‘हामीले नागरिकता दियौं, अब तपाईंहरू लगानी ल्याउनुस्’

निरु अर्याल काठमाडौं, २५ असोज- प्रधानमन्त्री सुशील कोइरालासहित राजनीतिक दलका नेताहरूले गैरआवासीय नेपाली (एनआरएन)लाई राजनीतिक अधिकारबिनाको नागरिकता दिने सहमति भइसकेकाले कुनै शंका नगर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा शनिबार आयोजित कार्यक्रममा कोइरालासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एनआरएनको नागरिकतासम्बन्धी सबै विवाद अन्त्य भइसकेकाले अब नेपालमा लगानी भिœयाएर देखाउने बेला आएको बताए । सबै दलले एनआरएनलाई नागरिकता दिने सहमति गरिसकेकाले यो लागू हुने र उनीहरूलाई यसबाहेक थप सुविधा पनि दिइने प्रधानमन्त्री कोइरालाको भनाइ थियो । “तपाईंहरूजस्ता लगानीकर्तालाई कुनै अप्ठ्यारो नपरोस् भनेर सरकारले पूरा ध्यान दिनेछ, त्यसैले कुनै संकोच नमानी लगानी गर्नुस,” उनले भने, “प्रतिकूल अवस्थामा एनआरएनले गरेको लगानी प्रशंसनीय छ, अब अन्य क्षेत्रमा पनि तपाईंहरूको लगानी आवश्यक छ ।” एनआरएन परिचयपत्रका आधारमा भिसा नपाएको गुनासो तत्काल सम्बोधन गरिने प्रतिबद्धता उनले जनाए । पूर्वप्रधानमन्त्री भट्टराईले नागरिकताको विवाद आफूहरूले सहमतिमा समाधान गरेको स्मरण गर्दै अब एनआरएनले पनि दोहोरो अंकको आर्थिक वृद्धिका लागि लगानी गर्नुपर्ने धारणा राखे । “तपाईंहरूले संसारभरबाट आर्जन गरेको अनुभव तथा ज्ञान र सीपलाई नेपालको विकासमा लगाउनुस्, नेपाल चाँडै समृद्ध हुनेछ,” उनले भने, “हामी समृद्ध हुन प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउनुपर्छ । अहिलेको अवस्थामा वार्षिक ४–५ खर्ब रुपैयाँ लगानी नेपाल भित्रियो भने २ अंकको वृद्धि हासिल गर्न सकिन्छ ।” नेपालमा आर्थिक विकासका लागि अहिलेको अवस्थामा पुँजीवादी व्यवस्था नै उत्तम भएको दाबी गर्दै उनले थपे, “हामीले अहिले सांस्कृतिक पुँजीवादको कुरा गरेका छैनौं, इन्क्लुसिभ डेभलपमेन्ट भनिरहेका छौं ।” भट्टराईले भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) भइसकेको बताउँदै नेपालमा लगानीको वातावरण छ भनेर एनआरएनले विश्वसामु सन्देश पु¥याउनुपर्ने बताए । आफ्नो कार्यकालमा लगानी भिœयाउन लगाडी बोर्ड गठन, भारतलगायत देशसँग बिप्पा सम्झौतालगायतका काम भएको भन्दै उनले बाह्य लगानी आकर्षित गरी देश विकासमा लाग्न उचित समय आएको उल्लेख गरे । “हामीले स्वदेशी पुँजी विकास गरी बाह्य लगानी वृद्धिको कुरा गरिरहेका छौं,” भट्टराईले भने, “त्यसका लागि विदेशी लगानी अपरिहार्य छ ।” एनआरएनए अध्यक्ष शेष घलेले देशमा लगानी वातावरण बनाउन आग्रह गरे । “देशमा राजनीतिक स्थिरता नदेख्दा नदेख्दै पनि हामीले लगानी ल्याइरहेका छौं, प्रशासनिक झन्झट नभएर राजनीतिक रूपमा स्थिर वातावरण भए लगानी गर्न हामीजस्ता धेरै व्यक्ति तयार छन्,” उनले भने, “अहिले भइरहेको लगानी पनि जोखिम मोलेर गरिएको हो, नाफा कमाउनभन्दा पनि स्वदेशप्रतिको भावनाले लगानी भइरहेका छन् ।” स्थानीय विकासमन्त्री लालबाबु यादवले एनआरएनलाई विशेष नागरिकताको व्यवस्था गर्नु प्रशंसनीय भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले एनआरएनहरूले नेपालको आर्थिक विकासमा पुलको काम गर्न सक्ने बताउँदै आर्र्थिक समृद्धिमा लाग्नुपर्ने उल्लेखगरे । “लगानी वृद्धि, रोजगारी, श्रम सम्बन्धको विषयमा पनि काम गर्न सकिन्छ,” उनले भने, “संसारभर छरिएर रहेका ४० लाख एनआरएनले पुलको काम गर्न सक्नुहुनेछ ।” परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको १ सय ३८ राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापित भए पनि ३२ देशमा मात्रै दूतावास रहेको भन्दै बाँकी देशमा एनआरएनले नै अवैतनिक दूतका रूपमा काम गर्नुपर्ने बताए । ‘एकपटकको नेपाली सधैंको नेपाली’का लागि ‘एकपटकको प्रतिबद्धता सधैंको प्रतिबद्धता’ हुनुपर्ने उनको भनाइ छ । “हामी जहाँ भए पनि नेपाली हो तर विकासको प्रतिबद्धतामा हामी जहाँबाट भए पनि सहयोग पु¥याउनुपर्छ,” उनले भने । एनआरएनका निवर्तमान अध्यक्ष जीवा लामिछानेले आफूहरू अहिले यसअघि गरेका बाचा पूरा गर्ने अवस्थामा पुगेको बताए । विश्वका ७० मुलुकमा एनआरएन संगठित भएको बताउँदै उनले धेरै मुलुकमा एनआरएनले नै अवैतनिक राजदूतको रूपमा काम गरिरहेको उल्लेख गरे । एनआरएन अगुवाहरूले आफ्नो लगानीमात्रै नभएर प्रत्यक्ष विदेशी लगानी भिœयाउन पनि सहयोग गर्ने बताए । संस्थापक अध्यक्ष उपेन्द्र महतोले गरिबी, अशिक्षा र बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न एनआरएन प्रतिबद्ध रहेको बताए । लगानीको वातावरण बनाउन सके एनआरएनबाटै ठूलो लगानी भित्रिन सक्ने उनको भनाइ थियो ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक