१० वर्षमा २५ लाख पर्यटक भित्राउने लक्ष्य

केदार दाहाल काठमाडौं, २० पुस- सरकारले आगामी १० वर्षमा पर्याप्त पर्यटन पूर्वाधार विकास गरी २५ लाख विदेशी पर्यटक भिœयाउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १० वर्षे रणनीतिक योजना तयार पारी पर्यटक आगमन संख्या हालको भन्दा ३ गुणा बढाउने लक्ष्य लिएको हो । हाल बर्सेनि साढे ७ लाख पर्यटकले नेपाल भ्रमण गर्छन् । यो योजना सन् २०१५ देखि सुरु भई २०२४ मा सम्पन्न हुनेछ । योजनाअन्तर्गत पर्यटन क्षेत्रको वार्षिक आम्दानी १० गुणाले वृद्धि गरी वार्षिक ३ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पु¥याउने लक्ष्य तय गरिएको छ । अहिले पर्यटनको वार्षिक आम्दानी ३५ अर्ब रुपैयाँ छ । विमानस्थल निर्माण तथा सुधार, होटलमा लगानी विस्तार र पर्यटन प्रवद्र्धनलगायतमा सरकारले ६१ अर्ब रुपैयाँ खर्च गर्ने रणनीति लिएको छ । नेदरल्यान्ड्स सहयोग नियोग (एसएनभी), यूकेएड, यूनएनडब्लूटीओ र नेपाल पर्यटन बोर्डले रणनीति तयारीमा सहयोग गरेको मन्त्रालयका प्रवक्ता तथा योजना महाशाखा प्रमुख मोहनकृष्ण सापकोटाले बताए । योजना सफल पार्न सरकारले ऐनलाई समयसाक्षेप संशोधन गर्ने जानकारी उनले दिए । उनका अनुसार सन् २०१९ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार, निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र भैरहवामा क्षेत्रीयस्तरका विमानस्थल र विभिन्न तारे होटल निर्माण गरिनेछ । हालका पूर्वाधारले बढीमा १० लाख पर्यटक धान्न सक्छन् । नेपालमा हाल १० वटामात्र पाँचतारे होटल छन् । योजनाअनुसार ५ वर्षभित्र कम्तीमा २० वटा पाँचतारे र सयौं पर्यटक स्तरका तारे होटल निर्माण गर्नुपर्ने औंल्याइएको छ । अहिले ३ वटा पाँचतारे होटल निर्माण सुरु भइसकेको छ । पहिलो चरणको काम सकिँदा २० लाख पर्यटक भित्रिने सरकारको आँकलन छ । दोस्रो चरणमा पूर्वाधार विकास सम्पन्न गरी नेपाल वायुसेवा निगममार्फत नेपाललाई ठूला सहरसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने योजना छ । ठूला सहरमा लन्डन, बेइजिङ, पेरिस, टोकियोलगायत छन् । विमानस्थल निर्माणमात्रै नभई ‘फास्ट ट्र्याक’ पनि बनाएर अन्य सडकलाई चुस्त बनाउने रणनीतिमा उल्लेख छ । आन्तरिक वायुसेवा प्रदायकको गुणस्तर वृद्धिका साथै देशभरका विमानस्थल सुधार गर्ने योजना छ । राष्ट्रिय ध्वजावाहक निगमले पनि ठूलो संख्यामा सेवा विस्तारका साथै विमान थप्नुपर्ने योजनामा औंल्याइएको छ । सरकारले सन् २०१८ सम्म गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी सञ्चालनमा ल्याउने योजनामा छ । निजगढ विमानस्थल निर्माण पनि पूरा हुनेमा मन्त्रालय ढुक्क छ । चीन र भारतका पर्यटकलाई केन्द्रित गर्ने लक्ष्य लिइएको छ । यसका लागि २०१७ सम्म ‘बुद्ध सर्किट’ निर्माण गरी लुम्बिनी गुरुयोजना र पशुपति गुरुयोजना तयार गरिने भएको छ । सरकारले ४ विमानस्थलका साथै लुम्बिनी र पशुपतिलाई राष्ट्रिय गौरवका आयोजनामा राखेको छ । निगमले पनि १० वर्षे रणनीति बनाएको छ । सन् २०२४ भित्र आन्तरिक उडानका लागि १६ वटा र अन्तर्राष्ट्रियतर्फ ९ वटा ठूला विमान थप्ने उसको लक्ष्य छ । निगमले सन् २०१५ भित्रै अन्तर्राष्ट्रिय उडानमा ५ लाख ७८ हजार यात्रुलाई सेवा दिनेछ । सन् २०२४ सम्ममा १५ लाख ४० हजार यात्रु उडाउने लक्ष्य उसको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक