अल्का अस्पतालमा लापरबाही,सात सञ्चालक निलम्बित

निरु अर्याल
काठमाडौं, १७ असोज - कम्पनी रजिस्ट्रारको कार्यालयले जाउलाखेलमा  रहेको अल्का अस्पतालका सात सञ्चालक सेयरधनीलाई निलम्बन गरेको छ । कार्यालयले गत वर्षको भदौ २८ मा कम्पनीलाई दिइएको निर्देशन कार्यान्वयन नभएको भन्दै अस्पतालका अध्यक्ष तिलकबहादुर थापा, सञ्चालक विद्या श्रेष्ठ लगायतलाई निलम्बन गरेको हो ।
कार्यालयका अनुसार पीडितहरूले पटक–पटक अस्पतालका सञ्चालकले गरेको अनियमितताबारे छानबिन गर्न कम्पनी रजिस्ट्रारको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए । तिनै उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रजिस्ट्रारको कार्यालयलाई कारबाहीको प्रक्रिया अघि बढाउन आदेश दिएपछि कार्यालयले कारबाही गरेको हो ।
कम्पनी ऐन २०६३ को दफा १२४ को उपदफा ३ को २ बमोजिम कुनै कम्पनीको सञ्चालक प्रबन्धक वा कर्मचारी वा अन्य कुनै पदाधिकारीको जिम्मा दिइरहँदा कम्पनीलाई थप हानी नोक्सानी गरेमा त्यस्ता पदाधिकारीलाई निलम्बन गरी अन्य उपायबाट व्यवसाय सञ्चालन गर्न निर्देशन दिने अधिकार रजिस्ट्रारको कार्यालयलाई छ ।
रजिस्ट्रारको कार्यालयले सुरु गरेको निरीक्षणअनुसार सञ्चालक समितिका अध्यक्ष र सञ्चालकले सम्बन्धित निकायबाट अल्का अस्पताल प्रालिको नाममा सम्बन्धन प्राप्त बीएन तथा स्टाफ नर्स तहको नर्सिङ शैक्षिक कार्यक्रम एकल स्वामित्वमा रहको अर्को कम्पनी  अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सेज प्रालिबाट सञ्चालन गर्दै आएको छ । अस्पताल सञ्चालकले बैंक अफ एसियाबाट  कम्पनीको नाममा १ करोड रुपैयाँ ऋण लिएको र उक्त जानकारी कुनै पनि निकायलाई नै नदिई व्यक्तिगत प्रयोजनमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
“हामीले कम्पनीको आर्थिक कारोबार गरेको यथार्थ विवरण सार्वजनिक सूचनामार्फत माग गरेका थियौं,” रजिष्ट्रार दामोदर रेग्मीले कारोबारसँग भने, “आवश्यक कागजात नआएपछि अख्तियारको निर्देशनअनुसार कार्यालयले  कम्पनी ऐनबमोजिम यस्तो कदम चालेको हो ।”
रेग्मीका अनुसार नयाँ सञ्चालक समिति गठनका लागि कम्पनी सचिव र सेयरधनी बसेर एक महिनाभित्र कम्पनीको वार्षिक साधारणसभा सम्पन्न गर्नु पर्नेछ । उनले भने, “गठित नयाँ समितिले यस अघिको निर्देशन बमोजिम उक्त अनियमिता सम्बन्धी प्रतिबेदनमा औंल्याइएका अनियमितता गर्नेउपर कम्पनी ऐन ०६३ को  दाफा १२४(२) बमोजिम कानुनी प्रक्रिया अघि बढाएको जानकारी कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ ।”
उक्त अस्पतालको निरीक्षणका क्रममा पाप्त विवरणअनुसार सेयरधनीले कम्पनीको सम्पत्ति धितो राखी बैंक अफ एसियाबाट कम्पनीको नाममा १ करोड रुपैयाँ ऋण लिएको, सम्झौताअनुसारको फार्मेसी भाडाबापतको रकम अस्पतालमा दाखिला नगरेको, ऐनविपरीत कम्पनीका सञ्चालकलाई ऋण दिएको उल्लेख छ ।
यसैगरी सम्बन्धित निकायबाट अल्काको नाममा सम्बन्धनप्राप्त बीएन तथा स्टाफ नर्स  तहको नर्सिङ शैक्षिक कार्यक्रम अस्पतालको खर्चमा एकल स्वामित्वमा रहेको अर्को कम्पनी अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सेज प्रालिबाट सञ्चलन गरेको प्रतिवेदनमा उल्लेख छ ।
रेग्मीले आर्थिक विवरणसँग सम्बन्धित कागजात पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने भए पनि एक वर्षसम्म सुरक्षित नराखेको बताए । रजिस्ट्रारको कार्यालयले उक्त अनियमिता छानिबिनका लागि चार्टर्ड एकाउन्टेन्ट पंकज थापालाई खुला प्रतिस्पर्धाका आधारमा निरीक्षणका लागि खटाएको थियो । रजिस्ट्रार कार्यालयले आफ्नो अधिकारलाई सार्वजनिक हितबमोजिम उठाएको यो पहिलो कदम हो ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक