Thursday, September 13, 2012

उद्योग सञ्चालनको अनुमतिपछि मात्रै भिसा

विदेशी लगानीका नाममा हुने अपराध नियन्त्रण पहल


कारोबार संवाददाता
काठमाडौं, १६ भदौ
उद्योग स्थापनाका लागि निवेदन दिनासाथ भिसा पाउँदै आएका विदेशी लगानीकर्ताले अब उद्योग सञ्चालनको स्वीकृति पाएपछि मात्रै भिसा पाउने भएका छन् ।
सानो–सानो लगानी गर्ने र व्यावसायिक भिसाको नाममा दुरुपयोग गरेको भेटिएपछि सरकारले विदेशी लगानीलाई व्यवस्थित गर्न नयाँ मापदण्ड बनाउन लागेको हो । यसअघि, विदेशी लगानीकर्ताले उद्योग स्थापना गर्न निवेदन दिएपछि उद्योग विभागले व्यावसायिक भिसाका लागि सिफारिस दिने गरेको थियो ।
उद्योग स्थापनाको उद्देश्यले आउने विदेशीले नेपालमा गैरवित्तीय काममा संलग्न भएको पाइएपछि सरकारले नयाँ मापदण्ड निर्माण गर्न लागेको हो । यो व्यवस्थापछि व्यावसायिक अपराध न्यूनीकरण हुने र वैदेशिक लगानीलाई व्यवस्थित गर्न सहज हुने विभागका एक अधिकारीले बताए ।
विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले सानो लगानीले अर्थतन्त्रमा सकारात्मक प्रभाव नपर्ने बताउँदै लगानीको सीमा बढाएर अर्थतन्त्रमा सुधार ल्याउन खोजेको बताए । उनका अनुसार नेपालमा विदेशी उद्योगको नाममा होटल–रेस्टुराँ, ट्राभल्स एजेन्सी, परामर्श प्रदायक कम्पनी कार्गो जस्ता उद्योग बढी आउने गरेका छन् ।
सरकारले सन् २०१२ र २०१३ लाई लगानी वर्ष मनाउने घोषणा गरेको र अर्कोतिर लगानीको उद्देश्यविपरीत व्यावसायिक काम भइरहेको भन्दै विभागले मापदण्डको तयारी गरेको हो । विभागले लगानी वर्षमा धेरै लगानी भित्र्याउने भन्दै विदेशी लगानीका उद्योगको दर्ताको प्रक्रियालाई छोट्याएको छ ।
महानिर्देशक राजवंशीले भने, “पहिले लामो र झन्झटिलो भयो भनेर हामीले करिब आठवटा प्रक्रियालाई कम गरेका छौं, यीबाहेक अन्य सुधारका काम पनि भइरहेका छन् ।” न्यून लगानी भएको र उद्योगको भिसाबाट विभिन्न किसिमका आपराधिक काम गर्न सहज हुने भएकाले विदेशी नेपालमा बढी मात्रामा आउने गरेका छन् ।
विदेशी लगानीको नाममा एउटा रेस्टुराँ दर्ता गर्ने र त्यही रेस्टुराँको नाममा ६ जनाले भिसा लिने काम बढी हुने गरेको दाबी गर्दै उनले भने, “यस्ता प्रकृतिका उद्योगबाट पर्याप्त लगानी आउन सकेको छैन, यस्ता प्रवृत्तिलाई न्यूनीकरण गर्नका लागि विभागले नयाँ कदम चालिरहेको छ ।”

भिसा बाहेक बिदेशी लगानीकर्ताका लागि के कस्ता सिमा तोक्ने भन्ने बिषयमा भने विभागले कुनै तयारी गरेको छैन ।
बिभागले यसअघि प्रत्यक्ष बैदेशिक लगानीमा साना उद्योगको लगानी बढी आउन थालेको भन्दै बिदेशी लगानीका उद्योगको स्थिर पुँजी २० हजार डलरबाट १ लाख डलर पु¥याउने प्रस्ताब गरिसकेको छ । बिदेशी लगानी तथा प्रबिधी हस्तान्तरण नीतिको मस्यौदा छलफलमै रहेकोले यसको अझै टुंगो लाग्न सकेको छैन ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...