पाँच मुलुकसँग बिप्पा तयारी

काठमाडौं-सरकारले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पाँच मुलुकसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्ने भएको छ। विदेशी लगानीलाई समेत स्वदेशी उद्योग सरह सुरक्षा दिने सर्तसहित उद्योग मन्त्रालयले चीन, टर्की, संयुक्त अरब इमिरेट्स, पाकिस्तान र कतारसँग बिप्पा गर्न लागेको हो। उद्योगले परराष्ट्र मन्त्रालयमार्फत पाँच मुलुकसँग बिप्पा गर्न प्रक्रिया अघि बढाएको उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले जानकारी दिए। वैदेशिक लगानी भित्र्याउन विभिन्न मुलुकसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता आवश्यक भएको बताउँदै भट्टराईले थपे, ‘देशमा विदेशी लगानी बढाउनु जरुरी छ। यसको लागि बिप्पा आवश्यक छ।' बिप्पा गर्न पाँच मुलुकबाट सम्झौताको मस्यौदा प्राप्त भइसकेको छ। प्राप्त मस्यौदामाथि आवश्यक छलफल र परिमार्जनसहित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा पठाउन लागिएको मन्त्रालयले जनाएको छ। पाँच मुलुकमध्ये चीनसँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता यमकुमारी खतिवडाले बताइन्। चीन सरकारले प्रस्ताव गरेको बिप्पामा सरोकार निकायका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र उक्त मस्यौदालाई परिमार्जनसहित मन्त्रालयले प्रारम्भिक मस्यौदा तयार गरेको जनाएको छ। तयार भएको मस्यौदा परराष्ट्र मन्त्रालयमार्फत चीन पठाउने तयारी भएको मन्त्रालयकी प्रवक्ता खतिवडाले बताइन्। ‘मंसिरभित्र परिमार्जित मस्यौदा परराष्ट्रमार्फत चीन सरकार समक्ष पठाइने छ,' उनले नागरिकसँग भनिन्। तीन वर्षअघि भारतसँग बिप्पा भएपछि चीनसँग पनि गर्ने तयारी अघि बढेको थियो। त्यसैगरी अन्य चार मुलुकबाट बिप्पाको लागि मस्यौदा प्राप्त भइसकेको छ। प्राप्त मस्यौदामा सरोकारवालासँग यसै आर्थिक वर्षभित्र छलफल गर्ने योजना मन्त्रालयको छ। छलफलबाट प्राप्त टिप्पणीका आधारमा मस्यौदा परिमार्जन गरी परराष्ट्रमार्फत सम्बन्धित मुलुकमा यसै आर्थिक वर्षभित्र पठाइने उद्योगले जनाएको छ। व्यवसायी पनि विदेशी लगानी भित्र्याउन बिप्पा आवश्यक भएको बताउँछन्। टर्कीसँग गर्न लागिएको बिप्पा नेपालको लागि फाइदाजनक हुने नेपाल–टर्की उद्योग वाणिज्य संघका अध्यक्ष अखिल चापागाईं बताउँछन्। टर्कीबाट ठूलो लगानी भित्र्याउन बिप्पा अनिवार्य भएको उनले बताए। टर्कीबाट ठूलो लगानी आउन तयार छ,' चापागाईंले नागरिकसँग भने, ‘नेपालको राजनीतिक अवस्था, दुवै देशमा भएको दोहोरो करले उनीहरू हच्किएका छन्।' संघले दोहोरो कर हटाउन र बिप्पा छिटो गर्न नेपाल सरकारलाई आग्रह गरेको उनले बताए। नेपाल र टर्कीबीच भएको प्रत्यक्ष हवाई सेवाले गर्दा पनि नेपालमा लगानी गर्न राम्रो वतावरण बन्दैछ भन्ने उनीहरूलाई परेको उनले बताए। ‘उनीहरू खासगरी ठूला स्तरको लगानी गर्न तयार छन्,' चापागाईंले भने, ‘निर्माण क्षेत्र, सडक, हाइड्रोमा उनीहरूको रुचि छ।' टर्कीसँग अहिलेसम्म व्यापार घाटा नभएको भएको जानकारी दिँदै चापागाईंले नेपालबाट हरेक वर्ष निकासी बढ्दै गएको उनले बताए। आर्थिक वर्ष २०६८/०६९ मा ५४ करोड रुपैयाँको निकासी भएकोमा २०६९/०७० मा एक अर्ब नाघेको उनले जानकारी दिए। टर्कीमा नेपालबाट धागो, परम्परागत हस्तकला निकासी भइरहेको छ। केही अघिसम्म राम्रो निकासी भइरहेको हाते गलैँचामा टर्की सरकारले समिकारक महसुल (काउन्टरभेलिङ ड्युटी) बढाइदिएकाले निकासी कम भएको चापागाईंले बताए। टर्कीबाट औद्योगिक मेसिनरी, खानेकुरा, फर्निचर, टेक्सटाइल आयात हुन्छ। अहिलेसम्म नेपालको ६ वटा मुलुकसँग बिप्पा भएको छ। फ्रान्स, जर्मनी, मोरिसस, संयुक्त अधिराज्य, फिनल्यान्ड र भारतसँग यस्तो सम्झौता भइसकेको छ। बाबुराम भट्टराई सरकारको पालामा भएको भारतसँगको बिप्पा अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन। सर्वोच्च अदालतमा बिप्पा कार्यान्वयन रोक्न मुद्दा दायर भएकोले कार्यान्वयनमा आउन नसकेको हो।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन