अदुवाको मूल्य किसान आफैँले तोक्न नपाउनु प्रमुख समस्या , नेपालमा विश्वको १३ प्रतिशत अदुवा

काठमाडौं । किसानले आफूले उत्पादन गरेको अदुवाको मूल्य आफैँले तोक्न नपाउनु नेपालमा प्रमुख समस्या रहेको सरोकारवालाले बताएका छन् । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स, एण्ड इन्भाइरोमेन्ट (सावती)ले आयोजना गरेको अदुवा निर्यातका गैरभन्सार अवरोध र यसको समाधान विषयक कार्यशालामा किसानले बिचौलियाले तोकेको भाउमा अदुवा बेच्न परेकोले किसानहरु मर्कामा परेको सरोकारवालाहरुले बताएका छन् । सावतीले पूर्व सचिव पुरुषोत्तम ओझाको संयोजकत्वमा नेपाली अदुवाको व्यापार र विस्तारका विविध पक्षको अध्ययन गरेर निर्यात विस्तारका लागि आवश्यक पर्ने नीतिगत तथा संस्थागत सुधारको विषयमा सुझावसहित तयार पारेको प्रतिवेदनमा किसान र उपभोक्ताबीचको मूल्य अन्तर निकै फराकिलो रहेको देखाएको छ । ओझाले बढी भन्दा बढी अदुवा निर्यात गर्न सके लक्षित समूहले प्रत्यक्ष लाभ लिन सक्ने बताए । अदुवा निर्यात गर्दा नेपालमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरण गर्नेभन्दा पनि अन्तर्राष्ट्रिय व्यापारले देशमा रोजगारीको अवसर प्रदान गर्ने र गरीबी निवारणमा सघाउ पुर्‍याउने उनले बताए । विश्वमा विगत एक दशकयता हेर्ने हो भने औसत १० प्रतिशतले अदुवाको उत्पादन बढेको छ। नेपालले विश्व उत्पादनको १३ प्रतिशत ओगटेर तेस्रो स्थानमा छ । ओझाले अदुवा खेती करेसावारीमा सिमित भएकोले व्यवसायिक हुन नसकेको बताए । आन्तरिक करको समस्या, इनर्फमल पेमेण्ट, मूल्य निर्धारण कृषकले गर्न नपाउने, खाद्य परीक्षणको मूल्य, पोष्ट हार्भेष्ट नोक्सान लगायतको समस्याले नेपाली किसानलाई अदुवा निर्यातमा कठिनाई भएको उनले बताए । उनले भने,' न्यूनतम भन्सार मूल्य, भण्डारण सुविधा, प्रयोगशालाको स्तरीकरण र आपसी रिकग्निसन, पहिचानको पहल तथा मूल्य अभिबृद्धिको अनुसन्धानलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ ।' उनले निजी क्षेत्रका प्रयोगशाला निर्माण र मान्यताका लागि कानूनी संरचना निर्माण गर्नुपर्ने, क्षेत्रीय स्तरमा नेपाल व्यापार मञ्चको संरचना निर्माण गर्नुपर्ने, गैरकानूनी कर असुलीको नियन्त्रण गर्ने, नेपाल भारत व्यापार सन्धिमा प्रबन्ध गर्ने, सीमापार सहयोगको नियमितीकरण गर्ने, आ-आफना देशका क्वारेन्टाइनलगायत निकायहरुसँगको समन्वय गर्ने, व्यापार, अवरोधलगायतका विभिन्न विषयको सूचना केन्द्रको स्थापना गर्न सके अदुवा निर्यात सहज हुने सुझाव प्रतिवेदनले दिएको छ । यसैगरी सावतीका कार्यकारी निर्देशक डा हीरामणि घिमिरेले साफ्टातहमा ८६ प्रतिशत गैरभन्सार अवरोध देखिएको बताए । यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले निजी क्षेत्रले पनि अदुवालाई महत्व दिएको बताए । सरकारले व्यापार रणनीतिमा यसलाई समावेश गरेर यसको महत्वमा राखेको उनले बताए । उनले बीउविजन लगयात गुणस्तर, परिमाण र सही उपयोगमा ध्यान दिन सके सबै लाभान्वित हुन सक्ने बताए । अदुवाको लागि देशव्यापी लहर भन्दापनि पकेट क्षेत्रको घोषणा गरेर किसानले उत्पादन गर्न सके सरकारलाई प्राविधिक सहयोग र पूर्वाधार विकासमामा सहयोग गर्न सजिलो हुने उनले बताए । अदुवाको खेती दक्षिण एसियाबाट नै शुरु भएको मानिन्छ। मसलाबालीको उत्पादन विश्वमा सबैभन्दा बढी भारत र चीनले गर्दछ। नेपाल यो सूचीको तेस्रो स्थानमा पर्दछ । जसले कूल उत्पादनको १२ प्रतिशत योगदान गर्दछ। आर्थिक वर्ष सन् २०१२/१३ मा नेपालमा करीब साढे दुई लाख टन अदुवा उत्पादन भएकोमा ६३ हजार टन निर्यात भएको थियो। निर्यातमध्ये ९५ प्रतिशत भारत तथा बाँकी सुठोको रुपमा मध्यपूर्वी एसियाली मुलुकहरु तथा जापान, अमेरिका र युरोपमा समेत जाने गरेको तथ्यांकले देखाएको छ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक