वैदेशिक लगानी ७ अर्बमा सीमित

उद्योगको संख्या वृद्धि, लगानी घट्यो
निरु अर्याल

काठमाडौं, ६ भदौ
विदेशी लगानीका उद्योगको संख्यामा सामान्य वृद्धि देखिए पनि गत वर्ष प्रस्तावित वैदेशिक लगानी रकम घटेको देखिएको छ । राजनीतिक अस्थिरता, उद्योग–श्रमिकबीचको चिसिएको सम्बन्धले गत वर्ष पर्याप्त लगानी आउन नसकेको हो । उद्योग विभागका अनुसार अघिल्लो आवमा नेपालमा १० अर्ब ५ करोड ७ लाख रुपैयाँ प्रस्ताव गरिएकामा लगानी ७ अर्ब १४ करोडमा सीमित भएको छ । यो लगानी अघिल्लो आवभन्दा ३ अर्ब कम हो ।
“लगानी भित्रिन नसक्नुको मुख्य कारण लगानी सुरक्षाको प्रत्याभूति नहुनु हो, श्रमिक र उद्योगीबीचको अन्तर सम्बन्धले पनि गत आवमा लगानी आउन सकेन,” उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले भने  ।
लोकतन्त्र बहालीपछि नेपालमा वैदेशिक लगानीको सम्भावना बढेको देखिए पनि भएका बहुराष्ट्रिय कम्पनीहरू बन्द हुनुले विदेशी लगानीकर्ताहरुमा नकारात्मक सन्देश गएको हो । सरकारले सन् २०१२÷१३ लाई लगानी वर्ष घोषणा गरे पनि लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति, ऊर्जासंकट, लगानीमैत्री वातावरणको अभाव र राजनीतिक अन्योलले नेपालमा ठूलो लगानी आउन सकेको छैन । राजवंशीले भने, “लगानीकर्ताले नाफा कमाउनका लागि लगानी गर्ने हुन, नेपालमा लगानीको संरक्षण दिन सक्ने अवस्था छैन ।”
नेपालमा ठूलो लगानीमा सञ्चालित नेपाल ब्याट्री कम्पनी र सूर्य नेपाल गामेन्टजस्ता बहुराष्ट्रिय कम्पनी बन्द भइसकेका छन् । यसैगरि विदेशी लगानीमा सञ्चालित विश्व प्रसिद्ध के एफसी र पिज्जाहट रेस्टुराँमा मजदुर समस्याकै कारणले अबरोध आएको छ । यी बाहेक ठूलो लगानीमा सञ्चालित उद्योगमा विभिन्न समस्या बढ्दै गएका छन् ।
राजवंशीले पछिल्लो समयमा राजनीतिक अस्थिरता र श्रमिक समस्या मुख्य भएको बताउँदै औद्योगिक सम्बन्ध खस्किँदै गएकाले नेपालमा प्रर्याप्त वैदेशिक लगानी आउन नसकेको बताए । विभागको तथ्याँकअनुसार गत आवमा चारवटा ऊर्जाजन्य उद्योग थपिएका छन् यी उद्योगको लगानी २ अर्ब ९९ करोड रुपैयाँ छ । गत वर्ष विभागबाट स्वीकृति लिएका १ सय ६ वटा सेवामूलक उद्योगले १ अर्ब १९ करोड लगानीको प्रस्ताव गरेको महानिर्देशक राजवंशीले बताए । उनका अनुसार सानो लगानीमा रेस्टुराँ, कार्गो कम्प्युटर सफ्टवेयर जस्ता उद्योगहरुले अनुमति लिएका छन् । विभागमा गत आवमा ६४ वटा पर्यटनमूलक उद्योगमार्फत ८ करोड ८३ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ । ३१ वटा उत्पादनमूलक उद्योगमा ९ करोड रुपैयाँबराबरको लगानीको प्रस्ताव आएको विभागले जनाएको छ  । यी बाहेक विभागमा गत आवमा १५ वटा कृषिजन्य उद्योग र सातवटा खनिज उद्योग थपिएका छन् । यी उद्योगको प्रस्तावित लगानी क्रमशः १ करोड ६२ लाख र १ करोड ५७ लाख रहेको विभागले जनाएको छ । “हाम्रो अर्थतन्त्रमा भिसा प्रयोजनका लागि खोलिने उद्योगले कुनै अर्थ राख्दैन, ठूलो लगानी आउने अवस्था छैन,” उनले भने । विभागका अनुसार अघिल्लो आवमा १० हजार ८ सय ८७ ले रोजगारी पाएकामा गत आवमा ८ हजार ६ सय ६० मा सीमित भएको हो । विभागमा अहिलेसम्म २ हजार ३ सय ३५ वटा उद्योगमा  ७२ वटा मुलुकले  ७५ अर्ब १४ करोड लगानीको प्रस्ताव गरेका छन् । प्रस्तावित लगानी अनुसार १ लाख ६४ हजार ४ सय ८२ लाई रोजगारी उपलब्ध हुने छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन