खानीजन्य उद्योगको सम्भावना

बालुवा चालेर सुन खोजिने नेपालका नदीनाला थुप्रै छन् । पश्चिम र सुदूरपश्चिम भेगमा चलेको यही प्रचलन पछ्याउँदै सुन खानी उत्खनन्को सम्भावनाको कुरा चलेको पनि धेरै भयो । यसमा हालसम्म कुनै प्रगति नभए पनि पछिल्लो समय सुन खोजतलासका लागि आवेदन दिने क्रम बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्छ । त्यसमा पनि संसारमै सुन खानी उत्खनन् र प्रशोधनमा अग्रणी मानिने चिनियाँ व्यवसायीको बाहुल्यताको बेग्लै महत्व छ । गत वर्षमात्र ७१ नयाँ कम्पनीले यसमा चासो देखाएर अनुमति माग गरेको खानी तथा भूगर्भ विभागको तथ्यांकलाई आधार मान्दा यसमा प्रगति हुने आशा गर्न सकिन्छ । अझ कम लगानीमा बढी उत्पादन हुन सक्ने ‘प्लेसर’ नामक सुनको सम्भावना बढी देखिको यसप्रतिको आकर्षणले प्रमाणित गर्छ । त्यसो त हिमाली र पहाडी भेगमा सुनमात्र नभई खानीजन्य अन्य उद्योगको पनि उच्च सम्भावना छ । नेपालको सबैभन्दा गरिबी रहेको पश्चिम र सुदूरपश्चिम क्षेत्रमा सबैभन्दा बहुमूल्य पत्थर, सुन, शिसाा, रुबीलगायतको ठूलो भण्डार रहेको विषय व्यंग्यजस्तो लाग्न सक्छ । प्रारम्भिक अध्ययनहरूले यसको प्रचुर सम्भाना औंल्याएकाले अब यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सरकारले विशेष पहल गर्नुपर्छ । गत वर्षमात्र खनिज, चुनढुंगा, पत्थर कोइला, तामा, फलाम, खरी, अभ्रख, मार्बललगायत अध्ययनका लागि २०८ वटा कम्पनीले अनुमति लिनु र ४४२ कम्पनीले नवीकरण गरेको आधारमा यो क्षेत्रको सम्भवनाप्रति लगानीकर्ता सचेत रहेको प्रष्ट हुन्छ । तर, पहिले सरकारले यी क्षेत्रमा गम्भीर अध्ययन गर्नु आवश्यक छ । जलविद्युत्को पनि उच्च सम्भावना भएका यी क्षेत्रहरूमा सडकलायत पूर्वाधार पुग्ने क्रम सुरु भइसकेको छ । आगामी दिनमा यो अझै बढ्ने छ नै । यसले खानीजन्य उद्योगहरूको सम्भावनालाई अझ सहज बनाउने भएकाले पनि सरकारले नीति नियम र कानुन तर्जुमा गरेर विदेशी÷स्वदेशी लगानीकर्ता आकर्षित गर्नुपर्छ । नेपाली व्यवसायीहरूले पनि परम्परागत व्यवसाय र व्यापारमा मात्र नअलमलिई यस्ता नयाँ सम्भावनाका क्षेत्रमा हात हाल्नु आवश्यक छ । नेपालका केही ठूला व्यावसायिक घरानाहरूले पनि सुन खोजीका लागि अनुमति लिएको केहीअघि सार्वजनिक भएको थियो । अन्यजस्तै यसमा पनि खानीको इजाजत बोकेर त्यसैलाई बिक्री गर्ने प्रयासमात्र हुनु हुँदैन । व्यवसायीको सफलतामात्र नभई यो त वास्तविक लगानीकर्ता र यो क्षेत्रमा काम गरेका अनुभवी लगानीकर्ताहरू खोजेर नेपालको औद्योगिक रूपान्तरण र समृद्धिका लागि मुलुकलाई नै योगदान दिन सकिने क्षेत्र हो । त्यसैले निजी क्षेत्रले पनि यसलाई अनन्त सम्भावनाको क्षेत्रका रूपमा अंगिकार गर्न सक्ने प्रशस्त ठाउँ छ । मुलुकले निर्यात गर्ने कुल परिमाणभन्दा बढीको पेट्रोलियम अयात भइरहेको अवस्थामा खनिजजन्यमात्र नभई पेट्रोलियम उत्खनन् पनि उत्तिकै महत्वपूर्ण छ । वर्षौंदेखि लाइसेन्स ओगटे पनि काम नभएको भन्दै उद्योग मन्त्रालयले केहीअघि २ वटा कम्पनीको इजाजत खारेज गरेको थियो । यो अवस्था सुनलगायत अन्य खानीको हकमा पनि लागू हुन्छ । त्यसैले इजाजत लिएर काम गर्ने वा नगर्ने दुईखाले कम्पनी पहिचान गर्ने जिम्मेवारी विभागको हो । समयमै अध्ययन अनुसन्धान गर्ने र उत्खनन्को काम सुरु गर्नेलाई प्रोत्साहन र सहयोग आवश्यक छ । तर, इजाजतमात्र लिने अनि काम नगर्नेहरूको इजाजत खारेर गरेर नयाँ र गम्भीर खालका लगानीकर्ताका लागि बाटो खोलिनु पनि उत्तिकै जरुरी छ । नेपालको अर्थतन्त्रलाई रूपान्तरण गर्न सक्ने हैसियत राख्ने यस्ता खनिज र खानीजन्य उद्योगलाई प्रोत्साहन गर्न अब ढिलो गरिनु हुँदैन । सुन उत्पादन भएपछि प्रतिग्राम ७ रुपैयाँमात्र राज्यलाई रोयल्टी दिनुपर्ने भएकाले पनि यो उद्योगको भविश्य उज्वलमात्र छैन, अर्थतन्त्रको नक्सा नै परिवर्तन हुने सम्भावना यसले बोकेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक