हस्तकलाको बजार ७ अर्ब

निरु अर्याल काठमाडौं, २७ कात्तिक- परम्परागत नेपाली हस्तकलाका सामग्रीमा विदेशीको चासो बढेपछि यसको बजार पनि फराकिलो भएको छ । नेपालबाट औपचारिक माध्यममार्फत् गत आर्थिक वर्षमा सवा ५ अर्बबराबरका हस्तकलाजन्य सामग्री निकासी भए पनि अनौपचारिक माध्यमसमेत जोड्दा ७ अर्ब पुग्ने निकासी व्यापारी बताउँछन् । नेपाल हस्तकला महासंघका अनुसार गत आवमा मात्रै ५ अर्ब ३५ करोड रुपैयाँबराबरको हस्तकला सामग्री निकासी भएको छ । त्यसमध्ये टेक्सटाइलतर्फ २ अर्ब ४८ करोड ३५ लाख छ । ननटेक्सटाइलतर्फ २ अर्ब ५५ करोड ३२ लाख रुपैयाँबराबरको निकासी भएको महासंघले जनाएको छ । नेपाल भ्रमण गर्ने विदेशीले झन्डै २ अर्बबराबरका सामान लगेको व्यवसायी बताउँछन् । यसलाई अनौपचारिक माध्यममा राखिन्छ । सरकारले नेपाली हस्तकलाको निकासी बढाउन आवश्यक कदम नचालेको गुनासो निजी क्षेत्रले गरिरहेका बेला गत वर्षमात्रै २ दर्जनभन्दा बढी वस्तुको निकासीमा उल्लेख्य वृद्धि देखिएको छ । नेपालमा बनाइने हस्तकला सामग्रीलाई अन्तर्राष्ट्रिय जगत्मा अत्यधिक रुचाउन थालिएपछि नेपाली निकासी बढेको हो । गुणस्तरीय उत्पादन, कलात्मक सजावट, आकर्षण डिजाइनसँगै डलरको अधिमूल्यनका कारण निकासी वृद्धि भएको महासंघले जनाएको छ । तर, प्राविधिक तथा नीतिगत समस्याले गर्दा आधा दर्जन वस्तुको निकासीमा भने गिरावट आएको छ । घट्नेमा निकासीका मुख्य वस्तु मानिने सिल्क, अल्लो प्रडक्ट, शिशाजन्य वस्तु, क्रिस्टलका सामान, छालाका उत्पादन तथा थान्कालगायत छन् । महासंघ अध्यक्ष हेमरत्न शाक्यले कच्चा पदार्थ र दक्ष जनशक्ति अभाव, नीतिगत जटिलताका बाबजुद सम्भावना बढी भएका वस्तुको निकासी बढेको जानकारी दिए । “निकासी बढ्नुमा गुणस्तर सुधार नै पहिलो कारण हो,” उनले भने, “हामीले सबैजसो व्यवसायीलाई गुणस्तर, प्रतिस्पर्धी क्षमता, डिजाइनमा सजग गराउँदै आएका छौं, त्यसैको परिणाम पनि हो यो ।” महासंघका अनुसार गत आवमा मात्रै पश्मिनाजन्य वस्तुको निकासी ४२ प्रतिशतले बढेको छ । ४२ मुलुकसँग कलेक्टिभ टे«डमार्क दर्ता गरिसकेको पश्मिनाले नेपालबाट निकासी हुने वस्तुको १६ प्रतिशत हिस्सा ओगट्छ । ऊनीजन्य वस्तुको निकासीमा भने सामान्य वृद्धि छ । निकासीमा ऊनीजन्य वस्तुले १२ प्रतिशत हिस्सा ओगटेको छ । कुल निकासीको १५ प्रतिशत हिस्सा ओगट्ने फेल्टको निकासी ३८ प्रतिशतले बढेको शाक्यले जानकारी दिए । ढाकाको वस्तुमा पनि २७ प्रतिशतले वृद्धि भएको छ । “हामी यत्तिमै सन्तुष्ट हुने अवस्था भने छैन,” उनले भने, “हस्तकलाको निकासीलाई सरकारले साँच्चै नै प्रोत्साहन गर्न जरुरी छ ।” उनका हस्तकलाको निकासीमा थुप्रै प्राविधिक समस्या छन् । भन्छन्, “सबै चिज भएका बेला डिमान्ड आउँदैन, कच्चापदार्थ भण्डारण गर्न सक्ने क्षमता हामीसँग छैन । निकासीको विषयमा सरकारले केही सुविधा दिन सकेन, त्यसैले पनि क्षमताअनुसार यो क्षेत्रको प्रवद्र्धन हुन सकेको छैन ।” विभिन्न मन्त्रालय र विभागबीच समन्वय नहुनाले पनि व्यवसायीले धेरै समस्या बेहोर्नु परेको उनले बताए । पछिल्ला वर्ष अन्तर्राष्ट्रिय मेला–महोत्सवमा नेपाली उत्पादकले भाग लिने क्रम बाक्लिँदै गएको छ । महासंघका अनुसार गत वर्ष नेपाली हस्तकलाका सामान अमेरिका, जापान, तिब्बत, जर्मनी, बेलायत, फ्रान्स र छिमेकी मुलुकहरू चीन, भारतमा बढी निकासी भएका छन् । चिनियाँले नेपाली धातुजन्य वस्तु अत्यधिक रुचाउने गरेको शाक्यले बताए । महासंघका अनुसार नेपालमा ११ लाखभन्दा धेरै व्यक्ति हस्तकला व्यवसायमा संलग्न छन् । मुलुकमा आयात प्रतिस्थापन गर्न र घर–घरमा रोजगारी सिर्जना गर्न यो व्यवसाय उपयुक्त माध्यम बन्दै गएको व्यवसायी बताउँछन् । निकासी भएका वस्तु घटबढ प्रतिशत निकासीमा योगदान (%) पश्मिना ४२ १६ उलन गुड २ १२ फेल्ट प्रडक्ट ३८ १५ सिल्क –५४ १ कटन ५८ – हेम्प गुड्स ६ १ अल्लो –३५ – ढाका २७ – सिल्भर ज्वेलरी ८ ४ मेटल क्राफ्ट १५ २२ हातेकागज १६ ८ उड क्राफ्ट २६ २ शिशाका सामान –२६ ४ बोनहर्न प्रडक्ट ६ २ क्रिस्टल –४२ – सेरामिक ३६ १ छालाजन्य –३५ – इनसेन्स ४ – प्लास्टिक आइटम ५३ – थान्का २ – बिड्स आइटम ११ ३ स्टोन क्राफ्ट १७ – बम्बो प्रडक्ट १९२ – स्रोत ः नेपाल हस्तकला महासंघ

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक