अर्ब लगानीका ९६ उद्योगमध्ये १६ मात्र सञ्चालनमा

१ अर्ब रुपैयाँभन्दा बढीको लगानीसहित उद्योग विभागमा दर्ता भएका उद्योगको संख्या करिब सयको हाराहारीमा भए पनि सञ्चालनमा भने १६ वटा मात्र रहेका छन् । उद्योग विभागका अनुसार विभागमा दर्ता भएका १ अर्ब रुपैयाँभन्दा बढी लगानीका उद्योग ९६ वटा छन् । तर तीमध्ये १६ वटा मात्र सञ्चालनमा रहेको तथ्यांक विभागले हालै उद्योग मन्त्रालयमा पठाएको छ । विभागले प्रधानमन्त्री उद्यम पुरस्कार प्रयोजनका लागि यो तथ्यांक मन्त्रालयमा पठाएको हो । यो तथ्यांकभित्र बैंक तथा वित्तीय संस्था समेटिएका छैनन् । साथै २०४९ सालदेखि अगाडि स्थापना भएका उद्योगसमेत यसमा समावेश छैनन् । उद्योग विभागमा दर्ता नभएका तर अर्बभन्दा बढी लगानी गरेका उद्योगसँग सम्मानका लागि सूचित गर्न सूचना निकाल्ने तयारी पनि विभागको छ । विभागले यो तथ्यांक पठाए पनि यसबारे अझै विश्वस्त हुन सकेको छैन । 'यो अन्तिम तथ्यांक भने हैन,' मन्त्रालयको औद्योगिक प्रवर्द्धन महाशाखाका उपसचिव विष्णु ढकालले भने, 'केही तलमाथि हुन सक्छ, पुरस्कारलाई अन्तिम रूप दिनका लागि मन्त्रालयले छुट्टै अध्ययन गर्न बाँकी नै छ ।' ढकालका अनुसार लगानीको प्रतिबद्धता देखाई सञ्चालनमा आउने उद्योगमा बढी मात्रामा जलविद्युत् छन् । मेडिकल, कागज तथा सञ्चार उद्योग, होटल, सिमेन्ट, चिनी र शिक्षासँग सम्बन्धित उद्योग पनि १६ वटैभित्र पर्छन् । यता अर्ब रुपैयाँभन्दा बढी लगानी गरी सञ्चालनमा रहे नरहेकाबारे अध्ययनमा संलग्न विभागका महानिर्देशक ध्रुवलाल राजवंशी भने सञ्चालनमा रहेको उद्योगको तथ्यांक बढ्न सक्ने अनुमान गर्छन् । 'ठूलो रकम लगानी गर्ने उद्योग एक-दुई वर्षमै सञ्चालनमा आउन सक्दैनन्,' उनले भने, 'त्यसैले ९६ मध्ये १६ वटा मात्रै सञ्चालनमा छन् । अरू छैनन् भन्न मिल्दैन ।' राजवंशीले पछिल्लो समयमा अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता देखाई सञ्चालनको प्रक्रियामा रहेकाले थपिने अनुमान गरेका हुन् । 'जलविद्युत्जस्ता उद्योग सञ्चालन गर्न कयौं वर्ष लाग्छ,' उनले भने, 'ठूलो लगानी पनि जलविद्युत्मै छ ।' दर्ता भएका झन्डै ८४ प्रतिशत उद्योग नचल्नुमा औद्योगिक वातावरण नरहेको व्यवसायी बताउँछन् । उनीहरूका अनुसार राजनीतिक अस्थिरता, लोडसेडिङ, बन्द हडतालजस्ता समस्या बढी भोग्नुपरेको छ । दैनिक १२ घन्टा लोडसेडिङ भइरहेको छ । उद्योगलाई महँगोमा भए पनि बिजुली निरन्तर दिने भनिए पनि कार्यान्वयन भइसकेको छैन । केही अघि विश्व बैंकले गरेको अध्ययनले औद्योगिक विस्तार नहुनुमा २९ प्रतिशत कारण विद्युत् अभाव देखिएको थियो । सोही अध्ययनले ६२ प्रतिशत व्यवधान राजनीतिक अस्थिरताको थियो । स्थायी सरकार नहुँदा नीतिगत स्थायित्वसमेत नहुने हुँदा व्यवसायी लगानी गर्न हिच्किचाइरहेका छन् । संविधानसभाको दोस्रो निर्वाचन पछि अल्पकालमा सेयर बजारमा उत्साह देखिए पनि औद्योगिक लगानी विस्तार हुन सकेको छैन । निजी क्ष्ाेत्रबाट रकमको माग नहुँदा बैंकिङ क्षेत्रमा करिब ४० अर्ब रुपैयाँ यत्तिकै थन्किएको छ । बढदो तरलताले ब्याजदर घटे पनि लगानी कर्ता अनिच्छुक देखिनु गैरआर्थिक कारणले उद्योगिक विस्तार हुन नसकेको पनि देखिन्छ । राष्ट्र बैंकले गत वर्ष देशका ४७ जिल्लामा गरेको अध्ययनले पनि चलेका उद्योग पनि आधा क्षमतामा मात्रै सञ्चालित छन् । अध्ययनले ५७ प्रतिशत क्षमतामा मात्रै उद्योग चलेका छन् । चलेका उद्योग पनि पूर्ण क्ष्ामतामा नचलेकाले नयाँ लगानी आउने सम्भावना रोकिएको हुन्छ । गत वर्षकै तथ्यांक हेर्ने हो भने पनि औद्योगिक क्षेत्रको विस्तार १ दशमलव ८५ प्रतिशत मात्रै रह्यो । ठूला उद्योगी पुरस्कृत गरिने सरकारले लगानी प्रोत्साहनका लागि चालू आर्थिक वर्षबाट ठूला उद्योगीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । 'सम्मान कार्यक्रम सकेसम्म फागुन मसान्तसम्म सम्पन्न गर्ने प्रयास छ,' ढकालले भने, 'नभए आर्थिक वर्षभित्रै अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने लगानीकर्ता -व्यक्ति/उद्यमी) लाई सम्मान गरिसक्ने कार्यक्रम छ ।' त्यसका लागि सरकारले साढे ७ लाख रुपैयाँँ बजेट विनियोजन गरेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक