पेट्रोलियम पदार्थमा आजदेखि स्वचालित मूल्य प्रणाली

निरु अर्याल काठमाडौं, १३ असोज- सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्ति र नेपाल आयल निगमको बढ्दो घाटा नियन्त्रणका लागि ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ । यो प्रणालीसँगै पेट्रोलियमको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ हुनेछ । महिनामा २ पटकसम्म मूल्य समायोजन हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । भारतको रक्सोलबाट नेपाल आयात गरिने मूल्यलाई आधार मूल्य (बेस प्राइस) मानेर अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन गर्न लागिएको हो । यद्यपि स्वचालित मूल्य अत्यधिक नाफा रहेको हवाई इन्धन र अत्यधिक घाटा रहेको एलपी ग्यासमा भने तत्काल लागू हुनेछैन । नेपालमा पेट्रोलियम पदार्थ उत्पादन नहुने भएकाले स्वचालित मूल्य लागू गर्न यसअघि पटक–पटक गरिएका प्रयासले सार्थकता पाउन सकेका थिएनन् । संसदीय अध्ययन तथा सुझाव समितिको सिफारिस र असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार पहिलोपटक स्वचालित मूल्य प्रणाली लागू गरिएको आपूर्तिमन्त्री सुनीलबहादुर थापाले जानकारी दिए । उनका अनुसार यो निर्णयले पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज हुनेछ भने उपभोक्ताले पारदर्शी मूल्यमा सेवा उपभोग गर्न पाउनेछन् । निगमका अनुसार सोमबार रातिबाट लागू भएको स्वचालित मूल्यअनुसार केही पेट्रोलियम पदार्थको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा हाल कायम भएको मूल्यअनुसार पेट्रोलमा उपभोक्तालाई १ रुपैयाँ ४४ पैसा तथा डिजेल र मटितेलमा २७ पैसा कम पर्नेछ । यसबाट निगमकोे आम्दानीमा प्रतिमहिना ३ करोड ६२ लाख रुपैयाँ कमीसमेत हुनेछ । पूर्णतया आयातमा निर्भर हुनुपर्ने हुँदा पेट्रोलियम मूल्यवृद्धिले निम्त्याउने असर र यसको दीर्घकालीन सुधारका लागि यो प्रणाली अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ । “पेट्रोलियम पदार्थको सहज, सरल र व्यवस्थित आपूर्ति एवं वितरणको व्यवस्था गर्न यस्तो व्यवस्था लागू गरिएको हो,” मन्त्री थापाले भने, “तत्कालका लागि भने डिजल, मटितेल र पेट्रोलमा मात्र लागू हुनेछ ।” पेट्रोलियम आपूर्तिमा यो महत्वपूर्ण कार्य भएको बताउँदै थापाले एलपी ग्यासको रातो र नीलो सिलिन्डर प्रयोग र वितरणसम्बन्धी आदेशमा संशोधन गरी घरायसी प्रयोजनका लागि सहुलियत मूल्य र व्यावसायिक प्रयोजनका लागि परल मूल्य कायम गरिने बताए । “स्वचालित मूल्य प्रणाली अवलम्बन गर्दा आमउपभोक्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक सन्तुलन सुदृढ हुनेछ,” उनले भने, “निगम पनि विवादरहित किसिमले पेट्रोलियम कारोबारमा अगाडि बढ्नेछ ।” निगम महाप्रबन्धक चण्डिका भट्टले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावअनुसार नेपालमा मूल्य कायम हुनेगरी नयाँ प्रणाली कायम गरिएको बताए । “नेपालमा बिक्री हुने पेट्रोलियमको मूल्यमा निगमको ब्याज खर्च, सरकारले लिने कर, ढुवानी खर्च, बिमा खर्च, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी र डिलरलाई उपलब्ध गराउने कमिसनसमेत समावेश गरिएको हुन्छ,” उनले भने, “यो प्रणालीअनुसार मूल्य निर्धारण पारदर्शी भई आमउपभोक्तालाई ती वस्तुको सहज आपूर्ति हुने हुँदा निगमको आर्थिक सन्तुलन पनि सुदृढ हुनेछ ।”

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक