कम्पनी रजिस्ट्रारमा ‘बारकोड’

निरु अर्याल
काठमाडौं, २ भदौ -
कम्पनी रजिस्ट्रारको कार्यालयले कामकारबाही पारदर्शी बनाई जनगुनासो न्यूनीकरण गर्न ‘बारकोड’ प्रणाली सुरु गरेको छ । अनियमिता र भ्रष्टाचारमा कर्मचारी उत्साहित देखिएको जनगुनासो बढेपछि कार्यालयले अभिलेखलाई प्रभावकारी बनाउन पहिलो चरणमा बारकोड सुरु गरेको हो ।
यो प्रणाली पूर्ण लागू गर्नसके कार्यालयका करिब १ लाख फाइलको सहज व्यवस्थापन हुनेछ । सुधारका लागि फाइल व्यवस्थापन नै मुख्य समस्या भएको कार्यालयले जनाएको छ ।
बारकोड लागू भएपछि परिचयपत्रका आधारमा कुन फाइल कुन फाँट र कुन व्यक्तिसँग सम्बन्धित छ भन्ने पत्ता लाग्छ । यसले कार्यालयमा हुने भीड नियन्त्रण हुने र जनगुनासो घट्ने अपेक्षा कार्यालयको छ ।
‘मालदार’ अड्डाको रूपमा मानिने यो कार्यालयमा दर्ता हुने कम्पनीको चाप बढ्दै गए पनि पर्याप्त जनशक्ति र साधनस्रोत अभावले सेवा निष्प्रभावी भएको जनगुनासो चुलिएको छ । कार्यालयका सूचना सरोकारवाला, सेयरधनी, सञ्चालकसम्म पुग्न नसक्ने भएपछि त्यसको प्रत्यक्ष फाइदा मध्यस्थकर्ताले उठाउँदै आएका छन् । रजिस्ट्रारको कार्यालयमा अभिलेख, कागजात, दर्ता भएका कम्पनीको विवरण र निर्णय गरिएका फाइल एकाएक ‘हराउने’ गरेका छन् ।
कार्यालयका काम पारदर्शी बनाउने विषयमा विभिन्न प्रक्रिया अघि बढे पनि सेवाग्राहीको दृष्टिकोण सकारात्मक नभएपछि कार्यालयले विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा विभिन्न सुधारका कार्यक्रम सुरु गरेको हो । फाइल व्यवस्थापन, कार्यालय परिसरमा सीसी क्यामरा जडान, प्रत्यक्ष अनुगमन, लेआउटमा सुधारजस्ता कार्यक्रम सुरु भइसकेको कार्यालयले जनाएको छ । पुस मसान्तसम्म प्रष्ट सुधार देखिने नाम नबताउने सर्तमा एक अधिकारीले बताए ।
कार्यालयमा हुने गरेका भ्रष्टाचारसम्बन्धी समाचार प्रकाशन हुन थालेपछि कर्मचारीहरू अचेल खुलेर बोल्दैनन् । कारोबारले गत महिनामात्रै अनियमिततासम्बन्धी समाचार छापेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सतर्कता केन्द्रले कामकारबाही सुधार गर्न कार्यालयलाई निर्देशन दिएको थियो ।
कार्यालयबाट सार्वजनिक सूचना सम्बन्धित कम्पनीका सेयरधनी वा सञ्चालकसम्म पुग्ने गरी प्रचारप्रसार गर्ने व्यवस्था पनि गरिएको छ । “दुई महिनाभित्र यहाँका सबै अभिलेखलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरिनेछ,” ती अधिकारीले भने ।

के हो बारकोड
बारकोडलाई मेसिन रिडेबल डायग्राम भनिन्छ । यो एउटा विद्युतीय प्रविधि हो । तथ्यांकसम्बन्धी काम गर्न यो प्रविधि प्रयोग गरिन्छ । सम्बन्धित निकायको मात्रै पहुँच हुने गरी सफ्टवेयर जडान गरिएको हुन्छ ।

कसरी प्रयोग गर्ने
कम्पनी रजिस्ट्रारको कार्यालयको सबैभन्दा नाजुक पक्ष फाइल व्यवस्थापन हो । यो व्यवस्थित गर्न कम्पनी दर्ता हुनेबित्तिकै बारकोड दिइन्छ । सम्बन्धित कम्पनीको नाम, दर्ता नम्बर र मिति बारकोड मेसिनले पढ्छ । त्यसको रेकर्ड सफ्टवेयरमा रहन्छ । फाइल कुन चरणमा, कहाँ, कहिले र कुन फाँटमा छ भन्ने एकै ठाउँमा बसेर जानकारी लिन सकिन्छ । यसले फाइल खोज्न हरेक फाँटमा धाइरहनु पर्दैन र कार्यालयको काम छिटो–छरितो हुनेछ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन