Thursday, January 1, 2015

वाई यात्रु ७ प्रतिशत बढे

काठमाडौं, १६ पुस- नेपालमा हवाई यात्रुको संख्या ७ प्रतिशत बढेको छ । सन् २०१४ का १० महिनामा आन्तरिक र अन्तर्राष्ट्रिय गरी त्रिभुवन विमानस्थलबाट ४० लाख ७९ हजारले यात्रा गरेका छन् । अघिल्लो वर्षको यही अवधिमा ३८ लाख २६ हजार यात्रु थिए । समग्र यात्रुको संख्या बढे पनि आन्तरिक उडान गर्ने यात्रु भने ५.७२ प्रतिशतले घटेका छन् । अन्तर्राष्ट्रिय यात्रुको संख्या भने १२.७३ प्रतिशतले उकालो लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरण महानिर्देशक रतिशचन्द्रलाल सुमनका अनुसार १० महिनामा २८ लाख ८५ हजार यात्रु नेपाल आएका छन् । अघिल्लो वर्ष सोही अवधिमा २५ लाख ५९ हजार यात्रु आएका थिए । अघिल्लो वर्षका १० महिनामा १२ लाख ६६ हजारले आन्तरिक उडानबाट यात्रा गरेकोमा यो वर्ष ११ लाख ९४ हजारले मात्रै यात्रा गरेका छन् । यो करिब ७३ हजारले कम हो । दुर्गम पहाडका छोटा धावनमार्गमा उडान गर्ने विमानको संख्या घट्दा आन्तरिक हवाई यात्रुको संख्यामा असर पुगेको सुमनले बताए । “दुर्गममा सडक यातायातको सञ्जाल विस्तार हुनु र यात्रुले पनि भूमार्ग प्रयोग गर्न थाल्नुले हवाई यात्रु घटेका हुन्,” उनले भने । १० महिनामा अन्तर्राष्ट्रिय वायुयान आवागमन १६.०४ प्रतिशत र कार्गो ढुवानी १९.३५ प्रतिशतले बढेको छ । उता, आन्तरिक वायुयान आवागमन ०.३४ प्रतिशतले घटेको छ । वायुयान आवागमन घटे पनि कार्गो ढुवानी भने २१.९६ प्रतिशतले बढेको छ । प्राधिकरणको आम्दानी ३ अर्ब ६० करोड प्राधिकरणले आव ०७०÷७१ मा ३ अर्ब ६० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो वर्ष उसले ४ अर्ब ११ करोड ३१ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपणसमेत गरेको छ । विमानस्थल विकास शुल्क साउन १ देखि लागू भएको हुँदा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुबाट १ हजार रुपैयाँका दरले उठाउँदा थप १ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण उसको छ । प्राधिकरणले ०६८÷६९ मा खुद सञ्चित नाफा ७१ करोड २९ लाख गरेकोमा ०६९÷७० मा १ अर्ब ८ करोड ५५ लाख र ०७०÷७१ मा १ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बुद्ध र जेट एयरवेज उत्कृष्ट प्राधिकरणले बुद्ध एयरलाई आन्तरिकतर्फको उत्कृष्ट एयरलाइन्स घोषणा गरेको छ । बुद्धले सन् २०१३ मा सबैभन्दा बढी यात्रु (८ लाख ९२ हजार) बोकेकाले ऊ उत्कृष्ट भएको हो । प्राधिकरणले आफ्नो वार्षिकोत्सवमा आन्तरिक, अन्तर्राष्ट्रिय र दुर्गम भेगमा सेवा दिने कम्पनीहरूलाई उत्कृष्ट घोषणा गर्दै आएको छ । उसले अन्तर्राष्ट्रियतर्फ भारतको जेट एयरवेजलाई उत्कृष्ट घोषित गरेको छ । सन् २०१३ मा जेट एयरवेजले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोकेको थियो । त्यस्तै, दुर्गम भेगमा उत्कृष्ट सेवा दिनेमा तारा एयरलाइन्स परेको छ । ताराले सबैभन्दा बढी (८१ हजार ८५३) यात्रुलाई सेवा दिएको थियो । वार्षिकोत्सव बहिस्कार प्राधिकरणका विभिन्न ५ वटा ट्रेड युनियन र ७ वटा पेसागत संगठनले बुधबार आयोजित १६ औं वार्षिकोत्सव बहिस्कार गरेका छन् । युनियनका कारण बिहान १० बजे सुरु हुनुपर्ने कार्यक्रम मध्यान्ह १२ बजेमात्रै सुरु भएको थियो । कार्यक्रम सञ्चालिकाले प्रमुख अतिथि र अतिथिहरूलाई आशन ग्रहण गराइसकेपछि आधिकारिक ट्रेड युनियनका अध्यक्ष दमन रावलले माइक खोस्दै आफ्नो भनाइ राखेका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले बहिस्कार तथा आन्दोलनले माग पूरा नहुने बताए । “कर्मचारीले बोनसका लागि बहिस्कार गरेका हुन् तर आन्दोलन गरेर बोनस पाइँदैन,” उनले भने ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...