टे«डमार्कका लागि ४० हजार आवेदन - व्यापार चिह्न लिनेको संख्या ३२ हजार नाघ्यो


निरु अर्याल
काठमाडौं, ८ असोज -
 बौद्धिक सम्पत्तिअन्तर्गतको टे«डमार्क, पेटेन्ट र डिजाइन शीर्षकमा अनुमति लिनका लागि ४० हजारभन्दा बढी निवेदन दर्ता भएका छन् । तीमध्ये ३२ हजार कम्पनी कलकारखाना तथा औद्योगिक प्रतिष्ठानलाई व्यापार चिह्न दिइसकेको औद्योगिक बौद्धिक सम्पत्तिको अनुमति दिँदै आएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षको असारसम्म ३२ हजार २ सय ७ निकायले व्यापार चिह्न लिएका छन् । तीमध्ये १७ हजार ८ सय २८ स्वदेशी र १४ हजार ३ सय ७९ विदेशी रहेको विभाग प्रवक्ता रामशरण चिमोरियाले जानकारी दिए ।
सन् २००४ देखि गत चैत मसान्तसम्ममा व्यापार चिह्न माग गर्दै दर्ता भएका टेक्टाइल, बिस्कुट,  मिठाई, गार्मेन्ट, पश्मिनालगायतले चिह्न लिएका छन् । औद्योगिक प्रतिष्ठान, शैक्षिक पाठशाला, म्यानपावर एजेन्सीलगायत आयात निर्यात गर्ने कम्पनीहरू बहुराष्ट्रिय कल कारखानाले व्यापार चिह्नका लागि आवेदन गर्ने गरेको चिमोरियाले बताए ।
हालसम्म विभागले व्यावसायिक प्रयोजनको अधिकारलाई सम्पन्न र शक्तिशाली बनाउन टे«डमार्क (व्यापारचिह्न) पेटेन्ट (आविष्कार माथिको अधिकार) र डिजाइन (आवरणात्मक सीप र कला) को चिह्न प्रदान गर्दै आएको छ । संस्कृति मन्त्रालयको प्रतिलिपी रजिस्ट्रारको कार्यालयबाट प्रतिलिपी अधिकार र संवैधानिक मामिला अध्ययनले बौद्धिक विषयका चिह्न दिने उनले बताए ।
“अन्य मुलुकको तुलनामा हामीले औद्योगिक तथा बौद्धिक सम्पत्तिको संरक्षण गर्न सकिरहेका छैनौं,” चिमोरियाले भने, “तर पनि टे«डमार्क लिनको संख्या भने बढेको छ ।” उनका अनुसार अघिल्लो आवमा १ हजार ५ सय ७ वटा संघसंस्था तथा प्रतिष्ठानले व्यापार चिह्न लिएका थिए ।
यो अवधिमा एक प्रतिष्ठानले मात्र पेटेन्टको चिह्न प्राप्त गरेको थियो भने डिजाइनतर्फ कुनै कम्पनीले निवेदन दिएका थिएनन् । चिमोरियाले अघिल्लो आवको तुलनामा गत आवमा व्यापार चिह्न लिनेको संख्यामा सामान्य वृद्धि हुँदै गएको जानकारी दिँदै पेटेन्ट (आबिष्कारमाथिको अधिकार) र डिजाइन (आवरणात्मक सीप र कला) को चिह्नसमेत लिन थालेको बताए ।
विभागले आव ०६८÷६९ असार मसान्त सम्म ३५ विदेशी र ३६ स्वदेशी गरी ७१ वटा कम्पनीलाई पेटेन्ट र  २१ स्वदेशी र ५८ विदेशी गरी ७९ वटा कम्पनीलाई डिजाइनको चिह्न प्रदान गरिसकेको छ । चिमोरियाका अनुसार गत आवमा दुई पेटेन्ट र चार डिजाइनसहित १ हजार ५ सय ७८ प्रतिष्ठानले व्यापार चिह्न लिएका छन् ।
कुनै कम्पनी, संस्था वा संघसंगठनले सामान्यतया व्यापार चिह्नका लागि आवेदन दिएको तीन महिनासम्म कुनै कम्पनी वा संघसंस्थाबाट व्यापार चिह्नको दाबी नगरेको अवस्थामा आवेदन दिएको मितिले चार महिनासम्म व्यापार चिह्न (टे«डमार्क) पाउने कानुनी व्यवस्था छ । एक ठाउँमा दर्ता भएको व्यापार चिह्नको प्रयोग विश्वको जुनसुकै ठाउँबाट प्रयोग गर्न सकिन्छ ।
एक व्यक्ति वा सरोकारवाला निकायले प्रयोग गरेको व्यापार चिह्न चोरी भएको वा कपी भएको अवस्थामा सम्बन्धित व्यक्ति वा सरोकारवाला निकायले आवेदन दिएको मितिले ९० दिनसम्म दाबी विरोध गर्न पाउँछन् ।
नेपालले औद्यिोगिक बौद्धिक सम्पत्तिको अधिकारलाई वि.स. १९९४ देखि मान्यता दिँदै आएको भए पनि सन् २००४ देखि विश्व बौद्धिक सम्पत्ति संगठनको सदस्यता लिएको हो । वाइपोको सदस्यता लिएपश्चात् नेपालमा व्यापार चिह्नको दाबी गर्नेसँग संस्था र कम्पनी वा जो कोहीले आफ्नो ब्रान्डलाई विश्वभर स्थापित गर्न पाउँछन् । व्यापार चिह्नको प्रयोगले औद्योगिक उत्पादन बढ्ने, व्यापार बढ्ने र ब्रान्ड स्थापित गर्न सहज हुने भएकाले नेपालमा नेपालमा बौद्धिक सम्पत्तिमाथिको अधिकारमाथि चेतना बढ्न थालेको हो ।
 

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन