असोज १ देखि मुलुकका ७१ स्थानमा सुपथ मूल्य पसल

काठमाडौं, २४ भदौ- विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सरकारले दसैं–तिहारलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । सरकारले असोज १ गतेदेखि मुलुकका विभिन्न ७१ स्थानमा यस्ता पसल सञ्चालन गर्ने भएको हो । चाडपर्वमा व्यवसायीहरूबाट हुन सक्ने कालाबजारी रोक्न र उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन सुपथ मूल्यका पसलहरू सञ्चालन गर्न लागेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्त दीपक सुवेदीले बताए । “मन्त्रालयले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन दिइसकेको छ,” सुवेदीले भने । उनका अनुसार साल्ट ट्रेडिङले काठमाडौं उपत्याकाको टेकु, कोटेश्वर, रामशाहपथ, बल्खु तरकारी बजार, पाटनको विशाल बजार, सतुगंल, कालीमाटीका २ स्थान र भक्तपुरमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । त्यसैगरी, खाद्यसंस्थानले कार्यलय परिसर टेकु, जावलाखेल, बल्खु तरकारी बजार, रामशाहपथ, कोटेश्वर र भक्तपुरमा सहुलियत पसल सञ्चालन गर्नेछ । त्यस्तै, नेसनल ट्रेडिङ लिमिटेडले सुपथ मूल्य पसलमा मेसिनरी र घरायसी समाज विशेष छुटमा उपलब्ध गराउने वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुग्ध विकास संस्थानले पनि लैनचौरस्थित केन्द्रीय कार्यालय र रामशाहपथमा पसल राखेर दुग्धजन्य पदार्थ छुटमा उपलब्ध गराउने भएको छ । डीडीसीले घिउमा १० रुपैयाँ छुट दिएर ग्राहकलाई बिक्री गर्ने प्रवक्त सुवेदीले जानकारी दिए । सुपथ मूल्य पसलमा चिनीमा ५ रुपैयाँ र नुन तथा चामलमा २÷२ रुपैयाँ छुट दिनेछन् । मन्त्रालयका अनुसार ग्राहकहरूले पसलमा एकपटकमा ६ किलो चिनी छुटमा खरिद गर्न पाउनेछन् । साल्ट टे«डिङले उपत्यकाबाहिर २६ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङले पोखरा, नारायणगढ, बागलुङ, नेपालगञ्ज, त्रिशूली, बेलौरी, बिर्तामोड, भैरहवा, डडेलधुरा, भैरहवा, दिपायल, कृष्णनगर, महेन्द्रनगर, कपिलवस्तु, दाङ, धनगढी सुर्खेत, वीरगन्ज, जनकपुर, लाहान, राजविराज, विराटनगर, हटौंडा, धुलिखेल, बनेपा, टीकापुर र नेपालगञ्जमा सुपथ मूल्य पसल राख्नेछ । सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुने बताइएको छ । त्यस्तै, साल्ट ट्रेडिङले राजधानीका ३ स्थानमा घुम्ती पसल सञ्चालन गर्ने प्रवक्त सुवेदीले जानकारी दिए । खाद्यसंस्थानले पनि उपत्यकाबाहिर शाखा कार्यालय रहेका स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । गत वर्ष सहुलियत पसलमा ग्राहकहरूको आकर्षण अत्यधिक रहेको हुँदा यसपटक पनि यस्ता पसल सञ्चालन गर्न लागेको हो । गत वर्ष सुपथ मूल्यका लागि सरकारले २ करोड रुपैयाँ सहुलियत छुट्ट्याएको थियो ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर