सार्क बिप्पा सम्झौता हुने

आगामी कात्तिकमा काठमाडौंमा आयोजना हुने तय भएको १८औं सार्क शिखर सम्मेलनमा सार्कस्तरीय लगानी प्रवद्र्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता (बिप्पा) गरिने भएको छ। सार्क सचिवालयले सम्मेलनको आयोजक राष्ट्र नेपालको परामर्शमा सार्कस्तरीय बिप्पा सम्झौतालाई सम्मेलनको एजेन्डाका रूपमा अघि सार्ने भएको हो। यसका लागि सार्कका सदस्य राष्ट्रहरूबीच निरन्तर छलफल भइरहेको पराराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उदृत गर्दै आजको नेपाल समाचारपत्रले खबर लेखेको छ। ‘सार्कका सदस्य राष्ट्रबीच सार्कस्तरीय बिप्पा सम्झौताका लागि तयार पारिएको अधिकांश प्रावधानमा सहमति जुटिसकेको छ’, उनले भने– ‘बाँकी केही प्रावधानमा सहमति जुटाएर शिखर सम्मेलनको अवसरमा बिप्पा सम्झौतामा हस्ताक्षर गर्ने तयारी थालिएको छ।’ शिखर सम्मेलन अगाडि सार्कका सदस्य राष्ट्रहरूका सम्बन्धित मन्त्रालय वा निकायका अधिकारीहरूबीच बैठक राखिनेछ। उक्त बैठकले सबै प्रावधानमा सहमति जनाएमा सम्मेलनको अवसरमा सार्कस्तरीय बिप्पा सम्झौता हुने उनले बताए । सार्कका सदस्य राष्ट्रबीच लगानीको प्रवद्र्धन तथा सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले सार्कस्तरीय बिप्पा सम्झौताको अवधारणा तयार भएको पराराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालले बताए । ‘यो पाइपलाइनमा भएको छलफल हो’, उनले भनें, ‘यसका लागि तय भएका सवै प्रावधानमा सहमति नजुटेसम्म केही बोल्न सकिन्न।’ यद्यपि सार्क शिखर सम्मेलन आयोजकको हैसियतमा नेपालले सार्कस्तरीय बिप्पा सम्झौतालाई पनि एजेन्डाका रूपमा अघि सार्ने तयारी थालेको उनले बताए । सार्कस्तरीय बिप्पा सम्झौतालाई एजेन्डाका रूपमा अघि लैजान पराराष्ट्रले उद्योग मन्त्रालयसँग रायसमेत मागेको छ। उद्योग मन्त्रालयले सम्बन्धित अन्य मन्त्रालयसँग छलफल गरेर चाँडै नै सकारात्मक राय दिने मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले बताइन्।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन