Thursday, August 23, 2012

शालिमारको ६८ प्रतिशत सेयर भारतीय कम्पनीले किन्यो

निरु अर्याल
काठमाडौं, ६ भदौ -
भारतमा रंग उत्पादन गर्दै आएको कन्साई नेरोल्याक पेन्ट्स कम्पनीले नेपाली लगानीमा सञ्चालित शालिमार पेन्ट्सको ६८ प्रतिशत सेयर किनेको छ । कन्साई नेरोल्याक भारतीय निजी कम्पनी हो ।
दुवै कम्पनीले सेयर खरिद–बिक्रीको औपचारिक प्रक्रियाका लागि गत शुक्रबार उद्योग विभागमा आवेदन दिएका थिए । आवेदनपश्चात् विभागले आइतबार नै स्वीकृति दिएको जनाएको छ ।
शालिमारको सेयर खरिदपछि कन्साईले विभागबाट साझेदारीमा सञ्चालनको अनुमति पाएको छ । विभागका अनुसार कन्साईलेले शालिमारको ८ करोड ८४ लाख रुपैयाँबराबरको ८ लाख ८५ हजार कित्ता सेयर खरिद गर्ने सम्झौता गरेको छ । प्रतिकित्ता मूल्य सय रुपैयाँ हो ।
सम्झौतामा नेपालका तर्फबाट सञ्चालकमा जीवनकुमार अग्रवाल, राजकुमार वैद्य, विजयसिंह वैद्य र अशोककुमार वैद्यको नाम उल्लेख छ । विभागका अनुसार कन्साईका तर्फबाट कम्पनीको नाम उल्लेख गरिएको छ भने नेपालका तर्फबाट चारै सेयरधनीको नाम छ ।
शालिमारले ६८ प्रतिशत सेयर स्वामित्व बिक्री गरेपछि संस्थापकको ३२ प्रतिशत अंश छ । कम्पनीको चुक्ता पुँजी १३ करोड रुपैयाँ छ ।
नेपालमा बाह्य लगानीमा सञ्चालित ठूला र बहुराष्ट्रिय कम्पनी बन्द हुने क्रम बढेका बेला कन्साईले नेपाली कम्पनीको सेयर खरिद गर्नुलाई सकारात्मक रूपमा लिइएकोे विभाग महानिर्देशक ध्रुवलाल राजवंशीले बताए ।
सरकारले नेपालमा पर्याप्त लगानी भिœयाएर नेपालको अथतन्त्रलाई बढावा दिने भन्दै सन् २०१२÷१३ लाई लगानी वर्ष घोषणा गरेको छ । सरकारले घोषणा गरे पनि लगानीको वातावरण बन्न नसकेको बताउँदै महानिर्देशक राजवंशीले भने, “हामीले लगानीकर्तालाई विश्वास दिन सकिरहेका छैनौं, यो अवस्थामा साझेदारीमा लगानी आउनु पनि सफलता हो ।”

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...