औद्योगिक क्षेत्रमा मनपरी -वास्तविक उद्योगी सुविधाबाट वञ्चित

निरु अर्याल
पाटन औद्योगिक क्षेत्र परिसरभित्र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका कल्याणकृष्ण ताम्राकार सुविधासम्पन्न आवासगृह बनाएर बसेका छन् । नियमअनुसार औद्योगिक क्षेत्रभित्रको जमिन वा भवन औद्योगिकबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइँदैन ।
-  बालाजु औद्योगिक क्षेत्रभित्र अधिकांश व्यापारीले उत्पादनशील उद्योगको नाममा जमिन तथा भवन लिइरहेका छन् । निसान, महिन्द्रा, फोर्स, माज्दा कार र पुजा इन्टरनेसनल गाडीका सोरुमले औद्योगिक क्षेत्रको सुविधा उपयोग गरिरहेका छन् ।
-    एउटाको नाममा लिएको जमिन अर्को व्यक्तिले प्रयोग गर्ने र जमिन प्रयोग नगरी ओगटेर बस्नेको संख्या पनि उत्तिकै छ । सक्कली उद्योगीले उद्योग चलाउने जमिन पाएका छैनन् भने व्यापार गर्ने व्यवसायीलाई नाफा कमाउने ठाउँ औद्योगिक क्षेत्र बनेको छ ।
-   हेटौंडा औद्योगिक क्षेत्र परिसरभित्र औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष ऋषिराम घिमिरे, महासचिव नन्दकिशोर बस्नेत र पूर्वअध्यक्ष माधव अधिकारीलगायतका पदाधिकारीले जमिन लिजमा लिएर पेट्रोलपम्प सञ्चालन गरेका छन् । औद्योगिक क्षेत्रभित्रको जमिन भाडामा लिएर पेट्रोलपम्प चलाउनु गैरकानुनी हो । पेट्रोलपम्प सञ्चालन गर्न तत्कालीन महाप्रबन्धक सुरेन्द्र थापा र व्यवस्थापक रत्नहरि गौतमले अनुमति दिएको स्रोतको दाबी छ ।
-   भक्तपुर औद्योगिक क्षेत्र परिसरमा रहेका औद्योगिक भवन, जमिनभित्र किराना पसल र होटल सञ्चालनमा छन् ।



काठमाडौं, २१ भदौ - उत्पादनमूलक उद्योगलाई सहुलियत दिने उद्देश्यले स्थापना भएका औद्योगिक क्षेत्रका सुविधा निश्चित व्यक्ति र समूहले लिइरहेका छन् । अनुगमन गर्ने निकायले नै संरक्षण गरेपछि झनै मनपरी बढेको छ ।
सीमित व्यक्तिले उद्योग खोल्ने भन्दै जग्गा लिएर व्यापारिक प्रयोजनमा लगाउँदा वास्तविक उद्योगी सुविधाबाट वञ्चित भइरहेका छन् । औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई सरकारले जमिन तथा भवन, पानी, बिजुली, यातायात सुविधा दिने गरेको छ ।
उद्योगी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको मिलोमतोमा गैरउद्योगीले फाइदा लिएको त्यहीँका कर्मचारी बताउँछन् । सञ्चालनमा रहेका १० मध्ये अधिकांश औद्योगिक क्षेत्रमा औद्योगिक परिसरभित्रै कर्मचारी र सञ्चालकसमेत बसोबास गर्छन् । उनीहरूले बाहिरका सामान ल्याएर भण्डारण गर्ने र उद्योग नचलाई जग्गा अधिग्रहण गरेर बस्ने गरेको स्रोतले बतायो । “व्यवसायीको मनोमालिन्यलाई व्यवस्थापनले समर्थन गरेका कारण अनियमिता बढेको हो,” एक कर्मचारीले भने, “५ सयमा जमिन भाडामा लिएर ५ करोडमा बेच्ने काम भइरहेको छ ।”
औद्योगिक क्षेत्रको जमिन भाडा अत्यन्त सस्तो भएकाले व्यवसायीकै गिरोह सक्रियताका साथ लागेको र व्यवसायीले बिचौलियाको काम गर्न थालेको स्रोतको दाबी छ । “उद्योगीहरू परिवारसहित यहाँ बस्न पाउँदैनन्, सुरक्षा गार्डमात्र बस्न पाउँछन्,” उनले भने, “तर, जग्गा र भवन लिजमा दिँदा तोकिएका सर्तअनुसार उद्योगी बसेका छन् कि छैनन् भन्ने अनुगमन भएको छैन ।”
नियमअनुसार उद्योग बन्द भएपछि सो ठाउँमा अर्का उद्योगीलाई भाडामा दिने काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मात्र गर्नुपर्छ । स्वयं लिमिटेडले गैरकानुनी काम गर्नेलाई कारबाही गर्न नसकेको स्वीकार गर्छ ।
पाटन औद्योगिक क्षेत्रस्थित कटेज क्राफ्ट महासंघका केन्द्रीय सदस्य ताम्राकारको हो, जहाँ उनी उद्योगको नाममा सुविधासम्पन्न महल बनाएर बसेका छन् । सोही क्षेत्रमा नेपलिज क्राफ्टले पनि उद्योग खोल्ने नाममा भव्य सोरुम बनाएको छ । सोरुममा सञ्चालक आवास गृह बनाएर बसेका छन् । नेपाल ढलोट उद्योगको माथिल्लो तलामा सञ्चालक बसोबास गर्छन् । उद्योग सञ्चालनका लागि लिएको जमिन आवासका रूपमा प्रयोग गर्न कानुनले रोक्छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठ ‘द्वन्द्वका बेला उद्योगीहरू सुरक्षाका लागि बस्ने गरे पनि अहिले त्यस्तो अवस्था नरहेको’ भनेर पन्छिए । “द्वन्द्वको समयमा उनीहरूलाई सुरक्षाका लागि बस्न दिइएको थियो तर अहिले त्यस्तो असुरक्षा छैन,” उनले भने ।
बालाजु औद्योगिक क्षेत्रमा एक दर्जनभन्दा बढी गाडीका सोरुम छन् । सोरुम राख्न नपाइने भनिए पनि भनसुनका आधारमा कर्मचारीबाटै अवैध काम सुरु भएपछि व्यवस्थापन चुप लागेर बसेको छ ।
बालाजु क्षेत्रमा अस्पताल, कलेज र बैंकहरू सञ्चालनमा छन् । एक जनाको जमिन अर्कोले लिन करोडांैको चलखेल हुने गरे पनि कारबाही गर्ने स्पष्ट मापदण्ड नभएकाले प्रक्रिया अघि बढाउन नसकिएको उत्तर दिए ।
हेटौंडा औद्योगिक क्षेत्र परिसरभित्र संघमा आबद्ध पदाधिकारीले नै पेट्रोलपम्प सञ्चालन गरिरहेका छन् । भक्तपुर औद्योगिक क्षेत्रभित्रको जमिन किराना पसल र कुखुरा फार्मले भरिएको छ । “हाम्रो नियमअनुसार औद्योगिक क्षेत्रभित्र पेट्रोलपम्प खोल्न पाइँदैन,” श्रेष्ठ भन्छन्, “व्यवसायीबाट हुने यस्ता गतिविधिले लाजमर्दो बनाएको छ ।”
करिब दुई वर्षअघि बुटवल धागो कारखानाको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गैरकानुनी रूपमा बिक्री गर्दा अरु व्यवसायीको विरोधमा निर्णय फिर्ता गराइएको थियो । “धेरै अनियमितता राजधानीमा देखिएको छ,” बुटवल औद्योगिक क्षेत्र उद्योग संघका पूर्वअध्यक्ष एजाज आलमले भने ।
संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले व्यवस्थापन लिमिटेडले नै कारबाही गर्न नसकेका कारण औद्योगिक क्षेत्रमा अनियमितता बढदै गएको बताए । “व्यवसायीको नियमन र रेखदेखको जिम्मा व्यवस्थापनको हो, अनियमितता गर्नेलाई कारबाही गर्न नसक्ने भए लिमिटेड स्थापनाको के अर्थ ?” उनले प्रश्न गरे ।
मुलकभर अहिलेसम्म ११ वटा औद्योगिक क्षेत्र स्थापना भएका छन् । उद्योग मन्त्रालयअन्तर्गत रहेका १४ संस्थानमध्ये नाफा कमाउन सफल मानिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हो । उत्पादनमूलक उद्योगलाई एकै ठाउँमा स्थापना गर्ने र औद्योगिक विकासको माध्यमबाट मुलुकलाई सम्पन्न बनाउने उद्देश्यले औद्योगिक क्षेत्र स्थापना गरिएको हो । अहिले रहेका औद्योगिक क्षेत्र २०४५ सालअघि नै स्थापना भएका हुन् । लिमिटेडले अरु १३ ठाउँमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्ररम्भिक सर्वेक्षण गरिसकेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक