Tuesday, September 2, 2014
३ अर्बका जुत्ता–चप्पल आयात
निरु अर्याल
काठमाडौं, १६ भदौ- स्वदेशी उद्योगीले आत्मनिर्भरताको नजिक पुगेको दाबी गरिरहेका बेला नेपालले गत आर्थिक वर्षमा करिब ३ अर्बका जुत्ता–चप्पल आयात गरेको छ । भारतलगायत तेस्रो मुलुकबाट गत वर्ष २ अर्ब ९४ करोड २१ लाख रुपैयाँका जुत्ता–चप्पल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । स्वदेशी छाला जुत्ता व्यवसायीले भने स्थानीय उत्पादनले ६५ प्रतिशत माग पूरा गरिरहेको र मुलुक चाँडै जुत्ता–चप्पलमा आत्मनिर्भर हुने दाबी गर्दै आएका छन् ।
गत वर्ष आयातको तथ्यांक अघिल्लो आव (०६९÷७०)को तुलनामा १३.८ प्रतिशतले बढी हो । अघिल्लो आवमा भारतलगायत अन्य मुलुकबाट २ अर्ब ४८ करोड रुपैयाँबराबरका जुत्ता–चप्पल आयात भएको राष्ट्र बैंकले जनाएको छ । यसमा भारतको अंशमात्रै ५९ करोड ५६ लाख रुपैयाँ छ, जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भारतबाट ४२ करोड ४३ लाख रुपैयाँका जुत्ता–चप्पल आयात भएका थिए । यो तथ्यांक पनि आव ०६८÷६९ को तुलनामा ४०.४ प्रतिशतले बढी भएको केन्द्रीय बैंकले जनाएको छ । सो अवधिमा भारतबाट मात्रै ३३ करोड रुपैयाँबराबरका जुत्ता–चप्पल आयात भएका थिए ।
व्यवसायी भने जुत्ता आयात रकममा उल्लेख भए जति परिमाणमा नबढेको दाबी गर्छन् । सरकारले परिमार्जन गरेको भन्सार मूल्यांकन र डलरमा भएको मूल्यवृद्धिले आयात बढी देखिएको उनीहरूको भनाइ छ । “परिमाणमा धेरै बढेको छैन,” नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्याय भन्छन्, “तर डलरको मूल्यमा भएको वृद्धि र भन्सार मूल्यांकनले गर्दा तथ्यांक बढी देखिएको हो ।”
नेपालमा सबैभन्दा बढी तयारी जुत्ता भारत, चीन, कोरियालगायतका मुलुकबाट आयात हुन्छ । डलरमा हुने मूल्यवृद्धिसँग भारतीय जुत्ताले भने कुनै महत्व राख्दैन । सरकारले जेठमा आयात हुने जुत्ताको भन्सार मूल्यांकनमा केही फेरबदल गरेको थियो ।
व्यवसायीका अनुसार नेपाली जुत्ताको व्यापार वार्षिक १५ देखि २० प्रतिशतका दरले वृद्धि हुँदै आएको छ । “नेपाली जुत्ताको वार्षिक वृद्धिका कारण नै हामीले नेपाली जुत्ताको ब्रान्डिङ गर्न खोजेका छौं,” उपाध्यायले भने ।
संघले नेपाली जुत्ताको ब्रान्डिङ र बजारीकरण गर्ने उद्देश्यसहित करिब ३ महिनाअघिमात्रै सामूहिक व्यापार चिन्ह सार्वजनिक गरेको थियो । व्यवसायीले क्षमता हँुदाहँुदै पनि कच्चा पदार्थको अभाव, श्रमिक समस्याका कारणले जुत्तामा निर्भर हुन नसकेको बताउँदै आएका छन् ।
जुत्ता आयात (मूल्य रु. हजारमा)
आव भारत तेस्रो मुलुक जम्मा
०६८÷६९ ३३,६६०० ४२,६५०० ७६,३१००
०६९÷७० ४२,४३०० २,०६,२७०० २,४८,७०००
०७०÷७१ ५९,५६०० २,३४,६५०० २,९४,२१००
Subscribe to:
Post Comments (Atom)
सम्भावनाको संघारमा
दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...
-
महिलाहरूको व्यस्तता र महत्वबारे प्रकाश पार्दै केही समय पहिले भारतको उच्च अदालतले समेत गृहिणी महिलालाई ‘हाउस म्यानेजर’को रुपमा व्याख्या गरे...
-
निरु अर्याल काठमाडौंः सरकारले वौद्धिक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्न हालै राष्ट्रिय वौद्धिक सम्पत्ति नीति २०७३ पारित गरेको छ । ...
-
काठमाडौं । व्यवस्थापिका संसद्ले ‘विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता’को संशोधन प्रस्ताव पारित गरेको छ । व्यवस्थापिका संसद्को श...
No comments:
Post a Comment