्यटन व्यवसायमा भारतलाई चीनले उछिन्यो – संख्यात्मक परियोजनामा समेत चिनियाँ अगाडि – निगमलाई ६ जहाज – पोखरा विमानस्थलमा सरल ऋण – गौतमबुद्ध विमानस्थल निर्माणमा पनि चिनियाँ नै

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक