Thursday, January 1, 2015

जस्तोसुकै अवस्थामा पनि विज्ञापन बजार खस्किएको छैन

सन्तोष श्रेष्ठ अध्यक्ष, नेपाल विज्ञापन संघ (आन) १५ वर्षदेखि विज्ञापन क्षेत्रमा रहेका सन्तोष श्रेष्ठ पुस ३ गते नेपाल विज्ञापन संघ (आन)को नेतृत्व सम्हाल्न आइपुगेका हुन् । १०÷११ वर्षदेखि उनी आनको कार्यसमितिमा थिए । आफ्नो रगतमै विज्ञापन रहेको बताउने श्रेष्ठ यो क्षेत्रभन्दा बाहिर जान नसक्ने बताउँछन् । नेपालको विज्ञापन क्षेत्रलाई सुधार गर्न युवा पुस्ताले नै नेतृत्व लिनुपर्ने नाराका साथ उनी संघमा आएका हुन् । विज्ञापन क्षेत्रको विकासका लागि बजार विस्तार भएरमात्र नहुने भएकाले यो क्षेत्रको नाफादर पनि बढ्नुपर्नेमा उनी जोड दिन्छन् । संस्थाको विकासका सबै एजेन्सीहरू स्वच्छ भावले सुधारका लागि अघि बढ्नुपर्ने उनी बताउँछन् । यस्ता विषयमा ध्यान केन्द्रित गर्ने भन्दै सबै विज्ञापन एजेन्सीलाई समान व्यवहार गर्दै अघि बढ्ने बताउने श्रेष्ठसँग नेपाली विज्ञापन बजारको समग्र अवस्थाबारे कारोबारकर्मीद्वय केदार दाहाल र शिव बोहराले गरेको कुराकानी : अहिले नेपालको विज्ञापन बजार कसरी विस्तार भइरहेको छ ? नेपालको विज्ञापन बजार वार्षिक ५ अर्ब रुपैयाँको छ । वार्षिक १० देखि १५ प्रतिशतले क्रमिक रूपमा विस्तार भइरहेको छ । यद्यपि सोचेअनुरूप भएको छैन । देशको राजनीतिक अस्थिरताले विज्ञापन बजारलाई प्रभाव पारेको छ कि छैन ? नेपालको विज्ञापन बजार माओवादी द्वन्द्वकालमा पनि वृद्धि नै भएको थियो । कुनै वर्ष अलि बढी त कुनै वर्ष अलि कम भएको थियो । तर, विज्ञापन बजार विस्तारमा गिरावट भने देखिएन । जस्तोसुकै राजनीतिक अस्थिरता, प्राविधिक समस्या भए पनि विज्ञापन बजार विस्तार भएकै देखिन्छ, असर देखापरेको छैन । विज्ञापनको बजार विस्तारसँगै व्यवस्थापन चुनौती पनि आए होलान् । समाधानका लागि के योजना ल्याउनुभएको छ ? समस्या जति धेरै भए, त्योसँग जुध्न उति नै रमाइलो हुन्छ । तर, आफूसँग सामना गर्ने सामथ्र्य भने हुनुपर्छ । विज्ञापन बजार जुन रूपमा विस्तार भएको छ, त्यहीअनुरूप चुनौती पनि पक्कै थपिएका छन् । समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्छ, यो टिमवर्क हो । हामी अहिले पूरै युवा टोली नेतृत्व सम्हाल्न आएका छौं । विज्ञापन बजारको चक्रमा भएका सबै पक्षलाई समेटेर लगियो भने धेरै हदसम्म समाधान हुन्छन् । सबै क्षेत्रको ‘विन–विन’ अवस्थामा सकारात्मक परिवर्तन गर्न सकिन्छ । पहिले विज्ञापन विद्युतीय र छापा माध्यममा मात्र जान्थ्यो । तर, अहिले अनलाइन सञ्चारमाध्यम पनि फस्टाएका छन् । कस्तो प्रभाव छ अनलाइन विज्ञापनको ? विद्युतीय र छापालाई परम्परागत माध्यमको रूपमा लिइन्छ । यी माध्यमले थेग्नुपर्ने विज्ञापनको भार थेगिसकेका छन् । अबको जमाना अनलाइन बेस्ड सञ्चारमाध्यमको हो । विश्व परिवेशलाई हेर्ने हो भने अनलाइन माध्यमले धेरै नै फड्को मारिरहेका छन् । नेपालमा पनि अनलाइन मिडियाको विकास र विस्तार तीव्र रूपमा भइरहेको छ । विकसित मुलुकको तुलनामा नेपालमा भइरहेको विकास भने सामान्य नै हो । यद्यपि विस्तार दर सन्तोषजनक भएकाले अबका १०÷१५ वर्षमा अनलाइन विज्ञापन उल्लेख्य रूपमा वृद्धि भइसकेको हुनेछ । छापा तथा विद्युतीय माध्यमहरूले यसको ठूलै मार महसुस गर्नेछन् । यो क्षेत्रमा आमूल परिवर्तन हुने निश्चित छ । एक्काइसौं शताब्दीलाई डिजिटल एजका रूपमा समेत परिभाषित गरिएको छ । अनलाइन सञ्चारमाध्यमको संख्याका साथै प्रयोगकर्तासमेत बढ्दै गएकाले विज्ञापनदाताहरू अनलाइनतर्फ सिफ्ट हुँदै जान्छन् । नेपालमा सञ्चारमाध्यमको संख्या जुन रूपमा विस्तार भइरहेको छ, यसलाई विज्ञापन बजारले धान्न सक्ने अवस्था छ त ? हाम्रो देशमा सञ्चारमाध्यमको उचित व्यवस्थापन हुन नसक्दा केही समस्था पक्कै देखिएका छन् । यसले विज्ञापन एजेन्सीहरूलाई पनि विज्ञापन वितरणमा समस्या उत्पन्न गराएको छ । पत्रपत्रिका, रेडियो तथा अनलाइन कति हुने भन्ने कुरा हामीले निर्धारण गर्ने कुरा होइन, बजारले गर्छ । हामीले खुलाबजार अर्थनीति अंगिकार गरेकाले यो बजारलाई नै छोडिदिने हो । तर, सबै बजारले नै निर्धारण गर्छ भनेर हामी चुप लागेर बस्ने पनि होइन । विज्ञापन बजारका सबै तत्व सक्रिय भए व्यवस्थापन गर्न सहज हुन्छ । विज्ञापन बजार विस्तार हुने हो भने यो समस्या स्वतः समाधान हुने देखिन्छ । अहिले हाम्रो देशमा कतिपय मिडियाहरू टिक्न नसकिरहेको भन्ने पनि सुनिएको छ । हामीले यस्ता समस्यालाई सक्दो समाधान गर्ने प्रयास गरिरहेका छौं । वस्तु तथा उत्पादनलाई ब्रान्डको रूपमा स्थापित गर्न सकियो भने पनि विज्ञापन बजार विस्तारमा सहयोग पुग्छ । जति धेरै कारोबार हुन्छ, उत्ति नै धेरै मिडिया टिक्न सक्छन् । सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो र अहिलेको वार्षिक करिब ५ अर्बको कारोबारलाई ८÷१० अर्ब पु¥याउने हो भने हामी सबै सबल हुन्छौं । सरकारी विज्ञापन लिँदा एजेन्सीहरूले पूरै रकम लिने तर प्रतिस्पर्धाको नाममा सञ्चारमाध्यमलाई दिँदा धेरै मार्जिन राख्ने गर्छन् भन्ने सुनिन्छ । साँचो हो ? सरकारी विज्ञापन टेन्डर गरेर नै प्रकाशित÷प्रसारित हुन्छन् । सरकारी विज्ञापन टेन्डरबिना ल्याउनै सकिन्न । त्यसमाथि सरकारी विज्ञापन वर्गीकरणअनुसार नै वितरण गरिन्छ । टेन्डरको माध्यमबाट जाने कुनै पनि चिजमा मार्जिन धेरै हुन सक्दैन । यो हामीलाई लगाइने फगत आक्षेपमात्र हो । सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गर्नेभन्दा पनि यसको उद्देश्य पूर्ति हुने गरी दिइनुपर्छ । सरकारले मिडिया प्लानिङ गर्दा नै यस्ता विषयमा विशेष ध्यान दिनुपर्छ । सरकारी विज्ञापनमा गुणस्तर, प्राविधिक पक्षलाई भन्दा पनि विज्ञापन दरलाई प्राथमिकता दिइँदा समस्या थपिँदै गएको देखिन्छ । अनावश्यक प्रतिस्पर्धाले नाफामा होइन, गुणस्तरमा समस्या पारेको छ । हामीले सरकारी विज्ञापनमा ज्यादै न्यून मार्जिन लिइरहेका छौं । नाफाको दर न्यून भए पनि सरकारी विज्ञापनमा रमाउने विज्ञापन एजेन्सीको संख्या ठूलै छ । यसको प्रमुख कारण सरकारी विज्ञापनको पैसा डुब्ने सम्भावना कम हुनु हो । क्रेडिटमा काम गर्नुपर्ने हुँदा निजीबाट पैसा नउठ्ने सम्भावना पनि हुन्छ र कतिपय अवस्थामा भएको पनि छ । प्रतिस्पर्धाका आधारमा काम हुने भएकाले यस्ता आरोपहरूमा कुनै सत्यता छैन । नेपाली च्यानलहरूमा अहिले पनि बहुराष्ट्रिय कम्पनीका विज्ञापन डबिङ गरेर नै बजाइन्छ । यहाँका विज्ञापन एजेन्सीहरू रचनात्मक हुन नसकेका हुन् ? बहुराष्ट्रिय कम्पनीहरूले नेपाली एजेन्सीहरूलाई नै विज्ञापन बनाउन लगाएर बजाउन सुरु गरिसकेका छन् । उनीहरूले स्थानीय स्तरमै विज्ञापन उत्पादन गर्दा फाइदा हुने महसुस गरेका छन् । यसले हाम्रो क्षमता पुष्टि गर्छ । यो ‘ट्रेन्ड’ बढ्दो क्रममा छ । हामीले जति ‘क्रिएटिभ’ काम गर्न सक्छौं, उनीहरूले त्यत्ति नै विश्वास गर्दै जान्छन् । हामीले जति सस्तोमा गुणस्तरीय उत्पादन दिएर बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षित गर्न सक्छौं, त्यत्ति नै हाम्रो व्यापार बढ्दै जान्छ । यस्तो वातावरण सिर्जनाका लागि हामीले अहिले भएको मानव संसाधनलाई परिस्कृत गर्नु अनिवार्य छ । उनीहरूलाई थप रचनात्मक बनाउनुपर्छ । यसका लागि ‘इन्डस्ट्रियल मार्जिन’ बढाउनु आवश्यक छ । यसो भए आम्दानी वृद्धि हुन्छ । धेरै चर्चामा रहेको ‘क्लिन फिड’को कुरा कहाँ पुग्यो ? ‘क्लिन फिड’ टेलिभिजनसँग सम्बन्धित विषय हो । अहिले हामीले विदेशी च्यानल हेर्दा विज्ञापन पनि उनीहरूकै हेरिरहेका छौं । यसलाई ‘एड फिड’ भनिन्छ । हामीले गर्न खोजेको र तपाईंले भन्नुभएको ‘क्लिन फिड’ हो । हामीले धेरै समयदेखि ‘क्लिन फिड’ हुनुप¥यो भनेर व्यापक लबिङ गरिरहेका छांै । सरल भाषामा ‘क्लिन फिड’ भन्नाले विदेशी च्यानलमा कार्यक्रमसँगै बज्ने विज्ञापन रोक्नु हो । सरकारी तवरमा पनि पटक–पटक आग्रह गरिरहेका छौं । अहिले सरकारले विज्ञापन नीतिको खाका तयार गरिरहेको बताएको छ । यो नीति लागू भएपछि ‘क्लिन फिड’ पनि कार्यान्वयन हुनेमा हामी आशावादी छौं । यसकै लागि हामीले सरकारलाई घच्घच्याइरहेका छौं । धेरै देशहरूले आ–आफ्नो नीतिअनुसार ‘क्लिन फिड’ लागू गरेका छन् । नेपालले पनि लागू ग¥यो भने विज्ञापन क्षेत्रले ठूलो फड्को मार्ने निश्चित छ । आनले साना एजेन्सीलाई बेवास्ता गरी ठूलालाई मात्र काखी च्याप्ने गरेको आरोप लाग्छ । त्यस्तै भएको हो ? आनको छाता संस्थाभित्र २६३ सदस्य एजेन्सी छन् । सदस्यहरूलाई वर्गीकरण नै नगरेको अवस्थामा कसलाई ठूलो, कसलाई सानो भन्ने ? सानो–ठूलो, प्रोफेसनल–ननप्रोफेसनल कसैलाई पनि भन्न मिल्दैन । वर्गीकरण नभएको अवस्थामा कसैलाई पनि यो वा त्यो भन्ने मिल्दैन । आनले सबै सदस्यलाई समान व्यवहार गर्दै आएको छ । विज्ञापन चक्रका सबै तत्वलाई समान रूपमा व्यवहार गरिनुपर्छ । हामीले वर्गीकरण नगर्दाको अवस्थामा पनि बजारमा त्यस्तो सुनिएको छ भने आनले सबैलाई समान व्यवहार गर्नेमा कुनै शंका नगर्न म सबैलाई आग्रह गर्छु । आनले सामूहिक मिडिया मार्केटिङको कुरा उठाउँदै आएको छ । के भन्न खोजेको हो, बताइदिनुस् न ! आनले सामूहिक मिडिया मार्केटिङ वा समानुपातिकबारे आधिकारिक रूपमा एजेन्डा नै बनाएर हिँडेको जस्तो मलाई लाग्दैन । विज्ञापनदाताले आफ्नो रोजाइअनुसार माध्यम छनोट गर्न पाउनुपर्छ भन्ने नै हो । सरकारी विज्ञापनको हकमा भने सबै मिडियालाई उपलब्ध गराउने उद्देश्यले विज्ञापन वितरण भएको देखिन्छ । जनसम्पर्क स्थापनाका लागि र व्यक्तिगत सम्बन्ध विस्तारका लागि यदाकदा भएको पनि पाइन्छ तर आधिकारिक रूपमा यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने छैन । विज्ञापनजस्तो प्राविधिक क्षेत्रमा जनशक्ति अभाव किन भएको हो ? जब ‘इन्डस्ट्रियल मार्जिन’ बढी हुन्छ, यस्ता कुराहरू सुनिन छाड्छन् । मार्जिन धेरै भएको अवस्थामा व्यक्ति÷संस्थाको आम्दानी पनि बढ्छ । त्यससँगै राम्रा र दक्ष जनशक्ति ल्याउन सजिलो हुन्छ । जहाँ राम्रो आम्दानी हुन्छ, दक्षहरू त्यतैतर्फ जान्छन् । केही हदसम्म विज्ञापन क्षेत्रमा उच्च दक्ष जनशक्तिलाई आकर्षित गर्न नसकेको अवस्था पक्कै हो । तर, दक्ष नै छैनन् भन्ने होइन । विज्ञापन बजार विस्तार र नाफा दुवै वृद्धि हुने हो भने यो यसस्या आफैं समाधान हुन्छ । हामी यस्ता समस्या समाधानका लागि प्रयत्नरत छौं । विज्ञापनमा प्रयोग भएका भाषा अस्पष्ट र अप्ठ्यारो भएको सुनिन्छ । भाषा र शब्द छनोटमा विज्ञहरूको सुझाव लिइँदैन ? भाषाका बारेमा हामी सतर्क छौं । सेवाग्राहीलाई विज्ञापन बुझाउने विभिन्न माध्यममध्ये भाषा सबैभन्दा महत्वपूर्ण हो । यो कुरा हामीले पनि महसुस गरिरहेका छौं । व्यावसायिक विज्ञापन एजेन्सीले भाषा हेर्न छुट्टै विज्ञ राखेका हुन्छन्, जसलाई ‘कपी राइटर’ भनिन्छ । उसले विभिन्न भाषालाई ख्याल गरेर एउटा सन्देश विकास गर्छ । त्यसमा लक्षित वर्गले बुझ्ने भाषालगायत सबै पक्षलाई मध्यनजर गरिएको हुन्छ । लक्षित वर्गले बुझ्नेमात्र नभई हामीले हाम्रो भाषा र संस्कृतिलाई पनि ध्यानमा राखेर विज्ञाजन बनाउनेतर्फ ध्यान दिन्छौं । कुनै–कुनै त्यस्ता अंग्रेजी शब्दहरू छन्, जसको अर्थ नेपाली शब्दकोशमै भेटिँदैन । त्यस्तो अवस्थामा भने हामीले अंग्रेजी शब्दलाई नै सापटी लिनुपर्ने अवस्था छ । सकेसम्म नेपाली शब्द र संस्कृतिलाई नै प्राथमिकता दिन्छौं र दिँदै आएका छौं । भर्खरै आनको नेतृत्व सम्हाल्नुभएको छ । आनसँगै विज्ञापन बजारलाई अगाडि बढाउन के योजना बनाउनुभएको छ ? मेरो कुनै योजना छ भने त्यो विज्ञापन र मिडिया इन्डस्ट्री बनाउने नै हो । यसका लागि विज्ञापनको बजार विस्तार गर्नु आवश्यक छ, म त्यसमा लागिपर्नेछु । अर्को कुरा— विज्ञापन बजार विस्तार भएरमात्र हुँदैन, नाफाको दर पनि बढ्नुपर्छ । यसमा पनि मेरो ध्यान केन्द्रित हुनेछ । सबै विज्ञापन एजेन्सीलाई समान व्यवहार गर्दै यो क्षेत्रमा देखापरेका समस्या समाधान गर्नु र नेपाली विज्ञापन क्षेत्रलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनु मेरो योजना र लक्ष्य हो । मनपरेको किताब :आर्ट अफ पावर पढिरहेको : रुकमांगद कट्वालको आत्मकथा मनमरेको स्थान : पोखरा, विदेशमा सिंगापुर र जापान स्वख : विज्ञापन, शिक्षण, घुमफिर, अध्ययन परिवार : अभिभावक, श्रीमती, छोरी, दिदीबहीनी र भाइ

No comments:

Post a Comment