Monday, November 24, 2014

चिनी उद्योगबाट ८० मेगावाट बिजुली किन्ने तयारी

काठमाडौं, ७ मंसिर- ऊर्जा अभावले मुलुकभरका उद्योग आक्रान्त छन् । नियमित विद्युत् नआउँदा महँगोमा डिजेल खरिद गरेर उद्योग चलाउनु उनीहरूको बाध्यता भएको छ । तर, चिनी उद्योगहरू यो समस्यामा अपवादमात्र होइन , संकटका सारथि बन्ने अवस्था सिर्जना भएको छ । चरम ऊर्जा संकटबाट गुज्रिरहेको मुलुकलाई चिनी उद्योगले विद्युत् उपलब्ध गराउने भएका छन् । मुलुकभरका करिब १ दर्जन चिनी उद्योगबाट उत्पादन हुने अतिरिक्त विद्युत् किन्न सरकार सहमत भएको छ । चिनी उद्योगीले केही वर्षदेखि आफ्ना उद्योगबाट उत्पादित बिजुली खरिद गर्न बारम्बार माग गर्दै आएका थिए । उनीहरूको माग सम्बोधन गर्दै सरकारले यस्तो निर्णय गरेको हो । सञ्चालनमा रहेका दर्जन चिनी उद्योगबाट ९३ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने भए पनि ८० मेगावाट तत्काल आपूर्ति हुने भनाई ऊर्जा मन्त्रालयको अध्ययनले देखाएको छ । यी उद्योगले नियमित रूपमा ४ महिनासम्म ८० मेगावाट बिजुली आपूर्ति गर्न सक्छन् । विद्युत् खरिदका लागि कार्यविधि बनाउन लागिएको मन्त्रालयले जनाएको छ । सुख्खायाममा थप बिजुली उत्पादन हुने भएपछि सरकारले उद्योगबाट खरिद प्रक्रिया अघि बढाएको हो । नीति बनाएपछि फागुनदेखि नै उद्योगबाट बिजुली खरिद गर्ने सरकारको तयारी छ । अर्को सातादेखि चिनी उद्योगबाट बिजुली खरिद गर्न सरकारले काम थाल्ने ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए । बिजुली खरिद–बिक्रीका लागि मन्त्रालय, विद्युत् प्राधिकरण र चिनी उद्योगीबीच एक चरण वार्ता भइसकेको जानकारी उनले दिए । उद्योगीहरू बिजुली उत्पादन गरी बेच्न तयार भएकाले खरिदका लागि नीति बनाउन लागिएको उनको भनाइ छ । चिनी उद्योगबाट उत्पादन हुने बिजुलीको भाउ निर्धारण गर्न भने बाँकी छ । प्रतियुनिट बढीमा ८ रुपैयाँसम्म पर्ने क्षेत्रीको अनुमान छ । उद्योगले पुसदेखि चैतसम्म उखु पेल्ने गरेका छन् । उद्योगबाट विद्युत् उत्पादन गर्न सरकारले नै उखु खेतीका लागि कृषकलाई आकर्षित गर्ने भएको छ । यसअघि पनि सरकारले पटक–पटक चिनी उद्योगबाट बिजुली खरिद गर्ने भन्दै आएको थियो । उद्योगबाट बिजुली खरिद गर्न प्रसारणलाइनलगायतका संरचनामा लगानी हुनुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । “मुख्य विषय विद्युत् खरिद दर (पीपीए) हो,” उनले भने, “उद्योगबाट बिजुली खरिद गर्न नयाँ प्रसारणलाइन र सबस्टेसन आवश्यक पर्छन्, यसमा ध्यान दिनुपर्छ ।” कारोबारसँग कुरा गर्दै नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले यसका लागि तयारी भइरहेको बताए । प्राधिकरणले सुख्खायाममा लोडसेडिङ दैनिक १२ घण्टामा राख्ने तयारी गरेको छ । चिनी उद्योगबाट विद्युत् उत्पादन भए लोडसेडिङ न्यूनीकरणमा सहज हुनेछ । भारतबाट २६० मेगावाटसम्म बिजुली आयात गरेर लोडसेडिङ कम गर्ने तयारी प्राधिकरणको छ । उद्योगसँग सहमति भए छुट्टै फिडर जडान गर्न सकिनेछ भने चिनी उद्योगले पनि खेर गइरहेको बिजुलीबाट अतिरिक्त आम्दानी गर्नेछन् । कृषकलाई समयमै भुक्तानी गर्न नसकिरहेका चिनी उद्योगीले यसबाट औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...